काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले आगामी मंसिरमा हुने भनिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न आन्तरिक छलफललाई तीव्रता दिएको छ । विहिबार बसेको कांग्रेस संसदीय समितिको दोस्रो बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तय गर्ने विषयमा घनीभूत छलफल भएको छ ।
बैठकमा समानुपातिक तर्फ जिल्लाहरुबाट सिफारिशमा परेका आकांक्षीहरुका बारेमा छलफल भएको संसदीय समिति सदस्य बालकृष्ण खाँडले जानकारी दिए । ‘‘जिल्लाहरुबाट प्राप्त उम्मेदवारका आकांक्षी मध्येबाट समानुपातिक तर्फका उम्मेदवार तय गर्न प्रारम्भीक छलफल भएको छ ।’’ उनले बाह्रखरीलाई बताए ।
बुधबार संसदीय समिति गठन भएकै दिनदेखि कांग्रेसले उम्मेदवार चयनका विषयमा छलफल सुरु गरेको थियो । काँग्रेसले असोज २८ गते भित्र समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचि टुंगो लगाउने तयारी गरेको नेता खाँडले बताए । निर्वाचन आयोगले दलहरुलाई असोज २९ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचि बुझाउन भनेको छ ।
बैठकमा सहभागि कांग्रेस संसदीय समितिका अर्का सदस्य अर्जुननरसिँह केसीले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न आन्तरिक छलफललाई तीव्रता दिइएको बताए । उनका अनुसार समितिले बैठकमा उम्मेदवार बनाउने विषयमा पार्टीका प्रत्यक्षतर्फका सांसदहरुको धारणा बुझ्ने कामलाई पनि जारी राखेको छ ।
काँग्रेसले संविधान सभा निर्वाचन र स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएर लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुसँग निर्वाचन क्षेत्र बाँडफाँड गर्ने तयारी पनि गरेको छ । संविधान सभा र स्थानीय तह निर्वाचनमा प्राप्त मत परिणामको आधारमा गठबन्धनमा आवद्ध दलहरुसँग निर्वाचन क्षेत्र बाँडफाँड गरेर उम्मेदवार तय गर्ने मापदण्ड तय गरिएको पनि नेता केसीले जानकारी दिए ।
आगामी मंसीर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि काँग्रेसले चुनावी तालमेल गर्न छ दलीय लोकतान्त्रिक गठबन्धन निर्माण गरिरहेको छ ।