ad

साहित्य र कला

‘ट्यापे’बाट ‘सन्तोष दाइ’

– डिल्ली पाण्डे


काठमाडौं नयाँबजारका सन्तोष कार्कीले कक्षा ५ मा पढ्दा ५ जना साथीबाट चुरोट तान्न सुरु गरे । चुरोट तान्न नयाँबजारबाट बालाजु पुल पुग्थे । पछिपछि नजिक हुँदै घरको छेउमा सुरु भयो । नयाँबजारको नीलगिरि प्राविमा अध्ययन गर्ने सन्तोष ५ देखि ८ सम्म बनस्थलीसम्म पढे । पछि त्यहाँबाट अर्को स्कुल पुगे । कक्षा ८ बाट गाँजा खान थालेका सन्तोष एसएसलीको गेटअघि ब्राउनसुगरको अम्मल लिएर पुगे ।

सन्तोष कुलतमा फसेको कुरा उनको परिवार र स्कुलमा थाहा भयो । त्यसपछि उनलाई स्कुलमा दैनिक दुई पटक हाजिर गराउन थालियो ।

सन्तोषको एक समूह थियो । घरबाट केही सामान किन्न लगेको पैसा प्रयोग गर्ने उनीहरूको अर्कै तरिका थियो । एकजनाले केही सामान किन्थे । अरु सबैले त्यही सामान पालैपालो घरमा लगेर देखाउँथे । त्यो पैसाले लागूपदार्थ किन्थे ।

उनी सधैं प्रार्थना गर्थे, “भगवान् ! कृष्णभीरमा पहिरो नखसोस् ।”

त्यतिबेला कृष्णभीरमा सधैंजसो पहिरो खस्थ्यो । बाटो बन्द हुँदा काठमाडौंसम्म गाँजा आइपुग्दैन भनेर उनको मनमा सधैं तनाव भइरहन्थ्यो ।

सन्तोषले ८–९ वर्षसम्म दैनिक १ हजार रुपैयाँसम्मको लागूपदार्थ सेवन गर्थे । उनको यो अम्मलबाट आजित भएर परिवारले समेत घरबाट निकाल्यो ।

कलेज पढ्दा सन्तोषकी प्रेमिका थिइन् । तलतल लाग्दा पैसा भएन भने उनी प्रेमिकासँग माग्थे र किन्थे । उनको यो बानीबाट दिक्क भएर प्रेमिका पनि किनारा लागिन् ।

‘प्लस टु’को अन्तिमतिर आइपुग्दा त उनी लागूपदार्थ सेवन गर्दै कलेज जान्छे । नशाले च्याप्दै गएपछि उनले तीन जना साथीसँग सल्लाह गरे, “यसरी भएन, अब ड्रग्स पाउने ठाउँतिर भागौं ।”

उनको प्रस्तावलाई सबैले एकमतले सदर गरे । उनीहरू वीरगन्ज हुँदै दार्जिलिङसम्म पुगे । त्यो क्षेत्रमा लागूपदार्थ प्रशस्त पाइने सुनेर उनीहरू कसैको मुख नहेरी हिँडेका थिए । घर छाडेर गएपछि पढाइको पनि ठेगान भएन । ड्रक्स खानकै लागि दार्जिलिङ पुगेर फर्किंदा उनमा डोज बढिसकेको थियो । त्यसपछि उनी बिस्तारै सुइँ हान्नेदेखि गोटी खाने अवस्थासम्म पुगे ।

सम्पन्न परिवारमा हुर्केका सन्तोषलाई परिवारका सदस्यले पनि माया गर्थे । स्कुलमा पनि उनी असल विद्यार्थी थिए । तर, ड्रक्सको नशामा फस्दै गएपछि उनी खराब भएर निस्किए । घर जाडेर भागेपछि उनी झनै कुलतमा फसे ।

यत्तिकै छाडिदिने हो भने छोरा गुमाउने चिन्ता परिवारमा बढ्दै गयो । त्यसैले जोडबल गरेर उनलाई परिवारले सुधारकेन्द्र लग्यो । र, आउने–जाने क्रम बढ्दै गयो ।

“घर छाडेर बाहिर गएपछि ४ महिनासम्म नशामा भुलें । भएभरको पैसा सकियो अनि घर फर्किएँ,” सन्तोष सम्झन्छन्, “त्यतिबेला मलाई ब्राउनसुगरले पुग्दैनथ्यो । हाई डोज लिने बानीका कारण सुइँ हान्न र गोटी खान थालें । त्यसपछि मेरा लागि रिह्याब मामा घर जस्तै भयो ।”

सन्तोषलाई परिवारले धेरैपटक सुधारकेन्द्र लग्यो । भित्र जाँदा ठीक भए पनि बाहिर निस्किँदा फेरि उस्तै हुन्थ्यो । सन्तोष चार पटकसम्म सुधारगृह बसेर पनि सुध्रिएका थिएनन् ।

पछि त अवस्था यस्तोसम्म भयो कि सन्तोष घर जान ढिला हुँदा आमाले सीधै प्रहरी कार्यालयमा फोन गरेर त्यहाँ भए÷नभएको बुझ्थिन् । “प्रहरी कार्यालयमा कति बसें कति, गनेरै साध्य छैन,” उनी सम्झन्छन्, “प्रहरीसमेत मदेखि आजित भइसकेका थिए । पछि यसलाई नल्याऊ समेत भन्न थालेका थिए ।”

०६४ मा माओवादीको भ्रातृसंगठन वाईसीएलको उदय भयो । त्यतिबेला वाईसीएलले कुलतमा फसेका युवालाई नियन्त्रणमा लिएर बाटो सफा गराउनेदेखि विभिन्न काममा लगाउँथे । त्यसमा सन्तोषका सबै साथी समातिए । आफू पनि वाईसीएलको फन्दामा पर्ने डरले सन्तोष आफैं सुधारकेन्द्र गए । यसपटकको बसाइले आफूमा केही सुधार ल्याएको महसुस भयो । घर फर्किएर भने, “अब म केही गर्छु ।”

तर, उनलाई परिवारले पत्याउने कुरै थिएन । उनको व्यवहारले परिवार वर्षौंदेखि आजित थियो ।

वाईसीएलको कारबाही छल्न आफैं रिह्याब छिरेका सन्तोषमा केही जाँगर आयो । रिह्याब धेरै बसेकाले उनलाई त्यसबारे राम्रै ज्ञान थियो । त्यसैले रिह्याब खोल्ने निर्णय गरे । सिन्धुपाल्चोकको बलेफी पुगेर बगरछेउको चौर टुंगो लगाए ।

परिवारलाई विश्वास थिएन । त्यसैले आफन्तको सहयोग लिए । ०६४ को अन्त्यतिर उनले ‘हाम्रो फोलोसिप’ नामक सुधारकेन्द्र खोले ।

०६४ देखि कुलत त्यागी सही बाटो रोजेका सन्तोषलाई विगत सम्झेर दिक्क लाग्छ । एउटा किस्सा सुनाए ।

एकदिन सन्तोषकी काकी बिरामी भइन् । उनलाई अस्पताल लैजाने जिम्मा सन्तोषलाई दिइयो । बिहानैदेखि सुइँ हान्न नपाएर छटपटिएका सन्तोषले काकीलाई ट्याक्सीमा हालेर अस्पताल लैजाँदै गरेका बेला बाटोमै ट्याक्सी रोके र लागूऔषध किने । अस्पताल पुगेपछि काकीलाई इमर्जेन्सीको बेडमा राखेर ट्वाइलेट गए र सुइँ हाने ।

उनी भन्छन्, “काकीलाई देख्दा त्यो क्षण सम्झन्छु अनि नमज्जा लाग्छ । म सुइँ हान्दै थिएँ, अस्पतालको मानिसले इमर्जेन्सीमा आउनुभएको सन्तोष कार्की कहाँ हुनुहुन्छ भन्दै बोलाउँदा पो झसंग भएँ ।”

कुलतमा फसेका बेला सन्तोषका साथी, परिवार, आफन्तले बाटोमा देखे भने आँखा छोपेर हिँड्थे । तर, अहिले समय बदलिएको छ । पहिले परपर सर्नेअरु अहिले वरपर सरेका छन् । सन्तोष भन्छन्, “हो, म कुनै बेला ट्यापे थिएँ । त्यतिबेला घरमा आउने आफन्त पनि मेरा कारणले टाढिएका थिए । तर, हिजोआज मेरा साथीहरू ढिलोसम्म बाहिर हुँदा सन्तोषसँग छु भन्दै मेरो नाम लिन्छन्, मेरो विश्वासका कारण आज सबैको प्यारो भएको छु । पारिवारिक जीवन पनि अहिले बिन्दास छ ।”

भूकम्पपछि सन्तोषले आफ्नो सुधारगृह काठमाडौंको बूढानीलकण्ठमा सारेका छन् । उनी अहिले ६१ दुव्र्यसनीलाई सुधार्न तल्लीन छन् । कुनैबेलाका ‘ट्यापे सन्तोष’ अहिले सबैका ‘सन्तोष दाइ’ भएका छन् । रिह्याबमा सँगै बसेका १० भन्दा बढीले सन्तोषसँगै काम गरिरहेका छन् ।

सन्तोषले ०६४ यता ६ सयभन्दा बढी युवालाई कुलतबाट उम्काएका छन्, जसमा लेखकदेखि डक्टर, पाइलटसम्म छन् ।

“एकजना डक्टर मेरो रिह्याबममा बसेर सुध्रिएका हुन् । केही चेकअप गर्दा उहाँले काम गर्ने अस्पताल जान्छु । उहाँले दाइ भन्दै सम्मान गर्नुहुन्छ,” सन्तोष भन्छन्, “अर्का एकजना पाइलट पनि छन् । उनी अहिले नाम चलेको हवाई कम्पनीका जहाज उडाउँछन् ।”

लागूऔषधको कुलतमा परेका दुव्र्यसनीलाई उनी सुझाव दिन्छन्, “कुलतमै रहे मर्ने वा जेल जाने हो, सुध्रेमा जिन्दगी उज्यालो छ ।”

तपाईंको मत