दुई नम्बर प्रदेशको कुल १३६ तहमध्ये एमालेले ६२ तह जित्ने लक्ष्य राखेको छ । र, परिणाम आफ्नो पक्षमा पार्न केन्द्रीय नेताहरू तराई–मधेसको विभिन्न जिल्लामा खटिएका छन् । निर्वाचनको दौडधूपमै रहेका एमाले दुई नम्बर प्रदेश सहसंयोजक एवम् पोलिटव्युरो सदस्य नागेन्द्र चौधरीसँग बाह्रखरी युनिटको बाराको सिमरामा जम्काभेट भएको थियो । चौधरीसँग अक्षर काका र अशोक पौडेलले गरेको कुराकानीको सम्पादित अंश ।
दुई नम्बर प्रदेशमा आश्चर्यजनक उत्साह छाएको छ । ६ हजार पदका लागि ३६ हजार उमेदवार मैदानमा खडा भएका छन्, यसको राजनीतिक अर्थ के हो ?
चुनावअगाडि केही बुद्धिजीवीहरूले आँकलन गरेका थिए– तराई मधेसमा निर्वाचनको वातावरण छैन । आन्दोलित छ तराई । आफ्नो अधिकार संविधानमा स्थापित नभएसम्म तराईमा चुनावको माहोल बन्न सक्दैन । हेर्नुहोस् त निर्वाचनमा कस्तो उत्साह छायो ? हामीले त यसअघि नै भनेका थियौँ– पहिलो चरणमा तराईमा निर्वाचन गराउन सकिन्थ्यो । दुई नम्बर प्रदेशका जनता आन्दोलनबाट आजित छन् । उनीहरूले शान्ति खोजिरहेका छन् । निर्वाचन खोजिरहेका छन् ।
दुई नम्बर प्रदेशमा एमाले छिर्नै सक्दैन, निर्वाचनको माहोल तयार परेर अघि बढ्न गाह्रो छ उसलाई भन्ने चर्चा परिचर्चाका बीच दुई नम्बर प्रदेशमै निर्वाचनको प्रचार–प्रसारको केन्द्रीय समन्वय गरिराख्नु भएको छ, कस्तो पाउनु भयो अवस्था ?
निर्वाचनपूर्व केही अड्कल काटिए– एमाले तराई पस्न सक्दैन । छिर्नै दिँदैनौँ । तराई–मधेसमा एमाले जानै सक्दैन आदि, इत्यादि ।
एमाले स्याल हुइँयाको पछि दगुर्ने पार्टी होइन, भूगोलमा जनताको बीचमा बसेर काम गर्ने पार्टी हो । १ सय ३६ तहमा नै उमेदवारी दर्ता हुँदा एमालेकै सबैभन्दा ठूलो जुलुस निस्किएका छन् । सबै ठाउँमा एमालेले उमेदवारी दिएको छ । नेकपा एमालेका उमेदवार कतिपय ठाउँमा निर्विरोध निर्वाचित हुँदैछन् पनि । एमालेलाई दुई नम्बर प्रदेशमा छिर्नै दिँदैनौँ भन्नेहरूलाई यो भन्दा ठूलो जवाफ अरू हुन सक्दैन ।
तपाईंहरूले तालमेलको कुरा पनि गर्नुभएको थियो, तर कहीँकतै भएन, सहकार्य गर्न कोही तत्पर भएनन् हो ?
हामी अहिलेसम्म एक्लै छौँ । यसको अर्थ यो होइन, कोही तयार भएनन् । हामीले सघन सम्वाद गरिरहेका छौँ । तालमेलको ढोका खुला छ । तहगत हिसाबले तालमेल गर्न चाहनेसँग छलफल पनि भइरहेको छ । उमेदवारीको दाबी विरोधदेखि मतदान गर्ने दिनसम्म जारी रहन्छ । निर्वाचन प्रचारप्रसारका क्रममा हामीले कसैलाई समर्थन गर्ने समझदारी बन्यो भने समस्या रहँदैन ।
को–को सँग तालमेल गर्नुहुन्छ ?
त्यो जिम्मा हामीले स्थानीय तहलाई नै जिम्मा दिएका छौँ । मैले थाहा पाएसम्म कांग्रेस, राजपा, माओवादी केन्द्र, संघीय समाजवादी फोरमसँग स्थानीय आवश्कता र औचित्यताको आधारमा छलफल भइरहेको छ । कतिपय ठाउँमा तालमेल हुनसक्छ ।
दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो पार्टी बन्छ भन्नुहुन्थ्यो, उमेदवारी चयनमै समस्यामा पर्नुभयो । चन्द्रपुर नगरपालिकामा त एमालेकै दुईजना मेयर पदका आकांक्षी उमेदवारी फारम बोकेर निर्वाचन अधिकृतको कार्यालय पुग्नुभयो नि ?
होइन भनेर पन्छन मिलेन । हामीले उमेदवारी चयन गर्ने एउटा विधि अवलम्बन गर्यौँ । त्यसलाई लागु गर्नेक्रममा इरर देखिनु स्वभाविकै हो । जिल्ला, प्रदेश, केन्द्र तीन तह थियो निर्णय गर्ने । जिल्लाले धरातलीय यथार्थतालाई स्वीकार गरेर आफैँ निर्णय लिन नसक्दा पनि यस्ता समस्या आएका हुन् । तर पनि नेकपा एमालेका तर्फबाट हरेक पदमा एकजना नै हो । यदि कतै दुई वटा उमेदवारी परेको छ भने उहाँले फिर्ता लिनुहुन्छ । फिर्ता नलिए पार्टीले आवश्यक कदम चाल्छ ।
प्रदेश संयोजकको हस्ताक्षर देखिन्छ, यसको मतलब त पार्टीले नै टिकट दिएको भन्ने अर्थ लाग्यो नि, हैन ?
प्रदेशले निर्णय गरेका ठाउँमा प्रदेश संयोजकले हस्ताक्षर गर्नुभएको छ । तर, निर्वाचन ऐन बमोजिम वडा सदस्यसम्मको दलीय सिफारिसमा पनि प्रदेश संयोजककै हस्ताक्षर चल्ने विधि छ । जिल्ला कमिटी मार्फत वितरण गर्यौँ । वितरण गर्दा कतिपय ठाउँमा खाली पुगेको हुनसक्छ । र, त्यसैलाई दुरुपयोग पनि गरिएको हुन सक्छ । तथापि हामी छानविन गर्दैछौँ ।
उमेदवार चयन गर्दा प्रमुख मापदण्ड केलाई बनाउनुभयो ?
हामीले पार्टीमा लगानी, उसका चारित्रिक अवस्था, लोकप्रियता, स्थानीय जनताबाट माग र कार्यकर्ताको समर्थन आदिलाई ठोस मापदण्ड बनायौँ ।
तर, त्यसका अतिरिक्त व्यक्तिगत लोकप्रियता, त्याग तपस्या, प्रतिस्पर्धामा माथि आउन सक्ने आधारमा आवश्यक परेको ठाउँमा पार्टी प्रवेश गराएर पनि उमेदवारी दिएका छौँ ।
यही सन्दर्भमा–
वीरगन्जमा पार्टीमा आउन मनसाय गरेका (उनले औपचारिक रूपमा पार्टी प्रवेशसमेत नगरेका) बसरुद्दिन अन्सारीलाई उमेदवार बनाएको छ । मेडिकल व्यवसायीसमेत रहेका उनको लगानीका विषमा विभिन्न कुरा आइरहेका छन् । उनको लगानीमा खुफिया एजेन्सीको समेत संलग्नता रहेको चर्चा भइरहेको छ । नवप्रवेशीलाई टिकट दिँदा यस्तो झमेला पनि आइलाग्दो रहेछ नि ?
यहाँले जे कुरामा चासो राख्दै हुनुहुन्छ, हामीले के बुझ्नुपर्छ भने एमालेलाई अहिले चौतर्फी आक्रमणको प्रयास भइरहेको छ । घेराबन्दी नै गरेका छन् । नेकपा एमालेको विपक्षमा सत्तारूढ दलसहितको महागठबन्धनको कुरा पनि छ । प्रदेश नम्बर दुईमा एमाले कमजोर छ भन्ने फेरि गठबन्धन बनाएर चुनावमा जाने । यसको अर्थ हो, एमाले प्रदेश नम्बर पनि बलियो छ ।
रह्यो वीरगन्जको कुरा । यसप्रदेशको एकमात्र महानगर हो त्यो ।
वीरगन्जमा एमालेको संगठन व्यवस्थित छ । हामीसँग पाँचजना दावेदार हुनुहुन्थ्यो– मनोज चौधरी, सुन्दर कुर्मी, चिरञ्जीवी आचार्य, विश्वम्भर शर्मालगायत साथी आकांक्षी हुनुहुनथ्यो । तर, एमालेको प्रवेशको लहर चल्यो । बसरुद्दिन पनि निःशर्त एमालेका आउनुभएको हो । मैले नै पार्टी प्रवेशको कुरा चलाएको हुँ । यसर्थ दाबी गर्छु– एमालेमा प्रवेश गर्दा उहाँसँग कुनै सम्झौता, समझदारी भएको छैन । भोलि तपाईं मेयर पनि उठ्नुपर्ने हुनसक्छ । उपमेयरमै चित्त बुझाउनु पर्ने हुनसक्छ । या पार्टीको अरू जिम्मेवारीमा जानुपर्ने पनि हुनसक्छ । हामीले यसो भनेपछि कन्भिन्स भएर उहाँ सामान्य कार्यक्रमका बीच पार्टी प्रवेश गर्नुभएको हो ।
पहिलो र दोस्रो चरणमा दुई नम्बर प्रदेशमा चुनाव भएको भए उहाँ मेयर उठ्ने सम्भावना थिएन तर साढे तीन महिना ढिलो गरेर चुनाव भएपछि एउटा परिस्थिति बन्यो र अस्तिमात्रै पार्टीले उहाँलाई मेयर उठाउने निर्णय गरेको हो । यसर्थ उहाँका विषयमा चलाइएका हल्ला निराधार हुन् र कपोलकल्पित छन् । बसरुद्दिनको माहोल देखेर विपक्षी अताल्लिएका छन् । बदनाम गर्न सके परिणाम आफ्नो पक्षमा पार्न सकिन्छ भनेर षड्यन्त्र रचेका हुन् उनीहरूले ।
उनको लगानीका विषयमा जसरी तपार्ईंले प्रश्न गर्नुभएको छ, त्यसको आधार तपाईंसँग छैन । हो, होइन भन्ने आधार मसँग पनि छैन । कसैसँग छैन । यदि उनी खुफिया एजेन्सी, दाउद इब्राहिमसँग नजिक छन्, उनको लगानीमा चल्छन् भन्ने पुष्टि भयो भने उनी एमालेका लागि लायक छैनन् । एक मिनेट पनि बस्ने अधिकार छैन । कारबाही गर्छौं हामी ।
तपाईंहरूले दुई नम्बर प्रदेशमा कति तह जित्ने लक्ष्य राख्नुभएको छ ?
पहिलो र दोस्रो चरणमा गरी हामीले ४५.२१ प्रतिशत स्थानमा जित हासिल गरेका छौँ । यहाँ पनि सोही हैसियतमा रहन्छौँ । संख्या नै भन्नुपर्दा केही आन्तरिक गडवडी भएन भने एमाले एक ढिक्का भएर उभिन सक्यो भने, ६० देखि ६२ स्थानसम्म प्रमुख जित्छौँ ।
नेपाली कांग्रेसले तराईलाई आधार भूमि मानेको छ, माओवादी केन्द्रको मुख्यालय नै यतै सारेको छ अहिले, एमालेको तयारीचाहिँ के छ ?
निष्पक्ष, स्वच्छ, धाँधलिरहीत चुनाव भयो भने एमालेको विजयलाई रोक्ने तागत कसैसँग छैन ।
नेपाली कांग्रेसले तराईलाई ‘भोट बैंक’ भन्थ्यो, के के भन्थ्यो के के । उहिलेको कुरा हो त्यो । अहिले ८ वटामा त चुनाव हुँदैछ । यसभन्दअ अघि तराईकै १२ वटा तराईका जिल्लामा चुनाव भइसक्यो, कहाँ एमाले कमजोर भयो । सुस्ता महेशपुरमा भयो कि, भैरहवामा भयो कि, कहाँ हार्यो एमालेले ? ०७० सालको निर्वाचनमा पनि एमालेविरुद्ध कु प्रचार भएका थिएनन्, तर तराईमा एमाले कांग्रेसबीच कति भोटको अन्तर छ ?
पर्सा जिल्लालाई कांग्रेसले एमालेमुक्त जिल्ला बनाउछौँ भनेका छन् तर भूगोलमा गएर हेर्नुहोस् एमालेको पक्षमा कस्तो जनलहर छ । सप्तरी, सिरहा, बारा, रौतहट सबैतिर उस्तै छ ।
एमाले दलित, मधेसी, मुस्लिम, आदिबासी जनजातिको विपक्षमा कहिल्यै छैन । गत आवमा केपी ओली नेतृत्वको सरकारले तराई–मधेसमा छुट्याएको बजेट त्यसको प्रमाण हो । त्यसका अतिरिक्त तराईका भूमिहीन, सुकुम्बासीको पार्टी एमाले नै हो । राष्ट्रिय गौरवका आयोजना ७६.३ किलोमिटरको तराई–काठमाडौँ जोड्ने द्रूतमार्ग एमालेकै पहलमा बन्दैछ, भलै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दोहोर्याएर शिलान्यास गरुन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको श्रेय एमालेलाई नै जान्छ । हुलाकी राजमार्ग कहिले बन्ने भन्ने टुंगो थिएन, एमालेले हामीले नै बनाउन सक्छौँ भनेर बजेट नै छुट्टयायो ।
तराई–मधेसका २० जिल्लाका सदरमुकामलाई स्तरोन्नतीका निम्ती सिड मनिको रूपमा ५०–५० करोड छुट्यायो । सीमा क्षेत्रको समृद्धिका लागि कार्यक्रम, वृद्धभत्ता दोब्बर बनाउने, अपांग, एकल महिलालाई भत्ता उपलब्ध गराउने पार्टी एमाले नै हो । यसबाट मधेसले विशेष लाभ उठाउन सक्छ । एमाले मधेस विरोधी पार्टी हो भन्ने कुराको खण्डन गर्न पर्याप्त छन् यी ।
संविधान संशोधन विधेयक फेल गराएको आरोप छ नि ?
राष्ट्रिय जनता पार्टीका नेताहरूले स्वयम् भनेका छन्– एमाले स्पष्ट पार्टी हो । जे भन्छ, त्यो गर्छ । आफ्नो अडानमा छ । तर, कांग्रेस र माओवादी केन्द्र धोकाको राजनीति गर्छन् । हिजो उहाँहरू एमालेमाथि जसरी खनिनुभएको थियो । आज त्यो परिस्थिति छैन । संविधान संशोधनका अन्तर्वस्तु, विफल गराइनुको कारण हामीले जनतालाई बुझाउँदैछौँ । परिणाममा देखिन्छ त्यो ।
तपार्ईंहरूले कतिपय ठाउँमा राजपाका असन्तुष्टहरूलाई उमेदवार बनाउनु भयो, एमालेले उमेदवार नपाएको कि राजपालाई कमजोर बनाउने रणनीति ?
एमालेले उमेदवारी टुंग्याएपछि असन्तुष्ट भएकालाई राजपालगायत कतिपय दलले उमेदवार बनाएका छन् । एमालेका असन्तुष्टहरूलाई अरूले उमेदवार बनाए, तर एमालेले पहिल्यै आफ्नो तयारी गरेकाले त्यस्तो गरेन ।
विपक्षीले कसलाई उमेदवारी बनाउँछ, कस्तो उमेदवार उठाउँछ भनेर हामीले अन्तिममा उमेदवारी उठाएका हौँ ।