ad

सम्पादकीय

ज्यानमारा धुलोधुवाँबाट त मुक्त गर !

काठमाडौंको हावालाई सास फेर्न हुने बनाउन शासकमा अठोट र इमान चाहिन्छ

कचौराजस्तो काठमाडौं उपत्यकामा धुलो र धुवाँ थुपारेर सास फेर्न पनि नसकिने बनाइएको छ । काठमाडौं उपत्यका केही वर्ष पहिलेसम्म पनि ‘अलकापुरी’ नै थियो । हिउँदमा केही धुलो भए पनि चैतको हुरीले उडाउँथ्यो र वर्षाको पानीले त सबै पखालेर स्वच्छ बनाउँथ्यो । आकाश स्पष्ट देखिन्थ्यो । अहिले भने शरदमा पनि उपत्यकाबाट आकाश देख्न मुस्किल भएको छ । विहान दबदबे हिलो भएको सडकमा दिउँसो बुङ्बुङ्गी धुलो उँड्छ । त्यही धुलोमा सवारी साधनले फालेको धुवाँ मिसिएपछि त्यो मानिसका लागि विष बन्छ । साना नानी, बूढापाका र बिरामीहरूलाई त त्यस्तो धुलोधुवाँ मिसिएको हावा ज्यानमारा विष नै बन्छ । कान्ति बाल अस्पतालमा लागेको बिरामी बालबालिकाको भिड यसैको उदाहरण र प्रमाण हो । यस्तै, समस्या त्यति गम्भीर हुँदा पनि बेवास्ता गरेर सरकार गैरजिम्मेवारी र संवेदनहीन नालायकीको पनि उदाहरण बन्न पुगेको छ । स्थानीय तहको निर्वाचनपछि स्थितिमा सुधार हुने आशा पनि स्थानीय जनप्रतिनिधिको कामकाजबाट तुहिइसकेको छ ।

काठमाडौंको हावा नै विषालु हुन थालेको केही वर्ष भइसक्यो । सरकारलाई यसको सबै जानकारी छ । किन हावा यसरी विषालु हुँदैगएको छ भन्ने पनि थाहा छ । हावालाई विषालु हुन नदिने उपाय पनि थाहा छ । हावा नै विषालु भएपछि त्यसको असर कति भयावह हुन्छ भन्ने पनि थाहा छ । र, काठमाडौंको हावामा ज्यानमारा विषको मात्रा बढाउने सबैभन्दा मुख्य दोषी सरकार आपैmँ हो भन्ने त झन् राम्ररी थाहा छ । किनभने, हावामा मान्छेको स्वास्थ्यका लागि हानिकारक विषालु धुँवा छाड्ने मोटर चलाउन नपाइने कानुन सरकारी र निजी दुवै क्षेत्रले उल्लंघन गरेकाले वायु प्रदूषणको मात्रा विषाक्त हुन पुगेको हो । यसैगरी, धुलो बढाउनुमा त झन् मुख्य दोषी नै सरकार हो । कारण, सरकारकै विभिन्न निकायले खनेर अलपत्र पारेका सडकबाट नै धेरै धुलो हावामा मिसिएकाले हावा थप विषालु भएको हो ।

जनताप्रति उत्तरदायी हुने हो भने सरकारले तत्काल यस समस्यालाई सम्बोधन गर्नुपर्छ । काठमाडौं उपत्यकाबाट धुलो र धुँवा चटक गरेर हटाउन सकिँदैन तर यसले नागरिकको विशेषगरी बालबालिकाको स्वास्थ्यमा पारेको प्रभावको गम्भीरता आत्मसात गर्ने हो भने सरकार थप क्षति हुन नदिन ‘युद्धस्तर’मा केही काम गर्नुपर्छ । सबैभन्दा पहिले धुवाँधुलोबाट बिरामी परेका बालबालिका र बूढापाकाको उपचारका लागि पर्याप्त चिकित्सा व्यवस्था मिलाउनु आवश्यक हुन्छ । सरकारका कारण लागेको रोगबाट कसैको ज्यान जाँदा नैतिकरूपमा सरकार नै त्यसको हत्यारा ठहरिन्छ । साथै, धुवाँ र धुलो कम गर्ने उपाय पनि अपनाउनुपर्छ । सडकमा निर्माण कार्य गर्दा जति बनाउन सकिन्छ त्यतिमात्र भत्काउने कार्यशैली अपनाउने हो भने सडकबाट हुने धुलोको प्रदूषण धेरै हदसम्म नियन्त्रण गर्न सकिनेछ । सुरक्षाकर्मीको ब्यारेकलगायत ठूलो मात्रामा खाना बनाउने र फोहोर पोल्नेहरूलाई सकेसम्म धुँवा नियन्त्रण गर्ने र कुनै वस्तु पोल्नु नै परे धाम चर्केपछि मात्र पोल्ने बानी पार्न सके हावामा मिसिने विषको मात्रा कम हुनेछ ।

स्वच्छताको मापदण्ड पूरा नगर्ने कुनै पनि सवारी साधन चलाउन नदिने हो भने वायु प्रदूषण कम गर्न ठूलो सहयोग पुग्नेछ । दीर्घकालीनरूपमा त स्वच्छ सार्वजनिक सवारी साधनको संख्या बढाएर उपत्यकाबाट सवारीको चाप नै कम गर्नुपर्छ । यसैगरी उपत्यकाका बासिन्दालाई पनि प्रदूषण नगर्ने र त्यसबाट जोगिने उपाय सिकाएर क्षति कम गर्न सकिन्छ । काठमाडौं उपत्यकालाई विषमुक्त गर्न मूलतः शासकमा इच्छाशक्ति र इमानदारी चाहिन्छ । दुर्भाग्य, अहिलेका शासकहरूमा यिनै दुई गुण छैन ।


      

 

तपाईंको मत