ad

विचार

चितवन राष्ट्रिय निकुञ्जमा सुरुङ : यथार्थ कि खोक्रो आश्वासन ?

केशव शर्मा 

आसन्न संघीय तथा प्रादेशिक चुनावमा मतदातालाई आकर्षित गर्न विकास निर्माणको आश्वासन सानाठूला सबै दल तथा तिनका नेताले बाँडिरहेका हुन्छन् ।  राजनीतिक दलका घोषणापत्र आफैँमा भद्दा आश्वासन जस्ता देखिएका छन् । यसैक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री तथा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका प्रत्याशीसमेत रहेका पुष्पकमल दाहालले चितवनकै माडीमा आयोजित एउटा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै माडीवासी चितवन राष्ट्रिय निकुञ्जका कारण बढी समस्यामा रहेको र  निकुञ्ज हुँदै आवतजावतका लागि सुरुङ मार्ग वा आकाशे पुलमार्फत सडक निर्माण गरी समस्याको समाधान गरिने आश्वासन दिएका छन् । आगामी पाँच वर्षभित्र अब बन्ने कम्युनिस्ट सरकारले सो समस्याको समाधान गर्ने उनले बताए । 

म आफू पनि चितवन क्षेत्र नम्बर ३ कै बासिन्दा भएको, धेरै पटक निकुन्ज हुँदै माडी आवतजावत गरेको र बच्चादेखि नै माडीका बासिन्दाको सडक मार्गको समस्या सुनिरहेको, देखिरहेको तथा पेसागतरूपमा सिभिल इन्जिनियर रही यसैमा दक्षता हासिल गरेको कारणले गर्दा पनि दाहालले  दिएका निकुञ्जभित्र सुरुङ मार्ग वा आकासे पुल बनाउने आश्वासन इन्जिनियरिङ तथा लागत-लाभको हिसाबले कत्तिको यथार्थपरक छ भन्ने यस लेखमा चर्चा गर्ने जमर्को गरेको छु ।

माडी २०७१ मा घोषणा भएको चितवनको पाँचौ नगरपालिका हो । यसअघिका ४ वटा गाविसहरू अयोध्यापुरी, कल्याणपुर, गर्दी र बघौडा मिलाएर माडी नगरपालिका बनाइएको हो । यो उद्योग धन्दाविहीन पूर्णरूपमा कृषकहरू भएको र नगरपालिकामा हुनुपर्ने न्यूनतम पूर्वाधर पनि नभएको नगरपालिका हो भन्दा अत्युक्ति नहोला  । विशेषगरी माओवादी सशस्त्र द्वन्द्वको समयको भएको बाँदरमुढे घटनाका कारण माडी राष्ट्रिय राजनीतिमा चर्चित बन्न पुगेको हो  ।    

माडी नगरपालिका पुग्नलाई चितवन सदरमुकाम भरतपुरबाट गीतानगर, जगतपुर तथा चितवन राष्ट्रिय निकुञ्ज हुँदै करिब ४० किलोमिटरको यात्रा तय गर्नुपर्छ ।

यसअन्तर्गत करिब १० किमी सडक चितवन राष्ट्रिय निकुञ्जभित्र पर्छ । भरतपुर-माडी सडकलाई ठोरी-माडी-रसुवागढी (उत्तर-दक्षिण मार्ग)को एक खण्ड भनिए पनि राज्यले ठोरी - भन्डारा -रसुवागढी सडकलाई उल्लेख गरेर बजेट विनियोजन गरेकोले भरतपुर-माडी सडक राष्ट्रिय प्राथमिकतामा पर्ने सम्भावना कम हुँदै गएको देखिन्छ  । हुलाकी मार्गअन्तर्गत पनि यस खण्डलाई पार्ने कि नपार्ने, यस खण्डको जग्गा अधिकरण आदिको समस्या रहेको पनि यदाकदा सुनिएको हो । तर, हालैका वर्षमा यस सडक खण्डमा के के भइरहेको छ मलाई खासै जानकारी छैन  ।  उक्त सडक माडी क्षेत्रमा बस्ने करिब ५० हजार जनताको मात्र आवश्यकता बन्ने सम्भावना पनि छ ।

अब चर्चा गरौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले दिएको निकुञ्जभित्र सुरुङ मार्ग वा आकासे पुल बनाउने आश्वासनको व्यावहारिक पक्षको। नेपालमा अहिलेसम्म यातायातका लागि सुरुङ मार्ग बनाइएको छैन । हालैमात्र जापानी सहयोग संस्था जाइकाले काठमाडौंको प्रवेश गर्ने स्थान नागढुङामा चार लेनको करिब २.५ किमी लामो सुरुङ मार्ग बनाउने भनेर अध्ययन पूरा गरी नेपाल सरकारसँग सम्झौता पनि गरिसकेको छ । उक्त सुरुङ मार्गको १ किमीको लागत ६.४ अर्ब नेपाली रुपियाँ पर्छ  । यस हिसाबले माडी जाने निकुन्जभित्र २ लेनको १० किमी लामो सुरुङ बनाउन ३० अर्ब  भन्दा धेरै लाग्ने देखिन्छ  । भारत र चीनमा बन्दै गरेका कम लागतका २ लेनका सुरुङहरू अध्ययन गर्दा पनि १० किमी सुरुङ मार्ग बनाउन कम्तीमा १२-१५ अर्ब लाग्ने हुन्छ  ।      

अहिलेसम्म राष्ट्रिय प्राथमिकतामा नपरेको सडक खण्डमा माडीमा बस्ने करिब ५० हजार जनताका लागि राज्यले १५ अर्ब लगानी गर्ला त ५ वर्षभित्र? वर्षौँदेखि राष्ट्रिय गौरवका आयोजना भनिएका मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग (जो राष्ट्रका लाइफलाइन हुन्) करोडौं जनता लाभान्वित हुने आयोजनामा त राज्यले सोचेजस्तो लगानी गर्नसकेको छैन ।

त्यस्तै दाहालले अर्को विकल्प पनि अघिसारेका छन्, आकासे पुल बनाउने १० किमी लामो । पाँच सय मिटरभन्दा लामा पुल हातका औंलामा गन्न सकिने देशमा एउटा सानो नगरपालिका जोडन १० किमी लामो पुल बनाउने कुरा दलको घोषणापत्र अनुसार सबै विकास भएछ भने पनि कम्तीमा १०-१५ वर्ष सम्भव छैन  । भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणले सन २०१० मा गरेको अध्ययनले ४ लेनको आकासे मार्गको लागत ३५ करोड प्रतिकिमी देखाएको थियो  ।

भारतमा ठूलो संख्यामा आकासे मार्ग बनाइँदै छ । हालै गरिएको अनुसन्धानले आकासे मार्गको लागत ३५ करोड प्रतीकिमीबाट बढेर कम्तीमा पनि ८० करोड प्रतिकिमी पुगेको बताइन्छ । यस हिसाबले पनि चितवन निकुन्जभित्र आकासे पुलको लागत पनि ८-१० अर्ब पुग्ने देखिन्छ । आकासे मार्ग प्रयोग गर्दा जंगली जनावरलाई सडक वारपार गर्न सजिलो भए पनि अरू वातावरणाीय असर जंगली जनावरमा यथावतै पर्ने देखिन्छ । लागत-लाभको हिसाबले सुरुङ मार्ग र आकासे पुल दुवै सम्भव देखिँदैन । त्यसकारणले राष्ट्रिय नेताहरूले बोल्दा वा आश्वासन दिँदा धेरै कुरा विचार गर्नुपर्ने देखिन्छ  ।

अब के छ त उपाय ? माडीबासीलाई सहजरूपमा आवत जावत गर्न ? चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा परेको क्षेत्र पनि हो । त्यसकारणले निकुञ्जबाट सडक तथा बिजुली लैजाँदा होस् वा भरतपुर-माडी खण्डमा निकुन्जसँगै जोडिएर बगेको राप्ती खोलामा पुल बनाउँदा युनेस्को विश्व सम्पदा सूचीबाट निकुञ्जलाई हटाउने चेतावनी दिएको सुनिएको थियो । त्यही कारणले निर्माण सम्पन्न भएर पनि राप्ती खोला माथिको पुल लामो समयसम्म औपचारिक रूपमा सञ्चालनमा आएको थिएन  ।

तथापि धेरै देशमा युनेस्को विश्व सम्पदा सूचीमा परेका राष्ट्रिय निकुञ्जभित्रबाट ठूला ठूला राजमार्ग बनेका छन् । ती हाइवेहरूमा ठाउँ ठाउँमा जैविक पुल (पशु वा जनावर पुल) वा सुरुङको निर्माण गरिएको हुन्छ जहाँबाट निकुन्जका जनावर सहजरूपमा सडक वारपार गर्छन् । जैविक पुल वा सुरुङ पनि प्राकृतिकजस्तो देखिने गरी पुल वा सुरुङमै घाँस र रुख रोपिन्छ र हरियाली बनाइन्छ । जस्तै क्यानाडाको ट्रान्स क्यानाडा हाइवे अल्बेर्टा राज्यमा रहेको बाँफ राष्ट्रिय निकुञ्ज हुँदै जान्छ । चार लेनको ट्रान्स क्यानाडा हाइवेको करिब ८० किमी खण्ड यस निकुञ्जभित्र पर्छ ।

यस बाँफ राष्ट्रिय निकुञ्ज र यससँग जोडिएको जासपर निकुञ्जसहित आसपासका अरू दुईवटा पार्क युनेस्कोले विश्व सम्पदा सूचीमा सन् १९८४ मा समेटेको छ । बाँफ तथा जासपर राष्ट्रिय निकुन्जमा सयौं ठूला ताल छन् । प्राय: ठूला ताललाई सडक सञ्जालले जोडिएको छ । ट्रान्स क्यानाडा हाइवे हुँदै वार्षिक करिब ४० लाख मानिसले बाँफ तथा जासपरको यात्रा गर्छन् ।

ट्रान्स क्यानाडा हाइवेको करिब ८० किमी खण्डमा मात्र करिब ५० वटा जति जैविक पुल र सुरुङ निर्माण गरिएको छ । त्यसमध्ये २३ वटा जैविक पुल र सुरुङ अनुगमन गर्दा सन् १९९६ देखि २००९ सम्म करिब २ लाख पटक सबै प्रकारका जंगली जनावर ओहोरदोहोर गरेको पाइएको थियो । जैविक पुल र सुरुङ निर्माणपछि जंगली जनावरको कारण हुने सवारी साधन दुर्घटनामा ९० प्रतिशतसम्म कमी आएको छ  । यसै क्रममा बाँफ राष्ट्रिय निकुञ्जले युनेस्कोबाट हाइवेको कारणले जनावरमा पर्ने असर कम गर्न नवीनतम कार्य गरेको भन्दै   पुरस्कार पनि पाएको थियो  ।

यो त क्यानाडाको एउटा निकुञ्जको उदाहरण हो । अमेरिका, थाइल्यान्ड, युरोपका धेरै राष्ट्रमा निकुञ्ज हुँदै गएका हाइवेमा दायाँबायाँ तारजाली गर्ने र ठाउँ ठाउँमा जैविक पुल तथा सुरुङ बनाइएको पाइन्छ । धेरै सम्पन्न राष्ट्रमा पनि विश्व सम्पदा सूचीमा परेका राष्ट्रिय निकुञ्जहरूमा समेत सुरुङ मार्ग वा आकासे पुल बनाएको पाइँदैन । 

त्यसकारण चितवन निकुञ्जभित्र सुरुङ बनाउने वा आकासे पुल बनाउनेजस्ता हावादारी कुरा गर्नुको सट्टा अहिलेको सडकलाई स्तरोन्नति गरी सडकको दाँयाबाया तारजाली गर्ने, ठाउँ ठाउँमा जैविक पुल तथा सुरुङ बनाउने गरेमा माडीको यातायात सहज बनाउन सकिन्छ । यसको लागि सुरुङ बनाउने वा आकासे पुल बनाउन लाग्ने लागतको १० प्रतिशत जतिमात्र लागत लाग्छ । निकुञ्चभित्र सवारी साधनको गति कम गर्ने, हर्न बजाउन प्रतिबन्ध गर्ने, बीचमा रोक्न नपाइने जस्ता नियम बनाउन सकिन्छ । युनेस्कोले यस्को विरोध गरेमा प्रशासनिक तवरले यसलाई समाधान गर्न सकिन्छ । किनभने, विश्वका अन्य विश्व सम्पदा सूचीमा परेका निकुञ्जमा यस्तो गरिएको पाइन्छ ।   

अर्को प्रमुख कुरा भनेको माडीबासीको भरतपुर-माडी सडकको निर्भरता कम गर्दै जानुपर्छ । अब माडी नगरपालिका आँफैमा एक स्वायत्त स्थानीय सरकार पनि हो  ।

कम्तीमा ५० बेडको सुविधा सम्पन्न अस्पताल, कम्तीमा २-४ वटा सुविधायुक्त आधुनिक एम्बुलेन्स, उच्च माध्यमिक तहसम्मा सबै विषयको अध्ययन हुने विद्यालय तथा सामान्य विषयमा स्नातकोत्तरसम्मको अध्ययन हुने क्याम्पस, सरकारी सेवा लिन भरतपुरसम्म धाउन नपर्ने व्यवस्थाजस्ता केही आधारभूत पूर्वाधार निर्माण गर्न सके माडीका जनतालाई धेरै कुरामा सहज हुन्थ्यो । साथै बाढी तथा जंगली जनावरको नियन्त्रण अर्को प्रमुख आवश्यकता हो माडीको  ।  

राष्ट्रले कम्तीमा केही वर्ष निर्माण गर्न नसक्ने तथा लागत-लाभको हिसाबले कुनै पनि हालतमा उपयुक्त नहुने पूर्वाधारको आश्वासन नदेखाऊँ । कम्तीमा अहिले वस्तुस्थितिलाई आधार मानेर बोल्ने गरौँ ।

हाल क्यानाडामा विद्यावारिधि शोधार्थी सिभिल इिन्जिनयर
 

तपाईंको मत