साहित्य र कला

अन्नपूर्ण सर्किटमा हाफ जर्नी  

– खगेन्द्र फुयाँल


मोबाइलमा अलार्म नबज्दै निद्रा खुल्यो । फ्राइडे ग्यादरिङमा सहभागी साथीहरूसँग खाइपिइ राम्रै भएको थियो । जेहोस्, खानपिनले धोका दिएन । ज्यान हल्कै थियो ।

नित्यकर्म सकेर मित्र अनिललाई फोन गरें । कन्डक्टरले साढे ६ बजे नयाँ बसपार्क आइसक्नु पर्ने समय दिएको रहेछ । कलंकीबाट बस चढ्ने निर्णयसहित उतै भेटौंला भन्दै फोन राखिदिएँ । शनिबारे केही पत्रिका च्यापेर बस चढें । भक्तपुरबाट कलंकी पुग्दा विशेषांकमा प्रकाशित केही पुस्तक अंशलगायत पढिभ्याएँ ।

बिहानैबाट कलंकीको कुइरीमण्डल धूलो र सवारी जामको पर्वाह नगरी आफ्नो गन्तव्यमा अघि बढिरहेका बटुवाहरू । कलंकी हुँदै काठमाडौं बाहिर जाने यात्रुलक्षित बल्छी हान्न पल्केका व्यवसायी । ‘कहाँ जाने सर ?’ भन्दै झोला तान्न आउने सार्वजनिक यातायातका कर्मचारीको बाटो छिचोली नसक्नु !

मित्र अनिल सवा ७ तिर मकालु पेट्रोल पम्पअगाडि झुल्किए भतिज पवनका साथ । आफ्नो परियोजनाअन्तर्गत लमजुङका विभिन्न स्कुलमा पढ्ने विपन्न विद्यार्थीलाई लुगाफाटो, ओढ्ने ओछ्याउनेलगायत पाठ्यसामग्री लादिएका बोरासहित ।

म भने एकै हप्ता परेका बकर इद र इन्द्रजात्राको बिदा तह लगाउन केही दिन अरू बिदा थपेर पर्समा बचेका २–४ हजार सिध्याउन जाँदै थिएँ ।

साढे ६ बजे नयाँ बसपार्कबाट छुट्ने भनेको बस साढे ८ मा कलंकी आइपुग्यो  । बस ढिला आउने खबर पाएरै मित्र अनिल पनि सिधै कलंकी आएका रहेछन् ।

नाम मात्रैको पर्यटक बस परेछ । भित्र पस्नेबित्तिकै एक झोक्का गनाउने हावाले मज्जैसँग हान्यो । बस गुड्न थालेपछि गन्ध कम होला भनेर अर्को बस खोज्ने झन्झटमा लागिएन । बसमा स्वदेशी र विदेशी बराबर थिए । एउटा विदेशीको समूहचाहिँ हेर्दै हिप्पी टाइपको थियो ।

मेरो ठम्याइ ठीकै भयो । गाँजाका सौखिन रहेछन् । बस कतै रोक्यो कि गाँजा तान्न थालिहाल्थे । नौबीसेमा बस खाजा खान रोकेका बेला हरियो गाँजाको पातसमेत बाँकी राखेनन् ।

अन्नपूर्ण सर्किट हिमशृंंखलाको रोमाञ्चक पदयात्राको रुट लमजुङ, मनाङ हँुदै पोखरा ठोक्किने भएका कारण यो क्षेत्रमा पर्यटकको उपस्थिति बाक्लै थियो ।

निर्धारित योजनाअनुसारै साँझ खुदीमा सामुदायिक विद्यालयका विपन्न ६ जना विभिन्न तहमा अध्ययनरत छात्रछात्रालाई मित्र अनिलले विद्यालय पोसाक वितरण गरे । मैले विभिन्न कोणबाट केही थान असल फोटाहरू खिचिदिएँ ।

स्कुल जाँदा र जाडोमा लगाउने न्याना लुगाको चाँजोपाँजो मिलाइदिने विदेशी सहयोगीलाई धन्यवादसहित आवश्यक सामग्री अनुरोध गर्दै अंग्रेजीमा लेखिएको पत्र बुझाएर केटाकेटीहरू आ–आफ्नो बाटो लागे । हामी थाकेको ज्यानलाई थुक्पाको झोलले ऊर्जा भर्न लाग्यांै । 

माया होटलको ओसिलो ओछ्यानमा निदाउनै मुस्किल । त्यसमाथि जस्ताको छानामा परेको पानीको आवाज मध्यरातसम्मै जारी थियो । कति बेला निदाइयो, बिहान उठ्दा छ्याङ्ग खुलेको मौसम ।

बिहान खुदीको बाँकी काम सकेर लागियो, ‘मिसन टु दि बाहुनडाँडा’ । मस्र्याङ्दी खोलाको तीरैतीर । स्वच्छ हावा, ठाउँ–ठाउँका झरना, खोली किनारमा सेल्फी हान्दै हिँड्नुको मज्जा काठमाडौंका गन्धे खोलामा कहाँ पाउनु ?

भुलभुले गाविसमा सिनो हाइड्रो सगरमाथा पावर कम्पनीद्वारा निर्मित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको करिब ३ सय मिटर भूमिगत बाटोले यात्रा झनै रोमाञ्चक बनाइदियो ।

भूमिगत बाटो निकै व्यवस्थित र सवारी साधनलाई समेत लक्षित गरी निर्माण गरिएको रहेछ । भित्र बत्ती जडान गरिएकाले अँध्यारोको महसुस नै नहुने ।

हामी बेपर्वाह फोटो खिँचिरहँदा न्युजिल्यान्डका एङ्गस विलियम्स र लुस्सी एन्टनको युगल जोडीले हाम्रो साथ पायो । स्कुल पढ्दा जानेको अंग्रेजी भाषा सदुपयोग गर्ने अवसर प्राप्त भएकोमा म यो युगल जोडीलाई धन्यवाद नदिइरहन सक्दिनँ । पवनको एफ्रो–अमेरिकन अंग्रेजीले यात्रामा कहीँ कतै विश्रामको आवश्यकतै परेन । वास्तवमा पवनको कला चाखलाग्दो नै थियो ।

यात्राको दुई दिन हामी सँगै हिँड्यांै । एउटै होटलमा बस्याैं । च्याम्चेमा त हामीसँगै एङ्गसको युगल जोडीले पनि अभिनन्दित हुने अवसर प्राप्त ग¥यो ।

बाहुनडाँडामा खाना खाएर पैदल मार्ग हुँदै बेलुका श्रीचौर पुगियो । मनाङसम्म मोटर बाटो चलेका कारण बाहुनडाँडाको पैदल मार्गमा पर्यटकको चहलपहल घटेको स्थानीय होटल व्यवसायीको भनाइ थियो । बाहुनडाँडाको लेकमा बर्सेको झरीमा एङ्गसको छाताले सानो काम दिएन मलाई, पवनलाई एङ्गसको रेनकोटले ।

‘थोरोङ–ला पास’ घुम्न आएको न्युजिल्यान्डको यो युगल जोडी आवश्यक बन्दोबस्तीसहित हिँडेको रहेछ । जुकाले टोकेको ठाउँमा औषधि लगाउन एङ्गसले मलाई कर गर्दै थियो । मैले मानिनँ ।

जुकाले टोकेको ठाउँ जुत्ताको माथिल्लो भागले घोटिँदो रहेछ । पछिसम्म रगत बगिरहेको थियो । श्रीचौरस्थित होटलमा बस्ने बेला घाउलाई धोएर मेडिकल टेप लगाइदिएँ । तीन–चार दिन पो लाग्यो घाउ निको हुन ।

भोलिपल्ट बिहानैको चर्को घाममा भीर छिचोल्दै जगतस्थित सामुदायिक विद्यालयका छात्राछात्रलाई लुगा हस्तान्तरण गरे मित्र अनिलले । बच्चाहरूलाई लगाउन विदेशीले पठाइदिएका जाडोका लुगाहरू निकै राम्रा र बाक्ला थिए ।

हेडसरले शिशु कक्षा र १ कक्षाका बालबालिकालाई ठीक हुने लुगा वितरण गर्नुभयो । केटाकेटीहरू नयाँ लुगा पाएर मख्ख ।

मैले त्यहाँ पनि केही थान असल फोटाहरू विभिन्न कोणबाट खिचिदिएँ । माथिल्लो कक्षामा पढ्ने विद्यार्थीलाई कलम तथा अन्य पाठ्यसामग्री हस्तान्तरण भयो ।

हेड सरले दाताबाट प्राप्त सहयोगमा निर्माण भएको भवन देखाउनुभयो । निर्माणाधीन भवन कास्कीका एकजना दानीले दिएको ९ लाख रुपैयाँ सहयोगमा बन्दै रहेछ । 

४, ५ र ६ कक्षा सञ्चालन भइरहेको भवनचाहिँ विदेशी नागरिकले पठाएको पैसामा निर्माण गरिएको तर उनका सहयोगी, एक नेपालीले केही पैसा खाइदिएपछि निर्माण अझै अपूरो रहेछ । 

सरकारी सहयोगका विषयमा हेडसरसँग खासै जिज्ञासा राख्न मन लागेन । खाना च्याम्चेमा तयार हुँदै थियो । लामो पदयात्रामा हिँडेका एङ्गस विलियम्सको युगल जोडी हामीलाई पर्खिरहेको थियो । हतार त सधैं छँदै नै थियो ।

दुबै आँखा नदेख्ने बुवा र बोल्न नसक्ने आमाका सन्तान युवराजको परिवारलाई मित्र अनिलले जगतकै स्थानीय पसलबाट केही दिनका लागि ३० किलो चामल, ४ किलो दाल, चिनी, साबुन र बुवाआमालाई विदेशीले पठाइदिएको ओढ्ने घरमै गएर दिए ।

७ महिना पश्चिम बंगालस्थित कालिम्पोङको आलिशान गुम्बामा अपूरो लामा भाषा पढेर फर्केका युवराज फेरि आफ्नै गाउँको सामुदायिक स्कुलमा पढ्दै छन् । आधारभूत शिक्षाका लागि समेत अर्कैको भर पर्नुपर्ने युवराजको बाध्यता, उनको परिवारको गरिबी र दुःख वर्णन गरी साध्य नै छैन ।

मनसुन जारी नै थियो । डाँडाहरूबाट झरेका खोलाखोल्साहरू कुनै आख्यानका पन्नाहरूमा व्याख्या गरिएभन्दा कम थिएनन् । पर्यटकहरू नेपाल घुम्न आउने पनि यिनै डाँडापाखाका छटाको मोहनीले हुनुपर्छ, शायद ।

हाम्रो अन्तिम यात्रा च्याम्चेसम्म थियो । मोजाबिना नै साधारण स्पोर्टस् जुत्तामा यसपालिको यात्राले मलाई राम्रो शिक्षा दियो । जुत्ताको तलुवा पातलो भएका कारण पैताला बिझाएर कहिले काठमाडौं पुगूँला र जुत्ता फाल्दिऊँला जस्तो पनि नभएको हैन ।

दुखेको ज्यान ठीक पार्न बेलुका च्याम्चेमा झानेको आइला खाने निर्णय सर्वसम्मत पारित भयो । लुस्सीले आइला खान मानिन तर उसको पानीको गिलासले हामीलाई साथ दिई नै रह्योे । एङ्गसले भने काठमाडाैंमै ‘रक्सी’ र ‘आइला’ भन्न सिकेर आएको रहेछ ।

बिहान च्याम्चेको ब्रेकफास्टपछि एङ्गस र लुस्सीसँग कसिलो हात मिलाउँदै स्वास्थ्यको ख्याल गर्न र सफल थोरोङ–ला पासको शुभकामनासहित एङ्गस र लुस्सी मनाङतर्फ अघि बढे । हामी काठमाडौं । 

@mefossils

तपाईंको मत