ब्लग

‘मायावी' सेनाका ‘डरलाग्दा' सिपाही

आजभन्दा ४४ वर्षजति पहिले 'नाइन्टिन एट्टीफोर’ नामको जर्ज अरवेलको उपन्यास पढ्दा त्यसमा वर्णित समाज यथार्थमै देख्नभोग्न पाइएला भन्ने ठानेको थिइन । त्यसभन्दा पहिले अरवेलकै उपन्यास 'एनिमल फर्म’ पढेको थिएँ । एनिमल फर्मको नेपाली अनुवाद 'चारखुट्टेको घरजम’ अझ स्वादिलो लागेको थियो । शीतयुद्ध चरम अवस्थामा पुगेको थियो । नेपाली कांग्रेस समर्थक कम्युनिस्ट विरोधी हुन्थे । र, एनिमल फर्म कम्युनिस्ट मुलुकहरूको चित्रण हो भन्ने धेरैले ठानेका हुन्थे । अरवेलले समाजवादीहरूलाई नै व्यंग्य गरेर 'नाइन्टिन एट्टीफोर' पनि लेखेका हुन् भन्ने छाप परेको थियो । तर, जे भए पनि व्यक्तिलाई राज्यले त्यसरी कजाउन र नियन्त्रित गर्न सक्छ भन्ने त अनुदार पञ्चायती शासनमा समेत पत्याउन मुस्किल हुन्थ्यो । 'नाइन्टिन एट्टीफोर'ओसिनिया भन्ने काल्पनिक मुलुकको शासन एउटा सर्वसत्तावादी समाजवादी पार्टीले गर्छ र जनतालाई 'सत्य' बताउन नयाँ भाषा न्युस्पिक बनाउँछ । शासकलाई अप्ठेरो पर्ने शब्द नै शब्दकोशबाट हटाइदिन्छ । 

प्रगति गति एक्काइसौं शताब्दीमा जति तीव्र पहिले कहिल्यै भएन । सूचना प्रविधिमा भएको प्रगति त झन् तीव्र गतिमा भएको छ । स्वाभाविकरूपमा प्रविधिको दुरुपयोग पनि उत्तिकै छिटो हुनथालेको छ ।

गत बुधबार फेसबुकले एउटा खुलासा गरेको छ । अमेरिकी गुप्तचर एजेन्सीहरूले शंका गरेजस्तै अमेरिकी चुनावमा रुसी संलग्नता सतहमा देखिँदै आएको छ । रुसमा खोलिएको एकाउन्टबाट हिलारी क्लिन्टन विरोधी अभियान फेसबुकका प्रयोगकर्तालाई लक्षित गरेर चलाइएको रहस्य फेसबुक स्वयंले खोलेको छ । यी खाताहरूको रुसी सरकारसँग सम्बन्ध भए नभएको किटान हुन केही समय लाग्ला तर यस व्यवहारले अमेरिका र अन्यत्र पनि लोकतान्त्रिक मूल्यमा प्रहार भने भएको छ ।

यसका बारेमा 'फेसबुक विन्स, डेमोक्रेसी लसेस’ शीर्षकको लेखमा गत ८ सेप्टेम्बरमा द न्यु योर्क टाइम्समा शिव वैद्यनाथनले विस्तारमा लेखेका छन् । विडम्बना, लोकतान्त्रिक मूल्यमा यस्तो अतिक्रमण फेसबुकमा सहज पहुँचबाट सम्भव भएको छ ।

गएको साता भारतकी पत्रकार गौरी लंकेशको हत्याको समाचारले भारतका मात्र हैन संसारभरकै पत्रकार  क्षुब्ध भए । हत्याको निन्दा पनि संसारभरै भयो । तर, भारतभित्रै केही व्यक्तिले गौरीको हत्यालाई सही भन्दै ट्विट गर्न थाले । गौरीको हत्यापछि एक जनाले त 'कुकुर्नी मारिई र छाउराहरू चिच्याउन थाले’ सम्म लेख्यो । यस्तो छुद्र व्यक्तिलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फलो गरेका रहेछन् । यसपछि मोदीले फलो गरेका व्यक्ति र तिनको प्रवृत्तिमा धेरैको ध्यान गयो । 'ब्लक नरेन्द्मोदी' ह्यासट्यागमा ट्रेन्ड नै चलाए । मोदीले फलो गरेकाहरूमध्ये केहीको  प्रवृत्ति हेर्दा देखियो - घृणा र विद्वेष फैलाउनेहरूको त मायावी सेना नै रहेछ ।

भारतको अनलाइन पत्रिका ’द वायर’ मा स्वाती चतुर्वेदीका नाममा ८ सेप्टेम्बरमा ’जेनरल नरेन्द्र मोदी एन्ड हिज ट्रोल आर्मी’ शीर्षकको लेख नै तयार गरिएको छ । त्यसमा भारतीय जनता पार्टीका नेता तथा कानुन मन्त्री रविशंकरप्रसादले गौरीको हत्याको निन्दा गर्दै ट्विट गरेपछि रिता नामकी ट्विटेले दिएको जवाफले पनि ’ट्रोल आर्मी’को अस्तित्व देखापर्छ । रिताले रविशंकरलाई घुर्की लगाउँदै लेखेकी छन् - हामीले तिमीहरूलाई यति धेरै समर्थन गर्दा पनि हाम्रै निन्दा गर्ने ?

भारतीय जनता पार्टीको वैचारिक नेतृत्व गर्ने राष्ट्रिय स्वयंसेवक संघका सर संघचालक मोहन भागवतले नयाँ दिल्लीस्थित कूटनीतिक समुदायलाई भेटेरै भने रे — यो ट्रोल आर्मीमा हाम्रो विश्वास छैन । 

कुरो चर्कै भएजस्तो छ ।

‘नाइन्टिन एट्टिफोर’ मा वर्णन गरिएजस्तो समाजको अनुभव गरिसकेको रुसबाट यस प्रकारको मायावी प्रचारवाजी थालिएको रहेछ । लुकेर प्रहार गर्नेहरूलाई पुराणमा मायावी भन्ने गरिन्छ । रुसमा यस मायावी सेनालाई  ’वेब ब्रिगेड’ भन्दा रहेछन् । अंग्रेजी सञ्चार माध्यमहरूले ’रस्साज ट्रोल आर्मी’ भन्ने गरेको यस मायावी सेनाको काम इन्टरनेटमा सञ्जालहरूमा पुटिनका पक्षमा जनमत बनाउनु थियो रे । विकीपेडियाका अनुसार यसमा रुसी गुप्तचर एजेन्सीको संलग्नता रहेको अध्ययनहरूबाट पुष्टि भएको थियो ।

बेलाबखत यो मायावी सेना नेपालमा पनि भएजस्तै देखिन्छ । अनुहार लुकाएर आक्रमण गर्नेहरू कुनै विषय विशेषमा निकै सक्रिय देखिन्छन् । कतिपय त अत्यन्त तल्लो स्तरमा ओर्लेर टिप्पणी गर्न तम्सन्छन् । ट्विटरमा डा. बाबुराम भट्टराई र लोकमान सिंह कार्कीको फलोअर र समर्थन पनि जसरी ह्वात्तै बढेको थियो त्यसले शंका उब्जाएको थियो । अहिले दुवै सत्तामा छैनन् र त्यो उनीहरूको मायावी सेना पनि सायद निष्प्राण भएको छ ।

मधेस आन्दोलनको पक्षविपक्षमा, नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको पक्षविपक्षमा बेलाबखत हुने मायावी घोचपेच रोचक त हुन्छ तर सामाजिक सञ्जालको मर्यादा नै समाप्त पनि हुनेगर्छ । कतिपय, अवस्थामा छुद्रताको हद पार गर्नेहरूलाई ब्लक गर्नुपर्ने अवस्थासम्म उत्पन्न हुन्छ । नेपाली कांग्रेस र नेकपा (माओवादीकेन्द्र)का पक्षविपक्षमा पनि टिप्पणी त हुन्छ तर एमालेको जस्तो संगठित देखिँदैन ।  

सामाजिक सञ्जालको प्रयोग यसरी व्यक्तिलाई मूर्ख बनाउन गरिनु चिन्ताको विषय हो । त्यसमाथि संगठितरूपमा कसैमाथि वा कुनै विषयमा एकोहोरो प्रचारवाजी गर्न सामाजिक सञ्जालको प्रयोग हुनथाल्यो भने त्यसको परिणाम निकै भयावह हुनसक्छ । अरवेलका उपन्यासमा वर्णन गरिएजस्तो झुटोलाई सत्य सिद्ध गर्न यस्तो अभ्यास भएको केही लक्षण देखा पर्न पनि थालेको छ । निर्देशित हुन् कि हैनन् किटेर भन्न प्रमाण जुटाउन सकेको छैन तर केही विषयमा ट्विटर र फेसबुकमा हुने टिप्पणी र प्रतिटिप्पणी हेर्ने हो भने उनीहरू संगठित हुन् भन्ने देखिन्छ । एमाले अध्यक्ष केपी ओलीलाई कसैले गाली गर्दा अनुहार लुकाउने र देखाउने दुवैथरी निकै आक्रामक बनेका हुन्छन् । अरूका नेता त्यति धेरै भाग्यमानी देखिँदैनन् । यस्तै संगठित प्रतिक्रिया सेना र प्रहरीका विषयमा गरिएका टिप्पणीमा हुन्छ । लोकमान सिंह कार्कीको पालामा अख्तियारका बारेमा गरिएको टिप्पणीमा पनि यस्तै प्रतिक्रिया हुन्थ्यो ।

जेहोस्, अमेरिकामा डोनाल्ड ट्रम्पलाई चुनाव जिताउन सक्ने ’मायावी सेना’ नेपालको चुनावमा प्रयोग गर्न राजनीतिक दलहरू लोभिए भने आश्चर्य त हुनेछैन तर जनतालाई मूर्ख बनाउन मायावी सेनाको प्रयोग भयो भने लोकतन्त्र चाहिँ संकटमा पर्नेछ ।
आशा गरौँ, नेपालको सामाजिक सञ्जाललाई ’मायावी सेना’ ले कब्जा नगर्ला । भरै पर्न त कसरी सकिएला र ?

तपाईंको मत