site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पुसको रात
Sarbottam CementSarbottam Cement

– प्रेमचन्द


हल्कुले आएर मुन्नीसँग भन्यो, “सहना आएको छ । हामीले राखेको पैसा उसलाई दिऊँ । जसरी पनि पिछा त छुट्छ ।”

मुन्नी कुच्चो लगाउँदै थिई । पछाडि फर्केर जवाफ दिई, “जम्मा तीन रुपैयाँ त छ, यो पनि दिएँ भने कम्बल कहाँबाट आउँछ ? यो झुप्रोमा पुस–माघको जाडो कसरी कट्छ ? उसलाई भन्देऊ– खेती भएपछि पैसा दिन्छु । अहिले छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

हल्कु एकछिन अनिश्चित ढङ्गले उभिइरह्यो । पुस शिरमै आइसक्यो । कम्बलबिना कठ्याङ्ग्रिँदो जाडोको रातमा ऊ कुनै पनि हालतमा सुत्न सक्दैन । तर, सहनाले मान्दैन । उसले घुर्की देखाउँछ, गाली गर्छ । बरु जाडोले मरे पनि बोझ त टाउकोबाट हट्छ भन्ने सोेचेर उसले आफ्नो भारी ज्यान (जसले उसको नामलाई झुटो प्रमाणित गथ्र्यो) लिएर श्रीमतीको नजिक आयो र विनम्र स्वरमा भन्यो, “ल भयो देऊ, कमसेकम पिछा त छुटोस् । कम्बलका लागि अरू कुनै उपाय सोचौंला ।”

मुन्नी टाढा गई र आँखा तरेर भनी, “गर्‍यौ अर्को उपाय ! म पनि सुनौं त के उपाय रहेछ ? कसले सित्तैमा दिन्छ र कम्बल ? ऋण कति बाँकी छ, त्यो पनि चुक्ता गर्न सकेको छैन । तिमी किन खेती छोड्दैनौ ? मरेर काम गर्‍यो, उब्जनी कहिल्यै हँुदैन । उब्जनी भयो भने बाँकी दिने हो । ऋण चुकाउनकै लागि र पेटका लागि मजदुरी गर्नकै लागि त हाम्रो जन्म भएको हो । यस्तो खेतीदेखि मनै मरिसक्यो मेरो । म पैसा दिँदै दिन्नँ ।”

Global Ime bank

हल्कुले उदास भएर भन्यो, “त्यसो भए म गाली खाऊँ त ?”

मुन्नीले चिच्याई, “गाली किन गर्नु ? उसको राज छ र ?”

तर, यति भन्नासाथ उसको तन्किएको आँखीभौं तल झर्‍यो । हल्कुको वाक्यमा कठोर सत्य लुकेको थियो, जसले डरलाग्दो पशुझैं उसलाई घुरिरहेको थियो ।

ऊ गोडा बजार्दै भित्र गई र पैसा निकालेर हल्कुको हातमा राखिदिई । भनी, “अबदेखि तिमी यो खेती छोड्देऊ । जाबो एउटा सुख्खा रोटी पनि खान नसक्ने खेतीको के काम ? कसैको हैकम त रहँदैन । खेती त अचम्मको– मजदुरी गरेर ल्याऊ, फेरि उसलाई नै देऊ, उसकै वचन पनि सुन ।”

हल्कु पैसा लिएर बाहिर गयो, मानौं ऊ आफ्नो मुटु झिकेर दिनेवाला छ । उसले मजदुरी गरेर आएको एक–एक पैसा गरेर कम्बलका लागि तीन रुपैयाँ जम्मा गरेको थियो । आज ऊ निस्किँदै थियो । हरेक पाइलाको साथमा उसको दिमाग बोझले भरिँदै थियो ।

० ० ०

पुसको अन्धकार रात । आकाशमा तारा कक्रक्क परिरहेका थिए । हल्कु आफ्नो खेतको किनारामा उँखुको पातको छहारीमुनि बाँसको झुलौनामा पुरानो यादको ओढ्ने ओढेर काँपिरहेको थियो । खाटको तल उसको साथी जबरा (कुकुर) उसको पेटमा मुख गाडेर जाडोले कुँकुँ गर्दै बसिरहेको थियो । दुवैलाई निद्रा लागिरहेको थिएन ।

हल्कुले हात निकालेर जबराको शरीरमा मुसार्दै भन्यो, “भोलिदेखि मसँग नआइज, नत्र जाडो हुन्छ । उठेर फेरि चिलिम भर्नु पर्‍यो । जसरी पनि रात त कटाउनै पर्‍यो । आठवटा चिलिम त पिइसकें । कति भाग्यमानीहरू त यसरी बसेका छन् कि उनीहरूको अगाडि जाडो त जान्छ तर गर्मीले डराएर भाग्छ । मोटा मोटा गद्दा, ओढ्ने । खुब रमाइलो छ । मजदुरी हामी गर्ने, रमाइलो अरू गर्छन् ।”

हल्कु उठ्यो र चिलिममा आगो भर्‍यो । जबरा पनि उठ्यो । हल्कुले चिलिम पिउँदै भन्यो, “तँ पनि चिलिम पिउँछस् ? जाडो त के जान्थ्यो र, मन त भुलिन्छ ।”

जबराले उसको प्रेमले भरिएको मुख हेर्‍यो । जबराले मानौं भन्दै थियो, “हल्कु ! आज खुब जाँड खाऊ, भोलिदेखि म यहाँ पराल बिछ्याइदिन्छु । त्यसैमा बस्नू अनि जाडो लाग्दैन ।”

अचानक जबराले कुनै जनावरको आवाज चाल पायो । हल्कुको विशेष आत्मीयताले उसमा एउटा नयाँ स्फूर्ति जागेको थियो, जसले हावाको सिरेटोलाई पनि सजिलै पन्छाइदिन्थ्यो । जबरा तुरुन्तै उठ्यो र छहारीबाट बाहिर आएर भुक्न थाल्यो । हल्कुले धेरैपटक उसलाई बोलायो, तर जबरा उसको सामु आएन । सबैतिर दौडिँदै भुक्न थाल्यो । जबरा एकछिनका लागि आउँथ्यो तर गइहाल्थ्यो । उसको मनमा शायद कर्तव्यभाव थियो ।

अर्को एक घण्टा बित्यो । रातमा शीतजस्तै चिसो हावा चल्न थाल्यो । हल्कु उठेर टुसुक्क बस्यो, दुइटै घुँडा छोपेर टाउकोलाई लुकायो । तैपनि उसको जाडो कम भएन । उसको शरीरमा रगत जमेझैं हुन थाल्यो । उसलाई रगतको साटो हिउँ बगेजस्तो हुन थाल्यो । उसले आकाशतिर हेर्‍यो । अझ कति रात बाँकी छ । सप्तऋषि आकाशमा आधा पनि छैन । कतिखेर उज्यालो होला ?

उसले नजिकै चनाको खेतमा गएर बोट उखेल्यो र त्यसबाट कुचो बनाएर सुकेको गुइँठा लिई बगैंचातिर गयो । जबराले हल्कु आएको देखेर पुच्छर हल्लाउन थाल्यो ।

एकछिनमै आगो बल्न सुरु भयो । आगोको ज्वाला दन्किन थाल्यो । दन्किएको आगोले पातहरू जलाउन थाल्यो । आगोको ज्वालाले सबैतिर प्रकाश छर्न थाल्यो । उज्यालो प्रकाशले बगैंचाको विशाल वृक्ष यस्तो नरम हुन्थ्यो कि मानौं त्यो अन्धकारलाई उसले आफ्नो शिरमा सम्हालेको होस् । अन्धकारको अनन्त सागरमा त्यो प्रकाश डुङ्गाजस्तै हल्लिन्थ्यो ।

हल्कु आगोनजिकै बसेर ताप्न थाल्यो । एकछिनमै ओढनी निकालेर ओछ्यायो र दुबै खुट्टा फैलाएर राख्यो । मानाैं, उसले चिसोलाई चुनौती दिँदै भनिरहेको थियो, “तँलाई जे मन लाग्छ त्यही गर् ।” चिसोलाई जित्न पाउँदा ऊ खुसी देखिन्थ्यो । त्यो हर्षित क्षणलाई ऊ हृदयमा लुकाइरहन सक्दैनथ्यो ।

पातहरू जलिसकेका थिए । बगैंचामा फेरि अन्धकार छायो । खरानी तल अलिअलि आगो बाँकी थियो, जुन हावाको झोकासँगै दन्किन्थ्यो अनि फेरि निभ्थ्यो । हल्कलेु फेरि ओढ्ने ओढ्यो र आफूलाई न्यानो बनाएर गीत गुनगुनाउन थाल्यो । उसको शरीर गर्मी हुन थालिसकेको थियो । जति–जति शीत बढ्थ्यो, त्यति–त्यति उसलाई आलश्य महसुस हुन्थ्यो ।

जबरा बेस्सरी भुकेर खेततिर भाग्यो । हल्कुलाई आफ्नो खेतमा एक हुल जनावर आएको महसुस भयो । शायद साँढेको हुल थियो । जनावर दौडेको आवाज स्पष्ट कानमा गुञ्जिन्थ्यो । जनावरहरू खेतमा चर्न आएका रहेछन् भन्ने हल्कुले बिस्तारै चाल पायो । जनावरको आवाज सुनेर उसले सोच्यो, “जबरा हुँदाहँुदै कोही यहाँ आउन सक्दैन ।”

उसले सोच्यो, शायद मलाई भ्रम भइरहेको छ । खै कता ? अहिले त फेरि केही सुनिँदैन त !

उसले ठूलो स्वरमा जबरालाई बोलाइरह्यो । जबरा भुकिरह्यो तर हल्कुको नजिक आएन ।

फेरि उसलाई खेतमा कोही आइरहेको महसुस भयो । यसपटक उसले आफूलाई रोक्यो र त्यहीँ बसिरह्यो । यस्तो जाडोमा खेतमा जानु, जनावरको पछि दौडिनु उसलाई बेकारजस्तो लाग्यो । उसले फेरि ठूलो आवाजमा बोलायो, “होली होली होली ।” जबरा फेरि भुक्यो । खेतमा जनावरहरू चरिरहेका थिए ।

“कति राम्रो खेत थियो, तर यी दुष्ट जनावरहरूले सबै सर्वनाश गरे,” हल्कु फेरि उठेर पाइला चाल्न थाल्यो । दुई तीन पाइला चाल्नासाथै फेरि चिसो हावा चल्न थाल्यो । हल्कु छिटो–छिटो आगोनजिकै आएर शरीर तताउन थाल्यो ।  आगोको रापनजिकै ऊ ओढ्ने ओढेर सुत्यो ।

जबरा कराउँदै थियो, साँढेको हुलले खेत सखाप पार्दै थियो । हल्कु तातो आगोको रापनजिकै आनन्दले बसिरहेको थियो । डोरीले चारैतिरबाट हल्कुलाई घेरेको थियो ।

बिहान उसको निद्रा खुल्दा चारैतिर घाम लागिसकेको थियो । मुन्नी भन्दै थिई, “तिमी सुतिमात्रै रहन्छौ ? सारा खेत नष्ट भइसक्यो । तिमी यहाँ कुर्न बसेको के अर्थ भयो र ??”

हल्कुले उठेर सोध्यो, “तिमी खेत गएर आएकी हौ ?”

“हो सारा खेत नष्ट भइसक्यो, यसरी पनि कोही सुत्छ ?” मुन्नीले रिसाउँदै भनी ।

हल्कुले बहाना बनायो, “म मरेर बाँचें । मेरो पेट कस्तो दुखेको छ, मलाई मात्रै थाहा छ । तिमीलाई चाहिँ खेतकै पीर छ ।”

दुबैजना खेतको आलीमा गए । सारा खेत कुल्चिएर असरल्ल भएको थियो । जबरा फुसको छानोमुनि लडिरहेको थियो । मानौं उसमा कुनै प्राण नै थिएन । दुबैले खेतको दशा चुपचाप हेरिरहे ।

मुन्नी उदास देखिन्थी, तर हल्कु खुसी देखिन्थ्यो । मुन्नीले चिन्ता गर्दै भनी, “अब मजदुरी गरेर ऋण चुक्ता गर्नुपर्छ ।”

हल्कुले खुसी हुँदै भन्यो, “अब रातको चिसोमा यहाँ सुत्न त पर्दैन !”

(साभारः प्रेमचन्दकी सर्वश्रेष्ठ कहानियाँ)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २८, २०७४  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC