एसएलीमा चारचोटी फेल भए पनि चलचित्र उद्योगमा भने उनी पहिलोचोटी नै पास भए । ‘फष्र्ट लभ’ मार्फत परीक्षा दिएका उनी पासमात्रै भएनन्, नजिर समेत बने–बसाए ।
प्रसंग हो, चलचित्र निर्माता माधव वाग्लेको । केही हण्डर र ठक्कर खाए पनि समग्रमा जिन्दगीको रेखामा उनी पास नै भए । जिन्दगीमा बक्र रेखाहरु उनले देखे, भोगे र पार गरे ।
जापानमा १२ वर्ष बसेका माधवले विदेशमा नेपालीले भोग्ने दुःख र त्यहाँ नेपालीले गर्ने कामबारे आफैँले एउटा सूत्र बनाएका छन्, ‘थ्रि डी’ ।
डर्टी, डेन्जरस र डिफिकल्ट ।
केके गर्नुभयो जापानमा भन्ने प्रश्नमा उनी भन्छन्, “सबैलाई थाहा छ विदेशमा नेपालीले गर्ने काम ।”बुधबार साँझ पपकर्नको अफिसमा गफिँदा उनी छेवैको निर्माणाधीन अग्लो विल्डिङतर्फ देखाउँदै भन्छन्, “उ.. त्यो घरमा जसरी झुण्डिएर कलर गर्दैछन् नि, हो त्यसैगरी मैले त्यो काम पनि गरेको छु जापानमा ।” चम्किलो अनुहार केही मलिन हुन्छ उनको ।
भन्छन्, “चलचित्र निर्माण मैले गरेको २२ औँ काम हो ।
० ० ०
माधवको जिन्दगीको पोयो खोल्दा थाहा भयो, उनको सपना आर्मी अफिसर हुने रहेछ । बुवा अञ्चलाधीशको कार्यालयमा काम गर्थे । बुवा क्वार्टरमा बस्थे । माधव पनि सँगै हुर्किए । उठबस अञ्चलाधीशका छोरोछोरीसँग थियो । संगत ठूलाका छोराछोरीको सपना पनि ठूलै । उनलाई पनि आर्मी अफिसर बन्ने रहरले छोपेको थियो । उनकै जस्तो चाहले गाँजेकासाथीहरु पनि थिए । खुब तालिम गर्थे, आर्मी हुनका लागि । आर्मी भर्तीका लागि समय नजिकिँदै थियो । एसएलसी दिए । एसएलसी नै बाधक बनेर आयो माधवको सपनाको । एसएलसी फेल भएपछि उनको सपनाले पनि हावा खायो । भुरुर्र उडेर गयो उनको सपना आकाशमा ।
र, त्यतै कतै हरायो ।
“तीन जना साथी आर्मी भए । एउटा त पाइलट छ,” उनले सम्झिँदै भने ।
एसएलसीले सपना चुँडेर लग्यो । तर, जिन्दगी भने चुँडिएको थिएन । एसएलसी चार पटकमा पास भए । आईए भारतको मोतीहारीमा गएर पढे । एसएलसी फेलभएपछि उनले ठेकेदारी गर्न थाले । ललितपुर पाटनका आनन्द श्रेष्ठ उनका ठेकेदारी गुरु थिए । वीरगन्जका माधव स्थानीय ‘केटा’हरुको लिडर थिए । ‘केटा’हरु जम्मा पर्ने र काम गर्ने । पाटनबाट गएका आनन्दले टेन्डर पार्थे, माधव उहीँ बसेर काम गर्थे । पछि उनी आफैं टेन्डर भर्न थाले । आफैं ठेकेदार भएर काम थर्न थाले ।
‘सेभेन पावर प्रोजेक्ट’ को टेन्डर थियो । मिलिसकेको टेन्डरमा अन्तिम समयमा आएर अर्कोले आफ्नोभन्दा कममा टेन्डर हालेपछि माधवलाई रिस उठ्यो । उनले बिलो ३० प्रतिशतमै टेन्डर भरे । टेन्डर त पर्यो तर त्यो १ करोड ३६ लाखको टेन्डरमा उनलाई ४० लाख घाटा लाग्यो ।
माधव कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेका समकालीन थिए । अहिले विक्रम कन्स्ट्रक्सन क्षेत्रका टाइकुन नै बनिसके । तर, माधवले ठेकेदारीको काम नै छाडेर जापान पसे ।
माधवले ठेकेदारी गरिरहेका बेला पञ्चायती शासन थियो । पञ्च र राजाको विगविगी । मरिचमान प्रधानमन्त्री थिए । स्भाभिमानी मरिचमान झिकेनन् । भारतले नाकाबन्दी लगायो । सबैभन्दा ठूलो अभाव पेट्रोलियम पदार्थको भयो । जहाजबाट सरकारले केही परिमाणमा पेट्रोलियम पदार्थ ल्याए पनि त्यो पर्याप्त थिएन । सीमा छेउमा बस्थे माधव वीरगञ्जमा । उनलाई पैसामात्रै सबै थोक हैन, जनता अभावमा बाँचिरहेका बेला केही न केही सहयोग गर्नुपर्छ भन्ने लाग्यो । उनले नाकाबाट गाडीका गाडी तेल नेपाल ल्याएर बेच्थे । तर उनी लागत मूल्यमै दिन्थे रे ! “पैसा कमाउन त्यो मैले गरेको थिइनँ, अभावमा सहयोग गर्ने मनसायमात्रै थियो,” उनले सम्झिए ।
त्यो बेला प्रहरी प्रशासनले जनतालाई दुःख दिने गरेको उनलाई अझै पनि आजै जस्तो लाग्छ । “खुब दुःख दिन्थ्यो त्यो बेला प्रहरी प्रशासनले जनतालाई, त्यही भएर ढलेको हो पञ्चायत । जनता प्रहरी प्रशासनसँग रुष्ट थिए,” उनको दिमागमा ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थाको छायाँ आलै रहेछ । त्यो सम्झना सुनाउँदा उनको अनुहारमा पनि पञ्चायती व्यवस्था विरोधी आक्रोशका रेखाहरु दौडिरहेका थिए ।
जापानमा काम सजिलो नभए पनि पैसा भने राम्रै थियो । १ लाख स्यालरीबाट काम सुरु गरेका उनको तलब साढे तीन लाख पुगेको थियो ।
उनले जापानमा काम गरेर कमाएको पैसाले १७ वटा ‘उबर’ गाडी किने । तर, ती गाडी माओवादी जनयुद्धले खाइदियो । माधव एड्भान्स लिएर गाडी भाडामा दिन्थे । को माओवादी को आर्मी, के थाहा उनलाई । कहिले गाडी माओवादीले समात्ने कहिले आर्मीले । दुवैले गाडी मालिक को हो भनेर ‘लतारेर’ लाने । दुवैले किन दिइस् माओवादीलाई र किन दिइस् आर्मीलाई भनेर केरकार गर्ने । उनका गाडि माओवादी युद्धको कोपभाजनमा परेर सकिए । “जम्मा दुईटा बाँकी छन्,” उनले फेहरिस्त सुनाए, “एउटा सूर्य टोबाको र एउटा डाबरले लिएका छन् ।”
० ० ०
चलचित्र निर्माता तथा निर्देशक नरेन्द्र महर्जन उनका बाल्यकालीन साथी । माओवादी द्वन्द्वले सबै साथीहरु सडकमा आइपुगेका थिए । माओवादी जनयुद्धले गाडी खाइदिएपछि माधव नरेन्द्र महर्जनसँगै हिँडिरहेका थिए । ‘अग्नी ज्वाला’ चलचित्रको प्रि–प्रोडक्सनदेखि नै माधव सँगै थिए । नरेन्द्रसँगै हिँडेको देखेर सबैले उनलाई सोध्थे उहाँ को हो ? नरेन्द्र भन्थे मेरो साथी ।
माधवलाई नैतिक ‘प्रेसर’ महसुस भयो । नरेन्द्रसँग हिँड्दाहिँड्दै उनले चलचित्र बुझिसकेका थिए । चलचित्र नबनाए पनि उनी सकेसम्म चलचित्र छुटाउँदैन थिए ।
उनले पनि चलचित्र बनाउने निर्णय गरे । कथा आफ्नै जिन्दगीको थियो । स्टोरीलाइन स्क्रिप्टराइटरलाई दिए । पछि त्यो स्क्रिप्टलाई प्रचण्डमान श्रेष्ठले फाइनल गरे । चलचित्रको नाम थियो,‘फष्र्ट लभ’ ।
भारतीय चलचित्रको सूत्रमा चलचित्र बनिरहेका बेला उनले फरक धारको चलचित्र बनाए । “कतिले मलाई कराए, छविराज ओझा दाइले त लगानी डुबाउने भयौ भन्नुभयो । तर मलाई मन परेकाले बनाएँ,” माधव नोष्टाल्जिक भए, “चलचित्र सबै हलमा हाउसफुल भयो । ६७ लाखमा बनेको चलचित्रले ९१ लाख कमायो ।”
नेपाली चलचित्रको इतिहासमा फरक खालको पहिलो चलचित्र ‘सानो संसार’ भए पनि त्यो चलेन । तर माधवको मन भने त्यसले छोएको रहेछ । र, त्यस्तै खालको चलचित्र उनले बनाए, ‘फष्र्ट लभ’ । यही चलचित्रले हो फरक खालको चलचित्रलाई नेपालमा संस्थागत गरको ।
० ० ०
चलचित्र उद्योग धरासायी थियो । सरकारले चलचित्र उद्योगमा संकटकाल घोषणा गर्न लागेको थियो । केही निर्माताहरुले चलचित्र त बनाइरहेका थिए तर ती घाटामा थिए ।
त्यही बेला माधव वाग्लेका साथी अविनाश विक्रम शाहले एउटा कालोकालो वर्णको फुच्चेफुच्चे मान्छे भेटाउन ल्याए । नाम थियो,– निश्चल बस्नेत । चलचित्र निर्देशन गर्नका लागि उहाँ तयार हुनुहुन्छ र यो विषयमा उहाँसँग सैद्धान्तिक नलेज पनि छ भनेर चिनाएपछि माधवले निश्चललाई स्टोरीलाइन दिए । निश्चलले माधवकै स्टोरीलाइनमा बसेर स्क्रिप्ट तयार पारे । चलचित्रको नाम जुर्यो, ‘लुट’ ।
सेन्सरबोर्डबाट बल्लबल्ल फुत्किएको चलचित्रले बम्पर व्यापार गर्यो । काठमाडौं उपत्यका र बाहिर हाउसफुल भएको चलचित्र लुट ५४ लाख ६० हजारमा बनेको थियो तर कमायो ६ करोड । यो चलचित्र लाग्नेबित्तिकै मौलिक विषयमा चलचित्र बने व्यापार पनि गर्छन् भन्ने भयो, सरकारले संकटकाल लगाउन लागेको चलचित्र उद्योगमा संकटकाल नै लागेन ।
यो चलचित्रले नेपाली चलचित्र उद्योगमा ‘फरक धार’ स्थापित गर्यो । सौगात मल्ल, दयाहाङ राई यही चलचित्रबाट स्थापित भए । “गौतम बुद्ध नेपालमा जन्मिए तर भारतीय भूमिमा गएर बुद्धत्व प्राप्त गरेकाले उनलाई भारतले पनि बुद्ध हाम्रो हो भनेर क्लेम गर्छ,” माधव भन्छन्, “सौगात र दयाहाङ अरु चलचित्रबाट डेब्यू गरे पनि मेरो चलचित्रबाट स्थापित भएका हुन् । त्यसैले उनीहरु मेरो चलचित्रबाट स्थापित भएका हुँ भन्छु म ।”
“विपिन कार्कीलाई मैले नै ल्याएको हुँ, लुटमा उसलाई बोल्न पनि दिएको थिइएन, पछि मैले उसलाई ‘छड्केमार्फत स्थापित गरेको हुँ,” माधवले दाबी गरे ।
उनले ‘लुट’ को एउटा भेद पनि खोले । “सुशील पाण्डे र ऋचाको लभ स्टोरी पाटो ‘खत्रा’ थियो । नरेन्द्रलगायतका साथीहरुले पनि खुब मन पराएका थिए तर निश्चलले त्यसलाई राख्न मानेन सायद त्यो राखेको भए अझ राम्रो हुनेथियो ।”
चलचित्र निर्माणका माधवको यात्रा रोकिएन । ‘छड्के’ र ‘मिसन पैसा रिलोडेड’ पनि उनकै चलचित्र हुन् । ठूलो क्यान्भासमा बनेको ‘छड्के’ ले १ करोड ६० लाख लगानी त उठायो तर नाफा भने कमाउन सकेन । माधव यसलाई टेक्निकल कारण भन्न रुचाउँछन् ।
‘रेशम फिलिलि’ उनैले बनाएको चलचित्र हो । यसको व्यापार भूकम्पले चौपट बनाए पनि गीतले भने बाजी मारिसकको थियो । ‘पिरतीको छाता ओडाइदेउ ...’ बोलको गीत तत्कालीन समयमा सबैभन्दा धेरै युट्युबमा हेरिने गीत थियो भने सय भन्दा धेरै कभर सङको रुपमा युट्युबमा अपलोड गरिएको थियो,” उनले भने ।
यसले चलचित्रको गीतको ट्रेन्ड नै बदलदियो । चलचित्रको गीत चलचित्रको प्रोमोशनको माध्यम बन्न सक्छ भन्ने नजिर मात्रै बसेन, त्यपछिका अधिकांश चलचित्रले एउटा गीत राम्रो बनाएर त्यसलाई प्रचारको साधनको रुपमा प्रयोग गर्न थाले ।
‘रेशम फिलिलि’ पछि माधवले ‘लभ साशा’ लिएर आए । चलचित्रले राम्रो समीक्षा बटुल्यो । तर राम्रो व्यापार गर्न सकेन । करोड छेउको बजेटमा बनेको चलचित्रले ५ लाखमात्र कलेक्सन गरयो । माधव आफंैले भने आफ्नो चलचित्रको व्यापार ५ लाख भनेर । “मैले नेपाली चलचित्र उद्योगलाई अर्को राम्रो चलचित्र दिएको हो ‘लभ साशा’, तर सायद निर्देशकको भाग्य थिएन वा कर्मा र केकीको भाग्य बलियो थिएन चलचित्र चलेन,” माधव लप्पनछप्पन विना स्पष्ट सुनिए ।
माधवकै हो ‘लुट–२’ पनि । चलचित्रले पहिलो हप्ता आक्रमक व्यापार गर्यो । एभरेज समीक्षा बटुल्यो ।
माधवका केही चलचित्र चले, केही फ्लप भए । अहिले ‘लालपुर्जा’ पाइपलाइनमा रहेको चलचित्र हो । ‘चंगा चेट’ को स्क्रिप्टमा छन् माधव ।
कहिले उकाली ,कहिले ओराली, कहिले बालकको कलिलो हाँसो त कहिले यौवनको मदमत्त हाँसो, उनको चलचित्र यात्राको प्रतिविम्ब हुन् ।
ठेकेदारी गरे, लकडी बेचे, सप्लायर्स भए, नेपालमा भर्खर फोटोकपी मेसिन आउँदा त्यसको व्यापार गरे, केमिकलको व्यापार गरे, पत्रिकामा काम गरेको अनुभव पनि छ उनलाई । “मेरा २२ काममध्ये पत्रिकाको एडिटर पनि हो । म कुनै समय बोर्डरलाइन भन्ने पत्रिकाको सम्पादक पनि थिएँ,” उनले जिन्दगीको अनुभव साटे ।
के पाउनुभयो चलचित्र बनाएर ?हिरो त अरुलाई नै बनाउनु भयो नि ! भन्ने जिज्ञासामा माधव भन्छन्, “मैले अरु पेशाबाट पैसा कमाएँ, तर चलचित्रले मलाई नाम दियो ।”
सौगात, दयाहाङ, विपिन सेतोपर्दाका हिरो हुन्, तर माधव पर्दा पछाडिका हिरो हुन्, जसले थुप्रै राम्रा चलचित्र दिए । राम्रा कलाकार पहिचान गरे ।
चलचित्र डाइरेक्टरलाई चलचित्रको आमा, प्रोडुसरलाई बुवा र कलाकारलाई छोराछोरी हुन् भन्ने माधव नेपाली चलचित्र उद्योग र सञ्चार जगतले बुवालाई नै नखोजेकोमा गुनासो गर्छन् । चलचित्र प्रोडुसर र फाइनान्सरमा फरक रहेको बताउने माधव यसको भेद छुट्याउन सक्नुपर्नेमा जोडबल गर्छन् ।
नेपाली मौलिक चलचित्र बनाएर भारतलाई मुख्यबजारको रुपमा विकास नगरेसम्म नेपाली चलचित्र ले फड्को नमार्ने धारणा राख्दै अन्तिममा उनले भने, “सुरुमा आफ्नै सम्बन्धको आधारमा भुवन केसी र आकाश अधिकारी दाइले आफ्नो चलचित्र लिएर अमेरिका जानहुन्थ्यो, मेरो चलचित्र लुटदेखि चलचित्र नेपाली बसोबास गरेका दर्जनौं मुलुकमा चल्न थाले । हामीले आफ्नै संस्कार, संस्कृति, परिचय र पहिचान झक्किने चलचित्र लिएर विश्व बजार जानुछ ।”