राजनीतिक नेताहरूले अपराधीलाई संरक्षण गरेका घटना धेरै नै सुनिएका भए पनि अपराधीलाई नै राजनीतिमा अगाडि बढाउने धिङ्न्याइँ सुरु भएको भने धेरै भएको छैन । अपराधी प्रकृतिका व्यक्तिहरू राजनीतिमा हुन्थे तर उनीहरू मूलतः राजनीतिक व्यक्तिकै रूपमा परिचित हुन्थे । राजनीतिक नेताहरू भ्रष्टाचारमा मुछिन थालेका थिए । तर, गुन्डागर्दी, अपहरण, लुटपाट, हत्याजस्ता फौजदारी अपराधमा संलग्न व्यक्तिलाई पार्टीहरूले नेता बनाउँदैन थिए । पछिल्ला दिनमा भने राजनीतिमा राजनीति नै अपराधीका भरमा टिकेको भान पर्ने गरी अपराधीलाई अगाडि बढाउन थालिएको छ । मनाङ र प्युठानबाट नेपालका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताले उमेदवारीका लागि गरेको सिफारिस हेर्दा अब नेपालमा राजनीतिको परिभाषा नै बदलिने लक्षण देखिएको छ ।
सिद्धान्तको राजनीति अब जनतालाई ढाँट्ने आवरणमा सीमित भएको छ । आचरणका आधारमा हेर्दा अधिकांश राजनीतिक नेता र तस्करको जीवनशैलीमा खासै फरक नदेखिएला । तैपनि, राजनीतिकर्मीहरू अपराधीभन्दा भिन्न नहुने गरी पतन हुन्छन् भन्ने व्यवहारवादीले समेत बिरलै पत्याउलान् । तर, कसैले पत्याए पनि नपत्याए पनि उदाहरणका रूपमा प्रकट भएको यथार्थलाई अस्वीकार गर्न मिल्दैन । नेताहरू सिद्धान्त वा आदर्शका नाममा जेल गएका छन् । उनीहरूको जेल बसाइ जनताका दृष्टिमा तपस्या हुन्थ्यो । यसैले जेलबाट छुटेका नेताहरूले जनताबाट स्नेह र सम्मान पाउँथे । गुन्डाहरू गम्भीर अपराध गरेर प्रहरीको फन्दामा पर्छन् । कसुर ठहर भएपछि कैद सजाय पनि भोग्छन् । जेलबाट छुटेपछि अपराधी चरित्र नभएको व्यक्ति समाजमा बिस्तारै घुलमिल हुन्छ । तर, गुन्डा भने पुनः अपराध जगतमै फर्कन्छ । यस्ता व्यक्ति सुध्रिने सम्भावना कम तर समाजलाई तिनले बिगार्ने जोखिम बढी हुन्छ । एमाले र कांग्रेसले त्यस्तै चरित्रलाई प्राथमिकता दिएको देखिनु दुर्भाग्य हो ।
नेताहरूको नियतै खराब छैन भने सच्याउने मौका अझै बाँकी छ । जिल्लाबाट गरिएको सिफारिसले पार्टीलाई कलंक त लागिसक्यो तैपनि उनीहरूलाई उमेदवार बनाइएन भने दाग बिस्तारै मेटिन सक्छ । नेताहरूमा जागेको महत्त्वाकांक्षा र व्यक्तित्वको अहंकारले जे पनि गर्न र गराउन तम्सने प्रवृत्ति बढेको छ । पञ्चायत कालमा राजाले चाहे भने जे पनि गर्न सक्छन् भनिन्थ्यो । अहिलेका नेताले पनि आफूलाई राजा नै ठानेको देखिएको छ । बिस्तारै बढ्दै गएको जनचेतनाको उपेक्षा गरेर अधिनायकवादी चरित्र देखाउन थालेमा त्यसको परिणाम पक्कै राम्रो हुनेछैन । अहिले अगाडि सारिएका अपराध प्रवृत्तिका व्यक्तिहरूले उल्टै तिनै नेतालाई सिध्याउने षड्यन्त्र गर्दैनन् भनेर ढुक्क हुन सकिँदैन । हिन्दी सिनेमाकै सिको गरेर गुण्डालाई राजनीतिमा भित्र्याउने नेता र पार्टी अन्ततः अपराधीकै कब्जामा पर्न सक्छ । यसैले राजनीतिलाई अपराधीको जिम्मा लगाएको कलंक बोक्न तयार नहुने हो भने कांग्रेस र एमालेका नेताहरूले बेलैमा विचार गरून् । माओवादीलाई धेरै भनिरहनुको औचित्य छैन । त्यस दलमा गम्भीर प्रकृतिको मुद्दा नलागेका नेता बिरलै होलान् । यसैले माओवादी बाध्यतामा होला । तर, एमाले र कांग्रेसका नेताको भने रोजाइ हो । हेक्का राख ! जनताले तिमीहरूलाई निगरानी गरिरहेका छन् ।