site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
\'एमाले र हामी अब झगडा गर्दैनौं\' 
Sarbottam CementSarbottam Cement

माओवादी केन्द्र, एमाले र नयाँ शक्तिबीच एकआपसमा हुने पार्टी एकताले नेपाली राजनीतिमा नयाँ मोड ल्याएको छ भने आमजनता माझ र विदेशी शक्ति केन्द्रसमेतमा ठूलो राजनीतिक तरंग पैदा गरेको छ । नेपाली राजनीतिक घटनाक्रममा कम्युनिष्ट पार्टीहरुको एकता र फुट कुनै नौलो विषय नभए पनि आसन्न चुनावकै मुखमा भएको वाम गठबन्धन नेपालकै राजनीतिक इतिहासमा आश्चर्यजनक बनेको छ । 
चुनावका मुखमा यस्तो किसिमको वाम गठबन्धन किन आवश्यक पर्‍यो ? के यो एकताले वामपन्थी शक्तिहरूले भने जस्तै अबको चुनावमा दुई तिहाइ बहुमत आउन सक्ला ? आगामी चुनावी रणनीति, सरकारसँगको सहकार्य र वाम एकतापछि मुलुकको समग्र विकासको सुनिश्चितता र समसामयीक विषयमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलसँग बाह्रखरीका शिवनारायण गिरीले गरेको कुराकानी :

अहिले के मा व्यस्त हुनुहुन्छ ?

प्रदेश र प्रतिनिधिसभाको आसन्न निर्वाचनका लागि घनिभूत तयारीमा मलगायत समग्र पार्टी नै व्यस्त छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल कम्युनिष्ट पार्टी हुँदै जन्म भएको माओवादीलाई अकर्मण्यको आरोप लगाउँदै डा.बाबुरामलगायत तपाईंहरू नयाँ शक्तिमा लाग्नुभयो त्यसको केही समयपछि तपाईं मूल घरमै फर्कनुभयो, नेपाली राजनीतिमा व्यक्तिसँगै पार्टी नयाँ बन्ने प्रकिया कहिलेसम्म चलिरहन्छ ?

यो खासगरी माओवादी आन्दोलनपछि परिवर्तनकारी आन्दोलन थियो । नेपालका जेजति उपलब्धिहरु राजनीतिक रूपमा प्राप्त भएका छन्, त्यसको अगुवाई र नेतृत्व माओवादी आन्दोलनले गरेको हो । कसैलाई पार्टी चित्त बुझ्ला नबुझ्दा त्यो अलग विषय हो तर परिर्वतनको नेतृत्व माओवादी पार्टीले गरेको हो । त्यो आन्दोलनले स्थागत गरेका विषयहरूलाई विरोध गरेर नयाँ शक्तिमा लागेका होइनौं ।

Global Ime bank

बाबुरामजीले एक्लै सरसल्लाह नै नगरी माओवादी पार्टीबाट राजीनामा दिइसकेपछि उहाँ जत्तिको व्यक्तित्वलाई साथ दिनुपर्छ भनेर माओवादी केन्द्र छोडेर हामीले उहाँलाई साथ दिएका हौं र पछि उहाँलाई हामीले कुरा राख्यौं- यो वैकल्पिक शक्तिको वहस शक्ति आर्जनबिना हुँदैन । वहसको लागि मात्र हो भने हामीले छलफल चनाउन सकिन्छ ।  

साच्चै गर्ने हो भने त शक्ति चाहिन्छ, त्यसकारणले संयुक्त मोर्चा ध्रुवीकरण हुँदै चुनावी तालमेल गरौं भनेर म लगायत केही साथीहरुले १० बुँदे अपिलसहित भन्यौं । तत्कालीन अवस्थामा बाबुरामजी तयार हुनुभएन । उहाँ तयार नभइसकेपछि यो जुन धुव्रीकरण भएको छ, यसले उत्साही बनाएको छ ।  त्यसकारणले अहिले पनि हामी केमा दृढ छौं भने परिवर्तनकारी शक्तिहरु एकै ठाउँमा हुनुपर्छ, छुट्नुहुँदैन ।

हामीले नयाँ शक्तिमा लागेको कुरा उहाँलाई साथ दिनको निम्ति हामी लागेको हो । त्योचाँही वैकल्पिक शक्ति भनेर जनताले पनि अनुभव नगरेपछि हामी परिवर्तनकारी शक्तिहरु एक ठाउँमा भएर मात्रै त्यो कोर्शमा जान सकिन्छ भनेर हामीले सुरुवात गर्‍यौं । त्यही सुरुवाती अनुरुप नै देश वृहत धुव्रीकरणतिर गइरहेको छ । त्यसलाई म गर्वको रूपमा लिन्छु ।


तपाईं नयाँ शक्तिमा हुँदा पार्टी हितविपरित कार्य गर्दै आएको भन्दै संयोजक भट्टराईले २४ घण्टे अल्टिमेटम दिएका थिए। त्यसपछि तपाईंले जिन्दगीमा नै पहिलो पटक चित्त दुख्यो भनेर पनि भन्नुभएको थियो नि ?

त्यसलाई मैले एउटा नाटकको कटाक्षका रूपमा लिएको छु । अहिले सल्लाहअनुसार बाबुरामजी र हामी फेरि एउटै पार्टीमा एकीकृत हुँदैछौं ।  मैले ३०/३५ वर्ष बाबुरामजीसँग सहकार्य गर्दा विषय राख्नेबित्तिकै माओवादी पार्टीले हामीलाई त्यसरी कारबाही गरेको थिएन, र २४ घण्टे अल्टिमेटम पनि ।

बाबुरामजीले पार्टी छोडेर हिँड्दा मेरै नेतृत्वमा पेरिसडाँडामा गएर यो अभियानमा लाग्छौं भनेर भन्दा माओवादी पार्टीले हामीलाई कारबाही गरेको थिएन, तर उहाँले त्यस्तो किन गर्नुभयो त्यो चाँही उदेकलाग्दो विषय छ, तरै पनि म उहाँलाई सम्मान गर्छु । 

 

तपाई नयाँ घरमा कुनै भविष्य नदेखेर नै फेरि पुरानो घर फर्कनुभएको हो ?


हामी माओवादीमा फर्केको मात्र होइन,  हामीले वृहत ध्रुवीकरणको कुरा उठाएको थियौं । १० बुँदे सार्वजनिक गरेर परिवर्तनकारी शक्तिहरू एक ठाउँ हुनुपर्छ भनेर भन्यौं तत्कालीन अवस्थामा माओवादीले त्यसलाई सहजतापूर्वक ग्रहण गर्‍यो । माओवादी र हाम्रोबीचमा पार्टी एकता भयो, हामीले टीका लगाएर पार्टी प्रवेश गरेको होइन ।

नयाँ शक्तिमा हुँदा लालसलाम पनि भन्न पाइनँ भन्नुभएको थियो अहिले त पाउनुभएको होला नि ?

मैले त्यसबेला प्रतीकात्मक रुपमा भनेको थिएँ । त्यहाँ कम्युनिष्ट पार्टी भनेर रुचाउने साथीहरु हुनुहुन्थेन, त्यहाँ हामीले नमस्कार भन्ने गर्थ्यौं, यद्दपी पुराना साथीहरु भेट हुँदाचाँही लालसलाम पनि भन्थ्यौं, अहिले माओवादीमा आएपछि लालसलाम नभन्ने कुरै भएन ।


अहिले तपाईंहरुको पार्टी केन्द्रलगायत नयाँ शक्ति र एमालेको वाम गठबन्धन बनेको छ, यसलाई कुन रुपमा लिनुहुन्छ ?

यो परिवर्तनकारी शक्तिहरु बीचको एकता हुने, जुन विकास, समृद्धि र सुशासन जुन प्रसंग हामीले लिएका छौं, हिजोका राजनीतिक उपलब्धीहरुको जगलाई भत्किन नदिईकन देशलाई अगाडि बढाउन यो आवश्यक थियो । यसलाई देशी विदेशी शक्ति केन्द्रहरुले भाँड्न बिग्रान सक्छन् तर यो एकतालाई मजबुद बनाएर पार्टी एकतासम्म पुर्‍याउनुपर्छ भन्ने मैले बुझेको छु । 

हिजो संशोधनवादी, पहाडीया र अन्धराष्ट्रवादी देख्ने प्रचण्ड, बाबुराम आँखाले एमालेलाई एकाएक कसरी परिवर्तनकारी देख्यो ?

हिजो के भयो भन्दा पनि अहिले देशको आवश्यकता के हो भन्ने कुरा महत्वपूर्ण हो ।  एक अर्कालाई गाली गरेर लामो संघर्षपछि प्राप्त भएका उपलब्धिहरुलाई स्थागत गर्न नसकिने निचोडमा पुगेपछि यो अवस्थामा आइपुगेका हौं । अब हामी बाझ्दैनौं, एक- अर्कालाई सम्मान गरेर अगाडि बढ्छौं ।

यो गठबन्धप्रति तपाईंकै पार्टीका गोपाल किराँती र प्रभु साहलगायतका नेताहरू असन्तुष्ट छन् नि ? 


किराँती र साहजीहरूले यस एकतामाथि छलफल हुनुपर्छ भन्ने कुरा राख्नु भएको हो । मधेसका साथीहरूले मधेसका मुद्धाहरु के हुन्छ भनेर प्रश्न उठाउनुभएको हो, असन्तुष्ट भएको भन्न मिल्दैन  । मिडियामा आएको जस्तो होइन । किराँतीजीले पहिचान र संघीयताको मुद्दामा सकारात्मक दृष्टीकोण नभएको एमालेसँग कसरी एकता हुनसक्छ ? भनी प्रश्न गर्नुभएको हो, त्यो बारेमा हाम्रो छलफल हुन्छ । अब अलिअलि केही साथीहरुलाई चित्त नबुझ्न सक्छ, तर पनि यो ध्रुवीकरण देश र जनताको पक्षमा हितकर नै छ भन्ने कुरामा हामी विश्वस्त छौं ।


यो गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि मात्र हो की पार्टी नै एकताको लागि हो ?

पार्टी एकताको लक्ष्यसहित यो चुनावी तालमेलको कुरा उठेको हो, पार्टी एकता नहुने भएदेखि हामी काँग्रेससँग सरकारमा हुन्थ्यौं ।  काँग्रेससँग पनि तालमेल हुन्थ्यो ।  हामी पार्टी एकतालाई आधार मानेर वाम गठबन्धनमा जोडिएका हौं ।

 

चुनावपछि एमालेसँग पार्टी एकता हुनसक्ने पर्याप्त आधार चाँही के छ ?


एकता हुने आधार एक खासगरी देशको सार्वभौमिकता, राष्ट्रियताको पक्षमा उभिनेहरू फरक-फरक भएर अर्थ छैन, दोस्रो सीमित भूगोल र न्यून जनसंख्या रहेको नेपालजस्तो देशमा धेरै पार्टी भएर काम छैन, विचार आधारभूत रुपमा मिल्नेहरूको बीचमा कहीँ न कहीँ एउटा ध्रुवमा आउनुपर्छ भनेर आधार मानेका छौं ।

तेस्रोचाँही वामपन्थी राजनीति गर्ने हो भने चुनावी प्रतिस्पर्धाद्वारा परिवर्तनका मुद्दाहरुलाई अगाडि बढाउने हो भने अलग-अलग चुलो बालेर किन बस्ने ? जनताहरूले पनि विचार मिल्ने वामपन्थीहरू एकै ठाउँमा हेर्न चाहेका छन्, यो नै एकताको आधार हो ।


विगतलाई हेर्ने हो भने पनि माओवादी पार्टी सत्तामा टाँसिएर बस्न खोजेको देखिन्छ ।  यसपटक सत्तामा हुँदै गर्दा गठबन्धनमा बाँधियो यसले कतै माओवादीलाई घाटा त हुँदैन ?


माओवादी सरकारमा बस्न नखोजेर नै ध्रुवीकरणमा लागेको हो । काँग्रेससँग मिल्नेबितिकै यसै पनि पाँच वर्ष पार्टी सरकारमा रहन्थ्यो ।  तर देशको आवश्यकताअनुसार काँग्रेसमा वामपन्थी विचार नभएकाले वामपन्थी विचार, लक्ष्य र दृष्टीकोणको आधारमा देशमा धुव्रिकरण हुनुपर्छ भनेर हामी यो प्रक्रियामा लागेका छौं । सरकारसँग सहकार्य गर्दैनौं भन्ने कुरा होइन, सरकारका हकमा भोलि काँग्रेससँग पनि सहकार्य हुनसक्छ र एमालेसँग पनि ।


गठन्धनमा बाँधिएपछि सरकारले माओवादी केन्द्रका मन्त्रीलाई हटाउने भन्ने कुरा छ नि खास कुरा के हो ?


यो कुरा चाँही हाँस्यास्पद हुन्छ, यो गठबन्धन कसैलाई दुश्मन मानेर र सरकार ढाल्नको लागि गरिएको होइन्, निर्वाचन आयोगले सम्पूर्ण चुनाव चिह्नहरू गरिसकेको सन्दर्भमा सरकार गिराउने र हटाउने खेलमा लाग्नु भनेको अस्थिरता सिर्जना गर्नु हो । त्यसकारणले हाम्रो पार्टी र गठबन्धनकै तर्फबाट सरकार तलमाथी गर्न पक्षमा छैनौं । हामी बरु सहयोग गरेर निर्वाचनको निम्ति अगाडि जान तयार छौं ।  प्रधानमन्त्रीजीले माओवादी मन्त्रीहरुलाई वर्खास्त गर्नु भयो भने आफैँमाथि गुम्र्‍याङ हुन्छ । 

गठबन्धनमा एमालेलाई ६० र माओवादीलाई ४० प्रतिशत सिट दिने भनेको छ । निर्वाचनमा माओवादीको विजयी हुने सभ्भावना कति छ ?

हाम्रो लक्ष्य दुई तिहाइ छ । लक्ष्यअनुसार विजयी भयौं भने जनताको मुद्धाहरू संविधान संशोधन गर्नको निम्ती पनि सहज हुन्छ र विकास र समृद्धिको कुराहरूलाई नियोजित विकासको लक्ष्य अनुरूप अगाडि बढ्न सम्भव छ त्यसकारण यो गठबन्धन दुई तिहाईको लक्ष्यसहित देश भर चुनावमा सहभागी हुन्छ ।

पार्टी एकतापछि एमालेले माओवाद मान्ला ?

यो विषयमा छलफल हुन बाँकी नै छ । एमालेको बहुदलीय जनवाद हामीले मानेर र हाम्रो माओवाद एमालेले मानेर यो एकता गर्न लागिएको होइन । यो विषय वैचारिक सैद्धान्तिक छलफलका विषयहरु हुन्, यो बारेमा पार्टी एकता संयोजन समितिमा डकुमेन्ट बनाएर हामी वहसमा जान्छौं, र हाम्रो विचार लैजान्छौं । सभ्भवत: पार्टी एकता भयो भने महाधिवेशनमा लगेर जुन नीति विचार पारित हुन्छ त्यही नीति विचार चाँही पार्टीको स्थागत विचार हुन्छ ।


वाम एकतापछि कुनै एक पार्टी विलय हुने देखिन्छ ?

एकतापछि तीनवटै पार्टी विलय हुन्छ, अनि मात्र नयाँ पार्टी बन्छ । एमालेमा माओवादी विलय पनि होइन । माओवादीमा एमाले विलय पनि होइन, नत नयाँ शक्तिमा नै हो ।

पार्टी एकतापछि एमालेले धोका दियो भने माओवादीले के गर्छ ?

केही फरक पर्दैन । हिजो जनयुद्धमा त बाचे बाचौंला मरे मरौंला भनेर आएको माओवादी एमालेले धोका दियो भने आत्तिँदैन, तर्सिँदैन, युद्धमा त बाँचेर आयो ।   एमालेलाई हामी धोका दिँदैनौं, यदी नेपालमै राजनीति गर्नुपर्छ भने सायद उसले पनि हामीलाई धोका नदेला ।


वाम एकतापछि फुटेका माओवादीहरु फर्कलान त ?


निर्वाचनअगाडि विप्लव र मोहन वैद्यजी नेतृत्वको माओवादी आउने सम्भावना छैन । छलफल चल्दैछ चुनावपछि उहाँहरुसहित अन्य साथीहरु पनि हामीसँगै आउनेमा विश्वस्त छौं ।


वाम गठबन्धनमा बाँधिएसँगै आगामी चुनावमा एउटै चिन्हको प्रयोग गर्ने भन्ने कुरा थियो पछि एकाएक आफ्नै पार्टीको चुनाव चिन्ह खोज्नुको कारण, भविष्यमा एकता असम्भव भयो भने माओवादी एमालेकरण हुन्छ भन्ने डरले हो ?

निर्वाचन चिह्न नयाँ बनाउँ भन्ने हाम्रो सोच त थियो ।  तर निर्वाचन आयोगले निर्वाचन सामग्री छापिसकेको भन्दै स्वीकृती दिन सक्दिनँ भन्यो त्यसकारण एउटै चिन्ह बनाउन हामीले सकेनौं, पछि दुवै पार्टीले आ-आफ्नो चुनाव चिह्नमा चुनाव लड्ने कुरा भयो यदी केही विषय नटुङ्गिएर पार्टी एकता भएन भने आफ्नो वैधानिकता यथावत रहन्छ ।

नयाँ शक्तिले आफ्नो चुनाव चिह्न छोडेर एमालेको रोज्यो माओवादीको रोज्ने वातावरण तपाईंहरूले नबनाएको हो ?


वातावरण हामीले नबनाएको होइन, हामीले पटक-पटक नयाँ शक्तिलाई माओवादीको चुनाव चिह्न प्रयोग गर्न भनेका छौं । नयाँ शक्तिका संयोजक बाबुरामजी आगामी चुनावमा गोरखाबाट चुनाव लड्ने भन्नुभएको छ ।

गोरखाका अधिकांश जनता,  समर्थक र कार्यकर्ताले पनि बाबुरामजीलाई माओवादीको चुनाव चिह्नबाट चुनाव लड्न भन्नुभएको छ । त्यसैले म व्यक्तिगत रुपमा पनि बाबुरामजीलाई माओवादीको चुनाव चिह्न प्रयोग गर्न अपिल गर्छु ।

किनभन्दा उहाँ दुई/दुई पटक माओवादी गोरखाबाट धेरै मतले चुनाव जित्नुभयो । थुप्रै साथीहरु त्यहाँ सहिद भए, म त अझै भन्छु बाबुरामजीले माओवादीकै चुनाव चिह्नमा चुनाव लड्दा राम्रो किनभने इतिहासप्रति संरक्षण, सम्मान र एउटा गौरवको महसुस हुन्छ ।

वाम एकतालाई विदेशी चलखेलको आरोप छ, कति सत्य हो ?


कतिपयको अनुमान इन्डियासँग रिसाएर चीनको इसारामा बन्न लागेको भन्ने कुरा बाहिर चलेको छ, त्यो बिलकुलै होइन । स्वभाविक रुपमा नेपालीहरू आफैले गरेको निर्णय हो, कसैको प्रेसर दबाबमा होइन ।

नेपालमा छरिएर रहेका वामपन्थीहरु एक ठाउँमा हुनुपर्छ भन्ने विचारको स्तरमा पुगेपछि यो निर्णय गरिएको हो । कुनै विदेशी शक्ति केन्द्रको दबाबमा भएको होइन ।

यस विषयमा कोही उत्तेजित हुनुपर्ने जरुरी पनि छैन । यो एकता कुनै विदेशी शक्ति केन्द्रलाई कमजोर बनाउन पनि गरिएको होइन, यो, दुवै छिमेकी मित्र राष्टसँग सन्तुलित समधुर कायम गरेर अगाडि बढाउनका लागि हो ।


वाम गठबन्धनपछि काँग्रेसको प्रतिक्रिया कस्तो पाउनु भयो ?

दुईवटा प्रतिक्रिया मैले पाएँ । 'धेरै साथीहरूको प्रतिक्रिया स्वभाविक रूपमा भएको हो, विचार मिल्नेहरू एक ठाउँमा हुनुपर्छ आत्तिनु हुँदैन भनेर आफ्नो कार्यकर्ताहरुलाई मनोबल उठाउन दिएको पाइन्छ ।

अर्काथरी साथीहरुले चाँही हतास मानसिकतामा एमाले, माओवादी र नयाँ शक्ति तानाशाहीतिर र विदेशी शक्तिको चलखेलमा जान थाले भन्ने हतास अभिव्यक्तिको रूपमा आएको छ । काँग्रेसहरूको पनि आफ्नै भोट बैंक होला  उहाँहरू पनि गठबन्धन बनाएर आए हुन्छ । यसमा हाम्रो कुनै आपत्ति छैन ।

एकतापछि पार्टी अध्यक्ष प्रचण्ड बन्ने र केपी ओली प्रधानमन्त्री बन्ने भन्ने कुरा छ खास कुरा के हो ?


यो सबै मनगणन्ते अनुमानहरु हुन् । जिम्मेवारीका विषयमा अहिलेसम्म केही पनि टुङ्गो लागिसकेको छैन । नेतृत्वका हिसाबले स्वभाविक रुपमा प्रचण्ड र ओलीले एक-एक वटा जिम्मेवारी लिने भन्ने कुरा चलेको छ, फाइनल निर्णय भएको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २२, २०७४  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC