ad

साहित्य र कला

आफ्ना कथा खोज्दै मनु

– राजेश खनाल


फुलेपछि झरिजान्छ भन्छन् पारिजात सधैं ।
जीवनभरि रहँदैन कसैको नि साथ सधैं ।

दिनदिनै डढाउने तातो घाम सहे पनि
सहन पो सकिँदैन जुनेली यो रात सधैं ।

जिन्दगीको सिङ्गो रुख जति चोटि फुले पनि 
झरे जस्तै फूलहरू झर्छ कहाँ पात सधैं ।

मनुलाई चिनाउने यौटा सानो मन रै’छ
कुरा काट्न काम लाग्छ मदिराको मात सधैं । 

अचेल साहित्यकार मनु ब्राजाकी (७५)को समय यस्तै गजल लेखनसँगै बित्छ । शारीरिक अस्वस्थताका कारण हातखुट्टाले साथ नदिएपछि एक उच्चस्तरीय कथाकारका रूपमा ख्याति कमाएका मनुले गजललाई आफ्नो साथी बनाएका छन् ।

म शुक्रबार बिहानै उनको निवासमा पुगेको थिएँ । भेटकै क्रममा उनले माथि उल्लिखित आफ्नो ताजाताजी गजल वाचन गर्दै गजलको प्रसङ्ग छेडे, “गजल सानो, आकार–प्रकारमा छोटो भए पनि त्यसमा गम्भीर भावहरू विद्यमान हुनुपर्छ । गजलमा कवितात्मक गाम्भीर्यता हुनुपछ ।”

मनुले गजलको गम्भीरता र जीवन्तताको कुरा गर्दै गजलमा लयात्मकता हुनुपर्ने विषयमा पनि जोड दिए । “वास्तवमा गजल अप्ठ्यारो विधा हो । गजल लेख्न सजिलो छैन । सानो गजल लेख्न पनि निकै समय खर्चनुपर्छ । गजल लेखनका लागि लामो अभ्यास पनि जरुरी हुन्छ । म त्यही अभ्यासलाई निरन्तरता दिइरहेको छु,” उनी भन्दै थिए, “यतिबेला लेखक मनको विरेचन पोख्नैका लागि पनि आज बिहानै गजल लेखेको हुँ ।”

यति भनिरहँदा उनको मुहारमा मृदुमुस्कान छायो । सिर्जनाप्रतिको प्रेम उनमा असीमित छ, मुहारले त्यही भन्छ ।

लामो समयदेखि कथा लेखनमा क्रियाशील मनुले यतिबेला कथा लेख्न सकिरहेका छैनन् । यस्तै फुटकर लेखनमा मात्रै उनको समय बितिजान्छ । तथापि उनी आफूलाई लेखनमै रमाउने व्यक्ति मान्छन् । यति भन्दै गर्दा केही गम्भीर भएर थपे, “के गर्ने, लेखनमै रम्न मन लाग्छ । तर स्वास्थ्यले निरन्तर लाग्न दिइरहेको छैन । कथा त झन् अहिले लेख्नै सकिरहेको छैन । दुई–दुई पटकको स्ट्रोक (मष्तिष्कघात)ले गर्दा मेरो स्मरणशक्ति कमजोर भएको छ । कथा लेख्नलाई धेरै लामो समयसम्म विभिन्न कुराहरू सम्झिराख्नु पर्छ । त्यसैले पनि कथा लेख्न नसकेको हुँ ।”

कुनै बेला मनुको बानी नै थियो, महिनौंसम्म कथालाई मगजमा बोकेर हिँडने । उनले सुनाए, “यहाँसम्म कि कथाका पात्रहरूको वार्तालाप पनि मष्तिष्कमा प्रष्ट भएपछि एकैपटक म कथालाई कागजमा उतार्न बस्थें । यस्तो बानी थियो मेरो । तर, अहिले त्यसरी लेख्न सक्ने अवस्था छैन । किनभने अचेल त लेख्दालेख्दै पनि बिर्सिन्छु ।”

युवाजोश हुँदा कैंयौ कथा लेखे मनुले । कति छापिए, कति छापिएनन्, उनलाई सम्झना पनि छैन । महोत्तरीको औरहीका स्थायी बासिन्दा मनु सम्झन्छन्, “मोफसलमा बसेर नै मैले कैयन् कथाहरू लेखेँ । प्रकाशनका लागि पठाएका कतिपय कथा छापिए होलान्, कति ठाउँमा नपुगेर नछापिएका पनि हुन सक्छन् । मैले पठाएका कथाहरू पुगेपछि नछापिएको भन्ने मलाई लाग्दैन । तर कहाँ छापिए, कुन–कुन पत्रिकामा छापिए, कुन नपुगेर छापिएनन्, त्यसको जानकारी भने मलाई छैन ।”

त्यसैले पनि यतिबेला उनी आफ्ना ती साराका सारा कथाको खोजीमा लागिरहेका छन् । “शिव रेग्मीजीकहाँ आफ्ना रचनाहरू खोज्न जाँदा महेश प्रसाईंजीले मेरा रचनाहरू पनि भेटाउनु भएछ । त्यस्ता कथाहरू, जुन कुनै संग्रहमा नपरेका र नपढिएका । उहाँले भनेपछि मलाई आफैं पनि शिव रेग्मीकहाँ जान पाए हुन्थ्यो भन्ने लागिरहेको छ । तर भनें नि, स्वास्थ्यले साथ दिइरहेको छैन ।”

मनुको बाल्यकाल धार्मिक नगरी जनकपुरमा बित्यो । पछि हजुरबुवा काशी बासका लागि बनारस जाँदा उनी पनि सँगै गए । त्यसपछि जीवनका केही समय उनले बनारसमै बिताए । बनारसबाट फर्किएपछि उनी गाउँमै बसे र साहित्य सिर्जनामा लीन भए ।

गाउँमा खेतीपाती भए पनि त्यो श्रीमतीले हेर्थिन् । उनी सिर्जनामा पनि लाग्ने भएकाले जनजीवनको अध्ययन गर्दै गाउँगाउँ डुल्दै हिँड्थे । “धेरै गाउँ ठाउँ घुमें । त्यसरी हिँड्दा केही कथा जन्मिए पनि, केही जन्मिएनन् । तर, म यसरी नै घुमिरहेँ, लेखिरहेँ,” उनले भने ।

कथामा सुन्दर रंग भर्ने मनु कुनै बेला चित्र पनि कोर्थे । पोखरामा रहँदा प्रख्यात कार्टुनिस्ट दुर्गा बराल (वात्स्यायन)का सहपाठीसमेत रहेका मनुले नोस्टाल्जिक हुँदै भने, “०१७÷१८ सालतिर म पोखरामा पढ्थें । दुर्गा बराल पनि सँगै पढ्थे । उनी पनि साहित्य लेख्थे र चित्र कोर्थे । म पनि साहित्य लेख्थें र चित्र कोर्थे । पछि मैले चित्र कोर्न छोडेंँ, उनले साहित्य लेख्न छोडे ।”

केही वर्षअघि छोरी ज्वाइँको आग्रहमा उनी सम्पन्नशाली मुलुक अमेरिका पुगे । केही वर्ष बसे तर बिरामी भएकै कारण अमेरिकाको जनजीवनलाई खासै बुझ्न सकेनन् ।

“लेख्न नसके पनि मैले त्यहाँ रहेका नेपाली साहित्यकारहरूसँग भेटघाट गर्ने मौका पाएँ । कोलोराडो राज्यको अनेसासमा आबद्ध साहित्यकारहरुले महिनाको एकदिन साहित्यिक कार्यक्रम गर्नुहुन्थ्यो । बेलाबखत मलाई पनि बोलाउनुहुन्थ्यो । जान्थेँ । भेटघाट हुन्थ्यो । त्यतिसम्म चैं भएको हो । महिनाको एकदिन रमाइलै हुन्थ्यो ।”

कुराकानी बिट मार्ने बेलामा हाँस्दै थपे, “समयमै अमेरिका पुगेको भए शायद अमेरिकाको विषयवस्तुलाई केन्द्रित बनाएर कथा लेख्ने थिएँ होला । तर, अलि ढिलो पुगियो ।” 

तपाईंको मत