ad

ब्लग

बाबुरामको जित र पुष्पकमलको हार : कांग्रेसका ‘हातमा र हितमा’ छ रे !

केही दिन यता आँबुखैरेनीमा छु । चुनावका बेला हुँदा भलाकुसारीसँगै सुरु हुन्छ चुनाव चर्चा । तनहुँ जिल्लाको पूर्वी कुनामा पर्ने आँबुखैरेनीमा तनहुँको भन्दा बढी गोर्खाको चुनावको चर्चा हुन्छ । यसपटक चितवनको चुनाव पनि चासोको विषय बनेको रहेछ । तनहुँको चुनाव पनि उत्तिकै चर्चामा छ । तर, तनहुँ – १ को चुनावको वस्तुगत चर्चा गर्न म सायद उपयुक्त पात्र हैन । यसैले अहिले यहाँ गोरखा – २ र चितवन – ३ कै चुनाव चर्चाको जमर्को गरेको छु ।

गोरखा – २ र चितवन – ३ मा नेपाली कांग्रेसका उमेदवार छैनन् तर जितहार भने मूलतः कांग्रेस समर्थक मतदाताको हातमा छ । दुवै चुनावमा अहिलेसम्म मत नदिएकालाई कांग्रेसले समर्थन गरेको छ । दुवै क्षेत्रमा पूर्वप्रधानमन्त्री उमेदवार भएका छन् । दुवै जना पूर्व प्रधानमन्त्री माओवादी लडाकु हुन् । र, लेखिरहनु परोइन त्यो एक दशक लामो सशस्त्र द्वन्द्वमा माओवादी हिंसाको चपेटामा सबैभन्दा धेरै नेपाली कांग्रेसका कार्यकर्ता परेका छन् । रमाइलो संयोग चाहिँ कांग्रेसका कार्यकर्ता तिनलाई गोरखाको चुनावमा भोट दिने र चितवनको चुनावमा भोट नदिने भूमिकामा छन् ।

गोरखा – २ बाट संविधान सभाको दुवै चुनाव सजिलै जितेका डा. बाबुराम भट्टराई अहिले नेपाली कांग्रेसको समर्थनमा प्रतिनिधि सभा सदस्यका लागि उमेदवार भएका छन् । पहिले ३ क्षेत्र रहेको गोर्खा अहिले २ क्षेत्र भएको छ । भट्टराईको पुरानो क्षेत्र काटिएको छैन । केही भूभाग थपिएको छ । उनको पुरानो मत हेर्ने हो भने त भट्टराईलाई अहिले नै माला लगाइदिए हुन्थ्यो तर माओवादी मत अब उनलाई जान कठिन होला । यस्तै कांग्रेसहरूले पनि भट्टराईलाई सघाउन अहिलेसम्म खासै उत्साह देखाएका रहेनछन् । यसैले बाबुराम भट्टराईले साख जोगाउन पनि  निकै परिश्रम गर्नुपर्ने देखिन्छ । भट्टराईसँग उनकै पूर्वसहकर्मी नारायणकाजी श्रेष्ठ चुनाव लड्दैछन् । यी दुईमा समानता दुवै पाहुना हैनन् । तर, नारायणकाजी गोरखामा पहिलोपटक चुनाव लड्दैछन् । 

भट्टराईलाई जातिगत भोट आउँदैन । बाहुन मतदातामा यस्तो प्रवृत्ति अहिलेसम्म देखिएको छैन । कांग्रेस र उनकै पार्टी तथा व्यक्तिगत आधारमा भोट आउने हो ।

नारायणकाजीलाई एमाले र माओवादी भोट त आउला नै जातिगत भोट पनि आउँछ । गोर्खाको अहिलेसम्मको मत प्रवृत्ति हेर्दा नेवार हटिया भएका ठाउँबाट नेवार उमेदवारले भोट पाउने गरेको देखिन्छ । पञ्चायत कालमा नारायण मल्लले सबै नेवार बस्तीबाट राम्रो मत पाउँथे । जानकारहरूका अनुसार यो प्रवृत्ति अहिलेसम्म पनि कायमै छ । र, नेवार मतदातामा कांग्रेस धेरै छन् । गोरखा बजारलगायत खोप्लाङ, आँपपिपल, बाह्रपिर्के, ठाँटीपोखरी, जौबारीलगायत थुप्रै नेवार बस्ती यस क्षेत्रमा पर्छ । बाबुराम भट्टराईलाई सम्झने र मत पनि दिने कारण उनको निर्वाचन क्षेत्रका लगभग सबै गाउँमा छन् रे । नारायणकाजी यस मामिलामा पछाडि छन् । नारायणकाजी रैथाने भएर पनि नौला हुन् । 

अधुरा संरचनाले भने बाबुराम भट्टराईलाई पर्खेजस्तो लाग्छ रे ! उनले भौतिक संरचना विकासका अनगिन्ती काम थालेका रहेछन् । तिनलाई  पूरा गर्न भट्टराई नै चाहिन्छ भन्दारहेछन् उनलाई मत नदिनेहरूले पनि । यो बाबुराम भट्टराईका पक्षमा मत आउने सकारात्मक पक्ष हो । नारायणकाजीको जातिगत मताधार जस्तै व्यक्तित्व भट्टराईको आधार बनेको रहेछ ।

बाबुराम हराउन केही माओवादी जति आक्रामक भएका छन् कांग्रेसहरू भने बाबुरामलाई सघाउन खासै उत्साहित भइसकेका छैनन् । स्वाभाविक पनि हो । हिजोसम्म गोरखामा बाबुराम नै कांग्रेसका प्रतिस्पर्धी थिए । तर, कांग्रेसले दीर्घकालीन हित हेर्ने हो भने बाबुराम भट्टराईलाई सहयोग गर्नुपर्छ भन्नेहरू पनि भेटिए । उनीहरूको तर्क थियो – बाबुराम भट्टराई मूलतः व्यक्ति भएकाले उनको संगठन बलियो छैन । यसैले जरा गाड्न सक्तैनन् । अर्कोपटक प्रतिस्पर्धा गर्न सजिलै सकिनेछ । नारायणकाजी श्रेष्टले जिते उनको पार्टी माओवादी बलियो हुने हो । गोरखामा कांग्रेसको प्रतिस्पर्धी मूलतः माओवादी नै हो ।

नारायणकाजीलाई मत दिनु कांग्रेसका लागि आत्मघाती हुनेछ । एमाले र माओवादी मिल्ने अवस्थामा नारायणकाजीलाई जित्न दिए कांग्रेसले गोरखा – २ सधैँका लागि गुमाउनेछ । यता २ मा बेइमानी भएको थाहा पाए बाबुरामका कार्यकर्ताले १ मा पनि असहयोग गर्न सक्छन् । कांग्रेसको पूरा साथ पाए बाबुराम त जित्छन् नै गोखराका अरू स्थानमा कांग्रेसले पनि जित्छ । अहिले माओवादी तह लगाउन सके बाबुराम भट्टराईलाई अर्को पटक सजिलै पन्छाउन सकिनेछ । 

यस तर्कमा कांग्रेस समर्थक कति सहमत हुन्छन् भन्ने थाहा पाउन भने मतगणना नै पर्खनुपर्नेछ । 

चितवनमा चुनाव लड्ने पूर्व प्रधानमन्त्रीका हकमा भने कांग्रेसको हित उनले हार्दामा हुनेरहेछ । चितवन – ३ मा पनि कांग्रेसका मतदाता नै निर्णायक हुन् । भरतपुर महानगरको निर्वाचनमा पुष्पकमल दाहालकी छोरीलाई मत हालेरै पछुताएका कांग्रेसी मतदाताका रोजाइ भने सजिलो हुनेछैन । दाहालको व्यक्तित्वका सामु विक्रम पाण्डेको कुनै आकर्षण देखिन्न । यसैगरी अगिल्लो निर्वाचनमा पाण्डे कांग्रेसका प्रतिस्पर्धी पनि हुन् ।

तर, बाबुरामका पक्षमा दिइएको तर्क नै यिनका हकमा पनि लागु हुन्छ । पाण्डेको जित चितवनमा कांग्रेसका लागि खासै चुनौती हुनसक्तैन । पाण्डेले अहिले जिते भने पनि अर्कोपटक हराउन खासै महाभारत हुँदैन । तर, दाहालले जिते र कम्युनिस्टहरू एक पनि भए भने चितवन कांग्रेसका हातबाट सधैँका लागि उम्कनेछ । 

रेणुको चुनावका बेला दाहालले चितवनका कांग्रेसीलाई थुप्रै आश्वासन दिएका थिए । जबर्जस्ती उमेदवारी खोसिएका कांग्रेसबाट भरतपुर महानगरपालिकामा प्रमुखका उमेदवार दीनेश कोइरालालाई ‘भविष्यमा सहयोग‘ गर्ने आश्वासन त दाहालले सार्वजनिकरूपमै दिएका थिए । साधन स्रोतका दृष्टिले पनि दाहाल निकै सम्पन्न छन् भन्ने मानिन्छ । कुनैबेला उनको पार्टीलाई एसियाको सबैभन्दा धनी पार्टी पनि भनिन्थ्यो । विक्रम पाण्डेलाई मत दिने उत्साह कांग्रेस समर्थक मतदातामा नहुनु आश्चर्य हैन । तर, पार्टीको जरो काट्ने कि जोगाउने भन्ने प्रश्न भने उनीहरू सामु छ ।

भरतपुर महानगरपालिकाकै चुनावको उदाहरण रमाइलो छ । पहिले एमालेका उमेदवारलाई मत दिने कांग्रेसीहरूले पुनःमतदानमा माओवादीलाई दिए । परिणाम फरक भयो । कांग्रेसहरूको मन किन फर्क्यो ? किनभने, मतगणना रोकिएपछि एमालेहरूले कांग्रेसलाई गर्नुसम्म सत्तोसराप गरे । इखिएका कांग्रेसहरूले रेणुलाई मत दिने निर्णय गरे । कांग्रेसहरू आफ्ना नेता र पार्टीलाई समेत आफू त खुलेरै गाली गर्छन् तर अरूले गाली गरेको सहँदैनन् । यही कारणले पुष्पकमल दाहालले चितवन पुगेपछि कांग्रेसको आलोचना अलि मथ्थर पारेका हुन् कि ? 

दाहालले चुनाव जिते प्रधानमन्त्री वा राष्ट्रपति हुने भनेर मतदातालाई आकर्षित गर्नसक्छन् । बाबुरामसँग अहिले त्यसो भन्ने सुविधा छैन । यद्यपि, विकासका काममा लागे भने बाबुरामले पनि धेरै गर्न सक्नेछन् ।

जेहोस्, भट्टराई जिताउन र दाहाललाई हराउन कांग्रेस समर्थक मतदातामा खासै उत्साह त देखिएको छैन तर पार्टीको अस्तित्वको सबालमा उनीहरू एकत्रित र अग्रसर हुने सम्भावना भने बलियो छ । आखिर, उनीहरूको जित र हार कांग्रेसकै ‘हात र हित’मा जो देखिएको छ ।

तपाईंको मत