काठमाडौं । शुक्रबारदेखि नेपालमा पहिलो पटक ‘नेपाल यर्न एण्ड टेक्स्टाईल ऐक्स्पो २०१७’ मेला सञ्चालन हुने भएको छ । स्वदेशमा उत्पादन भएको विभिन्न किसिमको धागो र त्यसबाट तयार पारिएको उच्च स्तरीय सामाग्रीहरुको बिक्री तथा जानकारी गराउने उद्देश्यले नोपाल धागो उत्पादन संघले काठमाडौंस्थित भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको हो ।
संघका अध्यक्ष पवन गोल्याणले मेलामा नेपालमा उत्पादित धागोबाट तयार पारिएको उच्चस्तरीय सामाग्रीहरु राखिने बताए । “धागोबाट तयार पारिएको कपडा, होजियरी, सर्टिङ, सुटिङ, निटिङ्ग लगायत वस्तुहरुलाई एउटै छानामुनी राखिनेछ” उनले भने “साथै स्वदेशमै उत्पादन भएको कपडा, होजियरी र निटिङ्ग उद्योगहरुको लागि आवश्यक पर्ने सम्पुर्ण ग्रे तथा रंगिन धागोहरुको मेलामा बिक्री तथा जानकारी गरिनेछ ।”
त्यस्तै मेला अबधिमा आधुनिक प्रविधिका मेशीनरी सामाग्रीहरुको समेत प्रदर्शनी गरिनेछ ।
संघका अध्यक्ष गोल्याणका अनुसार संघको स्थापना २०५३ सालमा भएको हो । संञ्चालनमा रहेका धागो उद्योगहरुमा रिलायन्स स्पिनिङ्ग, त्रिवेणी स्पिनिङ्ग, जय स्पिनिङ्ग तथा जगदम्बा स्पिनिङ्ग प्रमुख रहेका छन् ।
उक्त संघमा आवद्ध विभिन्न उद्योगहरुले हाल पोलिष्टर, भिस्कोस, सुति, एक्रेलिक, मिलान्ज, टेक्सराइज्ड र व्लेण्डेड रंगिन तथा सादा गरि हाल वार्षिक करिब ४० हजार टन धागो उत्पादन गर्दै आइरहेको छ ।
धागो तथा कपडा उद्योगहरुले प्रत्यक्ष अप्रत्यक्ष गरी करीब ५० हजार जनालाई रोजगारी प्रदान गरिरहेको छ । जसमा ३० प्रतिशत महिलाको संख्या रहेको संघको भनाइ छ भने, मेला असोज ३ गते सम्म चल्ने आयोजकले जनाएकोे छ ।