site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नाइके बूढा प्रवृत्ति

'मन त थिएन जोगी बन्नलाई’ भन्ने चर्चित दोहोरी गायक बद्री पँगेनीको गीतजस्तो भएको छ अचेल । जोगी शब्दको प्रतिस्थापन लेखक शब्दले गरेझैं भएको छ । सामाजिक संजाल र सूचना प्रविधिको यस्तो जगजगी नहुँदाको अवस्था सम्झिन्छु । सन् १०९० को दशकको मध्यतिरको कुरा हो ।  एकपटक त बुवाले मलाई लेख्नु भएको चिठी ५ महिना लगाएर मिन्स्क आइपुग्यो । नेपालबाट मिन्स्क पठाएको चिट्ठी टोकियो डुलेर विभिन्न रागेपाटे टिकटको आवरणसहित करिबकरिब झुत्रिएको अवस्थामा म बसेको ठेगानामा आइपुगेको थियो । खोलेर पढ्दा खबर ताजै लागेको थियो । आजको जुग फरक छ, समयको अन्तर ११ घन्टा ४५  मिनेट छ  मेरो कर्मभूमि र जन्मभूमिको । तर, पनि सूचना प्रविधिले तात्तातै नयाँ खबर हातहातै ल्याइदिन्छ, अनि लेख्न जोस आउँछ । त्यसभन्दा पनि लेखेर पठाउनासाथ तात्तातै छापाहरूले छापिदिन्छन्, सामाजिक सञ्जालमा मसँग नगाँसिएका साथीसँग समेत संवाद गर्न पाइन्छ । साच्चै,  'मन थिएन लेखक बन्नलाई, लेख पठाउँदा सम्पादकले राम्रै हुन्छ भन्थे भन्नलाई' जस्तो पो भएको छ । 

'देश छोडेर हिंडेकाले ठूला कुरा नगरेकै राम्रो' भनेर यदाकदा धम्की पनि दिन्छन् स्वजातीय बन्धुहरू । त्यो सम्भवत: नेपाली रगत बगेकाले होला । सहिन्छ, किनभने सहनशीलताको लागि सम्भवत: नेपाली जति अब्बल कुनै जाति संसारैभर खोजे पनि नपाइएला । मेरो लेखाइमा ठूला कुरा परेजस्तो पनि लाग्दैन । ठूल्ठूला कुरा गर्ने माखो नमार्ने प्रवृत्ति झाँगिएको बेला ठूला कुरा गर्ने क्षमता भइदिएको भए आफू जन्मेको थलो छोडेर विभिन्डिएर हिँड्नै पर्दैनथियो नि । यसो भन्दा तमाम बेथिति खपेर पनि भिडेर बसेका कर्मयोगी साथीहरुलाई खोप्दो हो ।  

ती कर्मयोगी स्वजातीय बन्धुलाई सम्मान र आदर छ । तर, हामीले के बुझ्नु जरुरी भइसकेको छ भने सामाजिक सञ्जाल र सूचना प्रविधिले विश्वको राजनीति, समाजको चेतना स्तरलाई ट्विटरको १४० क्यारेक्टर वा फेसबुकको एक स्टेटसमा कैद गरिसकेको छ । आज वटुमा बसेर वासिंगटनका ट्रम्प माड्सापसँग प्रत्यक्ष संवाद गर्न सकिन्छ । मोदी दिल्लीबाटै दिंग्ला पुग्न सक्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समयको पदचाप सुनौं त - अबको पचास वर्षमा राष्ट्रियताको मानक नै पृथक हुनेछ । क्यानाडामा बसेर नेपालको माया त्यसैको एक संकेतमात्रै हो । ठूला कुरा गरेर हाम्रो समाज बिग्रियो । यो मान्न सकिन्छ । असल कुरा गरेर,  सुनेर,  बुझेर समाजमा द्रूत परिवर्तन ल्याउन सकिन्छ । अर्ती भनेको घर्तीको नि मान्नु पर्छ किन भनियो होला ? उखानको प्रयोग गरिएको मात्रै हो ।  कुनै जाति विशेषप्रतिको व्यंग्य वा अवहेलना गरेको बात नलागोस् । अघिल्लो लेखमा कुपन्डोलको सानो कुरो परेको थियो । त्यो कुरोले मेरो सहोदर भाइलाई खुब  छोएछ । फोनवार्तामा एकबाजी फेरि जन्मथलो सम्झेर अघाउने प्रयास गरियो । 

हामी किशोरवयमा पुगेका बेलासम्म एक नाइके बूढा थिए हाम्रो कुपन्डोलमा । कथित जातीय घेरामा उनी दमाई कहिन्थे । उनको काम पर्व विशेष आएपछि आफूसँग भएको सनाई बोकेर दैलोदैलो पुग्ने, सनाई बजाउने र जो सीदा- दक्षिणा प्राप्त हुन्छ अन्नले त्यो दिन पेट भर्ने र नगदीले रौसे आँत भिजाउने ।  ती पर्व विशेष नहुँदा सामान्य लाग्थे । जब पर्वको रौनक चढ्थ्यो टोलमा, ती मध्यान्नमै दन्त्यकथाको राजकुमारजस्ता हुन्थे । मदहोस ती बटुवा कसैलाई मान्छे गन्दैनथे । परिस्थिति कस्तो थियो  भने नाइके बूढा जब जब ढुन्मुनिदै हनुमान स्थानदेखि भजनमण्डली चोकसम्मको बाटो कब्जा गर्थे, हामी पश्चिम कुपण्डोलेलाई थाहा हुन्थ्यो, टोलमा कुनै पर्व आएछ । उनी श्लील, अश्लीलका परिधि भन्दा निकै पर पुगिसकेका हुन्थे ।

Global Ime bank

हामी उनको छेउमा पर्दा डराउँथ्यौ । कृशकाय ती गर्न केही सक्दैनथे तर तिनको हाम्रो बा पुस्तासम्म पहुँच थियो, पेटमा पिरोपानी नपरेका बेला नाइके बूढाले हाम्रा बाहरूलाई हाम्रा उमेरजन्य छुल्याई सुनाइदेलान् र बित्यास पर्ला भन्ने आतंक छाइरहन्थ्यो ।  एकपल्ट तिनले हनुमान स्थानपछाडि जात्रा देखाए । अहिले नवराज पौडेल स्मृति बाटिका भएको ठाउँ मुनि पुरानो पुल जाने मुखैमा जुत्ता सिलाउने  छाप्रे पसल थियो । सबैले त्यस पसललाई ' सार्कीको पसल'  भन्थे । त्यो पसल वरिपरि ठूलो भिड जम्मा थियो । भिडको माझमा नाइके बूढा थिए ।

ती 'सातौँ आसमान'मा थिए र कुर्लीकुर्ली चुनौतीको भाषामा जुत्ता पसले दाइलाई सरापिरहेका थिए ।  अरू सबै त स्मृतिमा छैन, एउटा वाक्य अक्षरश: सम्झनामा छ । ती भन्दै थिए - साले सार्की ( लोकाचारले अरू प्रतीकात्मक शव्दको यहाँ प्रयोग गरिएन ।), मेरो जुत्ता सिउने, मैसँग पैसा माग्ने? त्यतिभन्थे , बुरुक्क उफ़्रिन्थे, पुर्लुक्क ढल्थे । फेरि उठ्थे, त्यसै गर्थे । रमितेले सम्हालिनसक्नुको त्यो परिवेशमा कुनै तर्क काम लाग्दैनथ्यो ।  उनको तर्क बेतुकको त होला नै हाम्रो समाजमा विभेद कुन हदसम्म पुगेको रहेछ भन्ने अहिले मलाई त्यो प्रसंग सम्झिँदा याद आयो । तर, उठाउन खोजेको प्रसंग अलि फरक छ । नाइके बूढा हाम्रो तत्कालीन समाजका अपरिहार्य बोझ थिए । तिनी नभई पनि नहुने, भए पनि रमाइला यस्ता उट्पट्याङ्ग गरिरहन्थे । नाइके बूढा  हाम्रो टोलको अनुशाशन कायम राख्ने एक किसिमको प्रहरी थिए स्थानीय सरकारजस्ता  । 
जबजब नेपालमा चुनाव पर्व सुरु हुन्छ नाइके बूढाजस्ता हजारौं 'सरकार' देख्न पाइन्छ । अहिले प्रदेश र केन्द्रको निर्वाचनअघि जसरी गठबन्धनको रमिता चल्दैछ, राता, हरिया, सेता, नीला दलहरू जसरी एकापसका मित्रताका सनाई बजाइरहेछन्, मलाई लाग्छ, सातौँ आसमानमा  पुग्ने प्रपञ्चभन्दा बेसी केही होइन । जब सिदा-दक्षिणा हात लाग्छ, पेटमा पिरो पानी परिहाल्छ । अहिले आफूलाई सजातीय, सहधर्मी, एकै कुलका भनिने, ठुलाले दलेका भन्नेहरू एकापसमा जुधिहाल्छन् । विसं २०४६ सम्म पञ्चेले पेले भने, मिले । सत्ता नामक पिरो पानी पेटमा परेपछि आफैंआफैं जुधे ।

२०६२-६३ मा राजाले पेले भने मिले । फेर पेटमा पिरो पानी पर्रेपछि आआफैं जुधे । यो जुध्ने, अर्कालाई गलत भन्ने उपक्रम हाम्रो टोलको नाइके बूढा प्रवृत्तिबाहेक केही होइन । स्थिति त कहाँसम्म पुग्यो भने हिजो परस्परमा भेट हुँदा टाउको गिँड्ने कसम खाएकाजस्ता देखिनेहरू नारिएर हिँडे । सत्ताको पिरो पानी पेटमा पार्ने प्रपञ्चबाहेक त्यो अरू केही थिएन, पर्दाफास नै भइसक्यो  । पश्चिम कुपण्डोलका रमितेझैं सारा देश यो जात्राको रमिते भइरहेको छ । सोझो एकपल्ट रमिते हुन सक्छ,  पटक पटक रमिते हुन विवेकीलाई सुहाउँदैन ।

नाइके बूढा हाम्रै समाजले बनायो, हाम्रै समाजले नाइके बूढालाई ठेगान लगाउन सक्थ्यो, लगाएन । नाइके बूढाको पछिल्तिर उनको कुरो काट्ने तर पर्व विशेष आउनासाथ सिदा दक्षिणा दिइहाल्ने गर्नुको बाध्यता आफूले गरेका अनैतिक कार्य वा पाप कर्मबाट मुक्ति पाउने मक्सद हुनसक्छ तत्कालीन समाजको । अहिले चुनाव पर्वअघि फेरि समाजले आफूले कुकर्म नगरेको हो भने,  कुनै अपराध गरेको छैन भने नाइके बूढा प्रवृत्तिको तेजोबध गर्न सक्छ । के त्यसका लागि समाज तयार छ ?  नतिजा पर्खिन मङ्सिर अन्तिमसम्म पर्खिनै पर्ला ।
आजकाल उखान, विम्ब,  छुद्रताको बिगबिगी भएकोले मेरो लेखनीमा पनि त्यो प्रतिबिम्बित भयो होला । उद्देश्य निश्चयनै कसैलाई होच्याउने, हेप्ने, कटुवाक्य लेख्ने, बोल्ने होइन । तसर्थ,  नाइके बूढा प्रवृत्ति स्मृतिका पानामा थिचिएको भए पनि एक विम्बका रूपमा उपस्थित हुन पुग्यो । नाइके बूढाको सामाजिक अपरिहार्यतालाई सम्मान गर्दै पिरो पानी नपार्ने नाइके बूढा पाउन पनि सकिन्छ कि भनी यो लेख तयार पारिएको हो । उचनीच क्षमा पाऊँ !
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC