विशेष
नेपाल विद्यार्थी संघको निर्वाचनमा अध्यक्ष पदमा पराजित मनोजमणि आचार्यले चुनावको परिणामलाई जसरी ग्रहण गरे त्यसले समकालीन राजनीतिमा हराइसकेको र राजनीतिका समालोचकलाई नै चकित पार्ने सन्देश दियो – लोकतान्त्रिक राजनीतिक संस्कारको । नेपाली राजनीतिमा यस्तो संस्कार बिरलै भेटिन्छ । सबैभन्दा पहिले आफूलाई पराजित गर्ने उमेदवारलाई उनले बधाई दिए, अंकमाल गरे, विजय मन्तव्य सुने र आफ्नो मन्तव्यका क्रममा सहयोगको वाचा गरे । अनि भने – ‘गुटको राजनीति हुन दिने छैन ।’
समकालीन राजनीतिमा व्याप्त कुण्ठित र अहङ्कारी प्रवृत्तिको लेसमात्र पनि मनोजमणिमा देखिएन । यसैले उनको संस्कार मर्मस्पर्शी लागेको हो । प्रतिस्पर्धी वा आफ्ना विकल्पमा प्रस्तुत हुने व्यक्ति वा सिद्धान्त्लाई सम्मान गर्ने चरित्र नै लोकतान्त्रिक संस्कार हो । यो संस्कार नेपालको राजनीतिबाट हराइसकेको छ । केपी ओली नेतृत्वको सरकार विघटन भएपछि एमालेका सामान्य कार्यकर्तादेखि केन्द्रीय नेतासम्मले सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोश र कुण्ठा हेर्दा धेरैमा असहिष्णु अपसंस्कार रहेको देखिन्छ । उनीहरूको आक्रोशबाट धेरैलाई निराश र केहीलाई त्रस्त पनि बनाएको हुनुपर्छ ।
आफ्नो विपक्षलाई निषेध गर्ने, राजनीति आपूmले ठानेको जस्तोमात्र होस् भन्ने चाहने र आफ्नोभन्दा फरक निष्कर्ष र मतलाई गलत सिद्ध गर्न जस्तोसुकै उपाय पनि अपनाउने प्रवृृत्ति अधिनायकवादी हो । एमालेले सत्ता छाड्दा उसका कार्यकर्ताबाट व्यक्त कुण्ठा र आक्रोशलाई नेपाली राजनीतिमा अधिनायकवादी संस्कृतिको प्रभाव बढेको सूचकका रूपमा राजनीतिशास्त्रका विद्यार्थीले लिएका छन् । त्यसैकारण तिनमा चिन्ता र त्रास पैदा भएको हो ।
एमालेका नेताको सत्ता बहिर्गमनपछिको प्रतिक्रियामात्र हैन, माओवादीभित्रको विवाद, विभाजन, एकताभित्र पनि त्यस्तै संस्कार प्रकट भएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अहिलेको कार्यशैली पनि त्यस्तै छ । प्रस्ताव तयार गरी मन्त्रिपरिषद्बाट पास गराई कार्यान्वयन गर्न लगाउनुको साटो मन्त्री र सचिवलाई बोलाउँदै निर्देशन दिने प्रवृत्तिले असल संस्कार र हार्दिकताको संस्कृतिलाई सघाउँदैन । नेपाली कांग्रेसभित्र एउटा गुटले अर्कोको आलोचनैमात्र गर्ने संस्कारले पनि अधिनायकवादी प्रवृत्तिलाई नै बढावा दिइरहेको छ । मन्त्रिपरिषद्मा पठाउने सदस्यका नामका बारेमा छलफल गर्न नचाहनु र छलफल गर्न आएनन् भनेर प्रतिक्रियामात्र दिनु पनि राजनीतिलाई हार्दिक बनाउने कुराको उल्टो चरित्र हुन् । छलफल नगरी नाममात्र माग्ने प्रवृत्तिलाई त भनै के भन्ने !
कांग्रेसभित्र गुटका नाममा प्रदर्शित खेलले पनि राजनीतिमा हार्दिकताभन्दा अधिनायकवादी चरित्रलाई मलजल गरिरहेको छ । कांग्रेस महाधिवेशनमा निर्वाचने परिणामपछि पराजित वरिष्ठ नेता रामचन्द्र पौडेलले हार्दिकता देखाउने कोसिस गरे, विजेताहरूलाई चियापानका लागि घरमै बोलाए । पछि पनि अनौपचारिक ‘गफ गर्न’ बोलाए । विजयी सभापति र पराजित उम्मेदवारमात्र बगैँचामा मित्रवत् वार्तालाप गरिरहेका तस्बिर पनि सार्वजनिक भए । ती तस्बिरले पनि अहिले मनोजको नैनसिंह महरसँगको कसिलो अंकमालको तस्बिरले जसरी नै धेरैको मन छोएको थियो । लोकतान्त्रिक संस्कारयुक्त राजनीतिक अभ्यास प्रारम्भ हुने अपेक्षा बढेको थियो । तर, त्यसले निरन्तरता पाएन । किन पाएन ? त्यसको लेखाजोखा गर्दै गरौँला । प्रारम्भ भएर गुमेको त्यो लोकतान्त्रिक संस्कारलाई मनोजमण्ािले निरन्तरता दिने कोसिस गरेका छन् । उनलाई हराउने महर पनि राजनीतिभित्र हार्दिकताको महत्व र अनिवार्यता बुझेका नेता हुन् । त्यसकारण मनोजले अगाडि सारेको हार्दिकताको हात महरले समाउनेछन् र हार्दिकताको उच्चतम अभ्यास नेविसंघमा यही कार्यकालमा देखिनेछ भन्ने विश्वास गर्न सकिन्छ ।
निर्वाचनलाई पदमा पुग्ने लोकतान्त्रिक प्रक्रियाका रूपमा मात्र लिने हो त्यो नितान्त प्राविधिक पद्धति बन्न पुग्छ । निर्वाचनका बहुआयामिक सन्देश हुन्छन् । बीपी कोइरालाले २०३७ सालको जनमतसंग्रहको निर्वाचनमा हारेको मान्दामान्दै पनि जीवन्त निर्वाचनले दिने सबै प्रकारका सन्देश ग्रहण गरे । उनले नतिजा विलम्ब नगरीकन स्वीकार गरे । नेविसंघको निर्वाचनलाई पनि परिणाम आफ्नो पक्षमा पार्ने प्रक्रियाका रूपमा मात्र ग्रहण गर्ने अवस्था थिएन । नौ वर्षपछि निर्वाचन हुँदैथियो । महाधिवेशनको उद्घाटन सत्र सकिँदासम्म प्रतिनिधिको टुङ्गो लागेको थिएन भने टुङ्गो लागेका प्रतिनिधिमा पनि उम्मेदवार बन्न पाउने वा मतदान गर्न पाउने विश्वास ज्यादै न्यून थियो । पार्टीभित्रका गुटका नेताहरू सहमतिको नाममा भागबण्डा खोज्न सलबलाई रहेका थिए । तर, निर्वाचन भयो । यो नै सबैभन्दा ठूलो जित थियो नेविसंघको इतिहासमा । नेपालको लोकतान्त्रिक आन्दोलनले राजालाई बाध्य पारेर जनमत संग्रहको घोषण गर्न बाध्य बनाएको घटना आन्दोलनको इतिहासमा जसरी स्वर्ण अक्षरले अंकित छ नेविसंघको यो निर्वाचन पनि संघको इतिहासमा उच्च महत्वका साथ लेखिने निर्विवाद छ । त्यसैले मनोजले परिणाममात्र हेरेनन् त्यसको बहुआयामिकतालाई हेरे र हार्दिकताका साथ स्वीकारे । महरले चियापान गराउँदै गर्लान्, विजयी भोज खाने हाम्रो परम्परालाई उनले निरन्तरता पनि दिँदै गर्लान् तर मनोजले चियापानको आयोजना गरेर, महरलाई कसिलो अंकमाल पनि गरे र यो नेविसंघको जित हो भन्ने भाषण गरे ।
निर्वाचनको परिणाम आएको ४ दिनपछि मनोज अनामनगरमा भेटिए । उनी एउटा होटेलमा २५ जनाजती बिद्यार्थी नेता कार्यकर्तासँग खाना खाँदै थिए । हँसिलो मुद्रामा उनी संगठन अझै बलियो बनाउन सबैले भूमिका खेल्नुपर्छ भन्दै थिए । ‘संगठन बलियो भएन भने व्यक्ति नेता हुन सत्तैmन, हामीसँग कुनै चमत्कारी क्षमता छैन । त्यसैले हाम्रो अस्तित्वको लागि पनि संगठन बलियो बनाउनु पर्छ’ भन्ने आशय उनको अभिव्यक्तिमा थियो । उनले आपूm व्यक्तिको हारको समीक्षा गर्दै थिएनन्, कुनै नेतालाई आरोप लगाइरहेका थिएनन्, अन्तरघात भयो भन्ने ‘रेडिमेट मुकुण्डो’ लगाइरहेका थिएनन् । पलानो बागी उम्मेदवार भएर भोट काटियो पनि भनिरहेका थिएनन् । निर्वाचनले दिएको बहुआयामिक सन्देशको मिहिन विश्लेशणमा बढी केन्द्रित थिए ।
राजनीतिशास्त्रमा आदर्श, राजनीतिक दर्शन, राजनीतिक कौशलको वर्णन गरिएका धेरै ठूलाठूला ठेली छन् तर कार्यान्वयन गर्ने राजनीतिककर्मी प्रशस्त र प्रभावशाली भएमात्र तिनको अथै हुन्छ । मनोजको प्रसंग यहाँ यसै सन्दर्भमा लिइएको हो । उनले अत्यन्त विवाद र तीव्र प्रतिस्पर्धाका बीचमा भएको निर्वाचनपछि प्रारम्भ गरेको लोकतान्त्रिक हार्दिकताको राजनीतिक संस्कार नयाँ पुस्ताका लागि उत्साहको संस्कृति बन्ने छ ।
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७३ १३:०४
प्रतिक्रिया दिनुहोस्