साहित्य र कला

रक्सी खुवाउनेहरू औषधि खुवाउँदैनन्

– विज्ञान शर्मा


आफू ठीकठाक छु भन्ने सोचिरहेका लमजुङका रामहरि अधिकारी (४४) लाई एकैदिन सारा रोग देखा परे ।

०७२ जेठ ७ गते ‘केआई नेपाल’ नामक सामाजिक संस्थामार्फत भूकम्पप्रभावितलाई राहतस्वरूप टेन्ट पुर्याउन उनी नुवाकोट हान्निए । बिदुरमा गाडीबाट २ हजार टेन्ट एक्लै झारेर कात्तिके जाने अर्को गाडीमा एक्लै सामान अपलोड गर्दा उनलाई निकै थकान महसुस भयो । कात्तिकेभन्दा ७ किलोमिटर तल गाउँमा राति १२ बजे उनी ओर्लिए र टेन्टमा सुते । त्यस रात उनलाई छिनछिनमा दिसा र पिसाबले च्यापेको जस्तो महसुस भइरह्यो । घरिघरि चर्पी जान्थे तर दिसापिसाब पटक्कै आउँदैनथ्यो । अर्को दिन दोलखा जाने कुरा थियो । रातभर अनिँदो भए पनि दोलखा जाने योजनाका साथ उनी बस चढेर काठमाडाैं हिँडे र सिधै अफिस पुगे ।

ल्यापटप नचलाएको करिब ४ हप्ता जति भएको थियो । जेठ ८ गते बिहान ११ बजे अफिस पुगेर ल्यापटप अनमात्र के गरेका थिए, उनी झल्याँस्स भए । स्क्रिन पूरै धमिलो देखियो । हातले आँखा मिचे अनि पटक–पटक आँखा तरेर हेरे तर स्क्रिनमा अक्षर पटक्कै नदेखेपछि उनको मनमा चिसो पस्यो र तुरुन्तै हानिए तिलगंगा आँखा अस्पतालतर्फ । आँखाबाट हल्का रगत बगेकोले चिकित्सकले अन्य जाँच गर्न लगाए । रक्तचापको मात्रा १६०÷१२० देखियो भने मधुमेहको लेबल २५० भन्दा माथि गएको थाहा भयो । यसभन्दा पहिला उनलाई मधुमेह भएको थाहा थिएन । धमिलो आँखा ठीक पार्न लेजर गर्नुपर्ने तर सुगर र रक्तचाप उच्च भएकाले तत्काल गर्न नसकिने भएपछि उनी पुनः जाँचका लागि तुरुन्तै पुल्चोकस्थित अल्का अस्पताल गए । त्यहाँ उनले मधुमेह, सिटी स्क्यान र मृगौलाको अवस्थाको जाँच गराए । डक्टरले भर्ना हुनुपर्छ भनेपछि उनी रिपोर्टै नहेरी कीर्तिपुरस्थित डेरामा फर्किए– राति ८ बजे ।

धमिलो आँखा, उक्त रक्तचाप र मधुमेह । एकैदिनमा आफूलाई तीन रोग छ भन्ने थाहा पाएर छट्पटिएका रामहरि खाना खाएर श्रीमतीका साथ कीर्तिपुरमै रहेको मोडल अस्पतालको शाखामा गए ।

अस्पतालमा पुगेपछि झनै नसोचेको भयो । यतै भर्ना हुनपर्ला भन्ने सोचेका थिए, तर रक्तचाप २५०/१६० देखिएपछि नर्सहरू आत्तिए र गंगालाल अस्पताल जान सुझाव दिए । एम्बुलेन्सबाट राति साढे १० बजे गंगालाल अस्पतालको आपत्कालीन कक्षको बेडमा आफैं पल्टिएका रामहरि चार दिनसम्म सुतेको सुत्यै भए । बेडमा पल्टिएलगत्तै तत्काल उनको चेत गुम्यो ।

८ गते गंगालालको बेडमा सुतेका रामहरि जेठ १२ गते धापासीस्थित सुमेरु अस्पतालको आईसीयूमा ब्युँझिए । तर, १३ गतेमात्र आईसीयूमा रहेको थाहा पाए । “एकैदिन तीन रोगको शिकार भएको थिएँ, तर ब्युँझिँदा अर्को उपहार पनि थपिएको थियो, मृगौलामा समस्या,” रामहरिले उराठलाग्दा दिन सम्झिए ।

क्रियटिनिन (मृगौलाले काम गरे/नगरेको थाहा पाउन गरिने जाँच) ५.९ पुगेपछि चिकित्सकको सुझावअनुसार डायलसिस सुरु गर्ने तयारीका साथ अस्पतालबाट जेठ २२ गते उनी श्रीमतीसँग डेरा फर्किए ।

८–१० वर्ष एनजीओमा काम गरेर जीवन निर्वाह गरेका निम्न मध्यमवर्गीय परिवारका रामहरि पढाइको हुटहुटीले बेलायत गएका थिए । त्यहाँ काम गरेर पैसा सँगाल्दै पढ्दै गरी पब्लिक हेल्थमा स्नातकोत्तर गरी चार वर्षपछि नेपाल फर्किएका थिए । करिअर र पढाइको चक्करमा यताउति गर्दागर्दै ४० नाघिसकेका उनी भर्खरै नेपालमा सेटल हुन खोज्दै थिए, तर सारा रोगले च्यापेपछि उनलाई ठूलै बज्रपात भएजस्तो लाग्यो । दुई छोरीका पिता रामहरि मर्ने पीरले ‘एन्जाइटी’को शिकार भए ।

“स्वास्थ्य कमजोर भएपछि नकारात्मक कुरामात्र मनमा आउने रहेछन्, मर्ने पीरले कैयौं रात अनिँदो भएर बिते । खाना खान छाडेँ । परिवारमा निराशा छायो । मृगौला पूरै फेल भो भने कहाँबाट व्यवस्था गर्ने ? गरिहाले पनि मरिने हो कि बाँचिने हो ? यस्तै कुरा मनमा खेलेपछि आत्महत्या गर्नेसम्म सोच आयो,” उनले आफ्नो अतीत सुनाए ।

साथीभाइहरू भेट्न आउने र सान्त्वना दिएर फर्कने क्रम जारी रह्यो । यही क्रममा उनले अनेकखाले मित्रताका रूपहरू देखे । आफूले नजिक ठानेका कतिपय मान्छेहरू भेट्न आउने त परै जाओस्, केही सहयोग पो माग्ने हो कि भनेर तर्किंदै हिँडे, कोही टाढाका भनिएकाहरू सहयोग गर्न तम्सिए । यस्तै सहयोगीमध्ये एक थिए, नातेदार डा. लक्ष्मीप्रसाद देवकोटा, जो बूढीगण्डकी जलविद्युत् परियोजनाका अध्यक्ष थिए ।

उनले रामहरिलाई शिक्षण अस्पताल महाराजगन्ज लिएर गए । त्यहाँका चिकित्सक मोदनाथ मरहठ्ठा र कनकबहादुर राउतको परामर्शबाट उनको जीवन दृष्टिकोण बदलियो ।

“कुनै कुनै मान्छेसँगको भेटले मरेको मन पनि पलाउँदो रहेछ । शायद डा. कनकसँग नभेटेको भए मेरो आत्मविश्वास मरिसकेको हुन्थ्यो । त्यो बेला म डिप्रेस्ड थिएँ,” कनकसँगको भेट सम्झदै उनले भने ।

“तपाईंको मृगौला पूरै फेल भइसकेको छैन, काम गरिराखेको छ, भोलिका दिनमा त जो जहाँ पनि मर्न सक्छ, भोलिको चिन्ता गरेर हुन्छ त ? तपार्इंले आफूलाई नियन्त्रण गर्नुभो, खानपिनमा ध्यान दिनुभो र चिन्ता गर्न छोड्नुभो भने तपाईं बाँच्नुहुन्छ,” डा. कनकले सम्झाए ।

शिक्षण अस्पतालमा जाँच गराएको केही दिनसम्म पनि पिसाब पोल्ने समस्या भइरह्यो । युरिक एसिड पनि उच्च नै थियो तर जीवनप्रतिको आशा पलाएकोले खानपिनमा उनले विशेष ध्यान दिन थाले ।

यसबीच उनले आँखाको शल्यक्रिया पनि गराए आफ्नै जोखिममा, किनकि मधुमेह र उच्च रक्तचाप कायमै थियो ।

“सुगर, उच्च रक्तचाप, धमिलो आँखा, मृगौलामा समस्याजस्ता रोग एकैपटक देखिएपछि जीवनप्रतिको आशा गुमिसकेको थियो तर शिक्षण अस्पतालबाट फर्केपछि जीवनप्रति फेरि माया लागेर आयो,” उनी भन्छन्, “त्यसपछि पाँच कुरामा मैले विशेष ध्यान दिन थालेँ– (क) निराश भएर अबेरसम्म बेडमा पल्टिनुभन्दा हरेक बिहान मर्निङ वाकमा निस्कने, (ख) मनलाई एकाग्र बनाउन र सकारात्मक सोच विकास गर्न दिनहुँ प्राणायाम गर्ने, (ग) विशुद्ध उमालेको खाना मात्रा मिलाएर खाने र (घ) आयुर्वेदिक औषधी (सुवर्ण भस्मलगायत) सेवन गर्ने, (ङ) आत्मविश्वास जीवित राख्ने ।”

यस्तो जीवनशैली अपनाएको केही महिनापछि उनले सन्तोषको सास फेरे, जब उनको क्रेटियानिन घट्दै गयो । सुरुमा ५.९ मा पुगेको क्रेटियानीन दुई वर्षको बीचमा १.४ मा झ¥यो ।

अलि बिसेक त हुँदै थियो तर काम गर्न नसक्ने भएपछि परिवारमा आर्थिक समस्या पनि थपिँदै थियो । यत्तिकैमा भूकम्पपछिको पुनर्निर्माणको परियोजनामा सिन्धुपाल्चोक जान उनलाई ‘मिसन इस्ट’ भन्ने संस्थाबाट प्रस्ताव आयो ।

“जागिर नखाई नहुने भएपछि सिन्धुपाल्चोक जाने निर्णय गरेँ । सिन्धुपाल्चोक पुग्दा उकालो–ओरालो बाटो लगातार ८ घण्टा हिँडेपछि आत्मविश्वास झनै बढेर आयो,” बिरामी भएपछि खुलेको अर्को अन्तज्र्ञानको बिर्को उनले खोले, “स्वस्थ हुँदा कर गरीगरी मदिरा पिलाउने साथीहरू बिरामी परेको बेला औषधि खुवाउन नआउने रहेछन् । आफूले आफैंलाई नियन्त्रण गरियो भने रोग निको पार्न सकिँदो रहेछ ।”

अहिले हाँसीखुसी सामान्य जीवन बिताइरहेका रामहरिको विचारमा खानपान (जीवनशैली) र आत्मविश्वासले नै रोगीलाई बचाउँछ वा आयु लम्ब्याउँछ । यी दुई चिजबिना त औषधीले पनि काम नगर्ने रहेछ ।
  
(हाल रामहरि प्लान इन्टरनेसनल नेपालमा कार्यरत छन् ।)
 

तपाईंको मत