site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मतदातालाई कसैको प्रभावमा नपरी उमेदवार छान्न सहज होस् भनेर निर्वाचनभन्दा केही समय पहिलेदेखि नै प्रचारप्रसार बन्द गर्ने अर्थात् मौन अवधि लागु गरिन्छ । तर, नेपालमा भने यही अवधिमा मतदातालाई बढी प्रभावित पार्ने गरी चलखेल हुने गर्छ । विशेषगरी पैसा बाँड्ने र भोज खुवाउनेहरू यस अवधिमा विशेष सक्रिय हुनेगर्छन् । प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनको पनि मौन अवधि सुरु भइसकेको छ । यसैले त्यहाँ चुनाव प्रचारका सबै क्रियाकलाप बन्द हुनुपर्ने हो । तर, अगिल्ला दुई चरणमा भन्दा पनि प्रदेश नम्बर २ मा २०७४ साल असोज २ गते हुनलागेको स्थानीय तहको निर्वाचनमा मौन अवधिमा पनि चुनाव प्रचारको काम बढी नै भएको समाचार आएका छन् । 

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा व्यापक धाँधली भएको गुनासो खासै सुनिएको थिएन । यसैगरी केही बाहुबली र कारोबारीहरूले पार्टीको सदस्यका रूपमा उमेदवारी पाएको भनिए पनि उमेदवारी किनबेच भएको गुनासो उति सुनिएको थिएन । दुर्भाग्य, स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पहिलेका कमजोरी, त्रुटि र विकृति सच्याइनुपर्नेमा झन् बढाइएको देखिएको छ । राजनीतिक कार्यकर्तालाई उपेक्षा गरेर पैसा लगानी गरेकै भरमा सन्देहास्पद चरित्रका व्यापारी र बाहुबलीलाई उमेदवार बनाउन दलहरूबीच होड चलेको छ । अगिल्लो दिनसम्म एउटा पार्टीबाट उमेदवारी माग्ने व्यक्ति भोलिपल्ट अर्कै पार्टीका तर्फबाट उमेदवार बन्न पुगेका समेत उदाहरण देखिएको छ । उमेदवार हुनैका लागि राजनीतिक, आर्थिक र नैतिक मूल्य मिच्न नहिचकिचाउनेहरू निर्वाचित भए भने लगानी उठाउन जे पनि गर्न तम्सने निश्चितै छ । 

अहिले नै जनताले विवेक देखाउन सकेभने राजनीतिक नेतृत्वलाई सरापेर बस्नुपर्ने छैन । बरु, उनीहरूलाई कहिल्यै बिर्सन नसक्ने पाठ पढाउन सकिनेछ । राजनीतिक निष्ठामा रहेका व्यक्तिलाई जनताले छाने भने राजनीतिक कालोबजारीहरूको मनोबल खस्कनेछ । तर, पैसाको प्रभावमा राजनीतिक कारोबारीलाई जिताइयो भने त्यसको परिणाम भयावह हुनसक्छ । कारण, कालोबजारमा उमेदवारी किन्नेले निर्वाचनमा मत पनि पाए भने पार्टीका नेताहरूले पैसावाललाई उमेदवारी बेच्ने बहाना पाउने छन् । व्यापारीको संसद्मा सानो उपस्थितिले त कानुनहरू तिनैको स्वार्थपूरा हुनेगरी बनाउन बाध्य गरेको छ भने संसद्मा उमेदवारी किन्नेहरूको बहुमत भयो भने कस्तो अवस्था होला ? त्यसपछि यिनै कालाबजारीले पार्टी पनि कब्जा गर्नेछन् । स्थानीय सरकारहरू त यसै पनि तिनको नियन्त्रणमा पुग्नेछन् । अहिले प्रदेश नम्बर २ का मतदातासामु आफू विवेकशील भएको प्रमाणित गर्ने चुनौती उत्पन्न भएको छ । आशा गरौँ, जनकपुर, वीरगन्ज, राजविराजजस्ता क्षेत्र पर्ने प्रदेश नम्बर दुईका जनताले गौरवमय अतीत सम्झनामा राखेर लोकतन्त्रको पराजय हुन दिनेछैनन् । यसैगरी गर्वले शिर ठाडो पार्नसक्ने गरी असल राजनीतिक व्यक्तित्वलाई प्रतिनिधि छानेर उमेदवारी नै खरिद गर्ने कारोबारीलाई दुत्कार्नेछन् । अर्थात्, नेपालको राजनीतिलाई थप दूषित हुनबाट जोगाउने छन् । 
  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३१, २०७४  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC