site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ना २ ख ४३१७
Sarbottam CementSarbottam Cement

– रजित ओझा


 

ऊ रातका अन्तिम प्रहरमा खुइय सुस्केरा काड्दै भन्छ, "मलाई थाहा छ, म तँलाई माया गर्दिनँ । तर, एउटा प्रश्नले मलाई पिरोल्छ सधैं, तँ मलाई माया गर्छेस् कि गर्दिनस् ?”

Prabhu Bank
Agni Group
NIC Asia

म उत्तर खोज्छु, भेट्दिनँ । अनि जवाफ फर्काउँछु, "मैले माया के हो, कहिल्यै थाहा पाइनँ । मैले त जे गरेँ, मात्र सम्झौता गरेँ !”

सडक विभागले मेरो झ्यालबाट बाहिर देखिने बाटोमा खासै ध्यान दिँदैन । उनीहरूको हजार किलोमिटरमा ती केही मिटरले कति नै महत्त्व राख्लान् र ! तर मेरो त परिधि नै त्यही । बाटो धूले भएको छ । मेरो जीवनमा पनि धूलोले मन छोपिदिएको छ । म मन खोजिरहन्छु, धूलोमात्र फेला पर्छ । तल खोला सुसाउँछ, त्यो सुसेलीले मलाई बोलाएझैँ लाग्छ । मेरा दिनहरू याद दिलाउँछ । पछाडिबाट केटाहरू सुसेली बजाउँथे, खोई के देखेर पो बजाउँथे ! एक मनले रिस उठ्थ्यो, एक मनले गर्व लाग्थ्यो- केही देखेर न बजाउँथे । म पछाडि फर्केर रिसाइदिए जस्तो गर्थेँ । अनि मनमनैँ मुस्कुराउँदै अघि बढ्थेँ । अहिले सोच्छु– समय त्यहीँ अड्किए कति जाती हुन्थ्यो । तर, समयका आफ्नै नियम छन् । अटेर हुनु उसको यथार्थ हो ।

Global Ime bank

मेरो घरको टिनको छानो पानी पर्दा अनवरत कराइरहन्छ । म त्यसलाई सुनेर बस्छु । जब-जब पानी पर्छ, मलाई धुर्वेको याद आउँछ । उसको ना २ ख ४३१७ ग्यासका सिलिन्डर काठमान्डू पुर्‍याउन यही बाटो आउँछ । मलाई हरेक ट्रकमा उही छ जस्तो लाग्छ । पानी परेको रात त झन् उसको याद गहिरिन्छ । तलको खोलाको सुसेली उसका सुस्केरा जस्ता लाग्छन् । सामान्यतया उसको ट्रक हफ्ताको दुईचोटि यो बाटो कुद्छ । मेरो जीवन– लाग्छ– त्यही ट्रकका पांग्राको भरमा रोमाञ्चक यात्रा गरिरहेछ । उसले ट्रकको अघिल्लो भागमा अरु ट्रक ड्राइभरजस्तै नक्कल गरेर कागती र खुर्सानी झुन्ड्याएको छ । कसैको आँखा नलागोस् भनेर गरेको अरे ! मेरा आँखा भने उसैमा लागिरहन्छन् । पछिल्लोचोटि कागती कालो भइसकेको देखेकी थिएँ । त्यसको शक्ति क्षीण हुँदैछ शायद !

धुर्वेले किन्दिएको मोबाइल आज बज्यो । ऊ आज राति आउँछ । मेरो मन फेरि खुशी भयो । छुँदा चल्ने मोबाइलले मेरो औँलामा नै काउकुती लागेजस्तो भएको थियो ।

"कस्तो मोबाइल किन्दिस् हौ, कहिले उठाउन नजान्ने, कहिले काट्न नजान्ने,” मैले मनमनै खुशी हुँदै भनेकी थिएँ ।

"तैँले छोएपछि मोबाइललाई पनि काउकुती लाग्यो होला नि त,” उसले पनि मलाई अँगालोमा बेर्दै भनेको थियो ।

"मलाई मात्रै किन्दिन्छस्, घरमा बूढी, छोरीलाई केही लग्दिन्नस् काठमान्डूको चिनो ?”

मलाई लाग्यो– बेकारमा सोधेँ यो प्रश्न । किन कोट्याइदिएँ उसको स्वास्नीप्रेमलाई- मेरो तातोमा बसेको बेला ! 

उसको माया त ओदाने माया हो, तीनतिर फर्केको ! बेकारमा एउटा खुट्टो अर्कोमा जोडिदिएँ !

उसको मौनता चिच्याएर भन्छ, "म तँलाई माया गर्दिनँ मेरी स्वास्नी जत्ति, मेरी छोरी जत्ति !”

म दोधारमा पर्छु ! के हो त यो ? जब सम्बन्धका नाम हुन्नन्, तब सम्बन्ध जटिल हुन्छ । खोइ केले पो बाँधेको छ हामीलाई ! टाँसिन्छौं, थाकेर छुट्टिन्छौँ ! फेरि टाँसिन्छौं अनवरत !

धेरैजसो ऊ मेरो छेउमै बस्छ । अनि मेरै दोकानमा बेच्न राखेको रक्सीका बोतलहरू खोल्छ ! तातो पानी मिसाउँछ । सुरुप्प पार्छ, मेरै छेउमा ! उसको रक्सीको लतले गर्दा नै हो ऊ मेरो नजिक भएको ! तर पनि मलाई उसले रक्सी खाएको मन पर्दैन । ऊ खराब लतमा नपरोस् भन्ने लाग्छ एक मनले । त्यो मन उसको लागि म राम्रो लत हुँ वा खराब लत भने छुट्याउन मान्दैन ।

"मैले भनेको मान्छस् भने रक्सी छोड्दे,” म उसलाई भनिरहन्छु । 

"तेरै व्यापार चौपट हुन्छ भनेर डर लाग्छ, नत्र त उहिल्यै छोड्दिन्थें,” धुर्वे खिस्स हाँस्छ । अँध्यारोमा सामान्यतया म उसको हाँसेको अनुहार देख्दिनँ । मात्र अनुमान लगाउँछु । जीवन अनुमान लाउँदा लाउँदै बितेको छ मेरो !


० ० ०

"जा नुहाएर आइज, गन्दे मोरो,” सर्ट खोल्नेबित्तिकै पसिनाको गन्ध मैले सहन सकिनँ । गन्जी पनि कालो, रातभर नै निसास्सिएला भन्ने पीर भयो मलाई ! त्यसै त एउटा मात्र कोठा, त्यसमाथि एउटै खाटमा कम्तीमा सात घण्टा !

"कति कराउँदी रछे, तौलिया दे न त,” उसले नाक खुम्च्याउँदै भन्यो । 

अघिल्लोचोटि उसले छोडेको तौलिया मैले सम्हालेर राख्देकी थिएँ । मेरा सम्झना जस्तै पोको पारेर । 

"ला तेरो अस्तिसम्मको पैसा तिरें मैले,” उसले मलाई ३ हजार दिँदै भन्यो !

मैले हिजोमात्र हिसाब गरेकी थिएँ- १९ सय भएको थियो खर्च ! अर्को हजार किन त ? मैले शरीर बेचेकी हैन ! उसलाई चिथोर्न मन लाग्छ कहिलेकाहीँ, जब ऊ मलाई बढी-बढी पैसा दिन्छ । 

"२ हजार पनि पुगेको छैन, यो अर्को हजारको नोट किन ?” म थोरै बटारिएँ । 

"राख् न राख्, तेरो पनि घर खर्च टर्छ !” उसले कपाल कन्याउँदै सधैंजस्तै बहाना बनाइदियो । 

"एक्लो ज्यानलाई के घर भन्छस् !”

"बना न त दुक्लो ज्यान !! बिहे गर, घर बना !” उसले स्टोभमा चुरोट झोस्दै निरस उत्तर फर्कायो ।

मैले उसको अनुहार हेरेँ ! मलाई गिज्याएझैँ लाग्यो । लाग्यो- ऊ मबाट टाढा हुने बहानाहरू खोजिरहन्छ । तर, आफू टाढा हुन भने सक्दैन । म टाढिदिए उसलाई पनि सजिलो हुन्थ्यो जस्तो गर्छ । मलाई चस्स बिझ्छ । म उसको घरबार राम्ररी नै चलोस् भन्ने चाहन्छु । उसकी स्वास्नीसँग मेरो कुनै वैर छैन, उसकी छोरीको फोटो मैले देखेकी छु, चिटिक्क परेकी छे- पुतलीजस्ती । मलाई त्यो सानी छोरीले उसको बाउ अर्कै आइमाईसँग सल्किएको थाहा पाओस् भन्ने पनि छैन । तर, पनि म उसको नाउमा छिद्र खोज्छु । लाग्छ- यात्रा टुंगियोस्, डुबौं हामी दुबै बर्बाद भएर । त्यसरी मात्र भेट्टाउनेछु मैले धुर्वेलाई !

"मेरी बूढी पैसा कम कमाइस् भनेर गनगन गरिरन्छे !” उसलाई खाना खाँदा किनकिन उसकी बूढीको याद आयो । तर, सम्झिँदा पनि गनगन सम्झियो । के प्रतिक्रिया जनाउनुपर्ने हो, खुट्याउन सकिनँ । 

"कमाको मैमा खर्च गर्छस् त, के भनोस् विचरी !!”

ऊ चुप भयो । उसको मौनता खेलाइरहेँ । मेरो लागि खेलौना न हो ऊ, खुशी खोज्ने खेलौना । उसको मौनता पनि ओढूँओढूँ लाग्छ पानी परेको रातमा !

"तँ बुझ्दिनस् कुरा, म तिमीहरू दुबैलाई एकै नजरले हेर्दिनँ !!”

"म तँलाई बुझ्न चाहन्नँ, मसँग भएको बेला बाँड्न पनि चाहन्नँ,” ऊ फेरि मैतिर कोल्टे फर्कियो । रात छिप्पियो, ऊ पोखियो, रित्तियो अनि मलाई अँगालोमा बेरेर निदायो । रातभरि नै म उसका बारेमा सोचिरहेँ । म उठ्नुअघि नै ऊ उठ्यो, आफ्ना लुगा लगायो । 

"चिया खान्छस् ?”

उसले टाउको हल्लायो । म अल्छी गर्दै स्टोभसम्म पुगेर पानी तताएँ । 

"तँलाई मसँग कहिलेकाहीँ त धेरै रिस उठ्दो हो है ?”

"किन रिसाउनु ?”

ऊसँग उत्तर छैन । उसले चिया सुरुप्प पार्‍यो । उत्तरको मौनतामा उसको चियाको आवाज पनि ठूलो सुनियो । 

"अब कहिले आउँछस् ?”

"थाहा छैन !”

"ला तेरो १९ सय !! बूढीलाई साडी किनेर लग्, खुशी हुन्छे,” मैले उसको पैसा उसैलाई फर्काइदिएँ । उसले लिन मानेन । 

"पैसा लाँदैनस् भने फेरि नआइज यहाँ,” म रिसाए जस्तो गरेँ । मेरो कृत्रिम रिसले उसलाई पगाल्यो । उसले हात पसार्‍यो । मैले पैसा थमाइदिएँ । धेरै बेर मेरो अनुहारमा केही खोजिरह्यो । भेट्टायो, भेट्टाएन थाहा छैन । फरक्क फर्कियो । आफ्नो झोला बोक्यो । तौलिया फेरि यहीँ छुट्यो । फेरि आउँछ भन्ने आशाको त्यान्द्रो !!

ट्रक गुड्यो, मनमा अर्को पत्र धूलो जम्यो । ट्रकको पछाडिको 'फेरि भेटौँला' एकचोटि फेरि पढेँ । धुर्वे फेरि पक्कै आउँछ होला !!

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १४, २०७४  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC