ad

अन्तर्वार्ता

मेरो प्रतिस्पर्धी ४ वर्ष सांसद हुँदा कहाँ हुनुहुन्थ्यो ? : गगन थापा 

प्रत्यक्ष कार्यकारीमा जाँदा देश डुब्छ भनेर मलाई केपी ओलीले दिएको लेक्चर याद छ

कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेता गगन थापा काठमाडौं क्षेत्र नं ४ बाट दोस्रो पटक उमेदवारका रुपमा चुनावी मैदानमा छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारका स्वास्थ्य मन्त्री समेत रहेका थापासँग कम्युनिस्ट गठबन्धनबाट एमाले केन्द्रीय सदस्य डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् ।

सरकारमा रहँदा स्वास्थ्यका क्षेत्रमा उनले गरेका कामहरुका अहिले पनि प्रशंशा हुने गरेको छ । स्थानीय निर्वाचनमा कांग्रेस कमजोर देखिएका कारणले पनि अघिल्लो निर्वाचनभन्दा बढी थापालाई अहिले मेहनत गर्नुपर्ने भएको छ ।

उनले बिहान ७ बजेदेखि बेलुका अबेरसम्म जनताको घरदैलोमै व्यस्त छन् । बुधबार कपनको गुरुङ टोलदेखि खरिबोटको चुनावी अभियानमा सहभागी रहेका थापासँग कुराकानी गर्न हामी पनि त्यहीँ पुग्यौं । 

घरदैलो अभियानकै क्रममा कांग्रेस उमेदवार थापासँग  बाह्रखरीका लागि अशोक पौडेलले गरेको कुराकानी :

 

चुनावी अभियानमा व्यस्त हुनुहुन्छ, कस्तो पाउनुभएको छ माहोल ?

पहिलो चरणमा हामीले घरदैलो अभियान चलाएका छौं । त्यसपछि कोणसभा र आमसभाहरू गर्छौ । यो निर्वाचन क्षेत्र पहिलो र दोस्रो संविधानसभामा हामी विजयी भएका हौं । 

त्यसले गर्दा यो निर्वाचन क्षेत्र मात्र नभई प्रजातान्त्रिक शक्तिलाई मत दिने बाहुल्यता भएको क्षेत्र हो ।

 

कांग्रेसकै भोटले जितिन्छ कि अरु भोट पनि आउनुपर्छ ?

कांग्रेसकै भोट भन्दा पनि प्रजातान्त्रिक भोट हो । यो भन्दा अघिल्लो निर्वाचनमा पनि कांग्रेस बाहेकका मतदातले मलाई भोट दिनुभएको थियो । उहाँहरूको अपेक्षाअनुरुप राष्ट्रिय राजनीतिमा मैले जे भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो अधिकांश गरेँ जस्तो लाग्छ ।

स्थानीय चुनावको कुरा गर्दा यो क्षेत्रमा कांग्रेस कमजोर देखियो । वडा तहमा अधिकांशमा एमाले विजयी भएको थियो । चुनौती पनि देखियो नि हैन र ?

जुनसुकै निर्वाचनको परिणामलाई हामीले कम आँक्नुहुँदैन । स्थानीय निर्वाचनमा हाम्रो नतिजा खासै राम्रो भएन । त्यसले हामीलाई सिक्ने र सजक हुने मौका दिएको छ । अघिल्लो निर्वाचनमा सानदार ढंगले जितेको भनेर हामी हिँड्थ्यौँ होला । 

जसले गर्दा हाम्रो तयारी कम हुन सक्थ्यो । यत्रो जनाधार भएको र काम पनि भएको ठाउँमा किन कमजोर आयो भनेर हामीलाई सजक बनायो । त्यसैले धेरै मेहनत गर्नुपर्ने र आफ्नो कुरा जनतामा पुर्याउनुपर्ने ठानेका छौं ।

स्थानीय चुनावको पराजयको कारण टिकट वितरणमै असन्तुष्टिले गर्दा पनि भएको भन्ने छ । खास कुरा के हो ?
 

स्थानीय तहको निर्वाचनको समयमा हामीले आफ्नो घरभित्रको समस्या मिलाउन सकेनौं । त्यो समय म स्वास्थ्य मन्त्रालयमा व्यस्त भएका कारणले गर्दा यहाँ धेरै समय दिन सकिनँ । एक–दुई कार्यक्रममा बाहेक सहभागी पनि हुन सकिनँ । 

अहिले हाम्रो केही समस्या छैन । सबै मिलाएर उमेदवारी दिएका छौं । पार्टीको साथीहरु एक ढिक्का हुनुहुन्छ । स्थानीय निर्वाचनको हारको तोड सबैमा छ । हामीलाई जित्ने आत्मविश्वास छ । तर, मेहनत गर्नुपर्छ भन्नेमा सजक छौ ।

तपाईँको प्रतिद्वन्द्वीले २०४८ देखि एमालेले जित्दै आएको क्षेत्रमा दुई संविधानसभामा मात्रै कांग्रेस विजयी भएको र स्थानीय निर्वाचनदेखि एमालेले नतिजा आफ्नो पक्षमा फर्काएको दाबी गर्नुभएको छ, अवस्था त्यस्तै हो ?

उहाँको दाबीमा मेरो कुनै टिप्पणी छैन । उहाँको आफ्नै हिसाब किताब होला । यो क्षेत्रमा पर्ने कपनको तत्कालिन गाविस हुँदाका वडाहरूमा कांग्रेसले जितेको हो ।

महानगरपालिका भित्रका वडा नं ७ र ८ हामी पञ्चायतकालदेखि कहिल्यै हारेका छैनौं । त्यति मात्रै होइन, चार वर्षदेखि मैले गरेका काम र अब राष्ट्रिय राजनीतिमा मैले र प्रदेशमा मेरो साथीहरूले खेल्ने भूमिका हेर्न चाहनुहुन्छ । यहाँबाट निर्वाचित गरेर पठाउनुहुन्छ  भन्नेमा विश्वस्त छु ।

अर्को कुरा मेरो प्रतिस्पर्धी (डा.राजन भट्टराई) पनि यसअघि सांसद नै हुनुहुन्थ्यो । यो क्षेत्रका जनताले दुःख पाएको विषय उहाँको पनि होइन र ? यो क्षेत्रका ८० प्रतिशत जनतालाई उहाँ सांसद हुनुहुन्थ्यो भन्ने कुरा थाहा रैनछ । ‘म जहाँ गए पनि ए उहाँ पनि सांसद हो र ?’ भन्छन् । चार–चार वर्ष सांसद भएर उहाँ कहाँ हुनुहुन्थ्यो ? यो पनि जनताले जान्न पाउनुपर्छ ।

तपाईँले अघिल्लो प्रतिवद्धताअनुसार काम गर्न नसकेको भन्दै यहाँप्रति मतदाताको तीव्र असन्तुष्टी छ भन्ने सुनिन्छ  नि ?

त्यस्तो छैन । यो एकदमै बढाई चढाई गरेर भनिएको मात्रै हो । यो भित्र दुई कुरा छ । मुलत म संविधान निमार्ण, राष्ट्रिय राजनीतिमा मैले गरेका कामका लागि गएको हुँ । सँगै यहाँको स्थानीय विकास निमार्ण लगायतका कामका लागि सबैभन्दा धेरै बजेट छुट्टिएको ठाउँ हो । कामहरु हुँदै छ ।

तपाईँले यसो भनिरहँदा उपत्यकामा सबैभन्दा अस्तव्यस्त सडक र संरचना यही क्षेत्रमा देखिन्छ, होइन र ? 

यो एक प्रकारले ठिकै हो । यहाँ सबै निमार्णकै चरणमा छन् । तपाईँ भन्नुस् एउटा बन्दै गरेको घर कस्तो देखिन्छ ? जगै नहालेको जग्गा समथर देखिन्छ । बन्दै गरेको घरमा जताततै निमार्णका सामानहरू छरिएर रहेका हुन्छन् । रडहरू ठडिएको देखिन्छ ।

यो सम्पन्न भएपछि एकदम राम्रो देखिन्छ । अहिलेको यहाँको अवस्था भनेको बन्दै गरेको बीचको अवस्था हो । यहाँ यति सचेत नागरिक हुनुहुन्छ कि त्यो समथर जमिनमा जग कसरी हालियो, निक्लेको रडहरू के हो भन्ने बुझ्नुहुन्छ । बन्दै गरेको घरमा यस्तो किन यस्तो भनेर मतदाता अल्झिनुहुँदैन । 

अब, कहिलेसम्म बनिसक्ला त ? तपाईँको प्रतिद्वन्द्वीले पनि त्यसको जवाफ तपाईँले दिनुपर्ने भन्नुभएको छ । चटक्क कहिले देख्न पाउँछन् यहाँका जनताले ?

काठमाडौैंको १० क्षेत्र मध्ये ८ मा कांग्रेसले जितेको थियो भने एमालेले २ क्षेत्र जितेको थियो । त्यसमध्ये एमालेले जितेको ठाउँमा छिटो बनेको र कांग्रेसले जितेको ठाउँमा काम हुन नसकेको छ भने देखाइदिनुस् ।

विशेषगरी यहाँका ठूला योजना सञ्चालित क्षेत्र मध्ये क्षेत्र नं ३ र ४ पर्दछन् । जसमा क्षेत्र ३ मा एमालेकै रामेश्वर फुँयाल निर्वाचित भएको क्षेत्र हो । विषयलाई त्यो क्षेत्रमा ठेकेदार बदमास भएर काम नभएको भन्ने र यो क्षेत्रमा प्रतिनिधि सक्षम नभएर भन्न खोजिएको छ । मानौं, यसको सम्पूर्ण जिम्मा र अफ्ट्यारो चै यो क्षेत्रको प्रतिनिधिले लिनुपर्ने भन्ने त होइन होला ?

उहाँ (भट्टराई) पनि यही क्षेत्रको सांसद हो । यहाँका योजनामा उहाँको पनि सहमति चाहिन्छ । त्यसको जवाफ उहाँले पनि दिनुपर्दैन ?     

यहाँ सबैभन्दा धेरै सडकका पूर्वाधारको काम भइरहेको छ । यो क्षेत्रमा चार अर्ब रुपैयाँभन्दा बढि काम चलिरहेको छ । यी प्रायः कामहरू यही वर्षभित्र सकिँदैछन् । केही अर्को वर्ष सकिन्छन् । एउटा सडकबाहेक सबैजसो समयसिमा भित्रै काम भइरहेको छ । अहिले यो वर्ष पनि डेढ अर्बको स्रोत परिचालन भइरहेको छ । यसको पनि अब काम सुरु हुन्छ ।

यहाँले बारम्बार ठेक्का र खरिद प्रक्रिया झन्झटिलो हुँदा काम समयमा सक्न गाह्रो भइरहेको भन्नुहुन्छ । यसमा नीतिगत रुपमै परिवर्तन गरेर सहज बनाउन सकिँदैन ? नीति बनाउने ठाउँमा यहाँहरू नै पुग्नुहुन्छ, होइन र ?

कुनै पनि ठूला योजना सम्पन्न हुनका लागि ४ देखि ५ वर्ष लाग्ने गर्छ । यसअघि काठमाडौं भित्रकै बाटोहरू पुतलीसडक, मैतीदेवी, सिनामंगलमा समयमा नबनेर धान रोपेको समाचार यहाँहरूले लेख्नुभएको होला । सबै ठाउँका नागरिकले यस्तो समस्या भोगेरै आएका हुन् । यसमा नीति, स्रोत विनियोजन लगायत विभिन्न समस्या छन् ।

त्यो त्रिपुरेश्वर–नागढुंग्गा, चीनले बनाइरहेको कोटेश्वर–कलंकी सडक पनि समयमा बन्न सकेको छैन । यो हाम्रो समग्र काठमडाौंको पूर्वाधार निमार्णकै समस्या हो । हामीले सार्वजनिक खरिद ऐनमा त केही परिवर्तन गरेका छौं । 

यसमा एउटा कानुन निर्माताको हिसाबले मेरो पनि भूमिका रहेको थियो । यो पूर्वाधार निमार्ण गर्न के गर्दा छिटो र सहज बनाउन सकिन्छ भनेर हामीले योजना आयोगमा सुझाव प्रतिवेदन बुझाएका छौं । आगामी दिनमा पनि पूर्वाधार निमार्णमा सहज र सरल प्रक्रियाका लागि पहल गर्नेनै छु । 

यहाँका मतदाताले दोस्रो कार्यकालका लागि किन तपाईँलाई मतदान गर्ने ?
 

पहिलो कुरा त यहाँबाट निर्वाचित भएपनि मैले राष्ट्रिय राजनीतिमा खेल्ने भूमिकालाई सबैले हेर्नुपर्छ । अबको पाँच वर्षका लागि मेरो ५ प्रतिवद्धता छन् । पहिलो संविधान कार्यान्वयन, दोस्रो शिक्षा र स्वास्थ्य राज्यको दायित्व, लोकतन्त्रको जगमा समृद्धिको अभियान,लगानीमैत्री वातावरण र रोजगारी सिर्जना, प्रदुषण मुक्त, बस्नयोग्य काठमाडौ अभियान र यो क्षेत्रको विकासमा मेरो मुख्य जोड हुनेछ । मैले नयाँ कुरा केही गर्ने छैन ।

तपाईँलाई प्रतिनिधिसभाको सांसदभन्दा ३ नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा हेर्न जनताले चाहन्थे । यहाँको पनि त्यो चाहना देखिन्थ्यो । तर, किन प्रतिनिधिसभाकै उमेदवार बन्नुभयो ?
 

पार्टीहरू गठबन्धनमा गइसकेपछि यस विषयमा छलफल हुन सकेन । चुनावी हतारोले गर्दा पनि हुन सकेन । मैले त प्रस्ताव राखेको थिएँ । मैले सरकारको मन्त्री भएर ९ महिना काम गरेँ । मलाई ५ वर्ष कार्यकारी बनेर काम गर्ने इच्छा थियो । 

तर, त्यो मेरो चाहनाले मात्रै पुरा हुने कुरा भएन । पार्टीको निर्णय अनुसार प्रतिनिधिसभाकै उमेदवार बनेको हुँ ।

कांग्रेस–माओवादी गठबन्धनलाई यहाँहरूले अधिनायकवादतर्फ मुलुकलाई धकेल्ने हेतुले बनेको मिलन भन्नुभयो । तर, घोषणपत्रमा त त्यस्तो केही कुरा उल्लेख छैन । तपाईँहरूको यो शंका गर्नुभएको ? 

राजाले ल्याउन नसकेको अधिकायनकबाद अहिलेका पार्टीले ल्याउँछन् भन्ने मलाई लाग्दैन । मेरो आशय त्यो होइन ।  तर, आशंका के मात्रै हो भने एउटा दुस्साहस हुन्छ कि भन्ने हो । अहिलेसम्म प्राप्त लोकतान्त्रिक उपलब्धी गुम्ने हुन् कि भन्ने चिन्ता हो ।

अझ यसअघि उहाँहरूले उठाउँदै आएको प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको कुरा पनि घोषणपत्रमा छैन । अब यहाँहरूको शंका गलत सावित भएन र ?

त्यसो भए यत्रो हल्ला गरेर आएको बनेको गठबन्धन के का लागि ? एउटा संयुक्त कम्युनिष्ट पार्टी बनेपछि पनि गर्ने काम हाम्रो जस्तै हो भने यसको अर्थ के ? कांग्रेसले अघि सारेको नीति र कार्यक्रममा हिड्ने हो भने यसले गर्ने के ? पुरानो जस्तै हो भने नयाँ भनेर किन भनेको ?

यहाँले पनि प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्छ भन्दै आउनुभएको थियो । यहाँको त्यो विचार परिवर्तन भयो कि उस्तै हो ?

म प्रत्यक्ष निर्वाचित कार्यकारीको लागि भन्दै केपी ओली निवासमा जाँदा देश कसरी डुब्छ भनेर उहाँले दिएको लेक्चर मलाई अहिले पनि याद छ । त्यो कुनै दिन बताउँला । अहिले मेरो कुरा के हो भने बल्ल–बल्ल बनेको संविधानमा भएको व्यवस्था परिवर्तन गर्ने काम नगरौं । यसमा भएका व्यवस्थाअनुसार अगाडि बढौं भन्ने हो ।

तस्बिर सरिता खड्का 
 

तपाईंको मत