site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस र माओवादीलाई देशको माया छैन, त्यसैले विदेशी प्रभु रिझाउँदैछन्
Sarbottam CementSarbottam Cement

नेकपा एमालेका नेता माधवकुमार नेपाल दश दिनदेखि मधेसमा छन् । दुई नम्बर प्रदेशमा पनि पार्टीलाई पहिलो बनाउने अठोटका साथ चुनावी मैदानमा खटिएका नेता नेपालसँग आइतबार एकाबिहानै महोत्तरीको बर्दिबासमा जम्काभेट भयो ।

महोत्तरीमा भेटिएका नेता नेपालसँग चुनावी सरगर्मी, दुई नम्बर प्रदेशको निर्वाचन, उत्तर कोरिया भ्रमणलगायत विषयमा बाह्रखरीका लागि अक्षर काका अशोक पौडेलले गरेको कुराकानी । 

केही दिनयता मधेसमा हुनुहुन्छ, २ नम्बर प्रदेशको माहोल कस्तो पाउनुभएको छ ?
२ नम्बर प्रदेशमा एमालेको पक्षमा जनलहर सिर्जना भएको छ । विगतको निर्वाचनमा भन्दा पनि ठूलो उत्साह छ । म हिजो सिराहा र बारामा गएँ, सात दिन रौतहटमा बसेँ, आज महोत्तरीमा छु । सबैतिर एमालेको पक्षमा आकर्षण पैदा भएको छ । यसबाट के पुष्टि हुन्छ भने एमाले २ नम्बर प्रदेशमा पनि पहिलो पार्टी हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेको विपक्षमा कांग्रेस–माओवादी केन्द्र, कतिपय ठाउँमा राजपा र संघीय समाजवादी फोरमको समेत गठबन्धनको कुरा छ, चुनाव जित्न गाह्रो होला नि ?

तालमेल किन गर्नुपर्यो ? यसकारण कि एमाले बलियो छ । कमजोर पार्टीलाई त हराउने आवश्यकता नै पर्दैन नि ? होइन र ?

Global Ime bank

एमालेको संगठन सुदृढ छ । व्यवस्थित छ । कमजोरहरू बटुलिँदैमा, एक ठाउँमा उभिँदैमा एमाले पराजित हुँदैन ।

एमालेले तालमेलको कुरा पनि उठाएको छ, सम्भावना कत्तिको छ ?
हामी सहकार्य र समन्वयमै विश्वास गर्छौं । हामीले कसैलाई निषेध गर्ने योजना बनाएका छैनौँ । पारस्परिकतामा विश्वास गर्ने पार्टी हो एमाले ।

एमाले संविधान संशोधनको विरुद्वमा उभिएकाले राष्ट्रिय जनता पार्टीले एमाले मधेसमा बढारिन्छ, छिर्न सक्दैन भनिरहेका छन् नि ?
एमालेलाई समस्या हिजो पनि थियो । ०५१ मा कांग्रेसले मलाई मुगुमा ढुंगामुढा गर्यो, ०५६ को निर्वाचनमा रौतहटमा मैमाथि साङ्घातिक हमला भयो । म प्रधानमन्त्रीमा निर्वाचित भएर चितवन आएको बखत तत्कालीन माओवादीले कालोझन्डा देखाउन काम गर्यो । हामीलाई कहिले अवरोध थिएन ? चुनौती नै चुनौतीको सामना गरेर यहाँ आइपुगेको पार्टी हो एमाले । अवरोध गर्ने प्रवृत्ति एउटै छ, पात्रमात्रै फेरिए, हिजो कांग्रेस र माओवादी, आज राजपा छन् । यसले केही फरक पर्दैन । एमाले शक्ति सञ्चय गरेको छ, चिरेर अघि बढ्छ ।

रह्यो कुरा संशोधनको– एमाले किन विरुद्धमा उभियो भन्ने कुरा उपेन्द्र यादवलाई सोध्नुस् । यो संशोधनको कामै छैन भनेर उहाँ भनिरहनुभएको छ ।

कांग्रेस–माओवादी केन्द्रले त देशै संविधान संशोधनको पक्षमा उभिएका बेला एमाले विरुद्धमा गयो, त्यसैबाट एमाले मधेस विरोधी हो भन्ने पुष्टि भएको छ भनेर भन्दैछन् नि !

उहाँहरूले किन भनिराख्नु भएको छ भन्ने कुरा देशले बुझेका छन् । भारतमा गएर प्रधानमन्त्री शेरबहादुर देउवाले के भनेर आउनुभयो, त्यो पनि दुनियाँलाई थाहा छ, यस विषयमा धेरै टिप्पणी नगरौँ ।

कांग्रेस र माओवादीलाई देशको माया छैन, जनताको भावनाको कुरा छैन । लम्पसारवादको मोह छ, विदेशी प्रभु रिझाउँदै हुनुहुन्छ । प्रभु खुसी पार्न ल्याउनुभएको हो संशोधन प्रस्ताव ।

भनेपछि संविधान संशोधन आवश्यकै छैन ?
कसले भन्यो आवश्यक छैन ? अमेरिकामा हेर्नुस्, त्यहाँ पनि संविधान संशोधन चलिरहेको छ । यहाँ पनि हुन्छ । तर, आवश्यकता र औचित्यताका आधारमा । 
हेर्नुस् न, संविधानमा जुन समानुपातिकको प्रवन्ध छ, यसले स्थिर सरकार दिन्छ ? त्यसले पनि संशोधन अपरिहार्य छ । 

मधेसी जनताले अधिकार पाएनौं भनिरहेका छन् नि, विद्रोह पनि भयो, संविधान स्वीकार्न तयार छैनन् ?
मधेसमा अझै ठालूहरूको राज चल्छ । म रौतहटका केही बाढीपीडित क्षेत्रमा गएँ । त्यहाँ चार गाउँ जति मुसहरले केही राहत पाएका रहेनछन् । आएको राहत तिनै ठूलाठालुले लुटलाट पार्दा रहेछन् । मधेसमा अझै जमिनदार छन् । गरिबले जमिनदारका घर हेरे भने पनि गालामा झापड हानुँलाझैँ गर्छन् । आँखा निकाल्दिन्छु भन्छन् ।

मधेसी मोर्चाले अहिले कसका लागि संशोधन गर्न खोजेको हो ? के उनीहरू मुसहरको न्यायको पक्षमा वकालत गर्छन् ? डोम, दुसाध आदिको अधिकारको कुरा गर्छन् ? नागरिकताका कुरा उठाउने उनीहरूले नागरिकताविहीन यहाँका पिछडिएका जाति, जनजातिको कुरा गर्छन् ? गर्दैनन् । एमाले नै हो उनीहरूका कुरा गर्ने ।

कसको उक्साहटमा संविधान संशोधन गर्नुपर्छ भन्दैछन् भन्ने कुरा जनताले राम्रोसँग बुझेका छन् । 
संविधानले कसैलाई विभेदमा पारेको छैन । सबैलाई समान अधिकार दिएको छ । कतिपय देशमा अहिले पनि महिलालाई मतदान गर्न दिइँदैन । हामीकहाँ महिला कहिल्यै मताधिकारबाट बञ्चित हुनुपरेन । अहिले महिला, दलित कसरी उमेदवार बन्नुभएको छ ? कत्रो उत्साह छ, यो हाम्रो संविधानको गौरवको विषय हो ।

तपाईं रौतहटबाटै प्रतिनिधित्व गर्नुहुन्छ, रौतहट देशकै गरिब जिल्ला भनिन्छ, सदरमुकामको अवस्था उस्तै छ, तराईको यो दूरवस्थाको जिम्मेवार तपाईंहरू पनि होइन ?

कसले भन्यो रौतहट देशकै गरिब जिल्ला ? पहिलो होइन, दोस्रो तेस्रोमा पनि पर्दैन, पहाडका जिल्ला पर्छन््, सबै । रौतहट चौथो गरिब जिल्ला हो । तराईका अरु जिल्लासँग तुलना गर्नुहोस् न । सर्लाहीको सदरमुकाममै पिच छैन । कांग्रेसले जनकपुर कुन हालतमा पुर्यायो । अरु जिल्लाको हालत बुझ्नूस् । तर, चन्द्रनिगाहपुर–गौर जोड्ने बाटो हेर्नूहोस्– क्या सानको छ !

तराई–काठमाडौँ जोड्ने द्रूतमार्ग कसले ल्यायो ? निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा कसले अघि सार्यो ? जनकपुरमा विश्वविद्यालय स्थापना गर्ने कुरा, ठाउँ–ठाउँमा नर्सिङ कलेज खोल्ने कुरा, तराईका विभिन्न भू–भागमा विश्वविद्यालय स्थापना गर्ने कुरा कसले अगाडि सार्यो ? सबै विषय छर्लङ्ग छन् । भ्रमका पर्दा उघ्रँदै छन् ।

कांग्रेसका मुख्य नेता तराईमै छन्, माओवादी केन्द्रको हेडक्वाटरै यतै छ, एमाले अध्यक्ष केपी ओली तराई किन आउनुभएन ?
एमालेमा योजनाअनुसार काम हुन्छ । सबै आउनुहुन्छ । चुनाव लागेको छ, नेता नआउने प्रश्नै उठ्दैन । म तराईमै छु । भीम रावल आज आउँदै हुनुहुन्छ । अरु नेताहरू पनि यतै छन् । जसको जिम्मेवारी परेको छ, उहाँहरू मैदानमै हुनहुन्छ । 

म मधेसकै हुँ । रौतहटमा जन्मिएँ, मामाघर पनि तराई नै हो । ममात्र होइन, एमाले नै तराईमा जन्मे, हुर्किएको पार्टी हो । एमालेले तराईलाई उच्च प्राथमिकतामा राखेको छ ।

तथापि पार्टी अध्यक्ष केपी ओलीको कटु वचनका कारण मधेसी रुष्ट छन् भनिन्छ, नि ?
हेर्नुहोस्, तपाई हामीले के बुझ्नुपर्छ भने उहाँको आशय गलत थिएन । उहाँले मधेसका जनताको आत्मसम्मानमा ठेस आउने कुरा कल्पना नै नगरेको कुरा बोल्नुहोला त ? तथ्य बङ्ग्याइयो । एमालेको नीति त्यस्तो छँदैछैन ।

एमाले मधेसमा आउन सजिलो रहेनछ, धनुषामा तपाईंलाई नै अवरोध भयो, केही ठाउँमा एमाले निषेध क्षेत्र तोकिएका छन् ।
त्यसको कुनै तुक छैन । धनुषामा हामी होइन, उनीहरू लखेटिए । मैले आधा घन्टा सानका साथ भाषण गरेँ, जनताको व्यापक उपस्थिति थियो ।

तराईमा एमाले पहिलो पार्टी बन्ने आधारचाहिँ के त ?
एमालेको कार्यशैली, जनताप्रतिको विश्वास नै हो । यसका कार्यकर्ता जोधाहा छन् ।

एमालेभित्रको विवाद टिकट वितरणमा छताछुल्ल भयो, चुनावको परिणाममा यसको असर देखिएला नि ?

हामी चुनावको मैदानमा छौँ । पार्टी एक ढिक्का छ । हामीभित्र कुनै विवाद छैन । एकमना एकताका साथ सूर्यध्वजावाहक उमेदवारलाई जिताउन खटिएका छौँ । अहिले दुई नम्बर प्रदेशको चुनाव हुँदैछ, यहाँका सबै कार्यकर्ता मैदानमा छन् । परिणामतः एमाले दुई नम्बरमा मात्र होइन, मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुन्छ ।

फरक प्रसंग– केही दिनअघि तपाईंले उत्तर कोरियाको भ्रमण गर्नुभयो । भ्रमणका विषयलाई लिएर निकै टिका टिप्पणी भयो, फेरि पार्टीमा छलफल नै नगरी जानुभएको रहेछ नि ?
सबैभन्दा पहिला निम्ता पार्टीलाई होइन, माधव नेपाललाई आएको हो । 
दोस्रो, माधव नेपाल एक्लै गएको होइन, नेपाली सांसद्को प्रतिनिधित्व गर्दै गएको हो ।
मेरो भूमिका नेपालमा मात्रै होइन, विश्वमै शान्ति र सद्भाव फैलाउने हाम्रो उद्देश्य छ । शान्ति र समझदारीको वातावरण बनाउन म त्यहाँ गएको हुँ, कोरिया सरकारको निमन्त्रणामा । मैले त्यहाँ प्रष्ट भनेको छु– उत्तर कोरियाले गर्ने अनुचित कामको हामी विरोधी हौँ । कुनै हालतमा समर्थन गर्दैनौँ । उत्तर कोरिया जानुको अर्थ उसका सबै कुराको समर्थन गरिएको भन्ने त होइन नि ।

पार्टी अध्यक्ष ओलीले पनि ‘उहाँ किन उत्तर कोरिया जानु भयो थाहा छैन,’ भन्नु भयो नि ?
उहाँले भ्रमणका विषयमा पार्टीलाई जानकारी छैन भन्नु भएको हो । पार्टीलाई होइन, निम्ता मलाई आएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC