काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरण अन्तर्गत पहिलो खेलमा हङकङले दिएको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले पाँचौ विकेट गुमाएको छ ।
हङकङस्थित मिसन रोड ग्राउण्डमा हङकङले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले २८ ओभर २ बलमा महत्वपूर्ण पाँच विकेट गुमाएको हो । नेपालले पाँचौ विकेटको रुपमा सोमपाल कामीलाई ११ रनमा गुमाएको हो । उनी क्याच आउट भए ।
सोमपालको स्थानमा विनोद भण्डारी क्रिजमा आएका छन् । यस्तै आरिफ शेख २२ रनमा खेलिरहेका छन् । नेपालले ५ विकेटको क्षतिमा ९५ रन बनाएको छ । नेपाललाई अझै जितका लागि एक सय रन् आवश्यक रहेको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा अलआउट हुँदै १९४ रन बनाएको थियो । नेपाली बलरले कसिलो बलिङ्ग गरेपछि हङकङले उच्च स्कोर बनाउन सकेन । घरेलु टोलीका लागि जेमी एटकिनसनले अर्धशतकीय पारी खेलेका थिए । जेमीले एटकिनसनले ११७ बलमा ९ चौका र १ छक्कासहित ७६ रन बनाए ।
यस्तै पछिल्लो क्रममा ब्याटिङ्ग गर्न आएका तानवीर अफजलले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए । इशान नवाज १६ रनमा अविजित रहे । यस्तै कप्तान बाबर हायतले २९, वाकस खानले १४ तथा निजाकट खानले १३ रन बनाए । हङकङका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले समान २ – २ विकेट लिए । सुशन भारीको नाममा एक विकेट रह्यो ।
सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको छ । छनोटमा स्थान बनाउन च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ । आजको खेलमा नेपाल ‘गर या मर’को स्थितिमा रहेको छ । छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नैपर्ने चुनौती रहेको छ ।
यता, नेपालसंगको खेल हङकङको लागि पनि यो त्यतिकै महत्वपूर्ण खेल हो । हङकङ पनि अन्तिम चारमा स्थान बनाउन संघर्षरत छ । नेपालले दोस्रो खेल हङकङसँग आइतबार खेल्नेछ । च्याम्पियनसिपको अन्तिम सातौं चरणमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ ।
अंक तालिकामा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई हुँदै चौथो स्थानमा छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुँदै ८ अंक रहेको छ । हङकङको भने १० खेलबाट ११ अंक रहेको छ ।