ad

साहित्य र कला

अब रमा सिंहको समाचार पढ्नुस् !

– सन्तोष रिमाल


“आजको समाचार यहीँ सकिन्छ । हामी सबैलाई बिदा दिनुहोस्, नमस्ते ।”

त्यो, त्यो दिनको अन्तिम बुलेटिन थियो । वाचकले बिदा माग्नेबित्तिकै झलमल्ल स्टुडियोको बत्ती झ्याप्पै निभ्यो । बाहिर अँध्यारो थियो । मधुरो प्रकाशले बाटो पहिल्याउँदै १६१० नम्बरको कार सिंहदरबारबाट बाहिरियो ।

चहकिलो उज्यालोबाट निस्किँदा सामान्य प्रकाशमा पनि आँखा ठहरिँदैन, एकछिन लाग्छ । उनी त एकैचोटि हजारौं वाटबाट शून्यमा झरेकी थिइन् । त्यसमाथि चुनौतीको अँध्यारो निस्पट्टै थियो ।

उज्यालोले लेख्ने र उज्यालोमै खेल्नेहरूको मिडिया हो टेलिभिजन । त्यही उज्यालोमा २७ वर्ष चम्किएकी पत्रकार रमा सिंह अँध्यारोमा नेपाल टेलिभिजनबाट बाहिरिइन् । उज्यालोमा मात्रै गरिने टेलिभिजन पत्रकारिताको प्रकाश उनको अनुहारमा नपरेको १० वर्षै बितिसक्यो ।

० ० ०

स्टुडियोको घडीमा बेलुकीको ८ बज्न लागेपछि ‘पेन्सिल हिल’को पाश्र्व ध्वनिले न्युजरुमका सबैलाई र्‍याखर्‍याख बनाउँथ्यो ।

“मौसुफको सवारीसम्बन्धी समाचार यति मिनेट । प्रधानमन्त्रीको कार्यक्रम त्यसपछि । सञ्चारमन्त्रीले आज यस्तो बोलेका छन् । सेना, माओवादी...,” उनी अथ्र्याउँदै जान्थिन् । छिनछिनमा उनको फोन बज्थ्यो । कतिलाई वास्ता गर्दैनथिन्, कतिलाई पाखा लागेर कुरा गर्थिन् । फेरि आफ्ना रिपोर्टरलाई अह्राउँथिन्, “श्री ५ को समाचार अझै लामो गर्नू ।”

“हस् ।” दृश्य सम्पादनमा व्यस्त रिपोर्टर सवाल जवाफ गर्दैनथे ।

“सात दलको आन्दोलन अराजक हुँदै गएको छ, सरकारले दमन गरेको छैन भन्ने विज्ञको बाइट बजाऊँ होला है ?” हस्याङफस्याङ गर्दै कुनै रिपोर्टर उनलाई जाहेर गर्न पुग्थे ।

“तपाईंले बुझिहाल्नुभएको छ, हेरेर गर्नुस् न,” स्वतन्त्रता दिएझैं उनी नियन्त्रण पनि गर्थिन् । रमाको आज्ञा पाएपछि न्युजका लागि ‘स्ट्यान्डबाइ’ रिपोर्टर क्यामेराम्यान र चालक खोजेर घुइँकिहाल्थे ।

सडकमा ‘जनआन्दोलन–२’ चर्किरहेको हुन्थ्यो । स्टुडियोमा रमा सिंहको दिमाग । हतार, तनाव र दबाब उनको मौलिक चरित्र जस्तो देखिन्थ्यो त्यसबखत ।

दरबारको ठाडो आदेशमा अध्यक्ष बनेका शम्भुजित बासकोटा प्राथमिकताको लिस्ट उनलाई सुम्पिन्थे, उनी समाचारलाई ‘प्रभावकारी’ बनाउन माग फर्म बुझाउँथिन् । र, ‘न्युज रुम’को लगाममा अरुको हात नपार्न कटिबद्ध हुन्थिन् ।

नेपाल टेलिभिजनका सबैजसो रमालाई ‘शक्तिको सारथि’ ठान्थे । र, रमाको प्रतिकार कम, शिरोपर ज्यादा हुन्थ्यो ।

शक्तिको सौर्यमण्डलमा उनी ठूलो ग्रहको वरिपरि देखिन्थिन्, उनको परिक्रमा गर्ने उपग्रह पनि उत्तिकै हुन्थे । अचानक सत्ता र शक्तिको सौर्यमण्डलबाट ‘सूर्य’ नै गायब भयो । शक्तिका ग्रह र उपग्रहरू फेरिए ।

राजतन्त्रलाई मजबुत पार्न अध्यक्ष बनाइएका शम्भुजित गणतान्त्रिक सरकारको नियुक्तिमा ‘संगीत नाट्य प्रज्ञा प्रतिष्ठान’को उपकुलपति छन् । ‘ग्रह’ नफेर्दा रमाले पेशा र परिवेश बदल्नु परेको छ । राजतन्त्रवादी विचार नत्याग्दा परदेश पस्नु परेको छ । झन्डै एक दशकदेखि अमेरिका रहँदै आएकी रमा भन्छिन्, “मर्नुभन्दा बहुलाउनु निको । बहुलाउनुभन्दा अमेरिका बस्नु निको ।”

शक्तिको पखेटा हुन्छ । आफ्नो शक्ति भुर्र उडेर अरुकहाँ पुगेको उनले देखिन्, रोक्न सकिनन् । जब शक्ति अरुमा सर्‍यो, उनलाई आफ्नै ठाउँ बिरानो लाग्न थाल्यो । सरकारअनुसार रंग बदल्ने टेलिभिजन चरित्रको त उनी भुक्तभोगी नै थिइन् । त्यो त व्यवस्था नै बदलिएको दिन थियो । हिजो दिदी भन्दै दुई हात जोड्नेहरू टाढैबाट मोडिएको देखिन् । कोही अगाडि पर्नै खोज्दैनथे । जम्काभेट भइहाले पनि अनौठो व्यवहार देखाउँदै तर्किन्थे । सबै बांगिएको देखेकी रमालाई सोझो गरी ठडिएको टावर पनि ढल्किएजस्तो लाग्यो ।

कार्यालय पुगेपछि देखिन्, सरकार फेरिँदा जस्तो रंगमात्र फेरेको छैन टेलिभिजनले, सेट नै बदलेछ । कर्मचारीको भूमिकामात्र होइन, भाषै फेरिएछ । उनको स्रोतले बतायो, भित्तामा टाँगिएका राजाका फोटा च्यातचुत पारेर ‘फ्लस’ गरियो । अर्काइभका धेरै दृश्य मेटाइयो ।

लगत्तै उनले विभागीय प्रमुखबाट नवनियुक्त अध्यक्ष ऋषिराज बरालले मिटिङ गर्ने खबर पाइन् । बरालको कार्यकक्ष भने उनलाई नौलो लागेन । ठान्दै थिइन्, वरिपरि आफ्नै मान्छे छन्, केबल अध्यक्ष फेरिएका हुन् । तर, होइन रहेछ ।

“हिजोसम्म राजाकै भक्तिभाव गाउने ती साथीहरूमा त गणतन्त्रको ‘देउता’ चढिसकेछ । उनीहरूमा राजा फालेको उन्माद थियो, गणतन्त्र ल्याएको गर्व थियो । सात दलकै सारथिझैं आफूलाई प्रस्तुत गरिरहेका थिए भने अध्यक्ष बराल उनीहरूलाई माओवादी कार्यकर्ताजस्तै मानेर सुनिरहेका थिए,” रमाले बेलीबिस्तार लगाउँदै गइन्, “तिनै साथीहरूले मलाई राजाको मान्छे र कमल थापालगायत प्रतिगामी शक्तिको सहयोगी करार गरे । मैले हैन भनिनँ ।”

“अनि ?”

“अनि के हुनु नि ! मलाई प्रशासन शाखामा सरुवा गरियो । अब समाचारको मान्छे प्रशासनमा के गर्नू ? हाजिर गर्थें अनि टाप,” टेलिभिजनमा बिताएका गणतन्त्रपछिका दिन उनलाई सम्झन मन लाग्दैन ।

आफूमाथि परेको ‘अन्याय’बारे सञ्चारमन्त्रीले केही कदम चाल्लान् कि भन्ने झिनो आशा थियो उनको । पहिलो भेटमै सञ्चारमन्त्री कृष्णबहादुर महराको व्यक्तित्वले उनलाई निराश बनायो । धेरै मन्त्री झेलेकी रमाले महरालाई योग्य देखिनन् । “जंगलबाट सिधै सिंहदरबार छिरेको, आँखामा हेरेर सम्बोधन पनि गर्न नसक्ने, आत्मविश्वास पटक्कै नभएको मन्त्री देखेर साह्रै निराश भएँ,” उनलाई लाग्यो आकाशतिर आँखा डुलाएर कुरा गर्ने मन्त्रीले धर्तीका समस्या के समाधान गर्न सक्लान् र खै !

“पहिला–पहिला बिस्तारै हुर्किएर मन्त्री हुन्थे, त्यसैले विषयमा विज्ञता हुन्थ्यो । लडाइँको अनुभव मन्त्रालय पाउने आधार भएपछि त्यस्तै हुने होला,” उनी यस्तै निक्र्योलका साथ फर्किइन् ।

आफ्नो हातबाट समाचारको लगाम खोसिए पनि उनी बेलगाम हिँड्न थालिन् । उनी दोस्रोपटक प्रशासनमा सरुवा गराइएकी थिइन्, जुन ०४५ सालमा सरुवा गराइएजस्तो कठिन मानिनन् उनले ।

“यो नोट दिदीलाई दिनू है,” कसैले भन्यो ।

उनले ‘हुन्छ’ भनेर ब्यागमा हालिछन् । भोलिपल्ट अध्यक्ष नीर शाहले स्पष्टीकरण लिएछन् ।

“हिजो भेटेको मान्छे को हो थाहा छ ?”

“दिदीको क्लासमेट ।”

“हैन । तिनको नाम मोहनबहादुर बस्नेत हो । ती आन्दोलनकारी हुन् । अफिसमै आन्दोलनकारीलाई भेटेर राम्रो गर्नुभएन,” यति गाली गरेपछि नीर शाहले पहिलोचोटि प्रशासनमा सरुवा गरिदिएछन् ।

शक्तिको पखेटा फेरिएको छ । ती आन्दोलनकारी नेता अहिले सञ्चारमन्त्री छन् भने नीर शाह नेपाली कांग्रेसका निकट सहयोगी । शाहलाई कांग्रेस बन्न राजतन्त्र हट्नु पर्‍यो भने रमालाई समाचार शाखामा फर्किन प्रजातन्त्र नै आउनु परेको थियो ।

“त्यो पनि कसरी भने बहुदल आएपछि टुँडिखेलमा विशाल सभा भयो । त्यसको समाचार सम्पादन गर्न स्वयं नीर शाह बसेका थिए । तर, भाषण गर्ने नेताहरूको नाम कसैलाई थाहा थिएन । पञ्चहरू त सबैले चिन्थे । नयाँ नेता चिन्ने ममात्र थिएँ । त्यही योग्यताले म पुनर्बहाली भएँ ।”

“उतिबेला त प्रशासनमा रत्तिन नसकेको मान्छेलाई फेरि राख्न खोजेर हुन्छ ?” उनले पुनः पछिल्लो सरुवाको प्रसंग उक्काइन् । 

आफूलाई ‘ह्यारेस’ गर्न खोजेको भन्दै उनी हाजिर गरेर हिँड्न थालिन् ।

सित्तैमा तलब पकाएको रमाका जोरीपारीलाई सह्य भएन । प्रशासन प्रमुखले १० देखि ५ बजेसम्म कार्यालयमै बस्नुपर्ने उर्दी जारी गरे । उनले समाचार शाखाको काम दिए जुनसुकै समयको पनि गर्ने, प्रशासनमै राखे कामै नगर्ने, धेरै दबाब दिए अदालत जाने जवाफ फर्काइन् ।

“आफ्नो वरिपरि झुम्मिने, अरुविरुद्ध उचाल्ने र स्वार्थ पूरा गर्ने कर्मचारीलाई चिन्न अध्यक्षलाई दुई वर्ष लाग्यो । समाचारमा मेरो महत्व बुझेपछि बल्ल भेट्न खोजे,” उनी दुई वर्षको बीचमा दोस्रोपटक अध्यक्षसँग भेट्न गइन् ।

“उनी पनि आँखामा हेरेर कुरा गर्न सक्दैनथे, भित्तातिरै हेरेर बोले,” अध्यक्षको भनाइ उधृत गरिन् उनले, “तपाईं पनि राष्ट्रवादी, हामी पनि राष्ट्रवादी । जे विचार बोके पनि राष्ट्रको हितमा एउटै विचार हुन्छ । त्यसैले मिलेर काम गर्नुपर्‍यो ।”

“मिलेर काम गर्ने भए मलाई किन सरुवा गर्नुहुन्थ्यो ?”

“फेरि समाचार पढ्नुस् ।”

“अरुको तजबिजका समाचार पढ्न म तयार छैन ।”

“हैन कांग्रेसीहरूले समाचार शाखा खतम पारे । तपाईं गएपछि सुधार हुने अपेक्षा गरेको छु ।”

उनी सोच्ने समय मागेर फर्किइन् । तर, एकैछिनमा सरुवाको चिठी बुझ्न फोन आयो । चिठी बुझेर पनि उनी एकहप्ता ‘न्युजरुम’ छिरिनन् । अध्यक्षले फेरि समाचार पढ्न दबाब दिए ।

साहित्यकारसमेत रहेका बरालले राजनीतिकबाहेकका कार्यक्रममा रमा सिंहलाई समाचार पढ्न नदिएको आलोचना खेप्दा रहेछन् । एकदिन मुखै फोरेर भनेछन्, “लौन तपाईंले समाचार पढेर मलाई गालबाट जोगाइदिनु पर्‍यो ।”

उनी फेरि न्युजरुमभित्र छिरिन् । तर, त्यो न्युजरुम उनले छोड्दा जस्तो थिएन । धेरै चिज बदलिएका थिए । मुख्य त भाषा र वेश ।

“तर, मैले कोट लगाएर समाचार पढ्न दिइएको मौखिक उर्दी मानिनँ । पुरानै शैलीमा साडी लगाएर समाचार पढें,” उनी गलिनन् । बदलिएको न्युजरुममा उनले आफ्नोपन भेटिनन् । रुचिको काम पनि बोझिलो लाग्न थालेपछि उनी ‘रिफ्रेसमेन्ट’का लागि अमेरिका आइन् । चार महिना बसेर नेपाल गइन् । र, फेरि अमेरिकै फर्किइन् ।

“मेरो यता बस्ने विचारै थिएन । बेतलबी बिदामा बस्छु, छोरीलाई सेटल गरेर फर्किन्छु भनेको, तारन्तार राजीनामा दे कि दे भनेर फोन आइरह्यो । सहकर्मीहरू दर्शकजस्तो दयालु कहाँ हुन्छन् र,” यसो भन्दै गर्दा यी ‘बोल्ड लेडी’ पनि केही भावुक भइन्, “साथीभाइले मेरो मूल्यांकन गर्नु त कता हो कता, उल्टो राजीनामा नपठाए कारबाही गर्ने धम्की पो दिए ।”

जीवन बिताएको संस्थाबाट ‘कारबाही’को पुरस्कार मिल्ने भएपछि उनले राजीनामा पठाइन् । उनी निष्पट्ट अँध्यारोमा कारको मधुरो प्रकाशले बाटो पहिल्याउँदै कामबाट निस्किएकी थिइन् । उज्यालोमा राजीनामा बुझाउने मौका पनि पाइनन् ।

“यस्तो छ हेर्नुस् नेपालको पहिलो समाचार वाचकको स्थिति । यहाँको भए उसको सामाजिक र आर्थिक हैसियत कस्तो हुन्थ्यो होला ?”

अँ, रमा नेपालको पहिलो समाचार वाचक हुन् ।

त्यो पहिलो समाचारको टेप टेलिभिजनको दृश्य संग्रहालयमा छ कि छैन ? भए पनि ‘हाई डेफिनेसन’को जमानामा त्यो कति धमिलो लाग्ला– यो विषयमा रमालाई उतिसाह्रो चिन्ता छैन । किनभने त्यो दिन उनको ‘मेमोरी’मा नहराउने, नखुइलिने र नचुँडिने गरी ‘रेकर्ड’ भएको छ । 

२०४२ पुस १४ गते । 

राजको जन्मदिन पारेर समाचार प्रसारण गर्न पाए निरन्तरता पाउने ठानेर जोडतोडका साथ खटेको थियो टोली । १० वटा जति समाचार तयार थिए । सिंहदरबारको माथिल्लो तलामा ठूलो हल थियो, त्यहीँ टेलिभिजनको कार्यालय थियो ।

कार्यालय प्रमुख नीर शाह हलमा छिरे, सबैलाई चुप लाग्न अह्राए, टाइप पनि नगर्न भने । सबैको मोसन ‘फ्रिज्ड’ भयो ।

“ल रमाजी ! समाचार पढ्न तयार हुनुस्,” शाहको एकै बोलीले रमालाई नेपालको पहिलो समाचार वाचक बनायो ।

“त्यहाँ दुर्गानाथ शर्मा पनि हुनुहुन्थ्यो, त्यसैले मैले त्यो अवसरको आशै गरेकी थिइनँ,” उनको सम्झनाको टेप चल्न थाल्यो, “हस् भनेर अघि त सरें तर पढ्ने कसरी ! न टेबल, न मेच, न सेट ! केही त छैन । फेरि के–के चाहिन्छ भन्ने ज्ञान पनि छैन । थपक्क कुर्सीमा बसें, हातले लेखेको पाना दिए, घुँडामा राखेर पढें ।” 

टेलिभिजन सेटमा फिल्मसम्म हेरेको अनुभव थियो उनको । टेलिभिजनमा कसरी समाचार प्रस्तुत गरिन्छ– देखेकी थिइनन् । त्यसका प्रविधि र तौरतरिका कसरी जान्नू ! रेडियोमा समाचार वाचन गरेको अनुभव प्रयोग गरी उनले पढ्ने काम त गरिन् तर समाचार प्रस्तुत भएन । जेहोस्, समाचार भनेको देख्नुअघि नै भन्न पाउने भाग्यमानी भइन् ।

“ल नेपाल टेलिभिजनको पहिलो न्युज सकियो, अब एडिट गरेर प्रसारण गरौं,” नीर शाहले अनुमति दिए । सँगै रहेका दुर्गानाथ शर्माले ‘अब प्रस्तुत छ समाचार’ भन्ने उद्घोषण गरेपछि पहिलो समाचार बज्यो ।

एउटा क्यामेरा, ‘डेक टु डेक’ सम्पादन र ३२ जना जनशक्तिको जगमा खुलेको टेलिभिजनसँग हुर्किंदै गइन् रमा ।

त्यसअघि उनी रेडियो नेपालमा जिल्ला समाचार पढ्थिन् । रेडियोमा टेलिभिजन परियोजनाको रूपमा खुल्ल लागेको समाचार पढेपछि उनमा खुलदुली पैदा भएको थियो ।  उनले हप्तैभरि त्यो एउटा समाचार पढिरहिन् । टेलिभिजन नेतृत्वको जिम्मा पाएका नीर शाहले समाचार भन्नेमाथि पनि ध्यान दिएका रहेछन् ।

रेडियोमा गीत रेकर्ड गर्न जाँदा गायक राम थापाले रमासँग चिनजान गराइदिए । 

“ए, जिल्ला समाचार पढ्ने रमा सिंह तिमी नै हो ?” शाहले एकैपटक दुइटा प्रश्न गरेछन्, “अनि टेलिभिजनमा काम गर्न मन छ ?”

“जानेको त छैन । मौका पाए गर्छु,” रमाले जवाफ दिइछन् । ‘योङ जेनेरेसन’को खोजीमा रहेका नीरले रमालाई छाने ।

जतिबेला उनीहरू टेलिभिजन चलाउन लागेका थिए, त्यतिबेला यसको सिर्जनात्मक पक्षबारे त्यति टाउकोदुखाइ नै भएन । किनभने यो माध्यमबारे अधिकांशलाई जानकारी नै थिएन । एउटा भाँडोमा केही चल्नु, बोल्नु नै अनौठो थियो । र, त्यो अनौठो जिम्मेवारी सबैका लागि रोमाञ्चक थियो ।

त्यतिबेलाको राष्ट्रिय पञ्चायतमा टेलिभिजन खोल्नु हुँदैन भन्नेको चर्को आवाज उनले भुलेकी छैनन् । “तीन घण्टा गाग्री बोकेर पानी भर्न जानुपर्छ । कृषिमा उपयुक्त प्रविधिको व्यवस्था गर्न सकिएको छैन । कति ढिँडोमा कति नुन हालेर पकाउँदा पोषण पुग्छ, जनतालाई थाहा छैन । केको टेलिभिजन खोल्नुपर्‍यो ?” राष्ट्रिय पञ्चायत भवनमा धादिङका सांसद हरिबहादुर थापाले उठाएको प्रश्नले प्रसारण अनुमति दिनेलाई नै अलमलमा पारेको उनी सम्झन्छिन् ।

तैपनि टेलिभिजन खुल्यो । छिट्टै हुर्कियो । छानामा एन्टेना हुनेको शान बढ्ने जमानामा टिभीमा बोल्नेका मानको के कुरा ! उनले प्रशस्त मान पाइन् । राष्ट्रिय फुटबल खेलाडीसमेत रहेकी रमालाई थाहा थियो– गोल कसरी हुन्छ । उनले आफ्नो ‘गोल’ पूरा गर्दै गइन् ।

नेपालको शक्तिकेन्द्रसँग सम्बन्ध विस्तार गर्न उनलाई समय लागेन । शक्तिमा उनको पहुँच थियो । त्यसैले टेलिभिजनभित्र उनको शक्ति थियो ।

‘पेसिन्सल हिल’ले टेलिभिजन थर्काउने त्यो भूमिकाको प्रसंग निकाल्दा उनी एकछिन हाँसिन् । र, भनिन्, “त्यो ठाउँबाट बाहिर आएपछि बल्ल आफ्नो शक्ति थाहा हुँदो रहेछ । त्यतिबेला त काममै व्यस्त भइयो । शक्ति थाहा पाएको भए म घमण्डी हुन्थें, स्वार्थी हुन्थें तर रमा सिंह हुँदिनथें ।”

प्रविधिको परिवर्तनलाई नेपाल टेलिभिजनले पछ्याउँदै गयो । रिले ट्रान्समिसनबाट स्याटलाइटमा पुग्यो । भीएचएस, युम्याटिक, बेटाक्याम हुँदै डिजिटल क्यामेरामा परिस्कृत भयो । लिनियरको ‘कट टु कट’ सम्पादनलाई ‘ननलिनियर’ले विस्थापित गर्‍यो ।

“प्रविधिसँगै आफूलाई फेर्नुपर्ने क्षेत्रमा तपाईंले भनेजस्तो सत्ता र शक्तिको पछाडि कुद्न भ्याइनँ । ठूला शक्तिसँग देखेको भरमा मलाई शक्तिशाली बनाइएको हो भने त्यो त जागिर थियो,” उनले भनिन् ।

आम अवधारणा के छ भने रमा सिंह दरबारिया हुन् । उनको लेखाइ र व्यवहारले पनि त्यसलाई पुष्टि गर्छ । तर, रमा भन्छिन्, “म दरबारपीडित हुँ ।”

“कसरी ?”

“त्यति चुनौती मोलेर काम गरें, दरबारबाट एकपटक पनि धन्यवाद पत्र पाइनँ । बर्सेनि तीन सय पदक बाँडिन्थ्यो, मेरो भागमा परेन । ज्ञानेन्द्र सरकारको जिल्ला भ्रमणमा महाप्रबन्धकले मलाई नै खटाए । त्यस्तो कार्यक्रममा अरु जान, गए पनि बोल्न, बोले पनि चित्त बुझाउन सक्दैनथे । चरम द्वन्द्वकालमा १८ महिनाकी छोरी छोडेर ३८ जिल्ला गएँ । त्यति गर्दा पनि जीएम बन्न पाइनँ ।”

रमाका अनुसार टेलिभिजन व्यवस्थापनले राजाको रिपोर्टिङ गर्न उनैलाई खटाउँथ्यो । माओवादीहरू ‘ज्ञानेन्द्रको मतियार, छोरीको माया छ कि छैन ?’ भन्दै थर्काउँथे । “खटाएको ठाउँमा नजाऊँ– जागिर जान्छ, जाऊँ– ज्यान जाने डर,” उनले डर जितिन् । तर, राजाको मन जित्न सकिनछिन् ।

राजाको मध्यपश्चिमाञ्चल भ्रमणकै दौरान रानी कोमलको जन्मदिन परेछ । सुर्खेतको ब्यारेकमा भोज आयोजना भयो । नजिकै रहेकी रानीले सोधिछन्, “साडी लगाएर गाउँ–गाउँ हिँड्न गारो हुन्छ होला है !”

राजारानीले पनि खाना र बसाइको बारेमा खुबै ध्यान दिँदा रहेछन् ।

राजकै सामुन्ने ‘पर्फमेन्स’ देखाउन पाएकी रमालाई त्यो वर्षको गोरखा दक्षिणबाहुको ठूलो आशा रहेछ । तर, त्यो टेलिभिजनकै पुरुष सहकर्मीको खल्तीमा गएपछि उनको मन कुँडियो । “राजाको भिजिटमा जाने तीन सयले पाएका पदक मैले नपाउँदा दुःख लाग्दैन त ?” आफ्नो नाम काटेर संवाद सचिव योगेश्वर कार्कीले अर्कैलाई दिएको उनले थाहा पाइन् ।

नेपाल टेलिभिजनमा महाप्रबन्धक पद खाली थियो । त्यसको आकांक्षी सिंह राजासँगै भ्रमणमा थिइन् । टेलिभिजनको पुरानो कर्मचारी र समाचार प्रमुख भएका आधारमा उनी त्यो पदको दाबेदार थिइन् । 

‘जनताका पीरमर्का’ बुझ्न हिँडेका राजा ‘बुझें बुझें’ भन्दै अगाडि बढ्दै थिए । रिपोर्टिङमा गएकी रमाले मौका छोपेर बिन्ती बिसाइन्, “प्रभु ! जीएम पद खाली छ । मैले पनि इच्छा जाहेर गरेकी छु, नेतृत्व दिन चाहन्छु, क्षमता पनि प्रदर्शन गरेकै छु ।”

उनले एकै सासमा भनाइ राखिन् । तर, राजा हाँसेछन् मात्र । यो विषयमा उनले ‘बुझें बुझें’ पनि भनेनछन् । रमाले ठानिछन्, राजाले बुझेकै भएर केही नभनेका होलान् । तर, होइन रहेछ । उनीहरू भ्रमणमै छँदा नेपाल टेलिभिजनमा जीएम नियुक्त भएर आए– शम्भुजित बासकोटा । 

पछि उनको स्रोतले भन्यो– संवाद सचिव योगेश्वर कार्की र मुख्यसचिव लोकमानसिंह कार्कीकहाँ शम्भुजितको आउजाउ निकै बाक्लो हुन्थ्यो । र, उनको गाडीको डिकीमा ब्ल्याक लेबलका बोत्तल टुट्दैनथे ।

“त्यस्तो पो हुँदो रहेछ जीएम बन्ने तरिका,” उनी खित्का छोडेर हाँसिन् ।

परम राजतन्त्रवादीहरू गणतन्त्रका पुजारी भएका छन् । रमा अझै पनि राजा चाहिन्छ भन्दै छिन् ।

“मैले राजाको रूपमा ज्ञानेन्द्र वा कुनै व्यक्तिको कुरा गरेकी होइन । संस्थाका रूपमा नेपालमा राजा चाहिन्छ,” उनी आफ्नो भनाइलाई बलियो बनाउन खोज्छिन्, “राजा नभएको ठाउँमा नेतालाई डर र जनतालाई भर हुँदैन । त्यसो नहुँदा देश के हुन्छ भन्ने जान्न अझै पर्खनु पर्ला र ?”

अहिलेका नेताहरूलाई ‘एक्स्ट्रिम लङ’ देखि ‘बिग क्लोजअप’सम्म कम्पोज गरेको छ उनको क्यामेराले । उनीहरूमा आएको परिवर्तन ‘टाइमल्याप्स’ फुटेजझैं देख्न सक्छिन् रमा । “त्यो अथाह आम्दानीको स्रोत के ?” उनी प्रश्न गर्छिन्, “आफ्नो पैसाले श्रीपेच किनेर लगाऊ, राजा हुँ भन्दै हिँड, मलाई आपत्ति छैन । तर, देशको ढुकुटीले कतिजना राजा पाल्ने ?”

उनमा ‘ब्रोडकास्टिङ’को आदत छ । सामाजिक सञ्जालले हरेक व्यक्तिलाई प्रसारक बन्ने अवसर दिएको छ । त्यसको लाभ उठाउँदै उनी विचार प्रवाह गरिरहन्छिन् । व्यवस्थाको कसीमा उनका विचार प्रतिगामी लाग्छन् । तर, उनी आफ्नो आस्था र विचारलाई बेहिसाब मन पराउँछिन् ।

उनलाई ‘स्टुडियोको घडी’ले २७ वर्ष घुमायो । स्टुडियो पछाडिका घटनाले झन् बढी घुमाए । ‘डे लाइट सेभिङ्स’को नाममा मान्छेले घडीलाई घुमाउने देशमा छिन् अहिले । गुजाराका लागि उनी घडीअनुसार चल्छिन्, आनन्दका लागि विचारअनुसार । घडीमा समय त देखिन्छ तर समयको संकेत बुझ्न सकिँदैन । उनी समयको संकेत बुझ्ने चेष्टा गरिरहेकी छन् । र, बुझेकी छन्, “यो समय छोरीका लागि हो । र, छोरीका गतिविधि प्रमुख समाचार हुन् ।”

तपाईंको मत