ब्लग

ठेला गाडीका बाआमा

शुभादेवी सापकोटा

भुसुक्क निदाएकी म झस्याङ्ग भएर ब्युझेँ । चारैतिर उज्यालो छ । लौ ! आज पनि यो अलार्मले धोका दिएछ । बिहानको कक्षा छुट्ने भयो भन्दै जुरुक्क उठेर मुख धोएर लुगा लगाउन थालेँ । एक हातमा पाउरोटी र अर्कोमा चिसो दुध समाएर मुखमा बुझो लगाई कुदेँ । अफिस नजिकै भएकाले म हिँडेर जान्थेँ । त्यस दिन केही सवारी साधन पाइन्छ कि भनेर कुरेँ ।

पर सकीनसकी ठेला गाडी घिसार्दै आएका दम्पती देखिए। करिब ५०-६० वर्षका जस्ता देखिन्थे । त्यो भिरालो बाटोमा ट्रकले गति बढाएर पेल्दै ल्याउने चलन थियो। बूढा ठेला गाडीलाई जति बल लगाएर धकेल्न खोज्छन् ठेलाको पांग्रा उति तेर्सो लाग्छ । बुढी हात लम्काउँछिन् र गाडी घचेट्न सहयोग गर्छिन् ।

"लौन बूढा यता हो के कता लगेका" भन्दै बुढी कराउछिन् ।

बूढा हाँस्दै भन्छन् ”यो ठेलाले भाङ्ग खाएछ कि के हो? यता भन्यो अर्कोतिर लम्कन्छ।"

"म बूढो भएँ सकिन भनन बरु त्यसै... नाच्न नजान्ने आँगन टेढो" बुढी मस्किन्।

मेरो नजिकै आइपुगे -

“नानी फलफूल लाने हो?” । 

मेरो  गाडी आईहाल्यो र मपछि लान्छु है भनेर गाडीमा चडें।

अब मेरो मनमा कुरा खेल्न थाल्यो। पछि त भनिहालें कहाँ भेटिन्छ र अब खै ?

मलाई उनीहरूसँग बसेर कुरा गर्ने मन थियो। यो उमेरमा किन यस्तो दुःख?? 

दिनभर अफिसमा उनीहरूकै मात्र याद आइरह्यो।

त्यही दिन मलाई आँखा हस्पिटल जानुपर्ने भयो । अफिसबाट अलि छिटै निस्किएर हिडेँ । हस्पिटलमा काम सकेर गेटको बाहिरमात्र के निस्केको थिएँ बाटापारि फलफूल बेच्ने ३ वटा ठेला गाडी देखेँ ।

यसो हेरेँ मैले बिहान भेटेको जोडी देखिन । तर। एउटा ठेला गाडी एक्लै उभिएको थियो । त्यसको मालिक देखिन । अलि परबाट एकजना बूढा आउदै गरेको देखेपिछ मन फुरुङ्ग भयो।  बिहान भेटिएकै जोडी रहेछ। अनि बाटो काटेर उतै लागँ र  बूढा ठेला गाडी नजिकै उभिएका थिए भने बुढी त्यहीँ नजिकै चौतारीमा बसेकी थिइन्। 

बुबा ! बिहान मैले फलफूल लिन्छु भनेको थिएँ नि त्यही भएर आएको भन्दै पुगेँ । 

आखा सानो पर्दै मतिर बूढाबुढी दुवैले हेरे। आखा अलि कम देख्छु बा, चिन्नै सकिन भन्दै बूढा मुस्काए।

मेरो बिहान हजुरहरूसँग भेट त भएको थियो तर फलफूल किन्न पाइन । त्यसैले अहिले आएको भनेर कुरा मिलाएँ ।

मलाई समान किन्नुमात्र थिएन। उनीहरूसँग बातचित पनि गर्ने मन थियो । अब कसरी कुरा अगाडि बढाउने भनेर सोच्दै थिएँ उताबाट आवाज आयो ।

"नानी अनि कता हो त काम गर्ने ठाउँ ?" बुढीले सोधिन्

म छक्क परेर चौतारोतिर फर्किएँ ।

"कसरी थाहा पाउनु भयो आमा म काम गर्छु भनेर ?”

"देख्दा सानै छौ, तर, सारी बेरेकी छौ, बिहे गरेजस्तो पनि देखिँदैन  पढाउँछ्यौ किजस्तो लागेर सोधेकी।" 

"हो आमा ! यहीँ नजिकै छ मेरो कलेज।"

मेरो बोल्ने बाटो खुलिहाल्यो।

"अनि आमा हजुरहरूको घर चाहिँ कहाँ हो नि?"

“भोजाड हो बा! के गर्नु सबैले छोडेर गइहाले। हामी दई बूढाबुढीमात्र बाँकी छौँ । आफू काम नगरी खान पाइँदैन के गर्नु ? मलिनो अनुहार बनाएर भनिन्।

“अनि छोराछोरी ?” मैले सोधेँ ।

“सबैको पखेटा उम्य्रो.. रोकेर रोक्न नसकिने रहेछ । उँड्न दिनै पर्यो।“

बूढातिर फर्केर “धन्न यिनको साथ पाएकी छु नत्र के पो हुन्थ्यो?” आँखाको रसाएका कोस हतार हतार बूढाले देख्लान् कि भनेझैँ गरेर पुछिन्।

बूढा स्याउ बेच्दै थिए। पैसा चिन्नै गाह्रोपर्दो रहेछ ओर्काइफर्काई हेर्दै थिए ।

ग्राहक नआएकाले हामीतिर आए ।

"के भन्दै छे यो?"

"छोरीसँग गफ गर्न पाएर मक्ख छ कि के हो ?"

हामी हास्यौँ ।

"अनि आमा कति बरवष हुनुभयो त ?" मैले सोधेँ ।

"यी पुग्छन् यो असोजमा ६२ म यीभन्दा २ बरवष जेठी छु” भन्दै लजाइन् ।

"के गर्नु नानी माया गाढा हुनपर्दो रहेछ उमेर भनेको यस्तै रहेछ।" बूढाले भने

म मुस्कुराएँ ।

“यो अलि भनेको मान्दिन मिठाइ लुकाइलुकाई खान्छे । डाक्टरले चिनी बढेको छ भन्छन् यसो सम्झइदेउ त बा...” बूढा ले मतिर हेरेर बूढीको पोल खोले।
"आमा बुवाले भन्नुभएको त ठीक हो नि । गुलियो कुरा धेरै खानु त भएनन नि ।"

"अब यो मर्ने बेलाँ के मुख बार्नु छ र, जे रुच्छ त्यही खाने हो" हाँस्दै भनिन् ।

उनीहरूको प्रेम देखेर मलाई खुसी लाग्यो । कस्तो माया ! 

लुगा हेर्दा अलि पुरानो देखिन्थ्यो । बुढाको पाएल चप्पल पनि दुई ठाउँमा सिलाएको थियो ।

म उनीहरूलाई नै नियाल्दै थिएँ ।

जस्तै दुख कष्ट परे पनि एकअर्काको साथ छुटेको थिएन । छोराछोरीको कुरा आउँदा बुढी निराश भएको देख्नेबितिक्कै बूढा ठट्टा गरेर हँसाउन सुरु गरिहाल्थे। कुरा गर्दागर्दै साँझ पर्न लागेछ । 

म पनि फलफूल किनेर भोलि भेट्ने अठोट लिएर आफ्नो बाटो लागे।

उनीहरू ठेला गाडी डोर्‍याउँदै बिस्तारै बिस्तारै आफ्नो बाटो लागे   । मेरो मनले भन्यो औँला समातेर हिँड्न सिकाउने बाबुआमालाई अहिले हात समाउने कोही भएन ।

के यही संसारको नियम हो त?

भरतपुरमा कार्यरत स्वास्थ्यकर्मी
 

तपाईंको मत