ad

खेल

नेपालको दोस्रो विकेट पतन, ज्ञानेन्द्र २१ रनमा आउट

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरण अन्तर्गत पहिलो खेलमा हङकङले दिएको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले दोस्रो विकेट गुमाएको छ  । 
हङकङस्थित मिसन रोड ग्राउण्डमा हङकङले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले १२ ओभर ४ बलमा दोस्रो विकेट गुमाएको हो । नेपालले दोस्रो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई २१ रनमा गुमाएको हो । उनलाई एजाज खानले आउट गरेका हुन् ।
दोस्रो विकेट गुमाएसँगै नेपालले १३ ओभरमा २ विकेटको क्षतिमा ४७ रन बनाएको छ । नेपालका कप्तान पारस १९ रन बनाएर क्रिजमा छन् भने उनलाई साथ दिन दिपेन्द्र सिंह एरी आएका छन् । 
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा अलआउट हुँदै १९४ रन बनाएको थियो । नेपाली बलरले कसिलो बलिङ्ग गरेपछि हङकङले उच्च स्कोर बनाउन सकेन ।  घरेलु टोलीका लागि जेमी एटकिनसनले अर्धशतकीय पारी खेलेका थिए । जेमीले एटकिनसनले ११७ बलमा ९ चौका र १ छक्कासहित ७६ रन बनाए । 
यस्तै पछिल्लो क्रममा ब्याटिङ्ग गर्न आएका तानवीर अफजलले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए  । इशान नवाज १६  रनमा अविजित रहे । यस्तै कप्तान बाबर हायतले २९, वाकस खानले १४ तथा निजाकट खानले १३ रन बनाए । हङकङका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र  करण केसीले समान २ – २ विकेट लिए  ।  सुशन भारीको नाममा एक विकेट रह्यो  ।  
सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको छ  । छनोटमा स्थान बनाउन च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ । आजको खेलमा नेपाल ‘गर या मर’को स्थितिमा रहेको छ ।  छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नैपर्ने चुनौती रहेको छ । 
यता, नेपालसंगको खेल हङकङको लागि पनि यो त्यतिकै महत्वपूर्ण खेल हो । हङकङ पनि अन्तिम चारमा स्थान बनाउन संघर्षरत छ । नेपालले दोस्रो खेल हङकङसँग आइतबार खेल्नेछ । च्याम्पियनसिपको अन्तिम सातौं  चरणमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ ।

 

तपाईंको मत