ad

साहित्य र कला

मृत्युको मुखमा पुगेको त्यो क्षण

– बलराम पाण्डे 


“पछाडिबाट नघचेट्नूस् न !” भीडमा सबैभन्दा धेरै दोहोरिएको वाक्य थियो यो । यसो नभन्ने छँदै थिएनन् ।

त्यसपछि ‘बचाऊ भगवान’, ‘बचाऊ सिद्धबाबा’, ‘राम राम’ सुनिन थाल्यो ।

ठेलमठेल पैदल यात्रु । माथितिर हेर्दा मुटु काँप्ने अक्करे भीर । झर्न तम्तयार ढुंगा । माथि नियाल्दा पहाडको टुप्पो होइन, नीलो आकाशमात्रै देखिन्थ्यो । साँघुरो सडकमा पैदल यात्रुको चाप, एकले अर्कालाई नचाहेर पनि ठेल्नुपर्ने र बाटो पहिल्याउनुपर्ने बाध्यता । कोही पनि आफ्नो स्थानमा अडिन सकिरहेको थिएन । खुट्टा स्थिर रहे पनि शरीर रहन सक्दैनथ्यो । भीडले धकेलिहाल्थ्यो ।
    
निरन्तर सुुसाइरहेको तिनाउ खोलाले मृत्युको जनाउ दिएझैँ लाग्यो । सुसेली हाल्दै बग्ने तिनाउको नाद पनि मृत्युध्वनि जस्तो पो लाग्यो ।

जति आफ्नो खुट्टाले टेकेको ठाउँ छ, त्योबाहेक न त अघि जाने ठाउँ छ, न पछि फर्किने सम्भावना नै बचेको छ । सम्झँदा पनि मन कहालिएर आउँछ ।

“आजको दिन बसे हुँदैन र बाबु ?” दशैँको भोलिपल्ट बिहानै घरबाट निस्कन लाग्दा जुत्ताको तुना बाँध्ने बेला आमाको मायावी स्वरमा लुटपुटिएको आवाज थियो यो ।

“मिल्दैन आमा, भोलि बिहानै अफिस पुग्नुपर्छ,” आमाको वचनलाई हतारोले काटेँ ।

“आज यहीँ बसेँ बेलुकी काठमाडौँ पुगिँदैन, भोलि बिहान अफिस कसरी भ्याउनु ?” दशैँ नसकिँदै मन काठमाडौँ पुगिसकेको थियो । र, काममा हाजिर भइसकेको थियो ।

साढे २ वर्षकी छोरी एन्जलिका र श्रीमती रमाको साथ स्याङ्जाबाट पाल्पातर्फ प्रस्थान गरिसक्दासम्म पनि पाल्पा–बुटवल सडकखण्डको अवस्थाबारे जानकारीसम्म थिएन ।

बाटो बन्द होस् या नेपाल बन्द, राजनीतिक परिघटना होस् या दुर्घटना, खुसी होस् या दुःख– हामी पत्रकार त्यसको साक्षी बन्नै पर्छ । र, समाचार पस्कनै पर्छ ।

चिनेजानेकाको टेलिफोन बज्नासाथ थप जानकारी दिने बानी पहिलेदेखि नै नभएको पनि होइन । तर, दुई दिनदेखि बन्द रहेको बाटो र अलपत्र अवस्थामा रहेका हजारौंको अवस्थाप्रति म आफैँ बेखबर थिएँ ।

दशैंको बिदा । समाचारबाट टाढै रहेकाले पनि कहाँ के भइरहेको छ भन्नेबारे सामान्य चासोसमेत राखिनँ ।

हुर्किएर यत्रो भएँ, आमाको कुरा कहिल्यै काटेको थिइनँ । घरबाट निस्किएदेखि नै लागेको हो– केही भुलेँ कि ? केही गल्ती गरेँ की ?

तानसेनबाट बुटवलका लागि गाडी चढ्ने बेला फोन बज्यो । फोन उठाउन नपाउँदै बुबाले भन्नुभयो, “सिद्धबाबामा ठूलो पहिरो खसेको छ रे ! एक साता खुल्दैन भनिरहेका छन् । छोरी, बुहारी लिएर घर फर्के बाबु !”

हजारौँ यात्री । टीका लगाउन हिँडेका र लगाएर फर्किएकाको लावालस्कर छ । यस्तो अवस्थामा कसरी सात–सात दिनसम्म बाटो बन्द हुन्छ ? बुबालाई सान्त्वना दिएँ, “कहाँ एक सातासम्म बन्द हुनू ! एकछिनमा खुलिहाल्छ ।”

पानी नपरेकाले सामान्य पहिरो होला, पन्छाइसके होलान् भन्ने लागेर आँटका साथ बुबालाई जवाफ फर्काएको थिएँ ।

तर, पाल्पाबाट बुटवलतर्फ अघि बढिसकेपछि मात्रै थाहा भयो– सिद्धबाबामा निकै ठूलो पहिरो गएको छ । मेरो अनुमान धुलिसात भयो । बसमा अघिपट्टि बस्ने कसैले भन्यो, “हिजो दशैँको दिन बेलुकादेखि नै बाटो बन्द छ । टीका लगाउन हिँडेका यात्रुहरू अलपत्र छन् । हामी पनि जाने कि नजाने भन्ने दोधारमा थियौं, अब त खुल्छ होला भनेर हिँडेका हौं ।”

त्यसपछि मात्रै पहिरो ठूलो खसेझैँ लाग्यो । र, पनि मनले कता–कता भन्थ्यो– यतिबेलासम्म त पन्छाइसके होलान् ।

बुटवल पुग्न १० किलोमिटर अगाडि नै चालकले बसलाई साइड लगाए । बसका सहयोगी यात्रुतर्फ फर्किएर भन्न थाले, “यहाँबाट अघि सबै जाम छ । अब जान सकिँदैन । प्रत्येक यात्रुलाई अब १० रुपैयाँ फिर्ता हुन्छ । यहाँसम्मको मात्रै भाडा लिन्छौँ । हामीले पहिले नै भनेका थियौं, बाटो बन्द रहेछ भने तपाईंहरूलाई बुटवल पु¥याउन सक्दैनौं । बाटो आज खुल्ने छाँट छैन रे ! तपाईंहरू अब यहीँ झर्नुस् ।”

गाडी त्यहीँबाट फर्किने भएपछि सहयोगीले प्रत्येक यात्रुलाई बसभित्रै १० रुपैयाँ कटाएर बाँकी रकम फिर्ता गरे । र, बस पाल्पातर्फ फर्किने तयारी ग¥यो । ३ वटा झोला, साढे २ वर्षकी छोरी च्यापेर बुटवलतर्फ बढ्नुबाहेक हाम्रासामु अर्को विकल्प थिएन ।

जति अघि बढ्थ्यौँ, त्यति बाटोमा अलपत्र यात्रुको भीड बढ्थ्यो । सबैको अनुहारमा धपेडी, हतार र हतास छाएको थियो ।

“भूकम्पका बेला हामी काठमाडौंमा यसैगरी सडकै ढाक्नेगरी बसेका थियौँ, अहिले यहाँ त्यस्तै देखियो,” रमा बेलाबखत दीर्घ सुस्केरा काढ्थिन् र यसो भन्थिन् ।

“हामी रातिदेखि नै यहाँ छौं, बाटो कतिबेला खुल्ने हो थाहा छैन,” बाटोमा भेटिएका गुल्मीका एक व्यक्तिले झन् अत्यास बढाइदिए ।

रोकिने अवस्था थिएन । कहिले झोला, त कहिले छोरी पालैपालो गर्दै हामीले पाइला सोझ्याइरह्यौँ । झुम्सा प्रहरी चौकी पुग्नुअघि नै हामीले तीन ठाउँमा विश्राम लिइसकेका थियौं । सबैजना पैदलै अघि बढिरहेको देखेपछि साहस बढ्दो रहेछ ।

झुम्सा प्रहरी चेकपोस्ट नजिक पुगेपछि प्रहरीले सतर्क गराए र भने, “निकै ठूलो पहिरो  छ । बालबच्चा लिएर नजानुहोला, जे पनि हुनसक्छ !”

चिसो भयो मुटु ।

“पहिरो कत्रो छ, बाटो अप्ठ्यारो छ, बच्चा लिएर त जाँदै नजानुस्,” धेरै यात्रुले हामीलाई यसै भने ।

यात्रु र सवारी छिर्न नसकून् भनेर प्रहरीले बाटोमा तारबार तेस्र्याएको रहेछ । ठिक्क मानिस छिर्ने बनाइएको थियो । त्यसलाई झनै साँघु¥यायो ।

बिहानदेखि पानी र एउटा स्याउबाहेक पेटमा केही परेको थिएन । हामी भोकै थियौँ, क्यै थिएन । भोको पेटले मन हुँडल्न थाल्यो, त्यसमाथि भोकभोकै रहेकी छोरीको अनुहारले झनै मन पिरोल्न थाल्यो । दिउँसो ३ बजिसकेको थियो । भोकको प्रतिविम्ब अनुहारमा पोखिएको थियो । चाउचाउ, पानी, खानेकुरा सबै झुम्साको सानो बजारमा अघिल्लै दिन सकिएको रहेछ । भएका केही पसलमा अत्यधिक महँगो !

बाटोमा जति पनि चिनेजानेका मानिस भेटिन्थे, उनीहरू सबैले आग्रह गर्थे, “हामी दुई दिनदेखि यहीँ अलपत्र छौँ, कसरी छिचोल्नुहोला र यत्रो पहिरो !” उनीहरू विन्ती नै गर्थे, “यहाँबाट अघि नबढ्नुस् ।”

धेरैले पोखराको बाटो हुँदै काठमाडौं जाने विकल्प तेस्र्याइरहेका थिए । कतिले त दशैंको रात सिद्धबाबाको पहिरो कुरेरै बिताए । बुटवलबाट पाल्पा र पाल्पाबाट बुटवल जानेको उंख्या उस्तै थियो– हजारौं ।

उनीहरू पहाडबाट टीका लगाएर तराईमा रहेका आफन्तको हातबाट टीका थाप्ने ध्याउन्नमा थिए ।

करिब ६ घण्टासम्म कहिले यता कहिले उता निरन्तर गरिरहेँ । थकित र मलिन यात्रुबाहेक कोही भेटिँदैनथगे । न त प्रहरीले जवाफ नै दिन सक्थ्यो । न पहिरोसम्म पुगेर हेर्न सकिने अवस्था ! कस्तो आपत् !

दशैं नै मनाउन नपाएर लगातार ड्युटीमा रहेका प्रहरी पनि उभिन सक्ने हालतमा थिएनन् । यात्रुलाई जवाफ दिँदादिँदा मुखै उघार्न नपरेझैँ हुन्थ्यो ठान्थे ।

“कहिले खुल्छ भनेर हामीले पनि भन्न सक्ने अवस्था छैन,” एक प्रहरीको निम्छरो आवाज सुनियो । उनी भन्दै थिए, “माथिबाट ठूलो ढुंगा खसेको छ । त्यो ढुंगा हिजोदेखि नै हटाउन सकिएको छैन । डोजरले पनि जबर्जस्ती गर्न सकेको छैन । अस्तिमात्रै त्यस्तो घटना भयो ।”

केही दिनअघि सोही क्षेत्रमा माथिबाट खसेको ढुंगाले ट्रक र कार पुर्दा ३ जनाको ज्यान गएको थियो । केही घाइते भएका थिए । 

यो अनुभूति लेखिरहँदा बिहीबार दिउँसो पनि सोही पहिरोमा पुरिएर मोटरसाइकलका यात्रु गम्भीर घाइते भएको समाचार सार्वजनिक भएको छ ।

“बुटवल ब्यारेक नै खाली गरेर सुरक्षाकर्मी पनि दशैं मनाउन त गएका छैनन् होला नि !” यात्रु त हुन्– भीडबाट आफ्नो पीडा वाक्यमार्फत पोख्दै थिए, “त्यहाँबाट आएर ब्लास्ट गरेर ढुंगा खोलातिर फालिदिए हुँदैन र ?”

सयौँ जना झुम्साभन्दा तल तिनाउ खोलामा रहेको तुइन तरेर पारिपट्टि जंगलको बाटो हुँदै बुटवल जाँदै गरेका देखिन्थे । कोही बालबच्चासहित सडकमै लम्पसार परेका थिए । कारुणिक दृश्यले मन कटक्क खान्थ्यो । फेरि आफ्नो दुःख सम्झन्थेँ ।

“यो तुइन तरेर जाने हो भने कतिबेरमा बुटवल पुगिएला ?” त्यहाँका एक स्थानीय व्यापारीलाई सोधेँ ।

“तपाईं त्यहाँबाट जान सक्नुहुन्न । त्यो तुइन तर्न नै निकै मुस्किल छ । बच्चा भएको मान्छे त्यहाँबाट जाने कल्पना पनि नगर्नुस् । बरु यहाँबाट फर्किएर घर जाँदा नै फाइदा छ !” अत्तालिँदै फर्कन पो सुझाए उनले ।

४ बजेतिर एक प्रहरीले भने, “पैदलयात्रुका लागि आजै बाटो खोलिदिने तयारी भएको छ । मोटरसाइकलसम्म पार गराउन सकियो भने पनि निकै सहज हुनेछ ।”

अनुहारको सन्नाटा केही उघ्रियो । सास फेर्न पनि सहज भयो भनौँ ।

त्यहाँ दुई दिनदेखि अलपत्र परेका गाडीका चालक झनै आतुर देखिन्थे । “आज गाडी जान सक्दैन र ?” एकजना चालकले सोधे ।

“खोइ, यसै भन्न सकिन्न । प्रयास हुँदैछ । ढुंगा पन्छाउन सकियो भने रातिसम्म भए पनि जान सक्नुहुन्छ,” प्रहरी चालकलाई आश्वस्त पारे ।

त्यसपछि सडकमा रहेका यात्रु बिस्तारै चल्मलाउन थाले । सुस्ताएका यात्रु झोला टिपेर पहिरोतर्फ अघि बढे, धेरैजसो ।

पहिरोको नजिक पुगेका एकजना आफन्तलाई फोनमा सोधेँ, “आज पैदल यात्रुका लागि खुला गर्ने भनिएको रहेछ । सम्भव छ त ?”

“तपाईं भाउजू र छोरीलाई लिएर बिस्तारै अघि बढ्नुस् । अहिले पहिरो काट्न सकिने अवस्था छ । तर, प्रहरीले अझै सहज होस् भनेर अघि बढ्न दिएको छैन । तर, आज बुटवलसम्म हिँडेर जान सकिन्छ होला,” उनले यति भनेपछि मन हलुंगो भयो । अघिदेखिको भोक क्षणभरमै हरायो ।

केहीबेरपछि एकले अर्कालाई, अर्कोले अर्कालाई गर्दै बाटो खुलेको खबर परालको आगोसरि फैलियो । पहिरो पन्छिएको खुसी यात्रुको अनुहारमा पोखियो ।

छोरीलाई काँधमा राखेर र झोला भिरेर हामी पनि पहिरोतर्फ अघि बढ्यौँ । विभिन्न आन्दोलनका क्रममा मात्रै त्यति धेरै मानिस एकैठाउँ देखिएको थियो । त्योबाहेक सामान्य महोत्सव र मेलामा पनि त्यति भीड देखिएको थिएन ।

सडकबाट पाइलो सार्न नमिल्ने घुइँचो । न त अघि बढ्न सकिन्छ, न त पछि नै । ठेलमठेल मान्छे सबैलाई जसरी पनि पहिरो पार गर्नैपर्ने बाध्यता छ ।

भीड हेर्दा लाग्थ्यो– कुनै एउटा देशबाट लखेटिएका शरणार्थी अर्को देशतर्फ प्रस्थान गर्दैछन् ।

सबैका हातमा झोला, बोरा र बालबच्चा मात्रै देखिन्थे । सबै आत्तिएका थिए । उस्तै थकित पनि ।

भीड बिस्तारै पहिरोतर्फ अघि बढ्दै थियो । धेरैजसोका खुट्टामा जुत्ता चप्पल थिएन । हातहातमा लिएका थिए । मैले ३ वटा झोला बोकेँ, रमाले छोरीलाई अँगालोमा बेरिन् ।

बुटवलबाट पाल्पातर्फ जाने केही यात्रु पहिरो छिचोलेर अघि बढेका थिए । उनीहरूको घुँडाभन्दा तल सबै हिलैहिलो थियो । कोही खाली खुट्टा थिए । कोही हातमा चप्पल, जुत्ता लिएर शरीरलाई भीडतिर हुत्याइरहेका थिए ।

पहिरोतर्फ अघि बढ्दा दर्जनौं पटक मैले उनीहरूलाई सोधेँ, “हामी पनि पहिरो तर्न सक्छौं ?”

“सक्नुहुन्छ, सक्नुहुन्छ तर निकै भीड छ । बच्चालाई जोगाउनू,” उनीहरू भन्थे ।

ममात्रै होइन, सयौँ यात्रु मैले जस्तै झोला, बालबच्चा बोकेरै अघि बढिरहेका थिए ।

भीडमा हामी अघि बढ्दै जाँदा को कहाँनेर पुगियो भन्ने पनि भेउ नपाउने अवस्था आयो । माथिबाट सानो ढुंगा झ¥यो मात्रै भने पनि सबै तिनाउको आहारा बन्ने निश्चितप्रायः थियो ।

कथम्कदाचित बाटोबाट तल खसिहालेको भए पनि उद्धारकर्मी पुग्न नै घण्टौं लाग्थ्यो ।

कसैले पहिरो छल्ने, भाग्ने अवस्था थिएन । न त माथि जान सकिन्छ, न त तल नै । सडक पूरै भरिएको छ । बुटवलबाट पाल्पा र पाल्पाबाट बुटवलतर्फ जानेको दोहोरो लस्करले स्थिति झनै भयावह बनाएको थियो ।

नहोस् पनि कसरी !

दशैँको दिन बेलुकाबाट पहिरोमुनि बसेकाहरू हिँडेर भए पनि पहिरो पार गर्न चाहिरहेका थिए ।

बसमा यात्रा गर्दा केही यात्रुले बान्ता गर्नु स्वाभाविकै हो तर त्यो भीडमा मेरो छेवैमा रहेकी एकजना दिदीले निरन्तर बान्ता गरिरहेकी थिइन् ।

सोधेँ, “तपाईं बिरामी हो ?”

“यही भीडले बिरामी बनायो,” उनी आलसतालस थिइन् ।

“तपाईं बिरामी हो भने अघि जानुस्,” बाटो छोडिदिएँ मैले ।

“यस्तोमा कसरी जानु, अब सबै सँगै तरिएला नि,” हामीसँगै जाने इच्छा व्यक्त गरिन् उनले पनि ।

‘पछाडिबाट नघचेट्नू न’, ‘बचाऊ भगवान्’, ‘बचाऊ सिद्धबाबा’, ‘राम राम’, ‘हतार नगर्नू हतार’, ‘बाटो छाड्नू न’ ! धेरैजसो यात्रुका मुखबाट निरन्तर यिनै उद्गार निस्क्रिहेका थिए ।

“यस्तो बेलामा माथिबाट पहिरो खस्यो भने के होला ?” हातमा झोला र बच्चालाई काखमा च्यापेकी एक महिला पहिरोको भित्तोतर्फ फर्किएर कहालिँदै थिइन् ।

“यस्तो बेलामा त्यस्ता कुरा नसोच्नू न,” उनलाई नजिकै रहेकाले जवाफ दिन्थे ।

त्यतिन्जेल भीडले धकेल्दै धकेल्दै पहिरोको मुखैमा पु¥याएको थियो । पछाडि फर्केर हेर्दा मान्छेका टाउका, बोरा, झोला मात्रै देखिन्थे । अगाडि बाटोभरि थुप्रिएका घरजत्रा ढुंगा । माथि टोपी खस्ने पहाड । तल सुसाइरहेको तिनाउ ।

काँध र हातमा झोला समातेर अघि बढ्दै गर्दा मेरो पाखुरामा करिब ८० वर्षका बूढा व्यक्तिले च्याप्प समाएर पहिरो पार गर्न सहयोगको याचना गर्नुभयो ।

“तपाईंलाई बोकेर पार गराऊँ ?” मैले उहाँलाई विनम्रताका साथ सोधेँ ।

आफू दुःखमा परे पनि उनको याचनाले पगाल्यो मलाई ।

“पर्दैन बाबु, मैले बाबुको हात समाएर पार गर्छु,” उहाँको दृढता देखेर उत्साहित भएँ म पनि ।

जब पहिरोको बीचमा पुगियो, त्यसपछि झनै समस्या आइलाग्यो । लगाएको जुत्ता हिलोमै गाडियो । बल लगाएर तानेको हिलोबाट बाहिर खुट्टामात्रै निस्कियो, जुत्ता हिलोमै गड्यो । हात र काँधमा झोला, झोला भएको हातमा समातेका हजुरबुबा । ज्यान रहे पो जुत्ता ! छाडेर अघि बढेँ । जुत्ता निकाल्ने प्रयास पनि गरिनँ । गरेको भए भीडले आफैंलाई कुल्चने अर्को खतरा थियो । 

श्रीमतीको मलिन अनुहार, छोरी, माथिपट्टिबाट खस्न लागेको पहाड, तलतिर सुसाइरहेको खोला र खाली खुट्टा– जिन्दगीको अनौठो र कहालीलाग्दो अनुभूति बन्यो ।

बाटोको कुनामा पहिरोले झारेका ढुंगा र हिलोमा टेकेरै अघि बढियो । 

बल्लतल्ल पहिरो पार गरियो । पहिरो पार होइन, पुनर्जन्मको अनुभूति पो भयो ।

लामो सास फेरेँ । र, भनेँ, “बाँचियो !” 

त्यसबेलासम्म पनि यो पहिरोको रिपोर्टिङ गरौँ जस्तो लागेको थिएन । पहिरो पार गरिसकेपछि लाग्यो, १–२ वटा भए पनि तस्बिर त लिनै प¥यो । 

घुँडामुनिसम्म हिलो, खाली खुट्टा भए पनि गोजीबाट मोबाइल निकालेर पहिरोका केही तस्बिर कैद गरेँ र अघि बढेँ । 


धन्यवाद सांसदज्यू !

पहिरो पार गरेपछि पहाडको बीचबाट झरेको पानीमा सबैजना हिलो पखाल्दै अघि बढिरहेका थिए । त्यहीबेला नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डेले हात समाउँदै भने, “कहाँ जान लागेको बाबु ?”

“बुटवलसम्म,” मैले जवाफ दिनेबित्तिकै उनले आफ्नो गाडीमा बस्न आग्रह गरेहाले ।

ठूलो राहत मिलेझैँ भयो । कपडामा लागेको हिलोसहित खाली खुट्टा गाडीमा बसेर बुटवलसम्म पुगियो । तर, बुटवलबाट पाल्पातिर जानेको भीड अघि देखिएको भन्दा कम थिएन । यतापट्टि पनि दुई दिनदेखि त्यसैगरी बस्नेहरू थिए ।

यो मेरो मात्रै होइन, दसौँ हजारको समस्या थियो । र, आजमात्रै भोगेको होइन, वर्षौंदेखि बेहोर्दै आएको दुःख हो ।

तर, पनि सडकको विकल्प दिन सकेन सरकारले । प्रयास नभएका पनि होइनन् तर त्यसले निरन्तरता पाएन ।

प्रत्येक सरकारका योजना बन्छन्, पाल्पा र रुपन्देहीका उमेदवारका योजना बन्छन् तर सिद्धबाबाले विकल्प दिन सकेन । 

‘सिद्धबाबाले धन्न बचाए’ भन्दै बाटो काट्नुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन । 

खाली खुट्टा बुटवल बजारमा हिँड्दै गर्दा केही दिनअघि आफैंले गरेको ट्विट सम्झिएँ, “सिद्धबाबा पार गरेर कैयौँ व्यक्तिहरू देश बनाउन काठमाडौं छिरे तर त्यही पहिरो बिर्सिए । आज पनि अकालमा तीन जनाले ज्यान गुमाउनुपर्‍यो ।”

तपाईंको मत