site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
९५ प्रतिशत अरबी कवि फोहोर हुन्
Sarbottam CementSarbottam Cement

अदोनिस
(सिरियाली कवि)

सिरियाली कवि अदोनिसको नाम नसुन्ने कमै होलान् । पेरिसमा निर्वासन जीवन बिताइरहेका अदोनिसले अरबी गद्य कविताको सुरुवात गरे । उनी २०१६ को नोबेल साहित्य पुरस्कारका लागि प्रवल दाबेदार मानिएका थिए ।

सन् २०११ यता सिरियामा चलिरहेको युद्धलाई लिएर अदोनिस विवादमा आइरहेका छन् । २०११ को सुरुतिर सिरियामा आन्दोलन चर्किएपछि अरबियन बौद्धिक जमात चाहन्थ्यो– अदोनिसले युद्धको आलोचना गरून् । उनी उचाइमा पुगेका कविको हैसियतमा मात्रै होइन, सिरियाली राष्ट्रपति बसर अल आसादकै समुदायका भएकाले पनि धेरैले अदोनिस बोल्नुपर्छ भन्ने मान्यता राखेका थिए । २०१६ कै जुनमा अदोनिसले आसादलाई प्रजातान्त्रिक सरकारको माग गर्दै एउटा खुला पत्र लेखे । त्यतिबेलासम्म आसाद सरकारले १४ सयभन्दा बढी नागरिकको हत्या गरिसकेको थियो । धेरैले अदोनिस ढिलो बोलेको र देखावटी आलोचना गरेको टिप्पणी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

यसै विषयमा केन्द्रित रहेर ८७ वर्षीय अदोनिससँग ‘न्युयोर्क रिभ्यु अफ बुक्स’का जोनाथन गुयरले लिएको अन्तर्वार्ता :

सिरियामा युद्ध सुरु हुँदै गर्दा तपाईंले राष्ट्रपति बसर अल आसादलाई एउटा खुला पत्र लेख्नुभएको थियो । अहिले उनलाई तपाईं के भन्नुहुन्छ ?

Global Ime bank

– केही पनि सुधार भएको छैन । समस्या झनझन चर्किंदै छ । ४० देशको गठबन्धनले दुई वर्षसम्म आईएसआईएसविरुद्ध किन केही पनि गर्न सक्दैन ? जबसम्म धर्म र राज्यलाई अलग गरिँदैन, तबसम्म केही पनि हुनेवाला छैन । जबसम्म हामी के धार्मिक हो, के राजनीतिक हो, के सांस्कृतिक हो र के सामाजिक हो भन्ने कुरा छुट्याउँदैनौं, तबसम्म केही पनि हुँदैन । अरबको अवस्था झनझन जटिल हुँदै जानेछ । अब धर्म समस्याको समाधानका रूपमा रहेन । धर्म नै समस्याको जड हो । त्यसैले हामीले राजनीति र धर्मलाई अलग गर्नुपर्छ । सबै स्वतन्त्र मानिसको विश्वासलाई हामीले सम्मान गर्नैपर्छ । तर, समाजको आधारका रूपमा धर्म ? हुँदै हुँदैन ।

 

पछिल्लो समय तपाईं कहिले सिरिया जानुभएको थियो ?

– २०१० मा ।

 

युद्धभन्दा अघिको वातावरण बताउन सक्नुहुन्छ ?

– मलाई थाहा छैन । मैले पनि तपाईंले जस्तै समाचारबाटै थाहा पाएको हुँ । मलाई थाहा छ– सिरिया ध्वस्त भएको छ । तर, केका लागि ? के प्रोजेक्टका लागि ? हेर्नुस्, क्रान्तिकारीले त आफ्नो देश पो बचाउनुपर्छ । सत्ताविरुद्ध लडे पनि संस्था त बचाउनुपर्छ नि । मैले सुनें– अलेप्पोको बजार पूरै ध्वस्त भयो । यो सम्पत्तिजस्तो अर्को के हुन्छ, कसरी तिनीहरूले यसलाई ध्वस्त गर्न सके ? क्रान्तिकारीहरूले संग्रहालय लुट्दैनन् । क्रान्तिकारीहरूले क्रिस्चियन, अलावाइत भएकै भरमा मान्छे पनि मार्दैनन् । क्रान्तिकारीले याजिदिसजस्ता पूरै समुदायलाई लखेट्दैनन् । के यही हो क्रान्ति ? किन पश्चिमले यस्तो चिजलाई समर्थन गर्दैछ ?

सिरिया द्वन्द्वको बारेमा तपाईंको दृष्टिकोण अरबमा आलोचित भएको छ नि !

– तपाईंलाई थाहा छ, धैरै अरबियनले क्रान्तिकारीहरूबाट नियुक्ति पाएका छन् । तिनीहरूले सधैँ मेरो आलोचना गर्छन् । तिनीहरूले म क्रान्तिको पक्षमा नभएको आरोप लगाउँछन्, त्यस्तो क्रान्ति– जसले संग्राहलय ध्वस्त पार्छ ।

क्रान्ति के हो ? अनि को छन् त यसमा ?

– त्यो यसै हो भन्न सकिँदैन । एउटा लेखक कहिल्यै पनि नरसंहारको पक्षमा उभिन सक्दैन । तपाईंलाई थाहै छ, यो सम्भव हुने कुरा होइन । एउटा कवि वा पेन्टर कसरी विष्फोटक पदार्थको बेल्ट बाँधेर विद्यालयमा गएर आफैंलाई र विद्यालयलाई उडाउने व्यक्तिकै पक्षमा उभिन सक्छ ? कसरी सक्छ ? तिनीहरू अबोध बालक हुन् । कसरी तपाईं तिनीहरूलाई मार्न सक्नुहुन्छ ? यो कल्पनै गर्न नसकिने, अमानवीय र दानवी कार्य हो । यदि सरकार तानाशाही छ भने सरकारसँग लड न । बालबालिका र विद्यालयसँग किन लड्छौ ? देशलाई ध्वस्त नबनाऊ न । निर्दोष नागरिकको हत्या नगर न । सत्तासँगै लड । यो त आत्मसम्मानमा ठेस आउने काम हो । यस्तो समाजसँग जोडिनु पनि लज्जित विषय हो । यस्तो त मैलै इतिहासमा कहिल्यै देखेकै थिइन, पूरै देश ध्वस्त बनाउने यमनजस्तो, एउटा सन्की र मुर्ख राष्ट्रपतिलाई सबै सुम्पने । तपाईं देख्नुहुन्छ नि मानिसहरू यसैलाई समर्थन गरिरहेका छन् । तिनीहरूसँग कसरी लड्न सक्नुहुन्छ ? उनीहरूको पक्षमा नभएर तपाईंको आलोचना भएको होइन, तपाईं तिनीहरूजस्तै राक्षस बन्नुपर्छ । 

जिहादीजस्तै...?

– जिहादी मात्रै होइन किनकि जिहादी पनि नागरिककै एउटा समूह हो । जो मान्छे यो चाहँदैनन्, उनीहरूले सार्वजनिक रूपमै यसको निन्दा गर्नुपर्छ । यसका विरुद्ध कतै एउटा आधिकारिक धारणा पढ्नुभएको छ ? व्यक्तिगत रूपमा हामी जे भनिरहेका छौं, त्यस्तै भन्ने केही व्यक्ति भने छन् । तर, तपाईंले पढ्नुभएको होला अरब देशका आधिकारिक धारणा । ठूला राजनीतिक दलदेखि ठूला समूहको धारणा । त्यहाँ एक प्रकारको स्वीकार्यता देखिन्छ । धैर्य हुनु भनेको पनि एक प्रकारको स्वीकार्यता त हो । अरबमा भइरहेका घटनाप्रति एउटा पनि विरोध प्रदर्शन त्यहाँ देखिँदैन । यसको अर्थ के हो ? तिनीहरूले मान्छे मार्छन्, महिलालाई बजारमा बेच्छन् । तिनीहरूले संग्रहालय खरानी बनाउँछन्, जुन मानिसको ठूलो सफलता थियो । तर, पनि त्यसविरुद्ध एउटा वक्तव्य जारी हुँदैन, एउटा पनि विरोध प्रदर्शन हुँदैन ।

तपाईंको नयाँ पुस्तक ‘भायोलेन्स एट इस्लाम’मा आईएसआईएसले इस्लामको अन्त्य गर्ने भन्नुभएको छ । इस्लामको नयाँ सुरुवात हुने देख्नुभएको छ ?

– हामीमा आशाको दियो निभ्नु हुँदैन । के हुन्छ र ? यदि मानव सभ्यता र मानवता सकियो भने संसार पनि सकिन्छ । त्यहाँ म जस्ता व्यक्तिगत रुपमा आवाज उठाउने धेरै छ् । इजिप्टलगायतका देशमा मैलेजस्तै भन्नेहरू धेरै छन् । त्यसैले पनि हामीमा आत्मविश्वास हुनु आवश्यक छ कि हामीले समाधानको उचित उपाय भेट्टाउनेछौं । तर कहिले र कहाँ भन्ने कुराको तय समयले गर्नेछ । परम्परागत सोच र मान्यता राख्ने अरबमा यो कुरा चाँडै होला भन्न त सकिन्न । आईएसआईएस भनेको निभ्न लागेको मैनबत्ती जस्तै हो, जुन निभ्न लाग्दा बेस्सरी बल्छ । त्यस्तै हो आईएसआईएस पनि, सकिने बेलामा जोडले चिच्याइरहेका छन् ।

पुनर्जागरणका लागि समय लाग्छ । पन्ध्रौं शताब्दीमा पहिलो इस्लामिक स्टेट बनेको थियो । त्यति बेलादेखि नै हाम्रो समाज नागरिकको समाज हुन सकेको छैन । नागरिकका कर्तव्य र अधिकारहरू सँगै आउँछन् । अरब समाज त केही व्यक्तिहरूले चलाएका छन्, जहाँ कर्तव्य उस्तै भए पनि अधिकार फरक–फरक हुन्छन् । उदाहरणका लागि मुस्लिमले जे अधिकार पाएको हुन्छ, त्यो क्रिश्चियनले पाएको हुँदैन । पन्ध्र वटा शताब्दी पार गरेर यो अवस्था आएको हो । कसरी हामी एक–दुई हप्तामा पन्ध्र शताब्दीमा बिग्रेका कुरा सच्चाउन सक्छौं ? मलाई विश्वास छ– त्यस्तो समय आउनेछ । अहिलेको भन्दा बिल्कुलै भिन्न परिस्थितिमा ।

परिवर्तनका लागि पश्चिमसँग नयाँ शिराको सम्बन्ध हुनु जरुरी छ ? मैले तपाईंको कवितामा पढेको थिएँ, जहाँ आइफेल टावर भूमध्यसागरमा तैरिरहेको थियो, जहाँ अबु नवास र भिक्टर ह्युगोको वार्तालाप थियो । अरब र पश्चिमको पुलको रूपमा ...

– पूर्व र पश्चिम भन्ने कुरा सैन्य अवधारण हो । यो उपनिवेशवादले जन्माएको कुरा पनि हो । हामी भौगोलिक रूपमा पश्चिम र पूर्व भन्न सक्छौं । अर्थशास्त्र र उपनिवेशवादले यसको फाइदा उठायो । तर, कलामा पूर्व र पश्चिम भन्ने कुरा छैन । तपाईंले पल क्लीको पेन्टिङ हेर्नू न, उनी ट्युनिसिया र पूर्वी अरबबाट कति प्रभावित भएका छन् । डेलाक्रोइक्सकै पेन्टिङ पनि त मोरक्कोबाट प्रभावित भएको देख्नुहुन्छ । ‘रिम्बाउड’ पढ्नुस् न, उनी पश्चिममा जन्मिए पनि उनी पश्चिमी नभएको देख्न पाइन्छ । जब तपाईं अबु नवास र अबु अल मारीलाई पढ्नुहुन्छ, तपाईंले पूर्वी र पश्चिमी भनेर छुट्याउनुहुन्न । सर्जकहरू एउटै संसारका हुन्– चाहे उनीहरू जहाँ जन्मिएका हुन् । उनीहरू कुनै भौगोलिकतामा नबाँधिइकन एकै ठाउँमा बस्छन् । उनीहरूलाई कुनै भाषा र राष्ट्रियताले अलग गर्दैन किनकि उनीहरूलाई मानिसको सिर्जजशील संसारले एउटै सूत्रमा बाँध्ने काम गर्छ । यो अर्थमा पूर्व र पश्चिम भन्ने कुरा नै छैन । मेरा लागि वाल्ट ह्विटम्यान अबु तम्मामजस्तै हुन् । उनी मेरा हुन् अनि म उनको हुँ ।

तर पश्चिमले एक किसिमको विकसित समाज विकास गरेको छ, जुन अरबमा देखिँदैन !

– युरोपले जुन समस्या भोगिरहेको छ नि, त्यो नयाँ समाजको विकासले नै निम्त्याएको हो । मध्य युगको युरोप पनि धर्म र चर्चले नै चलेको थियो । त्यतिबेलाका चर्च अहिलेका जिहादीहरूजस्तै थिए । उनीहरूले मान्छे मार्ने र जलाउने गर्थे । पश्चिमी समाजले आफूलाई यस्तो कुराबाट अलग गराउन सफल भयो । त्यहाँ त्यस्तो कारण छैन कि यिनै कुराबाट अलग हुन चाहेको अरबलाई रोक्ने । हामी यसैका लगि त संघर्ष गरिरहेका छौं ।

सत्ता र धर्मलाई उचित ढंगबाट कसरी अलग गर्न सकिन्छ त ?

– फेरि सुरुवातबाटै सुरु गर्ने । यसमा संघर्ष आवश्यक छ । यसलाई तपाईंले बसेर गर्न सक्ने कुरै होइन । तपाईं उठ्नुपर्छ र लड्नुपर्छ, लेख्नुहोस् र जेल जानुहोस् । मलाई अचम्म लाग्छ– किन अरबका जेलहरू लेखकले भरिएका हुँदैनन् ? यसको अर्थ उनीहरूले काम गरिरहेका छैनन् । उनीहरू आलोचना गरिरहेका छैनन् । उनीहरूले जीवनको मूल मुद्दामा बोल्दै बोलेका छैनन् । वास्तविक समस्याका बारेमा उनीहरूको आवाज उठेकै छैन । मेरो आलोचना लेखकहरूप्रति हो, राज्यप्रति होइन । लेखकहरू सधैँ जेलमा हुनुपर्छ, जसको अर्थ उनीहरू सत्य बोलिरहेका छन् । जेलबाट बाहिर निस्कनु भनेको उनीहरू सत्य बोलिरहेका छैनन् । जतिबेला उनीहरूका धेरैभन्दा धेरै पुस्तकमाथि प्रतिबन्ध लाग्छ, तब मात्रै त्यो संस्कृतिको भूमिकाको चर्चा हुन्छ । 

 

सिरिया युद्ध चलिरहेकै समयमा कविता लेख्नु कस्तो कुरा हो ? 

– तपाईं कवितालाई बमसँग तुलना गर्न सक्नुहुन्न । यस्तो तुलना गर्नु गलत हो । एउटा निच गोलीले सत्ता परिवर्तन हुन सक्छ, महान व्यक्तिलाई मार्न सक्छ, उदाहरणका लागि केनेडी । तर तपाईं यस्तो तुलना गर्नै सक्नुहुन्न । कविता बनाउनु भनेको हावा बनाउनुजस्तै हो । अत्तर बनाउनुजस्तै हो अनि श्वास लिनुजस्तै हो । यसलाई भौतिक मापदण्डबाट निर्धारण गर्न सकिँदैन । त्यसैले कविताले जहिले पनि युद्धको घृणा र तिरस्कार गरेको हुन्छ । तर, जब युद्ध सकिन्छ, कविताले युद्धमा ज्यान गुमाएकाप्रति सहानुभूति राख्न सक्छ । त्यसपछि कसैले लेख्न सक्छ तर यो युद्धको भाग भने कदापी हुन सक्दैन । 

आईएसआईएस र ओसामा बिन लादेनले पनि कविता लेखेको कुरालाई कसरी हेर्ने ?

– यो कविता होइन । यसलाई कविताका रूपमा हेरिनु हुँदैन । कविता त सामाजिक कुरा हो । जब संस्कृतिको जीवनको एउटा पाटोको रूपमा हुन्छ, तब सबै कवि हो, सबै उपन्यासकार हो । अहिले तपाईंसँग हजारौं उपन्यासकार छन् । तर तपाईंले तीमध्ये कुनै पाँचलाई पढ्नयोग्य पाउनुभयो भने तपाईं ठीक ठाउँमा हुनुहुन्छ । अमेरिकामा तपाईंले हजारौं उपन्यास पाउनुहुनेछ, मुश्किलले चार–पाँच वटा राम्रा पाउनुहुन्छ, अरु सबै फोहोर हुन् । त्यस्तै हो अरबमा पनि । सबै अरबी कवि हुन् तर ९५ प्रतिशतचाहिँ फोहोर ।

 

तपाईंले हालसालै इमिग्रेसनलाई अरब संस्कृतिको पाटो हो भनेर लेख्नुभएको थियो । अहिले हामी युरोप र मध्यपूर्वमा बसाइसराइकै समस्या भोगिरहेका छौं । यसबारे केही भन्नुहुन्छ कि ?

– मैले जहिले पनि बसाइसराइ दुई कारणले भएको देख्छु । एउटा– स्वतन्त्रताको अभावले, अर्को– काम नहुनाले । त्यसैले मानिसहरू स्वतन्त्र ठाउँ र काम पाइने ठाउँको खोजीमा हुन्छन् । अरब देशहरू गरिब पनि छन् । २ सय वर्षसम्म एउटा राम्रो विश्वविद्यालय स्थापना गर्न सकेन । स्रोतहरू हुँदाहुँदै पनि हामी बेकारका हतियारमा खर्च गरिरहेका छौं । हामी हतियार किन्छौं, हामी विमान किन्छौं । हामी परम्परागत नै छौं । हामी अझै मध्य युगमै छौं । तपाईं मलाई आधुनिक समयको प्रश्न गर्दै हुनुहुन्छ । कायरोमा विदेशी कार र विश्वविद्यालय देखेर मख्ख पर्ने स्थिति छैन । हामी कार उत्पादन गर्न सक्दैनौं, हामी कफीको कप बनाउन सक्दैनौं । हामी कसरी आधुनिक हुन सक्छौं ? पश्चिमका राजनीतिज्ञले हामीलाई मूर्ख बनाइरहेका छन् । तपाईं त विद्वान हुनुहुन्छ । तपाईंले यो तथ्यलाई बुझ्नुपर्छ ।

हालसालै तपाईंले अरबको पहिचानको मुद्दा उठाउनुभएको छ, जस्तो म को हुँ ? हामी को हौं ? यसबारे प्रष्ट पारिदिनुस् न । 

– यो अरबको मात्रै समस्या होइन । सम्पूर्ण मानव जगतकै हो । यसको उत्तर धर्मले नै दिएको छ । क्रिश्चियन क्रिश्चियन हो, यहुदी यहुदी, मुस्लिम मुस्लिम । म जेमा विश्वास गर्छु, उसले पनि त्यसैमा विश्वास गर्छ भने म उसलाई चिन्छु नत्र चिन्दिनँ । त्यसैले पनि धर्मको परिभाषा दिन कठिन छ । अधार्मिक व्यक्तिहरूको लागि त पहिचानको कुरा एकदमै जटिल छ । मान्छे जति बाँच्छ, उसको पहिचान पनि बदलिँदै जान्छ । यदि ऊ कवि छ भने मृत्युपश्चात् पनि उसको पहिचान सकिँदैन । उसलाई समय–सन्दर्भअनुसार फरक–फरक प्रकारले बुझिन्छ । यो अर्थमा पनि कविता धर्मको विरुद्धमा छ । यो धर्मसँग जानै सक्दैन । मेरो मतलब अरबको इतिहासमा तपाईं एक जना पनि कवि भेट्नुहुन्न, जो धार्मिक थियो । यो भन्न कठिन हुन्छ कि यी महान र ठूला कवि धार्मिक थिए । यदि उनी धार्मिक थिए भने सुफीजस्तै थिए होलान्, जसले भगवानमा विश्वास राख्छु भन्छ । जुन भगवान इस्लामिक भगवानभन्दा बिल्कुल फरक हुन्छन् । मान्छेको वास्तविक शक्ति भनेको उत्तर दिनु होइन, प्रश्न गर्नु हो । 

७० वर्ष पहिले तपाईंले आफ्नो नाम अदोनिस राख्नुभयो ...

– होइन, मैले धर्मको संसारबाट बाहिर आउनका लागि नाम सिर्जना गरेँ । 

तर अहिले त्यो नाम...

– एउटा अपराध भएको छ ।

किन ? 
किनकि यो नाम अरबी र मुस्लिम नभएकाले आलोचना भइरहेको छ । दुर्भाग्य भन्नुपर्छ– धार्मिक संस्कृतिले सबै प्रकारका संस्कृतिलाई बढारिरहेको छ ।

त्यसो भए अरब संस्कृतिको भविष्य कस्तो छ त ? 

– मैले तपाईंलाई भनें नि, जबसम्म मृत्यु र माया रहन्छ, कला पनि बाँचेकै हुन्छ । चिन्ता नगर्नुस् । पाठक थोरै छन्, त्यो ठीक छ । नित्से, जो आधुनिक विचारधाराका प्रतिपादक थिए, उनको जीवनकालमा उनलाई कसैले पनि पढेनन् । कसैले चिनेकै थिएन उनलाई । कलाको भाग्य सधैँ यस्तै हुन्छ । धेरै प्रकाशित हुन्छन्, लाखौं बिक्री हुन्छन्, अधिकांश अर्थहीन हुन्छन् । 

अनुवाद : उपेन्द्रराज पाण्डेय 
– न्युयोर्क रिभ्यू अफ् बुक्सबाट 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २४, २०७४  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC