site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उमेदवारीको किनबेच
Ghorahi CementGhorahi Cement

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका क्रममा उमेदवारीको किनबेच पनि सुरुभएको चर्चा हुनथालेको छ । बिहीबारको कान्तिपुरले निर्वाचनमा ठूलो लेनदेनको आधारमा उमेदवारको चयन हुनेगरेको र यसका लागि पैसावाला ठेकेदार, म्यानपावर व्यवसायी, मेडिकल माफियादेखि डनसम्म बिचौलियामार्फत पैसाको बलमा टिकट पाउन जोडबल गरिरहेको समाचार छापेको छ । कुलचन्द्र न्यौपानेले तयार पारेको समाचार टिप्पणीअनुसार समानुपातिकतर्फको उमेदवारको सूची तयार भइसकेको भए पनि अझै सो सूची सच्याउने कार्य भइरहेकाले किनबेचको चलिहेको र प्राथमिकतामा अघि पर्न पनि पैसाको ठूलै लेनदेन भएको छ । न्यौपाने लेख्छन् – यस्तो कार्यका लागि पैसा भएका व्यापारी र अपराधीले बिचौलियाको मद्दत लिन थालेका छन् । यस विषयमा नेपाली कांग्रेसमा उमेदवारीको टिकट वितरण गर्ने शक्तिशाली समूहमा भ्रष्टाचारीको आरोप प्रमाणित भएर जेल बसेका खुमबहादुर खड्कालाई सम्मिलित गराउनु तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले गुन्डा नाइके दीपक मनाङेलाई टिकट दिनुले राजनीतिमा अपराधीकरण तथा अपराधको राजनीतिकरण गर्ने कार्य भएको छ । कान्तिपुरले उठाएको यो विषय अत्यन्त सामयिक र लोकतन्त्रको शुद्धीकरणका लागि महत्त्वपूर्ण छ । 

सर्वोच्च अदालतको निर्णयले निर्वाचन सुनिश्चित

मंसिर १० गते र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सर्वोच्चको अन्तरिम आदेश आएर केही पर सर्ने हो कि भन्ने दुबिधा बुधवारको निर्णयबाट सकिएको छ । राष्ट्रिय जनता पार्टी नेपालका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन बेग्लै कानुनअनुसार हुने हुनाले दुवै मतपत्र फरकफरक हुनुपर्ने मागसहित रिट निवदेन दिएका थिए । सर्वोच्च अदालतले उनको मागअनुरूप आदेश दिएको भए निर्वाचन सार्नुपर्ने हुनसक्थ्यो । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ असोज १७ गतेदेखि थालेको जनाएको थियो । तर, सर्वोच्च अदालतले मतपत्र फरक हुनुपर्ने माग अस्वीकार गरेको कारणले अब निर्वाचन सुनिश्चित भएको छ । यससम्बन्धी समाचार गोरखापत्रले बढी महत्त्वका साथ प्रकाशित गरेको छ । यसको साथै निर्वाचन आयोगले आयोजना गरेको एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दुवै निर्वाचन तोकिएकै मितिमा हुनेमा जोड दिएका छन् । यो समाचारलाई पनि गोरखापत्रले तस्बिरसहित मुख्य समाचार बनाएको छ । 

Agni Group

निर्वाचन आयोगले आयोजना गरेको विशेष पत्रकार सम्मेलनलाई राजधानीले पहिलो पृष्ठको अन्तिम समाचार बनाएको छ । कात्तिक ५ गते ३२ जिल्लामा मनोनयन दर्ता हुने र प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि एउटै मतपत्र तयार भएको पनि राजधानीले प्रकाशित गरेको छ । नयाँ पत्रिकाले एन्कर प्रकाशित गर्दै शुक्लको रिटले संशय उत्पन्न गराएको तर सर्वोच्च अदालतको निर्णयले यो संशय हटेको समाचार लेखेको छ । सर्वोच्चको आदेशको बुँदा प्रकाशित गर्दै नयाँ पत्रिकाले लेखेको छ – “समानुपातिकतर्फको मतपत्र छापिन सुरु भैसकेको कारणले दर्ता भएको निवेदनमा अन्तरिम आदेश बारे बोल्नुको कुनै औचित्य रहेन ।” त्यस्तै सर्वोच्चले पहिलो हुने विजयी हुनेतर्फको मतपत्र प्रकाशित हुन बाँकी नै रहेको अवस्थामा निर्वाचन आयोगले गम्भीरतापूर्वक लिई विचार गर्नेछ भन्ने टिप्पणी फैसलामा गरेको छ । 

अन्नपूर्ण पोस्टले ‘मतपत्र छपाइ रोक्न मिल्दैन : सर्वोच्च’ शीर्षकको समाचार प्रकाशित गर्दै सर्वोच्चले फरक मतपत्र छाप्नका लागि आदेश नगरेको कारण हाल छापिँदै गरेको समानुपातिक तर्फको ८० लाख मतपत्र तथा करोडौँं रुपैयाँको बचत भएको छ । 

Global Ime bank

कम्युनिस्ट गठबन्धन बाँडफाँटमा अल्झियो

पहिलो चरणअन्तर्गत हुने निर्वाचनको उमेदवार मनोनयन दर्ता कात्तिक ५ गते हुँदैछ । यता कम्युनिस्ट गठबन्धनमा भने कुन कुन स्थानबाट को को उमेदवार कसरी छान्ने भन्ने विषयमा ठूलै अप्ठेरो परेको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)का तर्फबाट महासचिव इश्वर पोखरेल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट रामबहादुर थापा, वर्षमान पुन तथा मातृका यादव उमेदवार छनोट समितिका सदस्य रहेका छन् । यस समाचारलाई नयाँ पत्रिका तथा कान्तिपुरले प्रकाशित गरेका छन् । नयाँ पत्रिकाले प्रभावशाली र युवा नेताको क्षेत्र टुंग्याउन विशेष गाह्रो परेको भन्दै चितवन २ बाट रामबहादुर थापा र चितवन ३ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ उठ्ने विषयलाई उदाहरण बनाएको छ । सो दुवै क्षेत्रमा माओवादी कमजोर भएको कारण विजय सुनिश्चित नहुने हुँदा रामबहादुर थापाले उमेदवारी नदिनेसम्मको अवस्था आएको लेखेको छ । कान्तिपुरले पनि निर्वाचन कार्यदलका एक सदस्यलाई उद्धृत गर्दै वाम गठबन्धन मिलाउन सकस परिरहेको समाचारलाई एक कोलममा प्रकाशित गरेको छ । 

डा. केसीको अनशन तोडियो

नागरिक, राजधानी तथा कान्तिपुरले डा. गोविन्द केसीको अनशन तोडिएको समाचारलाई महत्त्वका साथ प्रकाशित गरेका छन् । सरकारले डा. गोविन्द केसीको मागअनुरूप नै चिकित्सा शिक्षा ऐनलाई अध्यादेशमार्फत जारी गर्ने वचन दिएका कारण डा. केसीले १४ दिन लामो १३ औं अनशन टुंग्याएका छन् । यस समाचारलाई नयाँ पत्रिका तथा अन्नपूर्ण पोस्टले पनि प्रथम पृष्ठमा नै प्रकाशित गरेका छन् ।

सम्पादकीय

आजका कान्तिपुर, अन्नपूर्ण पोस्ट तथा राजधानी दैनिकले निर्वाचनको सुनिश्चितताका लागि दलहरूको अहिलेको व्यवहार तथा आरोप प्रत्यारोपले सहयोग नगरेको भन्दै निर्वाचनमा एकोहोरिन आह्वान गरेका छन् । सत्तारुढ नेपाली कांग्रेसले माओवादी मन्त्रीको स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतालाई ल्याएको तथा माओवादी नेताले मन्त्रिपरिषद् छाड्ने भनेर पत्रकार सम्मेलन आयोजना गरेर पनि निर्वाचन बिथोल्ने खेल सुरु भएको आरोप लगाएर मन्त्रिपरिषदबाट राजीनामा नदिएको प्रसंग उठाउँदै यी दैनिकले निर्वाचनको विषयमा चिन्ता जाहेर गरेका छन् । पोस्टले माओवादी मन्त्रीहरू मन्त्रिपरिषदबाट बाहिर निस्कनुको विकल्प छैन भनेर लेखेको छ भने कान्तिपुरले सर्वोच्चको मतपत्र सच्याउनुपर्ने रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाले निर्वाचनलाई लिएर दलहरूबीच असमझदारी हुनुपर्ने कारण छैन भनेर लेखेको छ । त्यस्तै राजधानीले प्रधानमन्त्रीलाई राष्ट्रका नाममा सम्बोधन गरेर निर्वाचनको वातावरण बनाउन आह्वान गरेको छ । 

बिहीवाारको नागरिक दैनिकले केन्द्रमा बढीमा २५ जनासम्म मन्त्री बनाउने व्यवस्था गरिए पनि प्रदेशहरूको मन्त्रिपरिषद्लाई हेर्ने हो भने फेरि पनि मन्त्रिपरिषद्को व्ययभार ठूलो हुने आशंकासहित सम्पादकीय लेखेको छ । केन्द्रमा २५ भए पनि एउटै प्रदेशमा २४ सदस्यीय मन्त्रिपरिषद् गठन हुने विषय आफैँमा असंगत र असन्तुलित भएकाले यो व्यवस्थालाई संशोधन गर्न नागरिकले सुझाव दिएको छ । 

नयाँ पत्रिकाले ‘पानी नभएको रानीपोखरी’ शीर्षकमा सम्पादकीय लेख्दै रानीपोखरी निर्माणमा लापरवाही गर्नु हाम्रो पहिचान मेटाउने षड्यन्त्र हो भन्दै यस्ता पुरातात्विक संरचनाको संरक्षण गर्न आह्वान गरेको छ । गोरखापत्रले देशको गरिबी घटाउन समन्वयात्मक प्रयास जरुरी भएको विषयमा सम्पादकीय टिप्पणी गरेको छ । 

(सूचनाः तिहारको बिदाका कारण अधिकांश दैनिक पत्रिका कात्तिक ३ देखि बन्द भई कात्तिक ६ गतेमात्र प्रकाशित हुनेहुँदा बाह्रखरी समीक्षाको अर्को अंक पनि कात्तिक ६ गते प्रकाशित हुने जानकारी गराउँछौँ ।)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC