साहित्य र कला

सामाजिक सञ्जालको आशक्ति सकिन्छ हटाउन

– एलिजाबेथ स्टिन्सन


धेरैजसो समय म सामाजिक सञ्जालका एपहरूमा दौडिन्छु । यस्तो लाग्छ– यी औंला र आइकनहरू चुम्बक हुन् । जबसम्म मेरो बूढी औंलाले इन्स्टाग्राम भेट्टाउँदैन, तबसम्म मेरो औंला मोबाइलमा आफैं नाचिरहन्छ । कतिपटक त म थाहै पाउँदिनँ ।

थाहा छ– यो निकै खराब बानी हो । यसले मलाई खुसी बनाउँदैन । तर, जीवनमा सबै कुरा गणितको हिसाबजस्तो वस्तुगत हुँदैनन् ।

सामाजिक सञ्जालले हामीलाई एक–अर्कासँग जोडिरहँदा दुःखी पनि बनाइरहेको हुन्छ । अध्ययनहरूले पत्ता लगाएका छन् । र, पनि हामी सामाजिक सञ्जाल प्रयोग गरिरहेकै हुन्छौं । आफूलाई रोक्न सक्दैनौं ।

तर, सकिन्छ रोक्न । 

अघिल्लो महिना मैले नयाँ जुक्ति फुराएँ । सामाजिक सञ्जालका एप्लिकेसनहरू फोनबाट हटाइदिएँ र ल्यापटपमा मात्रै लगइन गरें । मैले दृढ संकल्प लिएँ– अब आफ्नो ल्यापटप वा अफिसको कम्प्युटरमा मात्रै फेसबुुक, ट्विटर र इन्स्टाग्राम खोल्छु, मोबाइलमा मरे खोल्दिनँ । सोचें– मोबाइलमा यी एप नचलाएर ल्यापटपमा मात्रै खोलें भने शायद मेरो समय बर्बाद हुनेछैन ।

बिस्तारै महसुस गरें– अनिवार्यजस्तै भइसकेको सामाजिक सञ्जाल प्रयोग गर्ने मेरो बानी अहिले धमिलिँदै गएको छ । आफू निराश भएका बेला ट्विटरमा बूढी औंला दौडाउनुभन्दा मैले अरू नै केही राम्रा उपाय निकालें । फोनप्रतिको लगाव कम गर्न मैले बिहान उठ्नेबित्तिकै इन्स्टाग्राम र फेसबुकहरू चलाउनुको साटोे ‘न्युयोर्क टाइम्स’का एप हेर्ने, रेकर्ड सुन्ने, मोबाइलमा ब्याकम्यामोन खेल्ने जस्ता काम गर्न थालें, जुन मेरा सुरुवाती पाइला हुन् । 


लत लाग्ने डिजाइन

सबै सामाजिक सञ्जालहरू खासगरी प्रयोगकर्ताको चाहनाअनुसार डिजाइन गरिएका हुन्छन् । स्वरूपले नै झ्वाट्ट तान्छ । डिजाइनरको उद्देश्य हुन्छ– प्रयोगकर्ताहरू सजिलै आकर्षित होऊन् र सधैं भइरहून् । केही वर्षयता मुख्य सामाजिक सञ्जालहरू (फेसबुक, ट्विटर इन्स्टाग्राम आदि)ले आफ्ना विशेषतालाई परिमार्जित गर्दै प्रयोगकर्ताका लागि उपयोगी र सहज बनाएका छन् । यस्ता परिमार्जनले प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्न उक्साइरहेका छन् ।

डेक्सटप प्रयोगकर्ताहरू पनि यस्ता सामाजिक सञ्जालबाट टाढा त छैनन् तर मोबाइल प्रयोगकर्ताभन्दा केही हदसम्म पछि छन् । फेसबुक, ट्विटरका डेक्सटप प्रयोगकर्ताभन्दा मोबाइल प्रयोगकर्ताको संख्या कैयौं गुणा बढी छ । नयाँ तथ्यांकअनुसार मोबाइलमा फेसबुक चलाउने ५४% र ट्विटर चलाउने ४५% छन् । एप सुरु भएको दुई वर्षसम्म पनि डेक्सटप भर्सन नबनाएको इन्स्टाग्रामका डेक्सटप प्रयोगकर्ता कति होलान्, आफैं अनुमान गर्नुस् ।

सामाजिक सञ्जाल मुख्यतया स्मार्टफोन केन्द्रित छन् । डेक्सटपमा चलाउँदा खासै रस पस्दैन । त्यति उत्साह हुँदैन । न्युयोर्क युनिभर्सिटीको स्टर्न स्कुल अफ बिजनेसका प्रोफेसर तथा ‘इरेसिस्टिबल’ पुस्तकका लेखक एडम अल्टर भने यसलाई राम्रो मान्छन् । उनका अनुसार, यसले लत लाग्ने खालको प्रविधिबाट केही हदसम्म राहत दिन्छ । उनी भन्छन्, “कम्प्युटरको माउस चलाउँदा अलि बढी समय र मेहनत लाग्छ, जुन मोबाइलमा औंलाको प्रयोग गर्नुभन्दा अल्छीलाग्दो हुन्छ । यसले बिस्तारै संसारलाई अनुभव गर्ने तरिकालाई असर गर्छ ।”

अहिले मेरो फोनमा इन्स्टाग्राम र ट्विटर चलाउन मिल्दैन । यही कारणले म फोन निकै कम चलाउँछु । फोनप्रतिको आशक्तिमा यस्ता एपले कति धेरै प्रभाव पार्दा रहेछन्– मलाई बल्ल हेक्का भयो । म दिक्दारपूर्ण दिनचर्याबाट मुक्त हुन यस्ता एप चलाउँथे तर अहिले म यिनै एपहरूबाट दिक्क भएकी छु । अहिले मलाई त्यस्ता कुराहरू खोज्न मन लाग्छ, जसलाई म साँच्चै पढ्न चाहन्छु ।

म अझै पनि पूर्णरूपमा ठीक भइसकेकी छैन । अझै पनि कुनै–कुनै बेला म ट्विटरको एप चलाउँछु । तर, खाली ट्विटर खोल्छु र बन्द गर्छु । म केही लेख्दिनँ त्यहाँ ।

मेरा यी परीक्षणहरू सामाजिक सञ्जाललाई तिरस्कार गर्ने उद्देश्यबाट निर्देशित होइनन् । मैले किन सामाजिक सञ्जाललाई यति धेरै प्राथमिकता र महत्व दिएँ भनेर जान्नका लागि मात्र हो । 

अल्टर भन्छन्, “तिम्रो यो लडाइँ तिम्रै शिक्षाका लागि हो । तिमीले पहिले यस्ता एपलाई जति महत्व दिन्थ्यो, यी त्यति जरुरी छैनन् ।”

अल्टरको यो कुरा सत्य हो । अहिले मलाई यी एपहरूको आवश्यकता छ जस्तो लाग्दैन । तर यो थाहा पाउँदा खुसी लाग्छ, म अझै यिनलाई चाहन्छु ।

साभार: wired.com
अनुवाद: रुमु न्यौपाने

तपाईंको मत