साहित्य र कला

अठोट

– अविरल यात्री


कुनै बेला सोह्रश्राद्घ सकिएपछि रातोमाटो र कमेरो बोक्नको चटारो हुन्थ्यो । लिपपोत गर्न नसके पनि माटो खनेर आफूसक्दो बोकिन्थ्यो । म खन्थें । बैनीले बोरामा उठाएर नाम्लो मिलाइदिन्थी । हात तानेर मलाई उठ्न सजिलो बनाइदिन्थी । “ओहो ! यिनीहरूको रहर !” आमाको अनुहार गोदावरीझैँ फुल्थ्यो । दशैँ छिटो बोलाउने रहरले आमालाई माटो मुछेर सहयोग गरिन्थ्यो ।

दिउँसो पिङ खेल्न जाँदा नयाँ कपडा देखाउने र खल्तीभरिको चिउरा देखाउने ताक हुन्थ्यो । त्यसैले बिहान झिसमिसेमै उठेर भैँसीलाई दिनभरि पुग्ने घाँस–सोत्तर काटेर ल्याइन्थ्यो । आजकल पाइने फेन्सी कपडा एकपटक पनि जिउमा नहाली बाल्यकाल बिताएका अनुभव ताजै छन् । भात खान श्राद्ध र चिउरा खान दशैँ पर्खनु पर्ने ती दिनहरू, तर पनि अहिलेभन्दा निकै रमाइला थिए । 

नयाँ कपडा पनि फेन्सी कहाँ हो र ? स्कुलको ड्रेस पाइन्थ्यो । दशैँमा नयाँ स्कुलको ड्रेस लगायो, हुत्तिँदै पिङमा गयो । त्यही नयाँ कपडाको सुगन्ध अनि खल्तीको चिउराले दशैँ साँच्चै उल्लासमय हुन्थ्यो । निधारको टीको र कानका जमरा अडिऊन्, नअडिऊन्– थोरै भए पनि दक्षिणामा पाएको नयाँ नोट देखाउन दौडिँदै पिङमा पुगिन्थ्यो । लाग्थ्यो, दशैँ भनेको यही हो ।

साथीहरूले कति दक्षिणा पाए भन्ने मीठो उत्सुकता हुन्थ्यो र सोधिन्थ्यो पनि । आफ्नो देखाउँदा चाहिँ चोर्लान् कि ? भन्ने डरले खल्तीमै लुकाइन्थ्यो । देखाउनकै लागि लङ्गुरबुर्जामा दाउ हेरेर राखिन्थ्यो, खेलिन्थ्यो र अन्त्यमा सबै हारिन्थ्यो । हार्नुको पीडाले बरु त्यति रुवाएन, मैले हार्दा भाइ बहिनी ठिक्क प¥यो भनेर खुसी हुँदा रुन मन लाग्थ्यो । सोचिन्थ्यो, हरायो भनेर फेरि माग्छु बुबासँग । तर, आफू घर पुग्नुभन्दा पहिला नै दाइले फेरि माग्ला भन्ने पीरले भाइबहिनीले घरमा कुरा लगाइसकेका हुन्थे । अरू पैसा पाउने आशामा रुँदै बुबासँग गयो, उल्टो दुई थप्पड खाइन्थ्यो । ‘भर्खर दिएको पैसा फलानालाई बुझाएर आयो’ भनेर थप गाली खाइन्थ्यो । दिनभर रोएरै बित्थ्यो । पिटाइ खाएकोमा भाइबहिनीको खुसी बढ्थ्यो, तर आफूलाई दशैँ आउनुको सारा खुसी एकाएक टुटेझैं लाग्थ्यो । तर, पनि बाल्यकालको त्यो दशैँजस्तो रमाइलो कुनै दशैँ भएन । दशैँ त बच्चामा आउँथ्यो, अहिले त आँसु मात्रै आउँछन् ।

समय बदलियो । जुँगाका रेखी बसे । अब ठूलो भइयो । घरको व्यवहार बुझ्दा र सोच्दा जुरुक्क उठेर कतै हान्निऊँ र पैसा कमाऊँ भन्ने मन भयो । बुवाका दुःख, आमाको अनुहारका भरिएका अभावका पीडाले ‘जा जा !’ भने । तिनै आमाको माया र बोलीले ‘नजा, नजा !’ भनेर बाटो छेके । आखिर दुःखले जित्यो, प्वाँख पाएको बँचेरोले गुँड छोड्यो ।

राजधानी मायानगरी रहेछ । दिनभरि दुःख ग¥यो, बेलुका ज्याला र साहूको गाली । आमाले पस्केको भात छोडेर हिँडेको सम्झेर परेलीको डिल भत्किन्थ्यो । वर्षभरि कमायो अनि हरेक वर्ष दशैँको नवमीको दिन ट्रकको छतमा बसेर घर गयो । जिम्मेवारी आफूले लिएपछि आफ्ना रहरहरू खै कता छुट्दा रहेछन् । भाइबहिनीलाई नयाँ कपडा, आमालाई मखमलको न्यानो चोली अनि बुवालाई बाक्लो स्वीटर । आमा त्यही चोली लगाएर गोठ र घर, भाइबहिनी नाच्दै पिङमा, बुवा स्वीटर लगाएर खेतमा । आहा ! सबैका आँखामा खुसी देखेर आफ्नो जिउको जाडो त कता पुग्थ्यो कता ।

कमाउन थालेपछि कहिल्यै रित्तो हात घर गइनँ । सबैलाई केही न केही बोकेरै गएँ । ‘दाइ आयो ! दाइ आयो !’ भन्दै बाटोसम्म झोला लिन आउने भाइबहिनीको बोली र आँगनबाट हाँस्दै हेरिरहेकी आमाको अनुहारले घर जानुको आनन्द चौगुना बढाउँथे ।

आमाले सोध्नुभयो, “सबैलाई ल्याइछस्, आफूलाई के किनिस् ?”

मैले भनें, “मेरा त सबै नयाँ छन् आमा, किनिनँ ।”

आमाले किनकिन एकटकले हेरिरहनुभयो । आमा खै के सम्झेर रुनुभयो, तर म फुरुङ्ग भएँ । सोचेँ, आमा ! म सानो हुँदा नयाँ ड्रेसको खल्तीमा चिउरा भरेर पिङमा मच्चिँदा तिमी नि मजस्तै खुसी हुन्थ्यौ है ?

समय सधैं एकैनास रहेन । नेपालमा कमाएर आफू पढ्नसम्म त जसोतसो सकिन्थ्यो तर घर पु¥याउन गाह्रो । आखिर घरमा कमाउने पनि को छ र ? पढ्दै गरेका साना भाइबहिनी, उमेर पाक्दै गरेका बुवाआमा ! बिहे पर्खेका दिदीहरू ! घरको सबै दायित्व आफ्नै टाउकोमा आयो । जीवनभर दुःख गर्दागर्दै बुवा थाकिसक्नुभएको थियो । आमाको अनुहारका हजार चाउरीका रेखा देख्दा लाग्थ्यो, हजार दुःखकी प्रतिमूर्ति मेरै आमा हुन् । मलाई बाबाको बोझ हलुका बनाउने मन भयो । आमाको दुःख बिसाउने चौतारी बनाउन मन लाग्यो ।

यता सोच्छु हुँदैन, उता सोच्छु हुँदैन । आमाले हरेक दिन तुलसीका मठमा जल चढाउँदा एउटै मन्त्र जप्नुहुन्थ्यो, “हे परमेस्सोरी ! मेरा सन्तानले बाटो पाऊन्, चारै दिशा खुला होऊन् इनका लागि !” खै, आमाको प्रार्थना स्वीकार भएजस्तो लागेन । 

अन्त्यमा हजारतिर भौंतारिँदा भौंतारिँदा समाधानको एउटै बाटो निस्क्यो–पासपोर्ट । परराष्ट्र मन्त्रालयले सजिलै पत्यायो । म्यानपावर भन्नु त इन्द्रजाल रहेछ, कुरा जति सुन्यो उति मोहनी लाग्ने । विदेश जाने योजना बनाउन्जेल, सपना देखुन्जेल त खुसी लागेको थियो तर घर छोड्ने बेला मन एकतमासको भयो । मूलढोकामा साना–साना दुइटा तामाका कलश, कलशमा फूल । खै, आमाले कति बेला सिँगारिसक्नु भएछ । बैनीले थालमा टीका बनाइछ । भाइको हातमा दहीको कचौरा । मलाई मन थाम्न निकै गाह्रो भयो । हिँड्ने बेला बुवाले टीका लगाइदिनुभो । मन दह्रो पारेर भन्नुभयो, “मर्दको छोरा ! राम्रोसँग जा, जिन्दगी यस्तै हो ।” आमाले दही खुवाउँदै भन्नुभयो, “सकेसम्म नजा ! यतै केही गरे हुन्न ? तँलाई मैले झैँ पस्केर कसले खान देला ?”

दिदीहरू रोए । भाइ तलसम्म पु¥याउन आयो । बुवाले आँगनबाटै म हिँडेको हेर्नुभयो । मैले फर्केर हेरेँ । आमाले आँखाले देखुन्जेल आँसु बर्साउँदै मलाई हेरिरहनुभएको रहेछ । दिउँसोको घाममा आमाको मखमली चोली टल्केको थियो । मन त्यो बेला कस्तो कस्तो भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । आउने जाने हजारौँ यात्री । कुनै हाँसीहाँसी फोटो खिचाइरहेका, कुनै अँगालो हालेर रोइरहेका । यहाँ पुगेपछि मन निकै भक्कानियो, न आफ्ना रुने साथमा, न फोटो खिचाउने । आँसु त अघि नै कतिखेर झरिसकेछन्, गाला तातो भएपछि थाहा पाएँ ।

अलिकति गुड्यो अनि भुइँ छोडेर जहाज उड्यो । जहाजमा मसँगै मेरा सपना पनि उडे । चार घण्टाको यात्रापछि जहाज ल्यान्ड भयो । एयरपोर्टबाट बाहिर निस्केको के थिएँ, यति धेरै गर्मी, मानौँ म कुनै आगोको कुण्डमा झरेको हुँ ।

गर्मी एकातिर, अर्कोतिर मनमा डरले डेरा जमाइरह्यो । नेपालीबाहेक अरू भाषा बोल्न नजान्नु, हातमा सीप नहुनुु अझ त्यसमाथि दलालले देखाएको झूटो सपना । यो जत्तिको पीडादायी के नै हुँदो रहेछ र ?

केही दिन बिते । दिनहरू सहज बन्दै गए । वातावरणमा घुलमिल हुँदै गइयो । तातो हावा पच्यो । भोक प्यास खप्न सिकेँ । पसिनाले नुहाउन सिकेँ । मन थाम्न जिन्दगीले सिकायो । परदेश बस्दा अरू सबै दुःख एकातिर अनि परिवारबाट टाढा भएको बेला चाडबाड आउँदाको दुःख अर्काेतिर । यही दुःख ठूलो । यही दुःखले पिरोल्ने ।

लाग्छ, बिदेसिएकालाई चाडबाड त कहिल्यै नआओस् !

चाडपर्व एक्लै मनाउनु र चाडपर्वमा एक्लै खाना बनाउनुले साह्रै नराम्ररी दुख्ने रहेछ । कमाएको पैसाले भाइबहिनीको खुसी किन्ने अनुमति त फोनमा दिन्थेँ तर उनीहरूको खुसी अनुभव गर्न नपाउनुले झन् दुःख थपिँदै गयो । दशकभन्दा बढी परदेश बस्दा धेरै कुराको अनुभव भयो । बेलुका कामबाट थाकेर फक्र्यो, हातगोडा भोकले थर्थराउँछन् ! त्यसमाथि आफैं पकाएर खानुपर्ने दैनिकी । थकाइ भन्न नपाइने परिस्थिति ! बिरामी भएर एकदिन काममा नजाँदा दुई दिनको पारिश्रमिक काट्ने कम्पनीका बुचरहरू ! अनि जस्तै परे पनि सहनुको विकल्प के नै छ र ? आफू बिरामी हुँदा ज्याला नपाएको अवस्था । महँगो उपचारले थलिएको कुरा बताउँदा समेत नपत्याउने परिवार ।

‘भत्के बिग्रे सबै साहूले बेहोर्छ अनि कहिले महिना बित्ला र तलब दिउँला भन्दै साहू बसेको हुन्छ’ भनेर सोच्ने घर बस्नेको मानसिकता ! दुःखको के मोल ? आँसुको के भाउ ? परिश्रमको के गिन्ती ?

बेलुका कोठामा गयो । सकीनसकी पकायो । पेट रुच्दो खायो । बँचेको बिहान टिफिनको डब्बामा । बाह्र बजे त्यही चिसो बासी भात खायो । सानो छँदा बिहानको भात घिउमा भुटेर कति मिठो ‘मिठीमाम’ बनाइदिनुहुन्थ्यो आमाले । आज मलाई किनकिन बच्चा हुन मन लाग्यो, मिठीमाम खान मन लाग्यो । यहाँ प्यासमा पानी पिउन धारा र त्यही बासी भात खान छहारी भेटिन्न । थकाइ लागेर कहिलेकाहीँ बढी सुत्यो, उठ्न ढिला हुन्छ । समयमा काममा नपुगे हजार प्रश्न !

कम्पनीले उपलब्ध गराएको पुरानो गाडी । बाटोमा अलिकति गाडीको गति बढायो, क्यामेराले खिचिक्क पार्छ । जरिवाना नतिरी उम्किनै सकिन्न । कुनै महिनामा पैसा छैन भनेर घर खबर गर्छु भन्यो, घरैबाट पैसा किन कम भो भन्ने तयारी प्रश्न । समस्या बतायो, “किन हुइँक्याउनु प¥यो शान देखाएर ? त्यही पनि साहूले तिरिहाल्छ नि !” भन्ने कपोलकल्पित उत्तर ! यही हो परदेशमा किनेको खुसी । घर बस्नेको सोचाइ यस्तो हुन्छ कि मानौं यहाँ सम्पूर्ण कामदारको गल्ती माफ गरेर साहू पैसा बाँड्न बसेको छ । यहाँका हस्पिटल फ्रीमा उपचार गरिदिन्छन् र पैसा घरै पठाउन उत्साहित गर्छन् ।

आफूले कमाउन नसक्ने हुँदाको दशैँको जस्तो खुसी हिजोआज कहिल्यै आएन । आयो त केवल आँसु आयो । सम्झिन्छु, ऐले घर बस्नेको सोचाइको थप्पडभन्दा ऊ बेलाको बुवाको थप्पड धेरै मीठो थियो । जब कमाउने भइयो, त्यसपछि कहिल्यै दशैं आएन । अब त झन् आउने कल्पनै छैन । परदेश आए पनि म उस्तै छु, दुःख उस्तै छ तर घर बस्नेहरू फेरिएछन् । मलाई फेरि बच्चा हुन मन छ, घरै बस्न मन छ, सबैको माया पाउन मन छ ।

छोडेर गैहालौं, समय आफूअनुकूल अल्लि भैसकेको छैन । अझै केही समय गुजार्नै पर्ने बाध्यता छ । अब त बाध्यता पनि रहरमा परिणत भैसके । दिनहरू बोझ होइन, रहरलाग्दा भैरहेका छन् । यसैमा रमाइरहेको छु । आखिर आफ्नो निधारमा पसिना ओभाएको दिन घरको चुलो ओस्सिने पक्का छ । त्यसैले पनि परिवारको खुसीले मलाई श्रम गर्न ऊर्जा दिइरहेको छ । रोएर संसार जितिन्न । श्रमबाहेकको अर्को विकल्प पनि त छैन । यसपालिको दशैं यस्तै भो, अर्को साल त जसरी पनि जान्छु भन्ने अठोट गर्न सक्नु नै समय व्यतीत गर्ने सरल उपाय हो । आखिर यसरी अठोट नगरेको साल पो कैले थियो र ?

जेहोस्, दशैँ दशैँ नै हो । यहाँहरूको दशैँ सभ्य र भव्य नै भयो होला ।

(फुजेराह, यूएई)

तपाईंको मत