सम्पादकीय

भ्रष्टाचारविरुद्ध ‘सिन्डिकेट’ !

पत्रकारलाई तिनको धर्म पालन गर्ने स्वतन्त्रता र अवसर दिए भ्रष्टाचार नियन्त्रणमा मिडिया मालिकको सबैभन्दा धेरै योगदान हुनेछ  

संसारको सबै देशमा भ्रष्छाचार हुन्छ । कतै राज्यको नीतिले नै भ्रष्टाचारलाई सघाउ पुग्छ भने कतै व्यक्ति वा समूह विशेषले भ्रष्टाचार गर्छ र राज्यले भ्रष्टाचारीलाई दण्ड दिन्छ । नेपाल सधैँ नै पहिलो कोटीमा रहँदै आएको छ जहाँ राज्यका भ्रष्टाचार नियन्त्रणसम्बन्धी अवयवहरू नै भ्रष्टाचारमा प्रत्यक्ष अप्रत्यक्ष सहयोगी बनेका हुन्छन् । दुर्भाग्य, पत्रकारिता पनि यसको अपवाद बन्नसकेको छैन । नेपालका केही प्रमुख सञ्चार गृहका मालिकहरूको संस्थाले हालै भ्रष्टाचारविरुद्ध संगठितरूपमा मोर्चाबन्दी गर्ने निर्णय गरेको समाचार सार्वजनिक भएको छ । झट्ट सुन्दा वा पढ्दा सकारात्मक लाग्ने यो प्रयासको नियतमा सन्देह गर्नु पनि मनासिब हुँदैन । तर, ’सिन्डिकेट’ बनाएर भ्रष्टाचार रोकिने हैन थपिन्छ भन्ने यहाँ स्मरणीय छ । 

सन् २००० को आरम्भतिर टर्कीमा सञ्चार संस्थाहरूको ’सिन्डिकेट’ भ्रष्टाचार गर्नेमा सबैभन्दा अगाडि देखिएको थियो । प्रकाशकहरूको इसारामा कसैले पक्षमा र कसैले विपक्षमा समाचार लेखेर सरकारी कर्मचारी र व्यापारीहरूलाई दोहन गर्न थालेपछि पत्रपत्रिकाविरुद्ध जनतामा चर्को वितृष्णा जागेको थियो । अहिलेको सत्तारुढ पार्टी (एकेपी) ले भ्रष्टाचारविरुद्ध अभियान थालेको थियो । तर, त्यही पार्टी अहिले भ्रष्टाचारको अगुवा भएको मानिन्छ भने सञ्चार माध्यमहरू ’पाल्तु’ हुन पुगेका छन् । भ्रष्टाचारमात्र हैन सबै प्रकारका अनाचार, अत्याचार र अनियमितताको विरोध गर्नु सञ्चार माध्यमको धर्म नै हो । पत्रकारलाई तिनको धर्म पालना गर्न अवरोधमात्र उत्पन्न नगर्ने हो भने पनि मिडिया मालिकले भ्रष्टाचार उजागर गर्न सबैभन्दा ठूलो योगदान गर्न सक्छन् ।     

सञ्चार माध्यममा पछिल्ला दिनमा आएको नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमिततासम्बन्धी समाचार नेपालको सञ्चार माध्यमको प्रभावकारिताको एउटा कसी बनेको छ । अनियमितताको सप्रमाण समाचार छापिएपछि संसदीय समितिले पनि चाख लिएको छ । सरकारले चासो नलिँदा र अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारको मौन साक्षी बसेजस्तो देखिँदा अनियमिततामा संलग्न भएको आरोप लागेको व्यक्तिमा पत्रिका र पत्रकारविरुद्ध मानहानिको मुद्दा हाल्ने आँट पनि जागेको हो । तर, जनतामा नेपाल आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार भएको सूचना पु¥याएर सबैको खबर दिने र सबैको ’खबर लिने’ धर्म पूरा गर्न सञ्चार माध्यम सफल भएको छ । ढिलोचाँडो आयल निगम जग्गा खरिद काण्डमा पक्कै पनि दोषीले सजाय पाउनेछन् । यसैबाट के स्पष्ट भएको छ भने सञ्चारकर्मीहरूले भ्रष्टाचारविरुद्ध तथ्यसहित समाचार लेखे पुग्छ । मोर्चाबन्दी गरिरहनु पर्दैन । 

मिडिया मालिकहरूलाई भ्रष्टाचारविरुद्ध संगठित हुने स्वतन्त्रता छ तर उनीहरूले पत्रकारिताको आड नलिई व्यक्तिगत हैसियतमा संलग्न हुनुपर्छ । आफ्नो पत्रिकामा काम गर्ने पत्रकारलाई कुनै व्यक्ति विशेषका विपक्षमा लेख्ने वा नलेख्ने स्वतन्त्रता दिए अर्थात् पत्रकारिताको धर्म पालना गर्न दिए भ्रष्टाचार रोक्न ठूलो सहयोग पुग्छ । यस्तै, समाचारमा ’ब्ल्याकमेल’ गर्ने वा आचारसंहिता मिच्ने, अनैतिक आचरण गर्ने पत्रकारलाई आफ्नो संस्थाबाट हटाएर पनि प्रकाशकहरूले भ्रष्टाचारविरुद्ध प्रतिबद्धता प्रकट गर्न सक्छन् । ठूला विज्ञापन दाताका समाचार लुकाउनु पर्ने बाध्यतामा सम्पादकलाई घचेटेर भ्रष्टाचारविरुद्ध संगठित हुँदा भने कतै यो पनि भ्रष्टाचारको सागरमा डुबुल्की मार्ने तयारी त हैन भन्ने सन्देह जगाउँछ । यसै पनि एकाधिकार अर्थात् ’सिन्डिकेट’ सिद्धान्ततः भ्रष्टाचार बढाउने प्रमुख कारकमध्ये मानिन्छ । मिडियाका मालिकले कुनै दलको नेताका इसारामा सम्पादक नियुक्त गर्ने वा अखबारलाई सिँडी बनाएर संसद्मा पुग्ने अभ्यास गरुन्जेल भ्रष्टाचारको विरोध गर्दा हास्यास्पद लाग्छ । पत्रकारलाई तिनको धर्म पालन गर्ने स्वतन्त्रता र अवसर दिएमा भ्रष्टाचार नियन्त्रणमा मिडियाले गर्नसक्ने धेरै योगदान स्वतः पुग्नेछ । 
 

तपाईंको मत