ad

ब्लग

काँस मुस्कुराएको याम

रोग, भोक र शोकले अभिशप्त तराई–मधेसमा यतिबेला काँस मुसुक्क मुस्कुराएको छ । ठूल्ठूला खेतका गह्रामा होस् या चुरेको खोँचदेखि भारतको सिमानासम्मको धरामा, सौम्य मुद्रामा काँस पुलकित छ  । 

साउनको अन्तिम साता भीमकाय बाढी आयो । लालबकैया, बागमती, चाँदी, महुली, खाँडो आदि नदीले बाटो बदल्दा सयौँ तराईबासी घरबारविहीन हुन पुगे ।
डुबान, कटान र बगानले दक्षिणी मधेश क्षतविक्षत भयो । १ सय ५० बढीले ज्यान गुमाए । धान रोपिएका कयौं हेक्टर जमिन खण्डहर बगरमा परिणत भए । र, ती उराठयुक्त खेत, खोल्सा र फगटाहरूमा पनि काँस उसैगरी मुस्कुराइरहेको छ ।

०६२–०६३ यता पटकपटकका सङ्घर्षमा डेढ सय मधेसीले ज्यान आहुती दिए । सयौँ अङ्गभङ्ग भए । आन्दोलनका घाइते र सहिद परिवारको अनुहारमा मात्र होइन, अधिकार प्राप्तिको लडाइँमा चरुझैँ होमिएका निम्छरा, निमुखाको अनुहारमा पनि भर्खर फुल्न थालेको काँसको आभा छाएको छ– घुर्मैलो उज्यालो !

जति चुटोस् रौद्र झरीले, जति सुकाओस् चर्को खडेरीले । जति चलोस् तुफान–आँधी, जति सामना गरोस् रोगव्याधी । जति बेहोरोस् त्रास र निष्पट्ट रातको अत्यास । फुल्न बिर्संदैन काँस ।

र त काँसले शिरमा फूल फुलाएर शरदको स्वागत गरिरहेको छ ।

काँस फगत घाँस होइन, यो त मधेसको सभ्यता हो । संस्कृति हो । निर्माण र सिर्जनाको बिम्बसमेत हो काँस । यसकारण कि मधेसमा महिलाहरू काँसको ठाँडबाट बान्कीपूर्ण ढक्की ठड्याउँछन् । कलात्मक चकटी बनाउँछन् र ट्यास्स शरीर बिसाउँछन् । बारादेखि सप्तरीसम्म मात्र होइन, चुरेको फेददेखि भारतको सीमानासम्म काँसका चकटी नभएका घर विरलै भेटिन्छन् ।

फुसले ओताएको घर किन नहोस्, भित्ताभरि सुन्दर बुट्टाहरू मधेस संस्कृतिका बहुआयामिक विम्ब हुन् । मधेसका घर आँगनमा परम्परागत मैथिली जनजीवन, रीतिरिवाज र पौराणिक घटनावृत्तका मिथहरूको चित्रात्मक अभिव्यक्ति पढ्न पाइन्छ । प्रतीकात्मक अवतार र आध्यात्मिक विम्बहरू देख्न पाइन्छ ।

सुन्दर, वान्कीपूर्ण र कलात्मक चित्रहरूले सजिएको निमुखा, निम्छराको घर ओताउने छानो पनि हो काँस । काँसले छाएको घर वर्षौं चुहिँदैन भन्ने विश्वासको छ, मधेसमा ।
घामपानी ओताउने मात्र होइन, काँसको डाँठहरूले बार बनाएर ढुक्कसँग निदाउने परिवार पनि छन् मधेसमा । अतः काँस मधेसको रक्षा कवच पनि हो ।

बारादेखि सप्तरीसम्म राजमार्ग आसपासमा मात्र होइन, उत्तर– दक्षिणका दूर गाउँमा भुवादार काँसहरूको सांगीतिक सुसेली सुन्न पाइन्छ । गीति झङ्कार महसुस गर्न पाइन्छ ।

हावाको वयली र काँसको उजेलीले मधेस शोभायमान छ, यो याम । विम्बमा काँस मधेस हो र मधेस काँस ।

० ० ० 

जब सन्नाटायुक्त तुँवालो उघ्रन्छ, प्रकृति मुसुक्क मुस्कुराउँछ । रुँदारुँदै थाकेको बालक अचानक पुलकित भएजस्तो !

रंगिचंगी ब्यानर । हात जोडेका उमेदवारहरूको थरिथरिका पोष्टर । रुख आकारको बाँसमा फहराइएका चुनाव चिह्न, पार्टीका झन्डा । दुलाहा, दुलहीको पर्खाइमा रहेको मण्डपजस्तो बनेको छ तराई–मधेस । मानौं, मधेस निर्वाचनको सुहागरात मनाउन आतुर छ ।

दुई चरण गरी मुलुकमा स्थानीय तहको निर्वाचन भयो । मधेस बाहिरै रह्यो । पर बसेर हेरिह्यो मात्रै । आन्दोलनरत राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको अडानमा टसको मस नभएपछि मधेसले निर्वाचनको अडेस लाग्न पाएन ।

संविधान संशोधन विधेयक प्रस्ताव सदनमा फेल भएपछि ‘आंशिक सफलता’ मान्दै चुनावी मैदानमा उत्रिएपछि मधेसमा फुलेको काँसको आभा छाएको छ अहिले ।

० ० ०

पछिल्लो समय मधेस संस्कृतिको प्रतीक होइन, गरिबीको बिम्ब बनेको छ । भित्रि बाटो होइन सदरमुकाम जोड्ने बाटोसमेत पिच छैनन्, ग्राभलमै चित्त बुझाउनुपरेको छ । सर्लाहीको नवलपुरदेखि सदरमुकाम मलङ्गवा जोड्ने सडकले पिचको मुख देख्न नपाएको २० वर्ष भएछ ! महोत्तरी सदरमुकाम जलेश्वबाट मलङ्गवा पुग्न त भारतको बाटो प्रयोग गर्नुपर्छ ।

भारतीय सीमा सुरक्षा बलको ज्यादतीदेखि नेपाली सुरक्षाकर्मीको खप्कीसम्म उनीहरूकै पोल्टामा पर्छ । त्यसबाहेक सितामढी नजिकै गाउँमा लाग्ने डाँकाहरूको फेला परियो भने निमेषमै जीवन सकिन्छ । 

शिक्षण संस्था नभएका होइनन् । तर पढाउने भन्दा पनि हाजिर गर्ने र तलब बुझ्नेमात्रै शिक्षक भएकाले मधेसका बालबालिका हातमा कि माछा मार्ने जाल÷बल्छी छ कि भैंसी बाखा धपाउने सिर्कनो । भैंसीका डँडेल्नोमाथि चढेका, टाँगा दौडाइरहेका बालबालिका देशका कर्णधार हुन् भनेर चित्त बुझाउनु परेको छ मधेसले ।

स्वास्थ्य केन्द्रहरूको हविगत उस्तै छ । जीर्ण बोर्ड र दैलोमा झुन्डिएको ताल्चाले स्वास्थ्य केन्दको सुरक्षा गर्न थालेको वर्षौं भइसक्यो । कतै–कतै परिचर भेटिन्छन्  । तर, सरकारले निःशुल्क उपलब्ध गराउने औषधि दिन पनि सेवाग्राहीको बगली नियाल्छन् ।

दुई–चारवटा अस्पताल पनि नभएका होइनन् । तर, ती सबै ‘रेफरल सेन्टर’ हुन् । डेंगु, सर्पदंश, भाइरल प्रक्रोपले मात्र होइन, सामान्य झाडापखालामा नै बिरामीको मृत्युसँग जम्काभेट भइहाल्छ ।

भन्सार नाका । भारतीय सीमावर्ती बजारसँग जोडिएको । पुरानो व्यापारिक केन्द्र । यी सबै हुँदाहुँदै पनि मधेसका आठै जिल्लाको सदमुकाम फोहोर, प्रदूषणको धाम बनेका छन् । त्यसबाहेक नाला, ढलनिकास विहीनता तराई–मधेसको परिचय हो ।

मधेसका स्थानीय तह भ्रष्टाचार र अनियमितको अखडा भयो । २० वर्ष स्थानीय निर्वाचन नहुँदा मधेस घूसखोरीको क्रिडास्थल बन्यो । जग्गा नापीदेखि लालपुर्जा र नागरिकता बनाउँदासम्म कर्मचारीलाई काम गरेबापत ‘चिया खर्च’ बुझाउँदा–बुझाउँदा आजित छन्, मधेसबासी । बिनाकमिसन तराई–मधेसमा विकासको नाममा सिन्को भाँचिन मुस्किलप्रायः छ ।

आँगनमा जमेको पानीभन्दा सडकमा बनेको पोखरी देख्दा मन अत्तालिन्छ मधेसको । थाप्लोमाथिको निर्धनताको भारी भन्दा गरिब जिल्लाबासीको पगरीले असाध्यै पिरोल्छ । छानोबाट चुहिएको पानीले भन्दा पनि शासन सत्ताको उपेक्षा गर्ने र उत्पीडनमा राख्ने बानीले मन कुँड्याएको छ मधेसको ।

० ० ०

स्थानीय भन्छन्– मधेसमा निर्वाचन होइन, जुँगाको लडाइँ हुन्छ । र त, बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म भोजभतेर चल्छ । चुनावको पूर्वसन्ध्यामा विकास निर्माणमा प्रतिवद्धता भन्दा मदिरा, माछामासु बढी चल्तीमा आउँछ । चर्को भाषणका अतिरिक्त गाडीको लर्को लगाउन नसक्ने उमेदवार मतदाताका सामू निरीह हुन्छ । उसका वचनबद्धता फिक्का लाग्छन् । जातजातबीच जुँगाको सिँगौरी चल्छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमात्र होइन, उपभोक्ता समितिको अध्यक्ष बन्न समेत पचासौँ लाख खर्च गर्ने र विजयी हुने होडका कारण मधेसले मुक्तिको स्वास फेर्न कहिल्यै पाएन । र, विनासको गंगा बग्न थाल्यो ।

यसअघि स्थानीय निर्वाचनमा जुन समुदायको उपस्थिति बढी छ, उसैलाई उमेदवार बनाउने र भोट हत्याउने परिपाटीका कारण मुसहर, डोम, दुषादमात्र होइन, त्यहाँ उपल्लो जातसमेत कोपभाजनमा पर्ने अवस्था थियो ।

तर, यसपटक पस्थितिमा फेरबदल आएको छ । पटक–पटकको आन्दोलनले आहत भएको र ६ महिना लामो नाकाबन्दीले मर्माहत बन्न पुगेको मधेसले निर्वाचनमार्फत बौरिने मौका पाएको छ । मुर्झाएको मधेसलाई गुल्जार बनाउन तयार छन् मधेसबासी । किनकी तराईबासीको चेत खुलेको छ । त्यो भन्दा ठूलो मधेसका कुनाकन्दरासम्म पनि काँस फुलेको छ ।

तपाईंको मत