site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जसले अधिकारका लागि लड्न सिकाइन्
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल

बोल्न त तयार भइन् तर उनको शर्त थियो, “फोटो खिच्न भने पाउनुहुन्न ।”

सोधें, “किन ?”

Agni Group

“टेलिभिजनमा काम गर्ने मान्छे, फोटोमा सेन्स त हुनुपर्‍यो नि ! युनिफर्ममा हुन्छु त्यही भएर,” टेलिफोनमै उनको फिस्स हाँसो सुनियो ।

मंगलबार नेपाल टेलिभिजनको कार्यालय सिंहदरबार पुग्दा आरती नीलो कोट, नीलै पाइन्ट र सेतो सटमा चिटिक्क देखिन्थिइन् ।

Global Ime bank

० ० ० 

केही वर्षअघि आरती काभ्रेपलाञ्चोक जिल्ला पुगेकी थिइन् । एक महिलाले सुन्तला बेचिरहेकी थिइन् । हेर्दै रहरलाग्दा सुन्तला देखेर उनले सोधिन्, “कसरी हो यो सुन्तला किलोको ?”

स्वर सुनेर ती महिलाले आरतीको अनुहार पुलुक्क हेरिन् ।

“आम्मै ! टेलिभिजनमा बोल्ने आरती नानी हैन ? तपाईं त हामीले श्रीमानसँग भन्न नसक्ने कुरा पनि टेलिभिजनबाट भन्दिनुहुन्छ । हाम्रा लागि बोल्दिनुहुन्छ ।”
आरती मुसुक्क हाँसिन् । उनले जीवनमा कमाएको धन यही त हो ।

“मैले कमाएको सम्पत्ति यही हो । दर्शकले मन पराइदिनुहुन्छ, माया गरिदिनुहुन्छ । मेरो कार्यक्रमबाट कतिको जीवन कायापलट भएको छ,” आरती आफ्नो कोमल ओठबाट मन्द हाँसो फुस्काउँदै भन्छिन्, “कहिलेकाहीँ त म बिल गेट्स नै हुँ जस्तो लाग्छ ।”

० ० ०

बुवा प्रमुख जिल्ला अधिकारी थिए । खानदानी परिवार, आरतीलाई केही कमी थिएन । खेल्न धूलोमा ओलिर्नु पनि नपर्ने । अमर आदर्श पढेकी उनी सधैं क्लास टप । ३ देखि ५ कक्षा पुग्थिन् । परिवारको चाह आरतीलाई डक्टर पढाउने थियो ।

एसएलसीपछि उनी साइन्स पढ्न त्रिचन्द्र कलेज भर्ना भइन् । आईएसी दोस्रो वर्ष पढिरहेकी थिइन् । नेपाल टेलिभिजनले एउटा सूचना निकाल्यो । त्यो सूचनाले आरतीको जिन्दगीको बाटो नै ‘टर्न’ गराइदियो ।

टेलिभिजनलाई जनशक्ति चाहिएको रहेछ । घरमा सल्लाह नै नगरी उनले फर्म भरिन् । पैसा तिरेर तालिम लिइन् । क्यामरामा स्क्रिन टेस्ट गराइन् । उनी कार्यक्रम चलाउनका लागि योग्य भइन् ।

मोबाइलको जमान थिएन । ल्यान्डलाइनमा फोन गयो । टेलिभिजन कार्यक्रमका लागि बोलाइयो ।

टेलिभिजनले त बोलायो तर आरती भर्खर आईएसी दोस्रो वर्षमा पढ्दै थिइन् । उनलाई देश दुनियाँ थाहा थिएन । समाचार र कार्यक्रमबारे जानकारी थिएन । कुकुरको पुच्छर बाङ्गो देख्दा पनि हाँस्ने उमेर थियो । राजनीतिबाट उनी लगभग अपरिचित थिइन् ।

तर, उनले चलाउनु पर्ने कार्यक्रम भने समसामयिक विषयमा केन्द्रित थियो । उनलाई त्यो बेला पत्रकारिता गरेर समाज बदल्नु थिएन, केवल टेलिभिजन ग्ल्यामरप्रतिको आकर्षणमात्रै थियो ।

०५६ सालबाट उनले ‘परिवृत्त’ नामक कार्यक्रम चलाउन थालिन् । सुरुका दुइटा अंकमा प्रस्तोताका रूपमा मात्रै देखिने आरतीले तेस्रो हप्तादेखि रिर्पोटिङ पनि गर्न थालिन् । रेवन्त ओली, लक्ष्मण हुमागाईं, रवीन्द्र घिमिरे ‘परिवृत्त’ कार्यक्रमको टिममा थिए ।

‘परिवृत्त’ चलाएको केही समयपछि महिलाका मुद्दामा केन्द्रित कार्यक्रम ‘जागृति’ प्रसारण हुने भयो । त्यसका लागि पनि आरतीलाई नै खोजियो । 

तर, त्यो बेला नेपाली महिलाको अवस्था, समस्या तथा अधिकारका विषयमा उनलाई केही पनि थाहा थिएन । फ्ल्याटमा हुर्किएकी उनले बाहिरी संसार देखेकै नेपाल टेलिभिजन पुगेपछि थियो । तर, जिम्मेवारीसँगै उनले आफूलाई अपडेट गराउँदै गइन् । कार्यक्षेत्रमा आफूलाई अब्बल बनाउँदै गइन्, कार्यक्रममा खरो प्रस्तुति दिन थालिन् । 

सञ्चार माध्यमले वास्तविक विषय प्रस्तुत गर्न सकेकै छैन भन्ने देखेपछि आरतीले बिस्तारै आफूलाई महिलाका मुद्दामा केन्द्रित गर्दै गइन् । 

‘ब्रोडकास्ट जर्नालिजम’मा मास्टर्स गर्नका लागि आरतीले छात्रवृत्ति पाएर भारत गाइन् । तीन वर्षको कोर्ष भए पनि उनी डेढ वर्षमात्रै त्यहाँ बसिन् । बाँकी पढाइ यहीँ बसेर पूरा गरिन् । 

आरतीलाई टेलिभिजनको नशा लागिसकेको थियो । नेपाल टेलिभिजनले पदपूर्तिका लागि भन्दै आवेदन आह्वान गर्‍यो । रिपोर्टर र प्रोगाम प्रोड्युसर मागिएको थियो । उनले दुबै ठाउँमा फर्म भरिन् । दुबैमा उनको नाम १ नम्बरमा निस्कियो ।

सबैले उनलाई कार्यक्रममा काम गर्न सुझाव दिए । उनले मनन पनि गरिन् । उनले कार्यक्रम रोज्नुको कारण थियो– अनुसन्धानमूलक काम गर्न र सम्पादकीय दृष्टिकोण राख्न पाइन्छ । छैटौं तहबाट नेपाल टेलिभिजनको सरकारी जागिरमा प्रवेश गरेकी आरती अहिले नवौं तहमा पुगेकी छन् । उनी नेपाल विद्याभूषण तक्मासमेत लगाउने सञ्चारकर्मी हुन् । 

० ० ०

आरती इन्डियामा पढेर फर्किएपछि आरतीलाई लाग्यो– नेपालका सञ्चारमाध्यमले आवाजविहीनहरूको अवाज उठाउन सकेका छैनन्, प्रतिनिधि आवाजमात्रै आइरहेका छन् । “समाजमा कुनै १० जना महिला पीडित छन् भने कुनै सामाजिक अभियान्ताले उसको बारेमा बोल्दिने तर मुख्य पात्रहरू कहिल्यै बोल्न नपाउने,” आरती भन्छिन्, “मलाई रियल पात्रहरू नै मिडियामा आउनुपर्छ भन्ने लाग्यो र मैले ‘संघर्ष सुरु गरें । त्यसमा मैले ‘आवाजविहीनहरूको आवाज’ भन्ने स्लोगन राखें ।”

कार्यक्रमको नाम ‘संघर्ष’ राख्न पनि उनले संघर्ष गर्नुपर्‍यो । माओवादी द्वन्द्व थियो । उनले राखेको नाम ‘संघर्ष’लाई क्रान्तिसँग जोडेर हेरियो । ‘किन संघर्ष नै ? अलि सफ्ट नाम राख्दा हुँदैन ?’ भन्ने प्रश्न आयो । अन्तिममा दुइटा अंक हेरेर मात्रै यसलाई अगाडि बढाउने वा बन्द गर्ने निर्णय भयो ।

‘संघर्ष’को पहिलो अंक काठमाडौंको केन्द्रमा यौन व्यवसाय गर्ने महिलाको बारेमा थियो । त्यो कार्यक्रम बनाउन उनी ड्रेस र मेकअप चेन्ज गरेर काठमाडौंको सुन्धारा, ठमेल पुगिन् । महिला यौनकर्मीलाई भेटिन्, साथी बनाइन् । उनीहरूको जीवन संघर्ष अध्ययन गरिन् । “यौनकर्मी महिलाले ग्राहकसँग कसरी डिल गर्छन् भन्ने थाहा पाउन वेश बदलेर म आफैंले डिल गरेँ ताकि मलाई कार्यक्रम बनाउन सजिलो होस्,” उनी सम्झिन्छिन्, “मलाई नै अफर आयो । कस्तो शब्द प्रयोग गर्दा रहेछन् भनेर पनि थाहा भयो ।”

साथी बनाएपछि यौनकर्मी महिलाले पनि आरतीलाई विश्वास गरे । उनले वायरलेस माइक्रोफोन र हिडन क्यामेरा राखेर लाइभ भिडियो लिइन्, जसले उनको कार्यक्रम बलियो भयो । तीन महिना लगाएर कार्यक्रम तयार पारिन् । कार्यक्रम प्रसारण भएपछि आरतीलाई धम्की आउन थाल्यो । उनले महिला यौनकर्मीका ग्राहकको अनुहार ब्लोर गरे पनि उनीहरू आफैंले भने आफूलाई चिनेका थिए । उनको कार्यक्रममा देखिनेमा आर्मी, उच्चपदस्थ व्यक्तिहरूसमेत परेका थिए । उनीहरूमध्ये कतिले प्रत्यक्ष त कतिले अप्रत्यक्ष रूपमा मार्दिन्छु भने । कार्यक्रम बन्द गर्न धम्की दिए ।

तर, आरती विचलित भइनन् । उनी झन् बलियो भइन् । कर्तव्यपथमा ओजिलो बनेर अघि बढ्न झनै हौस्यायो ।

उनले गरेका कार्यक्रमका कैयौं शृखंला यस्ता छन्, जसले व्यक्तिको जीवन नै बदलिदियो । घर न घाटका व्यक्तिलाई महलसम्म पुर्‍यायो, नयाँ जीवन दियो । 

० ० ०

बुटवलमा एक युवती शहरकै धनाढ्य व्यक्तिको घरमा ट्युसन पढ्न जान्थिन् । १० कक्षामा पढ्दै गरेकी ती युवती बलात्कृत भइन् । पेटमा रहेको बच्चा ७ महिनाको हुँदासम्म उनले केटाको परिवारलाई पनि भनिनन् । परिवारले थाहा पाएपछि केटालाई भेट्न पनि दिएनन् । उनले यो कुरा बच्चा जन्मिने दिनसम्म पनि घरमा भनिनन् ।

उनले खेतमा गएर बच्चा जन्माइन् । बच्चा जन्माएर खेतमा बेहोस भएपछि उनको परिवारले थाहा पायो । 

परिवारले थाहा त पायो तर उनलाई घर लगेन । आफ्ना नै पराई भएपछि उनी अलपत्र परिन् । जिन्दगीको गोरेटो नै धुमिल भयो । अखिल नेपाल महिला संघ (अनेमसंघ)ले उद्धार गरेर उनलाई काठमाडौं ल्यायो । उसले बच्चाको पढाइ व्यवस्था गरिदियो । तर, बाँकी थियो नागरिकता, नाता प्रमाणित र अंश मुद्दा । उनी अदालत पनि गइन् । तर, जिल्ला र पुनरावेदन अदालत युवककै पक्षमा उभिए ।

सर्वोच्चमा रिट परेको थियो । गंगा पाठकले यो मुद्दा उठाउन भनिन् । आरतीले अनुहार लुकाएर अन्तर्वार्ता लिइन् । अन्तर्वार्ता लिएर उनी घर आइन् तर रातभर सुत्न सकिनन् । मनमा अनेकथरी कुरा खेले । ती युवतीको के गल्ती छ र उनले सजाय भागिरहेकी छन् ?

उनले भोलिपल्ट बिहानै गएर ती युवतीलाई भेटिन् । “तपाईंको जिन्दगी यसै खतम भइसक्यो । बच्चाको जन्मदर्ता छैन, सबैबाट तिरस्कृत भइसक्नुभयो, बुटवल जानसक्ने अवस्था छैन । अब तपाईंले एउटा रिक्स लिनुहुन्छ ?”

ती युवतीले सोधिन्, “के ?”

“अनुहार नछोपी अन्तर्वार्ता दिनुपर्छ । तपाईं अब अधिकारका लागि आफैं लड्ने हिसाबले अगाडि आउनुस् ।”

प्रश्नोत्तर त्यहीँ डिजाइन भयो । स्टुडियोमा आइन् । आरतीले उनलाई लडाकुको रूपमा प्रस्तुत गरिन् । हिन्दू धर्मको कुन्तीको कथासम्म जोडिन् । जो बलात्कृत भएको छ, उसैले मुख लुकाएर हिँड्नुपर्ने यो कस्तो समाज ? कार्यक्रम प्रसारण भयो । चौतर्फी चर्चा सुरू भयो । एबीसी नेपालकी दुर्गा घिमिरेले फोन गरेर सहयोगका लागि कार्यक्रम गरिदिने भन्दै साःफाल्चामा पीडित युवतीलाई ल्याइदिन आग्रह गरिन् । कार्यक्रममा वकिलहरूलाई पनि दुर्गाले बोलाएकी थिइन् । वकिलहरू निःशुल्क मुद्दा लड्न तयार भए ।

सर्वोच्चमा बहस सुरु भयो । आरतीको कार्यक्रम ‘संघर्ष’को भिडियोसहित वकिलले बहस गरे । अन्ततः मुद्दा ती युवतीले जितिन् । 

उनले अंश पाइन् । छोरीलाई नेता अशोक राईकी श्रीमती सुशीला राईले पढाइदिइन् । अन्तवार्तामा उनले नर्स हुने इच्छा रहेको बताएकी थिइन् । मेडिकल कलेजले उनलाई नर्स पढाइदियो । अहिले उनी नर्स भएकी छन् । भर्खरै मात्रै उनले विवाह पनि गरिन् । 

० ० ०

आरतीले बनाउने कार्यक्रमको एउटा फरक विशेषता छ । उनी पीडितलाई कल्याणकारी दृष्टिकोणबाट नभई अधिकार प्राप्तिको कोणबाट प्रस्तुत गर्छिन् । “पीडितको आँसु बगाइदिने होइन, उनीहरूको अधिकारका लागि संघर्ष गर्ने तरिकाबाट कार्यक्रम सञ्चालन हुनुपर्छ,” आरती निकै ‘बोल्ड’ सुनिइन् । 

केही वर्षअघि सरकारले एकल महिलालाई बिवाह गर्ने पुरुषलाई २ लाख रुपैयाँ दिने घोषणा गर्‍यो । सरकारको निर्णयप्रति दुःख व्यक्त गर्दै महिला अधिकारकर्मीले अदालतमा मुद्दा हाले । उनीहरूको तर्क थियो– पुरुषबेगर महिला बाँच्नै सक्दैनन् र ? आरतीले महिलाको पक्षबाट कार्यक्रम चलाइन् ।

अदालतले महिलाका पक्षमा फैसला गर्‍यो । पछि उक्त मुद्दा हेर्ने बेन्चका न्यायाधीशले भने, “तपाईंको त्यो कार्यक्रमले मलाई यति धेरै इम्प्रेस पार्‍यो कि मेरो दिमागमा रहेको धारणा नै परिवर्तन गराइदियो ।”

चरिमाया तामाङ र राजीव काफ्ले आरतीकै कार्यक्रमबाट पहिलोपटक आफूलाई समाजसामु चिनाएर आफ्नो क्षेत्रमा डटिरहेका व्यक्ति हुन् ।

० ० ०

केही समयअघि एउटा अन्तर्वार्तामा तेस्रेलिंगी अधिकारकर्मी पिंकी गुरुङ मसँग आफू समाजमा पहिलोपटक खुल्दाको अनुभव स्मरण गरिरहेकी थिइन्, “नेपाल टेलिभिजनको लोकप्रियता सगरमाथाको टुप्पोमा थियो । कृषि कार्यक्रम पनि चुप लागेर हेर्ने समय थियो । ‘संघर्ष’ कार्यक्रम सुरु भयो । त्यहाँ मजस्ता अरु दुई–तीन जना पनि आए । मेरो पनि अन्तर्वार्ता लिइएको थियो । अनुहार हाइड गरे पनि स्वरले मलाई सबैले चिने । बहिनीले ‘तैँ होस् कि के हो ?’ भनिन् । मैले होइन भनेर जिते । तर, उनले थाहा पाइन् । पछि ऊ बसन्तपुर दरबारमा गएर आफ्नो ब्वाईफ्रेन्डलाई अँगालो हालेर ‘मेरो दाई तेस्रोलिंगी रहेछ’ भनेर रोई रे ! यो कुरा मैले १५ वर्षपछि मात्रै थाहा पाएँ ।”

त्यो बेला तेस्रोलिंगीलाई मान्छे नै होइनन् जस्तै व्यवहार गरिन्थ्यो । आरतीलाई लाग्यो– उनीहरू त मान्छे हुन् । उनीहरू पनि बुवा आमाले जन्माएका सन्तान हुन् । उनीहरूले पनि अधिकार पाउनुपर्छ ।

र, निर्णय गरिन्– मैले तेस्रोलिंगी पनि महिला र पुरुषसमान हुन् भनेर स्थापित गर्नुपर्छ ।

आरती राति–राति ठमेल पुगिन्, जहाँ तेस्रोलिंगी महिला यौन व्यवसायका लागि ग्राहक कुरेर बस्थे । उनीहरूलाई भेटेर आफ्नो उद्देश्य सुनाइन् । सुरुमा त उनीहरू हच्किए । मानून् पनि कसरी ! उनीहरू सञ्चारमाध्यममा कहिल्यै आएका थिएनन् । घरमा समेत नखुलेका उनीहरूलाई समाजले छोइछिटो गर्नेवाला थियो ।

अधिकार प्राप्तिका लागि सरोकारवालाई घच्घच्याउने भनेपछि तेस्रोलिंगीहरू तयार भए । आरतीले तेस्रोलिंगीको दुइटा जिन्दगी टेलिभिजनमा देखाइदिइन् । आफ्नो परिवारले देख्ने रूप र साँझ आफ्नो चाहनाअनुसार कसरी महिला वा पुरुषको पहिरनमा परिवर्तन हुन्छन्, एउटै व्यक्ति पुरुष हुँदा र महिला भएर ठमेलमा ग्राहकसँग कसरी ‘डिल’ गर्छन्, आरतीले दोखाइदिइन् । नेपालमा टेलिभिजनको इतिहासमा तेस्रोलिंगी देखिएको त्यो पहिलोपटक थियो ।

कार्यक्रम प्रसारण भएको एक दशकपछाडि (एक वर्षअघि) भारतको ट्रान्जिटमा बसिरहेका बेला एउटी महिला तेस्रोलिंगीले उनलाई भेटेर भनिन्, “हजुर आरती म्याम हैन ? म तपाईंको कार्यक्रमपछि खुलेकी थिएँ । अहिले तेस्रोलिंगी अधिकारकर्मीका रूपमा काम गरिरहेकी छु ।”

० ० ०

आरतीका कैयौं कार्यक्रम त्यस्ता छन्, जसले व्यक्तिको घारणा बदले । सडकमा भौतारिरहेका व्यक्तिले पहिचान पाए र दह्रो खुट्टा टेकेर उभिए ।

उनी टेलिभिजन प्रस्तोतामात्रै हैनिन्, महिला अधिकारका लागि वकालत गर्ने प्रखर वक्ता पनि हुन्, जसले महिला हिंसा, लैंगिक विभेदबारे हरेकलाई सूचित गर्छिन् ।

नेपाल सरकारका अधिकृत तथा उच्च अधिकारीलाई स्टाफ कलेजमा आरती कसरी लैंगिकमैत्री कानुन बनाउने भन्नेबारे तालिम दिन्छिन् । यही तालिम उनी प्रहरी सेनाका अफिसरहरूलाई पनि दिन्छिन् । राति सुतेका बेला होस् या कसैसँग गफ गर्दैगर्दा– उनको दिमागमा आफ्नो कार्यक्रमका लागि विषय खेलिरहन्छन् । पत्रकारिता सधैं सतर्क र जुझारु रहने पेशा भएको बताउने आरती आफ्ना कार्यक्रको प्रभाव महसुस हुनुको कारण पनि यसैलाई ठान्छिन् ।


अहिलेको पत्रकारिता

राजनीतिमुखी पत्रकारिता अहिलेको मूल समस्या देख्ने आरती भन्छिन्, “समाचार वा विचार देख्नेबित्तिकै यो कुन दलको र कुन गुटको मिडिया हो भन्ने थाहा हुन्छ । पत्रकारितामा राजनीतिक दलको लगानी भएसम्म निष्पक्ष पत्रकारिताको अपेक्षा गर्न सकिन्न ।”

“मैले मेरो दिमागमा जे छ त्यो नै सत्य हो भनेर पत्रकारिता गर्छु भने त्यो गलत हुन्छ र त्यसले अहित गर्छ समाजलाई,” उनी थप्छिन्, “आफू जुन क्षेत्र र विषयमा काम गरिन्छ, त्यसमा निरन्तर अपडेट नभएसम्म सत्य र तथ्य पत्रकारिता हुँदैन ।” 

पत्रकारितामा पनि विकृति भित्रिएको केही तथ्यहरूले इंगित गर्न थालेको आरतीको बुझाइ छ । “चार महिनादेखि तलब नपाएका पत्रकारले कसरी काम गरिरहेको छ, उसको आम्दानीको स्रोत के हो ? यी प्रश्नको जवाफ खोज्ने हो भने हाम्रो पत्रकारिता कति मर्यादित छ भन्ने थाहा हुन्छ,” उनी भन्छिन् ।

पत्रकार न्यायाधीश हैन, समाज परिवर्तन गर्ने व्यक्ति पनि होइन तर माध्यम भने हो । यो तथ्यलाई आधार मानेर नैतिकता र मर्यादाभित्र रही पत्रकारिता गर्न सके राम्रो सञ्चारकर्मी बन्न सकिने आरतीको अनुभव छ । ६० प्रतिशतभन्दा बढी पत्रकार महिलाले विवाहपछि यो पेशा परिवर्तन गर्नुमा महिलामैत्री समाचार कक्ष नहुनु नै मुख्य कारण रहको आरती बताउँछिन् । 

“जबसम्म महिलामैत्री समाचारकक्ष निर्माण हुँदैन, तबसम्म महिलाहरू पत्रकारितामा आएर छिटै हराउने भइरहन्छ,” जाँदाजाँदै उनले बिट मारिन्, “हामीकहाँ पत्रकार महिलाको संख्या हेर्ने हो भने यो कुरा पुष्टि हुन्छ । चाहना हुँदाहुँदै पनि महिला पत्रकारितामा रहन नसक्नुको कारण हाम्रो समाचारकक्ष नै हो ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०७४  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC