site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चलायमान मतदाता रहेकाे काठमाडौंको आगामी चुनावी परिणाम कस्तो आउला ? यस्तो छ १० वटै क्षेत्रको स्थिति
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूबीच ध्रुविकरण पनि बढेको छ ।

विशेषगरी एमाले, माओवादी र नयाँ शक्तिबीच गठबन्धनको घोषणा भएपछि चुनावी परिणाम पनि रोचक बन्ने देखिएको छ । सँगै कांग्रेस पनि लोकतान्त्रिक गठबन्धन बनाउन लागि परेको छ भने साना दलहरु मुख्य दलसँग विलय तथा ठूला दलको चुनाव चिन्ह लिएर मैदानमा उत्रिने भएका छन् ।

पछिल्लो राजनीतिक विकासक्रमले देशभर चुनावी तरंग ल्याएको छ । सँगै देशको राजधानीसमेत रहेको काठमाडौं चुनावी परिणाम कस्तो आउला भन्ने सबैको चासो रहेको छ । काठमाडौं चुनाव सँधै फरक र रोचक हुने गर्छ । यद्यपी चुनावी आँकलन र विश्लेषण गर्दा यसअघिका परिणामलाई मुख्य आधार बनाउनुपर्ने हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हामीले पनि हालै सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मतलाई मुख्य तथा २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचन तथा २०६४ को नतिजा र  भोटिङ ट्रेन्डलाई आधार मान्दै आगामी निर्वाचनको नतिजा के होला त ?

काठमाडौं जिल्लाको कुरा गर्दा एक महानगरसहित १० स्थानीय तह कायम छन् भने प्रतिनिधिसभाका लागि १० र प्रदेशसभाका लागि २० निर्वाचन क्षेत्र कायम छन् । काठमाडौंमा मतदाताले एउटै पार्टी र व्यक्तिलाई विश्वास गरेको पाइँदैन ।

Global Ime bank

यहाँका मतदाता भोटिङ टे«न्ड माहोलका आधारमा परिवर्तन हुने गर्छ । २०६४ को निर्वाचनमा ६ क्षेत्रमा कांग्रेस विजयी भएको थियो भने ४ स्थानमा तत्कालिन नेकपा माओवादीले जित हासिल गरेको थियो । ०६४ मा एमालेले कुनै पनि क्षेत्र जित्न सकेन ।

०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले ७ निर्वाचन क्षेत्र जितेको थियो भने एमालेले ३ क्षेत्र जितेको थियो । जसमा माओवादीले एउटा क्षेत्रमा पनि जित हासिल गर्न सकेन । समानुपातीक भोटमा प्रत्येक्षमा कुनै सिट जित्न नसकेको राप्रपा दोस्रो भएको थियो ।

तर हालै करिब २० वर्षपछि भएको स्थानीय तह निर्वाचनमा काठमाडौंका ११ मध्ये ५० प्रतिशत जनसंख्या र मतदाता रहेको काठमाडौं महानगरपालिकासहित ७ तह एमालेले जित्दा कांग्रेस ४ नगरपालिकामा खुम्चियो । अन्य पार्टीले एक तह पनि जित्न सकेनन् ।

यसरी पछिल्लो १० वर्षमा भएका निर्वाचनलाई आधार मान्ने हो भने पनि काठमाडौंका मतदाता स्थिर देखिँदैनन् ।

स्थानीय निर्वाचनमा ५ लाख ५९ हजार ४०५ काठमाडौंमा प्रदेशसभा र प्रतिनिधिसभाका  ६ लाख ३ हजार ६२० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

अर्थात स्थानीय चुनावमा भन्दा अहिले ४४ हजार २१५ मतदाता थप भएका छन् । थपिएको मतको भोट पनि सबै पार्टीलाई बाँडिने भएकाले यो विश्लेषणको मुख्य आधार स्थानीय तहको निर्वाचन र संविधानसभाका दुई निर्वाचन नै हुन् । 

यसमा पनि वडा अध्यक्षले प्राप्त गरेको मतलाई सो पार्टीले प्राप्त गरेको मतका रुपमा हामीले विश्लेषण गरेका छौं । यो विश्लेषणमा क्षेत्र नं १ बाहेक ९ क्षेत्रमा बाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा अगाडि देखिएको छ ।

\"\"

 

काठमाडौं क्षेत्र नं १ कांग्रेस बलियो

काठमाडौं क्षेत्र नं १ मा काठमाडौं महानगरपालिकाका वडा नं १०, ११, २९ र ३१ पर्दछन् । यी वडा भनेको साविकको १०, ११, ३२ र ३४ नम्बर वडा हुन् । क्षेत्र नं १ मा २०६४ र ०७० को चुनावमा यो क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारी मत अन्तरले विजयी भएका थिए । उनलाई अहिले गठबन्धन बनाएका एमाले–माओवादी मिल्दा समेत त्यो अन्तर पुरा गर्न सक्दैनन् ।

तर, १० वर्ष र ४ वर्ष अघिको निर्वाचन नतिजाभन्दा हालै सम्पन्न स्थानीय तहको नतिजालाई दुई महिनापछि हुने निर्वाचनको विश्लेषणको नजिकको आधार बनाउन सकिन्छ ।

वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनमा यो क्षेत्र अन्तर्गत पर्ने ४ वडा मध्ये १०, ११ र २९ कांग्रेस र यो निर्वाचन क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र १(ख) अर्थात वडा नं ३२ मा एमालेले जितेको छ । स्थानीय चुनावमा सो वडामा मात्रै १६ हजार ८३३ मतदाता थिए ।

यी वडाका अध्यक्षले प्राप्त गरेका मतअनुसार कांग्रेसले सबैभन्दा बढी ८ हजार ८४२, एमालेले ८ हजार ७१७, माओवादीले २ हजार २७४ र राप्रपाले १ हजार ५४० मत प्राप्त गरेका छन् । वडा अध्यक्षको नतिजामा एमाले–माओवादीको मत बढी देखिन्छ । तर, कांग्रेसले राप्रपासँग तालमेल गरेमा ती दलका उमेदवारलाई सहजै पराजित गर्न सक्छ । 

यो क्षेत्रमा कांग्रेस उमेदवार सिंह प्रभावशाली भएका कारण पनि वाम गठबन्धनलाई यो क्षेत्र आफ्नो पक्षमा पार्न गाह्रो छ ।     

 

क्षेत्र नं २ मा एमाले बलियो, राप्रपासँग मिल्दा कांग्रेस टक्करमा

क्षेत्र नम्बर २ काठमाडौं महानगरको वडा नं ९ र ३२, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ४, ५, ६, ७, ८,९ तथा शंखरापुरा नगरपालिका समेटिएर बनेको छ । 

यो क्षेत्रबाट २०६४ को चुनावमा माओवादी उमेदवार झक्कुप्रसाद सुवेदी तत्कालिन एमालेका महासचिव माधवकुमार नेपाललाई पराजित गरेर चर्चा कमाएका थिए ।

०७० को चुनावमा माधव नेपाल नै विजयी भए । तर, रौतहटबाट पनि चुनाव लडेका उनले सो क्षेत्र छोडेपछि भएको उपनिर्वाचनमा कांग्रेस उमेदवार दिपक कुईँकेल विजयी भएका थिए ।

हालै सम्पन्न स्थानीय चुनावमा यो क्षेत्र अन्तर्गतका महानगरका ९, ३२, कागेश्वरी नगरपालिका ५, ६, ८, ९ र शंखरापुर नगरपालिकाका ९ मध्ये १, २, ५, ८ र ९ मा एमाले, ६ र ७ मा राप्रपा, ३ मा माओवादी र ४ मा मात्रै कांग्रेस विजयी भएको छ । 

क्षेत्र नं २ अन्तर्गत पर्नेे वडा तहको नतिजाका आधारमा एमाले १९ हजार १९६ मतका साथ पहिलो, कांग्रेस १५ हजार ६२७, माओवादीले ५ हजार ७३४ र राप्रपाले ४ हजार ८५१ मत प्राप्त गरेको छ । यो तथ्यांकले एमाले–माओवादी गठबन्धनको जित सहज देखिन्छ । यद्यपी राम्रो उमेदवार उठाएर राप्रपासँग तालमेल गर्दा कांग्रेस पनि कमजोर देखिँदैन ।

यसको प्रमाणका रुपमा ०७० को चुनावमा २१ हजार ७४८ मत ल्याएर माधव नेपाल विजयी हुँदा कांग्रेसका प्रतिमा गौतमले १२ हजार ४७५ मत मात्रै प्राप्त गरेका थिए ।

तर, उपनिर्वाचनमा कांग्रेसका दिपक कुईँकेलले एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजित गरेका थिए ।

क्षेत्र नं ३ः एमाले–माओवादी गठबन्धनलाई कांग्रेस–राप्रपाको मेल चुनौती 

काठमाडौं क्षेत्र नं ३ अन्तर्गत महानगरको वडा नं ६, गोकर्णेश्वर नगरपालिका तथा कागेश्वरी–मनहरा नगरपालिकाका वडा नं १, २ र ३ पर्दछन् । क्षेत्र नं ३ बाट ०७० को चुनावमा एमाले उमेदवार रामेश्वर फुयाँल १३ हजार १०४ मत ल्याउँदै विजयी हुँदा कांग्रेसका चक्रबहादुर ठकुरी १२ हजार २४६ मत ल्याउँदा पराजित भएका थिए ।

यता २०६४ को चुनावमा उनै चक्रबहादुर ठकुरीले १२ हजार ९६६ मत ल्याएर ९ हजार ५४९ ल्याएका रामेश्वर फुँयाललाई पराजित गरेका थिए । माओवादी यो क्षेत्रमा दुबै निर्वाचनमा तेस्रो स्थानमा रहेको थियो ।

स्थानीय निर्वाचनको कुरा गर्दा महानगरको वडा नं ६, गोकर्णेश्वर नगरपालिका र त्यसका वडा १, ३, ५, ६, ८ र ९ तथा कागेश्वरी मनहराको वडा नं २ कांग्रेसले जित हासिल गरेको छ । गोकर्णेश्वरको ४ र ६ मा एमाले तथा २ मा राप्रापा विजयीले वडा जितेको थियो भने कागेश्वरीको १ र ३ मा एमाले विजयी भएको थियो ।

यो क्षेत्र अन्तर्गतका वडाको तथ्यांकलाई केलाउँदा १४ हजार ३८४ मतसहित कांग्रेस पहिलो १२ हजार ७०७ मतसहित एमाले, ४ हजार ४५१ माओवादीको मत तथा १ हजार ४४१ राप्रपाको मत रहेको छ ।

एकल मतका आधारमा यो क्षेत्रमा कांग्रेस बलियो देखिएको छ । तर, एमाले र माओवादीको गठबन्धन बन्दा कांग्रेसले राप्रपासँग तालमेल गरेमा कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । 

क्षेत्र नं ४ः गगन थापा उठ्दा वाम गठबन्धनलाई गाह्रो

काठमाडौं क्षेत्र नं ४ अन्तर्गत महानगरका वडा नं १, ७, ८ र ३० र बुढानिलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्दछन् । 

यो क्षेत्रमा ०७० को चुनावमा कांग्रेसका युवा नेता गगनकुमार थापा भारी मतअन्तरले विजयी भएका थिए । थापाले २२ हजार ३३६ मत ल्याउँदा एमालेका निर्मल कुइकेल ९ हजार १३५ र माओवादीका नन्दबहादुर पुन ( वर्तमान उपराष्ट्रपति) ले  ६ हजार ४६२ मत ल्याएका थिए ।

२०६४ को चुनावमा पनि कांग्रेसकी सुप्रभा घिमिरेले १३ हजार ४५१ मत ल्याउँदै ९ हजार ८४२ मत ल्याएकी एमाले उमेदवार (वर्तमान राष्ट्रपति) विद्यादेवी भण्डारीलाई पराजित गरेकी थिइन् । यी दुई चुनावको नतिजा हेर्दा उक्त क्षेत्रमा कांग्रेस बलियो देखिन्छ ।

तर, स्थानीय तह निर्वाचनको नजिता हेर्दा यो क्षेत्रअन्तर्गत पर्ने वडाको नतिजाअनुसार कांग्रेसले महानगरको वडा नं ८ र ३० बाहेक जित्न सकेन । वडा अध्यक्षको मतका आधारमा यो क्षेत्रमा एमालेले १७ हजार २३९ मत ल्याउँदा कांग्रेसको १३ हजार ३१९ मत मात्रै छ । यता एमालेसँग गठबन्धन गरेको माओवादीको पनि ३ हजार ९०९ मत त्यहाँ छ भने कांग्रेससँग तालमेलको तयारी गरेको राप्रपाको २ हजार २७ मत छ । 

स्थानीय तहको नतिजाले यो क्षेत्रमा बाम गठबन्धनलाई जितका लागि सहज हुने देखिन्छ । यद्यपी कांग्रेस युवा नेता थापाको व्यक्तिगत भोटले पनि यो क्षेत्र उनले आफ्नो पक्षमा पार्न सक्छन् । 

यता सम्भावना भएका युवा नेता भएका कारण स्वतन्त्र मतदाताको समर्थन उनलाई हुनसक्छ । तर, आफूलाई एकमात्र बैकल्पिक शक्ति बनाउने विवेकशील साझा पार्टीले सो क्षेत्रबाट २६ वर्षकी सुबुना बस्नेतलाई अघि सारेका कारण स्वतन्त्र भोट उनले तान्न सक्ने आँकलन छ ।

बाम गठबन्धनले बलियो उमेदवारलाई अगाडि सारेमा थापालाई यो क्षेत्र फलामको चिउरा हुने निश्चित छ ।  

क्षेत्र नं ५ः गठबन्धन बनाउँदा एमाले महासचिव पोखरेललाई सहज

 

काठमाडौं क्षेत्र नं ५ अन्तर्गत महानगरका वडा नं. २, ३, ४, र ५ तथा बुढानिलकण्ठ नगरपालिकाको वडा नं. ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६ र ७ पर्दछन् । 

यो क्षेत्रमा ०६४ र ०७० को चुनावमा कांग्रेसका नरहरी आचार्यसँग एमाले महासचिव ईश्वर पोखरेल पराजित भएका हुन् । ०६४ मा ४ हजारभन्दा बढी मतअन्तरले आचार्य विजयी भएका थिए । ०७० को चुनावमा आचार्यले १५ हजार ३६४ मत ल्याउँदा ईश्वर पोखरेलले १४ हजार ७२३ मत प्राप्त गरेका थिए ।

स्थानीय तहको निर्वाचन नतिजालाई केलाउँदा एमाले २ हजार भोटले अगाडि छ । यो क्षेत्रमा एमालेको १७ हजार ४६४, कांग्रेसको १५ हजार ४५६, माओवादीको ३ हजार २८४ र राप्रपा १ हजार ९११ मत छ ।

यो चुनावमा पनि एमालेले महासचिव ईश्वर पोखरेललाई सर्वसम्मत उमेदवार बनाएको छ । तर, कांग्रेसका आचार्य बिरामी भएका कारण अर्को व्यक्ति उठ्दा पोखरेलको व्यक्तिगत प्रभाव र स्वतन्त्र मतदाताको भोट उनले पाउने सम्भावना देखिन्छ ।

माओवादीसँग गठबन्धन गर्दा यो क्षेत्र पोखरेलको जित अझ सहज हुने देखिन्छ भने राप्रपाले कांग्रेसलाई समर्थन गर्दा केही राहत हुन सक्छ ।  
यता विवेशसील साझा पार्टीका सहसंयोजक उज्ववल कुमार थापाले पनि उमेदवारी घोषण गरेका छन् ।

क्षेत्र नं ६ः योगेशलाई पराजित गर्दै रक्षामन्त्री बनेका प्रधानलाई यसपटक चुनौती   

काठमाडौं क्षेत्र नं ६ अन्तर्गत महानगरको वडा नं २६, २७, २८ पर्दछ भने तारकेश्वर नरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ तथा टोखा नरपालिकाको वडा नं १, ८, ९, १० र ११ पर्दछन् । 

यो क्षेत्रमा २०६४ को निर्वाचनमा माओवादीका हितमान शाक्य र २०७० को निर्वाचमा कांग्रेसका भिमसेनदास प्रधान विजयी भएका हुन् । ०६४ मा शाक्यले १० हजार ७६८ ल्याई विजयी हुँदा कांग्रेसका प्रधानले १० हजार ५८ मत ल्याएका थिए । त्यस्तै, एमाले युवा नेता योगेशकुमार भट्टराईले ९ हजार ८९ मत ल्याई पराजित भएका थिए ।

त्यस्तै, २०७० को निर्वाचनमा प्रधान १४ हजार १५१ मत ल्याई विजयी हुँदा एमालेका भट्टराईले १२ हजार ८७४ मत ल्याए भने माओवादीका हिमाल शर्माले ५ हजार ९४५ मत मात्र ल्याएका थिए ।

भट्टराई लाई पराजित गरेर सांसद भएका प्रधान अहिले रक्षा मन्त्री छन् । तर, स्थानीय तह नतिजामा हेर्दा यो क्षेत्रमा पनि एमाले नै बलियो देखिएको छ । यो क्षेत्रमा एमालेले १४ हजार ०६१ मत पाउँदा कांग्रेसको मत १२ हजार ७४२ मात्र छ । अझ माओवादी–एमालेको गठबन्धन भएका कारणले उसको मत पति जोडिन आउँछ ।

माओवादीले ४ हजार १६४ मत ल्याउँदा यहाँ राप्रपाले १ हजार ३८३ मत प्राप्त गरेको छ । राप्रपाको मतले कांग्रेसलाई केही राहत हुने भएपनि जितका लागि पर्याप्त हुँदैन ।      

क्षेत्र नं ७ः गठबन्धनकै पक्कड 
 

काठमाडौं क्षेत्र नं ७ अन्तर्गत काठमाडौं महानगरका वडा नं १६, १७, १८, २५ पर्दछन् भने नागरर्जुन नगरपालिकाका वडा नं १, २ र ३ तथा तारकेश्वर नगरपालिका वडा नं ३, ४ र ५ रहेका छन् । 

यो क्षेत्रमा २०६४ को चुनावमा माओवादीकी हिसिला यमी निकटतम प्रतिद्वन्द्वीभन्दा ४ हजार मतले विजयी भएकी थिइन् । तर, ०७० को चुनावमा एमाले उमेदवार रामवीर मानन्धर १३ हजार २८९ मत ल्याई विजयी हुँदा कांग्रेस उमेदावर प्रमिला डंगोलले १० हजार ४८६ मत ल्याई निकट प्रतिस्पर्धी रहिन् । ०६४ मा विजयी भएकी यमी दोस्रो चुनावमा ७ हजार १५ भोटमै सिमित भइन् ।

यो क्षेत्रमा पनि मतदाता कतिबद्ध देखिँदैनन् । हालै सम्पन्न स्थानीय चुनावको नतिजामा यो क्षेत्रमा एमालेकै मत बढी छ । यो क्षेत्रमा एमालेले १३ हजार ४७५ मत छ भने कांग्रेसको १२ हजार ६४ छ तथा माओवादीको ३ हजार ४७४ तथा राप्रपाको २ हजार १४८ मत रहेको छ ।

२०७० को चुनावमा एमालेका रामवीर मानन्धर विजयी भए पनि नयाँ शक्ति पार्टीले सूर्य चिन्हबाट लड्ने भएपछि नयाँ शक्तिकी नेतृ हिसिला यमीले मौका पाउन सक्छन् ।
   
काठमाडौं क्षेत्र नं ८ः राप्रपाको तालमेलले कांग्रेसलाई राहत

काठमाडौं क्षेत्र नं ८ अन्तर्गत काठमाडौं महानगरका वडा नं १३, १५, १९, २०, २३, २४ तथा ना नागार्जुन नगरपालिकाको वडा नं ४ र ५ पर्दछ ।

यो क्षेत्र २०६४ तथा २०७० को चुनावमा पनि कांग्रेस उमेदवार नविन्द्रराज जोशी विजयी भएका थिए । उनले २०६४ मा ११ हजार ५ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले ६ हजार ८७८ तथा माओवादीका सर्वोत्तम दास डंगोलले ६ हजार ५७३ मत मात्रै प्राप्त गरेका थिए । 

त्यस्तै २०७० को चुनावमा जोशी पुनः भारी मतअन्तरले विजयी भएका थिए । उनले १३ हजार ७७४ मत ल्याउँदा एमाले उमेदवार जिवनराम श्रेष्ठले ६ हजार ३६७ तथा राप्रपा उमवेदवार प्रकाश रिमालले ४ हजार ९३४ मत ल्याउँदै तेस्रो भएका थिए । 

तर, स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा पनि एमालेले कांग्रेसलाई करिब ३५ सय भोटले उछिनेको छ । यो क्षेत्रमा एमालेले १३ हजार ५८१ मत ल्याउँदा कांग्रेसले १० हजार ७२ मत ल्याएको छ । यद्यपी यो क्षेत्रमा माओवादीभन्दा राप्रपाको मत केही बढि भएका कारण सो पार्टीसँग तालमेल गर्दा कांग्रेसलाई राहत हुन सक्छ । 

यो क्षेत्रमा राप्रपाले ३ हजार १५६ मत प्राप्त गर्दा माओवादीको २ हजार ८२८ मत मात्रै छ । 

क्षेत्र नं ९ः राप्रपासँगको गर्दा बाम गठबन्धनलाई कांग्रेसको चुनौती 
 

काठमाडौं क्षेत्र नं ९ मा महानगरका वडा नं १२, १४, २१ र २२ पर्दछन् भने चन्द्रागिरीका वडा नं १, १२, १३, १४ र १५ तथा नागर्जुन नगरपालिकाका वडा नं ६, ७, ८, ९ र १० रहेका छन् । 

यो २०६४ र २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा कांग्रेसका ध्यान गोविन्द रंजित विजयी भएको क्षेत्र हो । उनले २०६४ मा १२ हजार ५०१ मत ल्याई १२ हजार २९२ मत ल्याएका माओवादी उमेदवार माईला लामालाई पराजित गरेका थिए । त्यस्तै, एमाले उमेवदार कृष्ण गोपाल श्रेष्ठले पनि १२ हजार १९४ मत ल्याई तेस्रो भएका थिए । 

२०७० को चुनावमा पनि रंजितले १४ हजार ४८३ मत ल्याई विजयी हुँदा एमाले उमेदवार कृष्ण गोपाल श्रेष्ठले १३ हजार १०० मतमा चित्त बुझाए । माओवादीका प्रभावशाली नेता देवेन्द्र पौडेल ६ हजार ६६९ मत ल्याउँदै तेस्रो स्थानमा खुम्चिए ।

यो क्षेत्रमा स्थानीय तहको नतिजाका आधारमा एमाले नै बलियो देखिएको छ । एमालेको १९ हजार ५४१ मत छ भने कांग्रेसको १६ हजार ४७० मत छ । एमालेसँग तालमेल गरेको कांग्रेसको ३ हजार ४२२ तथा कांग्रेससँग तालमेल गरेको राप्रपाको २ हजार १८ मत रहेको छ । 

एमालेको माओवादी र कांग्रेसको राप्रपासँग तालमेल हुँदा प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

क्षेत्र नं १०ः प्रचण्ड हारेको क्षेत्रमा गठबन्धनलाई सहज

काठमाडौंको अन्तिम क्षेत्रमा चन्द्रागिरी नगरपालिकाका वडा नं २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ तथा दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिका पर्दछन् । 

यो क्षेत्रबाट २०६४ को चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल २३ हजार २७७ मत ल्याई  कांग्रेस उमेदवार राजेन्द्र केसीलाई  ११ हजारभन्दा बढी मतले पराजित गरेका थिए । केसीले १२ हजार १५४ मत प्राप्त गरेका थिए । 

तर, २०७० को चुनावमा उनै राजेन्द्र केसीले प्रचण्डलाई करिब ८ हजार मत अन्तरले पराजित गरेका थिए ।  केसीले २० हजार ३९२ मत ल्याउँदा प्रचण्डले १२ हजार ८५९ मत ल्याएका थिए । त्यस्तै, एमाले उमेदवार सुरेन्द्र मानन्धरले १३ हजार ६१९ मत ल्याएका थिए । 

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पनि यो क्षेत्रमा कांग्रेस र एमालेबीच मत टक्कर देखिन्छ । तर, एमाले र माओवादीको गठबन्धन बन्दा उनीहरु बलिया छन् । स्थानीय चुनावमा यो क्षेत्रबाट कांग्रेसले १६ हजार ४८७ मत ल्याउँदा एमालेले १६ हजार ७३१ मत प्राप्त गर्यो । यता माओवादी केन्द्रले पनि ९ हजार १६८ मत ल्याएको छ । तर, कांग्रेससँग तालमेल गरेको राप्रपाको १ हजार १३६ मत मात्र छ ।

यो क्षेत्रमा पनि बाम तालमेल हुँदा उनीहरु जितको बलियो दाबेदार बनेका छन् । 

\"\"

समग्रमा काठमाडौंका मतदाताले एकै ठाउँमा भोट नहाल्ने र उमेदवारको क्षमता, प्रभाव र दक्षता हेर्ने गरेको पाइएको छ । यद्यपी बाम गठबन्धन बनाएको एमाले स्थानीय चुनावमा पनि काठमाडौंमा बलियो भएका कारण अधिकांश क्षेत्रमा गठबन्धनकै पल्लाभारी हुने देखिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC