काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युईएफए च्याम्पियन्स लिग फुटबलमा विजय सुरुवात गरेको छ । लिग अन्तर्गत मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई तथा इभार्न याकिटिकले एक गोल गरे । खेलको ४५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने बार्सिलोनाले थप दुई गोल गर्यो । खेलको ५६ औँ मिनेटर्मा याकिटिकले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ६९ औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।
नाउ क्याम्पमा गत बर्षको उपविजेता युभेन्टस घरेलु टोलिविरुद्ध निरिह देखिएको थियो । तर, युभेन्टसले केहि गोलको अवसर भने खेर फालेको थियो । बार्सिलोनाविरुद्ध ७ पटक उत्कृष्ट पोष्ट आक्रमण गरेपनि युभेन्टसले गोल निकाल्न सकेनन् । च्याम्पियन्स लिगको समूह चरणमा युभेन्टसको यो हार सन् २००९ पछिको दोस्रो ठुलो फराकिलो हार हो ।
युभेन्टसमाथिको जितसँगै समूह डीको शिर्ष स्थानको बार्सिलोनाले ३ अंक जोडेको छ । पराजित युभेन्टस अंक बिहिन छ । यो समूहको दोस्रो स्थानमा पोर्चुगलको स्पोर्टीङ सिपि रहेको छ । स्पोर्टीङले मंगलबार राति ओलम्पियाओसलाई ३ – २ ले पराजित गरेको थियो ।