site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
माओवाददेखि सुन तस्करीसम्म
Sarbottam CementSarbottam Cement

स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजीसूचीमा परेको समाचारलाई आजको अन्नपूर्ण पोस्टले महत्त्वका साथ छापेको छ । समाचारमा पौडेलको फोटोसहित उनी र उनका साझेदार रमेश खड्काले गर्दै आएको तस्करीकर्मको विवरण प्रस्तुत छ ।  

सुन्दर खनाललिखित ‘सुन तस्करीमा माओवादी नेता’ शीर्षक उक्त समाचारमा उल्लेख भएअनुसार दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार छन् । सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पौडेलको खोजी गर्दै आएको समाचारमा उल्लेख छ ।

उमेदवारी मनोनयनको केही दिनअघि मात्र टिकट पाएका ४० वर्षीय पौडेल सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

समाचारअनुसार पहिलो संविधानसभा निर्वाचनमा माओवादीबाट सभासद् जितेका एक केन्द्रीय स्तरका नेताको ठाडो पहलमा टिकट पाएका उनी त्यसभन्दा पहिले नेपाली काङ्ग्रेसका सक्रिय कार्यकर्ता थिए । सीआईबीले पौडेलबाहेक राजधानीका एक चर्चित सुन डिलर रमेश खड्काको पनि खोजी गरिरहेको छ । ठँहिटीस्थित पसलबाट कारोबार गर्ने खड्काले पौडेलसँग मिलेर चिनियाँ व्यापारीबाट अवैध सुन भित्र्याउँदै आएको समाचारमा बताइएको छ । समाचारअनुसार उनीहरू दुवैले नेपाल र भारतका बजारमा अवैध सुन वितरण गर्न बलियो सञ्जाल बनाएको प्रहरीले दाबी गरेको छ ।

केही वर्षअघिसम्म रक्तचन्दन तस्करीमा सक्रिय पौडेलले त्यही कमाइलाई सुनतर्फ मोडेर धन्दा चलाएको प्रहरीको दाबी छ ।

Global Ime bank

समाचारमा बताइएअनुसार सीआईबीले पौडेल र खड्कासँगको समन्वयमा नेपालमा सुन तस्करी गर्दै आएका केही चिनियाँ तस्करको समेत पहिचान गरेको छ । उनीहरूको राहदानीको प्रतिलिपिसमेत फेला परेको छ । उनीहरूलाई इन्टरपोललगायत च्यानलको सहयोगमा कारवाहीको दायरामा ल्याउन सीआईबी लागिपरेको समाचारमा उल्लेख छ ।    

तातोपानी नाका नजिकको फुल्पिङकट्टी गाउँ (हाल भोटेकोशी गाउँपालिका ४) का बासिन्दा पौडेलले उक्त नाकाबाट सस्ता चिनियाँ सामान ओसार्ने सामान्य व्यापारीका रूपमा काम सुरु गरेका थिए । उनको व्यापारिक र सम्पत्ति आर्जनलाई जानकारहरूले असामान्य ठान्ने गरेको समाचारमा बताइएको छ । उनी हिमालपार ट्रक तथा कन्टेनर व्यवसायी संघका पूर्वअध्यक्षसमेत हुन् ।

समाचारअनुसार पौडेलले राजधानीको सानो भर्याङ क्षेत्रमा मात्र तीनवटा घर बनाएका छन् । साथै, २२ मेगावाटको अपर चाकु जलविद्युत् परियोजनामा समेत उनको लगानी भएको स्रोतको दाबी छ ।

यो समाचारलाई नागरिकमा केपी ढुंगाना र ध्रुव दंगालले ‘सुन तस्करका नाइके माओवादी नेता’ शीर्षक दिएर लेखेका छन् । समाचारको प्रारम्भमा लेखिएको छ, ‘‘भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि बिदामा बसे । उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्पर्कविहीन भए । २० दिन बिदा लिएर बसेका पौडेलको मोबाइल अहिले स्विच अफ छ ।’’ समाचारअनुसार पौडेल अहिले भारतमा रहेको ब्युरोको निष्कर्ष छ ।    

संसदीय समितिमा समेत खड्का जोगाउने कसरत
 

नेपाल आयल निगमका उच्च अधिकारी र निगम सञ्चालक समितिले अनुचित लाभ लिने उद्देश्य राखी इन्धन भण्डारणका लागि जग्गा खरिद गरेको ठहर गर्दै संसदीय समितिले उनीहरूमाथि प्रचलित कानुनबमोजिम कारवाही गर्नुपर्ने प्रतिवेदन तयार पारेको खबर आजको नागरिकको मुखपृष्ठमा ‘एक अर्ब ६७ करोड घोटाला’ शीर्षक दिई दिलीप पौडेलले तयार पारेका छन् ।

निगमले इन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा जग्गाधनीले पाएको मूल्यभन्दा चार गुनासम्म बढी मूल्य तिरेर निगमलाई अत्यधिक व्ययभार पारेको प्रतिवेदन संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको सोमबारको बैठकले पारित गरेको हो । नागरिकमा सोही समाचारअन्तर्गत ‘खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल’ उपशीर्षकको एक अर्को समाचार छ । उक्त समाचारमा बताइएअनुसार इन्धन भण्डारण गर्ने जग्गा खरिदमा चार गुना महँगो मूल्य तिरेर भ्रष्टाचार भएको निष्कर्ष निकालेको संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति आफैले तयार गरेर पारित गरेको प्रतिवेदनको अवमूल्यन हुने गरी निर्णय गरेको छ ।  

समाचारअनुसार अधिकांश सांसदले घोटालामा संलग्न आरोपितलाई किटान गरेर कारवाहीका लागि सिफारिस गर्न माग गरे पनि केही सांसदको चलखेलका कारण समितिले अस्पष्ट निर्णय गरेको छ । समाचारमा समितिकै एक जना सांसदको प्रतिक्रिया छ, ‘‘अनियमितता भएको ठहर गर्ने माननीयज्यू नै कारवाहीका लागि नाम किटान गर्न डराउनु भयो । किन हच्किनुभयो उहाँले नै जबाफ दिनुहोला ।’’

आयल निगमको घोटालासम्बन्धी नागरिकको समाचारअन्तर्गत ‘श्वेतपत्र जारी गर्न ट्रान्सपरेन्सीको माग’ उपशीर्षकको एक अर्को समाचारमा भ्रष्टाचारविरुद्ध कार्यरत अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आयल निगम जग्गा खरिदमा भएको घोटालाबारे श्वेतपत्र जारी गर्न माग गरेको उल्लेख छ ।

आयल निगम घोटालासम्बन्धी संसदीय समितिको निर्णयलाई आज समीक्षित अधिकांश पत्रिकाले समेटेका छन् ।

हिमालय टाइम्समा लेखनाथ पोखरेलले लेखेको ‘निगमको जग्गा खरिद प्रकरण, व्यापक घोटाला भएको ठहर’ शीर्षक समाचारमा संसदीय समितिले जग्गा खरिद प्रक्रियामा संलग्नलाई कारवाही गर्न निर्देशन दिएको उल्लेख छ । समाचारमा जग्गा खरिद प्रक्रियामा निगमका अधिकारीका साथै तत्कालीन गाविस सचिव, वडा सचिवदेखि विभागीय मन्त्री र मुलुककै कार्यकारी प्रमुखको समेत संलग्नता रहेको समितिकिो निष्कर्ष उल्लेख छ ।   

तस्बिर समीक्षा
 

आज समीक्षित केही पत्रिकाले मात्र मुखपृष्ठमा मुख्य तस्बिर छापेका छन् । कान्तिपुरमा दलहरूको चुनावी तुल ब्यानरले रंगिएको बाराको कलैयास्थित भरतचोकको तस्बिर छ ।

नयाँ पत्रिकामा शीर्ष नेताहरूले कहाँबाट चुनाव लड्ने तयारी गर्दैछन् भन्ने आशयको समाचारसहित विभिन्न पार्टीका शीर्ष नेताहरूको तस्बिर  दिइएको छ ।
अन्नपूर्ण पोस्टमा पल्सर स्पोर्टस अवार्ड समारोहपछि लिइएको सामूहिक तस्बिर मुख्य छ ।

गोरखापत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै गरेको तस्बिर मुख्य छ ।    

सम्पादकीय
 

आज समीक्षित अधिकांश पत्रिकाले पछिल्लो मन्त्रिपरिषद् विस्तारको औचित्यप्रति विमति जनाउँदै सम्पादकीय लेखेका छन् ।

राजधानीले ‘मन्त्रिपरिषद् विस्तार राष्ट्रिय लज्जा’ विषयक सम्पादकीय लेखेको छ । सम्पादकीयको शीर्षकबाटै यसको विषयवस्तुको बोध हुन्छ । हिमालय टाइम्समा ‘लोकतन्त्रको उपहास’ शीर्षक सम्पादकीय छ । सम्पादकीयमा मन्त्रिमण्डलको औचित्यहीन विस्तारको विमर्श गर्दै यसलाई लोकतन्त्रको उपहासका रूपमा उल्लेख गरिएको छ ।

कान्तिपुरमा पनि मन्त्रिपरिषद् विस्तारकै प्रसङ्गमा आधारित रही ‘प्रधानमन्त्रीको गैरजिम्मेवार कार्य’ शीर्षक सम्पादकीय लेखिएको छ ।

नयाँ पत्रिकामा ‘इतिहासकै जम्बो मन्त्रिपरिषद्’ शीर्षक सम्पादकीय छ ।

नागरिकमा ‘रेल एक सपना’ शीर्षक सम्पादकीय छ । सम्पादकीयमा छिमेकीको विकाससँगै आफू पनि अघि बढ्न सकिएन भने दिग्दारीको अवस्था आउने उल्लेखसहित छिमेकी भारत र चीनको तीव्र विकासजस्तै नेपालले गतिको लय नपक्रिँदा जनस्तरमा चिन्ता बढेको प्रसङ्ग उठाइएको छ ।

सम्पादकीयमा बीआरआईअन्तर्गत केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेल्बे प्रसङ्ग अघि बढिसकेको सन्दर्भमा यसको कार्यान्वयनको तयारी भने शून्यप्रायः रहेको उल्लेख छ ।

अन्नपूर्ण पोस्टको ‘सुन तस्करी प्रकरण’ शीर्षक सम्पादकीयमा नेपाल माफिया र तस्करहरूको ‘सुरक्षित भूमि’ बन्दै गएकोप्रति चिन्ता प्रकट गरिएको छ ।
गोरखापत्रले ‘आत्मनिर्भरताको बाटो’ शीर्षक सम्पादकीय लेखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC