site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
नौ महिनापछि एमाले नेतृत्वमै सरकार बन्छ : योगेश भट्टराई
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विघटन भएको दुई महिना नपुग्दै अबको नौ महिनापछि एमाले नेतृत्वमै सरकार बन्नेमा एमालेका नेताहरू ढुक्क छन् ।
कांग्रेस र माओवादी केन्द्रबीच नौ महिना पछि कांग्रेस नेतृत्वमा सरकार बनाउने अनौपचारिक सहमति भएको छ । तर एमाले नेताहरूका अनुसार त्यसबेलासम्म नयाँ गठबन्धन बन्छ जसले एमाले नेतृत्वमा सरकार बनाएर चुनाव गराउँछ ।
एमाले स्थायी समितिको ४३ औं बैठकले पनि सरकारले गरेका कामकारवाहीप्रति प्रश्न उठाएको छ । साता बढी चलेको बैठकले माओवादी नेतृत्वमा रहेको सरकारले मुलुकमा देखिएका समस्याको समाधान दिन नसक्ने निष्कर्ष निकालेको छ ।
प्रस्तुत छ, स्थायी समितिको बैठकले गरेका निर्णय, त्यहाँ भएका छलफल, नेकपा एमालेको अबको रणनीति लगायतका विषयमा बाह्रखरीका लागि नेकपा एमालेका सचिव योगेश भट्टराईसँग अक्षर काकाले गरेको कुराकानी :
 
एमाले स्थायी कमिटीको ४३ औँ बैठक ८ दिन लगातार चल्यो, छलफलका मूलभूत विषय के–के थिए ?
 
एमालेले यसपटक बहुआयामिक कोणबाट विभिन्न विषयहरूमा घनिभूत छलफल ग¥यो । बीचमा एमाले निकै व्यस्त भयो । हामी सरकारमा थियौँ, सरकारमा सहभागी हुनुपूर्व संविधान निर्माणमा एमालेले सबै ऊर्जा प्रयोग गर्यो । त्यसभन्दा अघि संविधान सभाको निर्वाचनमा पार्टीको सबै शक्ति परिचालित भयो । 
विशेष गरेर महाधिवेशन पश्चात सबै विषयमा मिहीन ढंगले छलफल गर्ने वातावरण बनेको थिएन । त्यसैले हामीले यो बैठक आठ दिन निरन्तर गर्यौं । स्थायी कमिटीका सबै सदस्यहरूले कुनै बार/बन्देज विना आफ्ना कुराहरू प्रष्ट ढंगले राख्नुभयो । बैठकले नेकपा एमालेलाई घोट्ने काम गरेको छ । घोटेर क्षीण पार्ने होइन, अझै चहकिलो बनाउने र टल्काउने काम गरेको छ ।
 
बैठकमा माओवादी केन्द्र र एमालेको गठबन्धन टुटाउने काम एमालेबाटै भएको हो, तत्कालीन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन जोगाउन सक्नुभएन भन्ने कुरा पनि उठ्यो । गठबन्धन एमालेकै कारण टुटेको निष्कर्ष निकाल्नुभयो त ?
 
सरकारको बारेमा हामीले धेरै कोणबाट छलफल गर्यौं । रणनीतिक साझेदारीका हिसाबले एमाले र माओवादी केन्द्रबीच ‘एलायन्स’ बनेको थियो । समय क्रममा माओवादी केन्द्रले त्यसको महत्व बुझेन । माओवादीभित्र यस्तो प्रवृत्तिको अन्जान एमाले थिएन । थाहा हुँदा–हुँदै हामीले उसँग सहकार्य गरेका हौं । माओवादीमा विचार, सिद्धान्त र राजनीतिप्रति कुनै स्थायीत्व थिएन । अहिले पनि ऊ अस्थिरताकै गोलचक्करमा छ । उग्र महत्वाकांक्षा, निम्न पुँजिवादी चिन्तन, चरम स्वार्थका कारण उसले जतिबेलै सत्ता–समिकरण बदल्न सक्थ्यो, बदल्यो । 
केपी ओलीको नेतृत्वमा सरकार नबनोस् भनेर कतिपय जातीय, क्षेत्रीय शक्तिहरूले चाहिरहेका थिए । नेपाली कांग्रेसले त विपक्षमा मतदान नै गरेको हो । आजको परिस्थितिमा नेपालको राजनीतिमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीचमै हो । त्यसो हुँदा कांग्रेसले के बुझ्यो भने, एमाले सरकारमा बसेर दिनप्रतिदिन लोकप्रिय हुँदैछ । माओवादीसँग उसको गठबन्धन बलियो पनि हुँदै जाँदैछ । भोलि यिनीहरूले चुनाव मिलेर पनि लड्न सक्छन् । यिनीहरू मिलेर लडेनन् भने पनि एमालेले कांग्रेसलाई पछि पार्न सक्छ भन्ने खतरा उसले महसुस गर्यो । चौतर्फी ढंगले एमालेलाई सरकारबाट बाहिर निकाल्ने कोशिस भयो र त्यसको गोटी माओवादी बनेको हो । 
 
पार्टी सरकारमा हुँदा एमालेभित्र विवाद चरमचुलिमा पुग्ने सरकारबाट बाहिरिएपछि विवाद सामसुम हुने कारणचाहिँ के रहेछ ?
 
बुझ्नुपर्ने कुरा के हो भने एमालेभित्र विवाद होइन बहसका विषय थिए । जुन कम्युनिष्ट पार्टीभित्रको सार्वभौम कुरा हो । हामीले यस बैठकमा ज्यादै विचार–विमर्श गर्यौं । छलफल गर्यौं । हामी माक्र्सवादीहरू बहसको निरुपण नै द्वन्द्वात्मक तवरबाट हुन्छ, विमर्शको माध्यमबाट हुन्छ भन्ने मान्यता राख्छौं । त्यसो हुँदा यसपटक हामीले एक–अर्कालाई निकै नजिकबाट जान्ने र चिन्ने मौका पनि पायौं । नेताहरूबीचको एकता र हार्दिकतालाई अझ नजिकबाट उजिल्याउने प्रयत्न पनि गर्यौं ।  मुलुक र पार्टी सामू जुन चुनौतीको पर्खाल खडा भएको छ त्यसको सामना हामी सबैको एकताबाट मात्रै सम्भव छ भन्ने हामीले निष्कर्ष निकाल्यौं । त्यो एकता विचार, संगठन र नेतृत्वबाट मात्रै सम्भव छ । नवौं महाधिवेशनले हामीलाई, विचार, विधी दिएको छ, नीति दिएको छ त्यसैको परिपालना गरेर हिँड्ने नेतृत्व मात्रै साझा हुन्छ भन्ने हामी सबैले बुझ्यौं । यसर्थ पार्टीलाई शिरदेखि तिरसम्म स्पातिलो बनाउनुपर्छ भनेर हामीले ६ बुँदे साझा संकल्पसमेत तयार पारेका छौँ ।
 
कुन–कुन विषयमा विवाद थिए र ती विषय कसरी टुंगिए ?
 
मैले अघि नै भनिसकें हामीबीचमा विवाद भन्दा पनि काम गराइमा केही बिरोधाभास देखियो । हामीले पार्टीको आन्तरिक जीवनमा जुन खालको लोकतान्त्रिक विधि र प्रक्रिया अवलम्बन ग¥यौं । त्यसले हामीमा के बुझाइ स्थापित गरिदियो भने, लोकतान्त्रिक पद्दति भनेको नेतृत्व छनोटका लागि गरिने निर्वाचन हो ।  त्यो निर्वाचन एक किसिमले भन्ने हो भने राम्रै ग¥यौं । अर्को किसिमले भन्ने हो भने कांग्रेस र एमालेबीचको प्रतिस्पर्धाजस्तो पो भयो । दुनियाँलाई तमासा देखाइयो, एमालेजस्तो पार्टी यो प्रतिस्पर्धालाई थेग्न सक्छ ? कतिपय मानिसको चिन्ता र चासो यता पनि देखियो । यो केन्द्रमा मात्र होइन, जनसंगठन हुँदै पार्टीको आधारभूत निकायसम्म आगोसरह फैलियो । यसबाट शिक्षा लिँदै हामीले के भन्यौं भने प्रतिस्पर्धा पार्टीभित्र गर्नैपर्छ, प्रतिस्पर्धाबाटै श्रेष्ठता हासिल गर्ने हाम्रो सिद्धान्तै हो । तर, यो एउटा सीमाभित्र बसेर गरौँ । अब हामी यसअघिको महाधिवेशनमा झैँ प्यानलगत ढंगले प्रतिस्पर्धामा नउत्रौँ, व्यक्तिगत चुनाव लडौँ । 
दोस्रो, पार्टीका काम गर्ने र नगर्नेबीच मुल्यांकनको परिपाटी बसालौँ । योग्यता, क्षमता, लगनशीलता र इमान्दारितालाई पार्टीमा ‘अपग्रेड’ गर्ने आधार बनाऔँ । गुटका आधारमा मात्र मानिसलाई काखा र पाखा गर्दा पार्टी प्रणाली बिग्रियो भन्ने जनरल अन्डरस्ट्यान्डिङ यो बैठकमा भएको छ । यो कार्यान्वयन गर्दै हामी अघि बढ्छौँ ।  कार्यान्वयन गर्ने क्रममा फेरि केही समस्या आयो भने हामी बस्छौँ र निष्कर्षमा पुग्छौँ । 
 
कार्यविभाजन अन्तर्गत प्रदेश संगठन कमिटी गठन गर्दा माधव नेपाल पक्षले बढी जिम्मेवारी पाएको छ त्यसैले तपाइँहरूको बोली मत्थर भएको हो ?
 
हामीले अध्यक्ष केपी ओली पक्ष, बरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल पक्ष, उपाध्यक्ष बामदेव गौतम पक्ष भनेर वर्गिकरण गरेनौं । यसपटक हामीले त्यो कोटलाई टाढै राखेर बैठकमा प्रवेश गरेका थियौं । त्यसमा हामीले एउटा मापदण्ड बनाएका थियौं । प्रदेश कमिटीको संयोजक को हुने भन्ने विषयमा हामी पहिलेदेखि नै छलफलमा थियौं । हाम्रो विधानले नै भन्थ्यो, उपाध्यक्षहरू  विकास क्षेत्रका संयोजकहरू हुनेछन् । अहिले प्रदेश तयार भएपछि पोर्टफोलियोमा रहनुभएको साथीहरूलाई जिम्मेवारी दिइएको छ । उपाध्यक्ष बामदेव गौतमको हकमा उहाँ आफैंले म किसान महासंघकै जिम्मेवारीमा रहन्छु प्रदेशमा जान्न भनेर बाटो खुला गर्नुभएको हो । जिम्मेवारी दिँदा पदीय हैसियत, समावेसी सिद्धान्तलाई पनि अवलम्बन गर्न छुटाएका छैनौं । यसपटक हामीले समूहगत, गुटगत भन्दा समग्र कामको मुल्यांकनका आधारमा जिम्मेवारी बाँडफाँड गरेका छौं ।
 
माओवादी– एमालेको एलायन्सले बामपन्थी गठबन्धनलाई बलशाली बनाएको थियो, टुटेपछि ध्रुविकरणतर्फ अघि बढ्यो होइन ?
 
माओवादी साँच्चै कम्युनिष्ट भइसकेको थिएन । उ कम्युनिष्ट बन्ने प्रक्रियामै थियो । ऊ कम्युनिष्ट बन्ने प्रकृयामा भएकाले हामीसँगको सहकार्यमा आएको हो । एक किसिमले भन्ने हो भने उ कम्युनिष्ट स्कुलको परीक्षणकालीन विद्यार्थी हो । परीक्षणकालमा भएको विद्यार्थीलाई घोक्राएर निकालिँदैन, उसलाई फेरि पढाइन्छ र पुनः परीक्षाको मौका प्रदान गरिन्छ । 
 
यसको अर्थ माओवादी केन्द्रसँग फेरि सहकार्य हुन्छ ?
 
माओवादीसँगको सम्बन्ध हामीले नवौँ महाधिवेशनबाटै स्पष्ट गरेका छौँ । माओवादीसँगको हाम्रो सम्बन्ध एकता, संघर्ष र रुपान्तरणको हो । माओवादीसँग कुनैबेला हाम्रो सम्बन्ध संघर्ष प्रधान हुन्छ, कुनैबेला एकताप्रधान हुन्छ । आज ऊ सत्तापक्ष छ, हामी प्रतिपक्षमा छौं यसर्थ माओवादीसँग हाम्रो संघर्ष छ ।  संघर्षकै दौरानमा हाम्रो एकता पनि कायम हुनसक्छ । माओवादीसँग सहकार्यको बाटो हामीले बन्द गरेका छैनौं । 
 
०४८ साल पछाडि एमाले कम समय मात्र प्रतिपक्षमा बसेको छ, सत्ताबाहिर रहँदा एमालेलाई कत्तिको छटपटि हुँदो रहेछ ?
 
सबैभन्दा पहिला म तपाइँलाई सँच्याउँछु ०४८ साल पछाडि एमाले बढी प्रतिपक्षमा बसेको छ । तपाईंले भनेको सत्य के हो भने ०६३ पछि चाहिँ एमाले त्यति प्रतिपक्षमा बसेको छैन । बाबुराम नेतृत्व र खिलराज नेतृत्वको सरकारमाबाहेक हामी सरकार बाहिर बसेका छैनौं । ०४८–०६३ सम्म हामी सरकारमा भए पनि अति छोटो समय रह्यौं । प्रतिपक्षका हिसाबले यो हाम्रो नयाँ अनुभव होइन । अर्को, हिजोभन्दा आज एमाले निकै परिपक्व छ । एमालेको देशभित्र मात्रै समर्थन बढेको छैन, अन्तर्राष्ट्रिय तहमा पनि त्यत्तिकै सम्बन्ध विस्तार भएको छ । गरीमा र छवी पनि माथि उठेको छ ।  एमाले शान्तिपूर्ण ढंगले मुलुकको रुपान्तरण गर्न चाहन्छ त्यसकारण एमालेसँग सहकार्य गर्नुपर्छ भनेर अन्तर्राष्ट्रिय जगतले पनि भनिरहेको छ । यसर्थ प्रतिपक्षमा बसेर हामी कुनै उत्ताउलो काम गर्दैनौं । हामी कुनै उत्तेजनात्मक अवस्थामा पनि छैनौं । प्रतिपक्षमा बसेर संविधानको कार्यान्वयन गर्ने, तहगत निर्वाचन गराउन भूमिका खेल्ने, राष्ट्रिय एकता, सामाजिक सद्भावलाई अझै मजवुत बनाउने, भूकम्पपछिको पुनर्निर्माणलाई दु्रत गतीमा सम्पन्न गर्न रचनात्मक भूमिका खेल्ने र नेकपा एमालेलाई आन्तरिक हिसाबले मजवुत बनाउन लाग्नेमै ज्यादा ध्यान केन्द्रित गर्नेछौं । 
 
यसबीचमा कांग्रेसलाई बाहिर राखेर माओवादी केन्द्रसँग नयाँ कोणबाट सहकार्य गर्दै एमाले सरकारमा सहभागि हुने अथवा नयाँ सरकार गठन गर्ने सम्भावना कत्तिको छ ?
 
पार्टीगत स्वार्थले, कसैको स्वार्थलाई पक्षपोषण गर्नेगरी एमाले अघि बढ्दैन । देश र जनताको हितलाई एमालेले सर्वोपरी राख्छ । हामी नाजायज र अनुचित ढंगले कसैसँग सम्झौता गर्दैनौं । नेकपा एमाले नचुक्ने र नझुक्ने नीतिका साथ जान्छ । देश र जनताविरुद्ध कुनै पनि पार्टी र कुनै पनि मुलुकबाट आउने आश्वासनमा हामी चुक्दैनौं । राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वार्थका विषयमा हामी कुनै पनि हालतमा झुक्दैनौं । त्यो आधारमा भोलि कोही आउँछ भने उसँग सहकार्य जरुर हुन्छ ।
मलाई के विश्वास छ भने यो सरकाले चुनाव गर्दैन । यो सरकार नौ महिना पनि टिक्दैन । त्यसपछि एमालेकै नेतृत्वमा कुनै गठबन्धन निर्माण हुन्छ । एमालेकै कुनै नेताको नेतृत्वमा सरकार बन्छ । र, त्यसले निर्वाचन गर्छ ।
 
त्यसो भए यो सरकार छिट्टै ढाल्नुहुन्छ ?
 
यो सरकार हामी ढाल्दैनौं, सरकार गिराउन ऊर्जा खर्च गर्नैपर्दैन । यसका निम्ति हामीले गैंती, ह्याम्बर, कुटो, कोदालो केही औजार बोक्नैपर्दैन । सरकारले मृत्यु आफैं बोकेर आएको छ ।
 
भनेपछि सरकारको जग त्यति कमजोर छ !
 
यो सरकारको जग नै छैन नि ! माओवादी र कांग्रेसको कुनै रसायन नै मिल्दैन । रसायन नमिलेपछि एउटा पदार्थ एकातिर जान्छ अर्को पदार्थ अर्कोतिर जान्छ । त्यो अनिवार्य कुरा हो । जब लक्ष्य, आचरण मिल्दैन भने त्यो गठबन्धन कत्ति अगाडि बढ्छ आफैं अनुमान लगाउनहोस् । यो गठबन्धन त फगत एमालेसँगको ईष्र्याभावको गठजोड मात्र हो । एमाले नेतृत्वको सरकार गिराउन मात्र एलायन्स तयार भएको हो ।  अब हाम्रो सम्पूर्ण ध्यान चुनावमा केन्द्रित हुनेछ । एमालेको अर्जुनदृष्टि चुनाव हुनेछ । स्थानीय तहको निर्वाचनमा हामी दुई तिहाइ बहुमत ल्याउने, प्रदेश र संघीय निर्वाचनमा बहुमतले विजयी हुनेगरी ‘निर्वाचन मिसन’ बनाएर एमाले अगि बढिसकेको छ । 
 
तस्बिर ः रोजित खड्का 
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७३  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC