ad

सम्पादकीय

उमेदवारीको लाजमर्दो किनबेच

राजनीतिक कार्यकर्तालाई निबेकी खेताला बनाएर पैसामा उमेदवारी किन्नेलाई हराएमात्र राजनीतिले जित्नेछ

 स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि दलहरूले उमेदवार छनोट गर्दा जनताको निकटमा रहेर राजनीतिक निष्ठा जोगाएका कार्यकर्तालाई भन्दा पैसा खर्च गर्नसक्ने व्यक्तिलाई प्रश्रय दिएको देखियो । पहिलो र दोस्रो चरणको तुलनामा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पैसालाई दलका नेताहरूले बढी महत्त्व दिएको भान परेको छ । नगरहरूमा राजनीतिक आस्थाको पहिचानै नभएका वा केही पहिलेसम्म अर्कै पार्टीमा रहेका वा व्यापार व्यवसाय गरेर बसेकाहरुलाई प्रमुख दलहरूले समेत उमेदवार बनाएका छन् । जिन्दगीका अमूल्य समय पार्टीको संगठनमा खटिएका कार्यकर्तालाई पन्छाएर पार्टीमा राजनीतिक लगानी नै नभएका व्यक्तिलाई उमेदवार बनाउँदा कार्यकर्ताको मनोबल पनि खस्कन्छ । त्यतिमात्र हैन पार्टीको संगठनमा खट्नुभन्दा जसरी भए पनि पैसा कमाउन सके उमेदवारी पाइने सन्देश पनि अहिले प्रवाहित भएको छ ।  

उमेदवारी छनोटमा पैसाले पाएको प्राथमिकताले नेताहरू पैसाका लागि जुनसुकै हदसम्म पनि गिर्न तत्पर हुन्छन् भन्ने पनि सिद्ध भएको छ । नेतालाई पैसा दिएर उमेदवारी किन्ने व्यापारीको ध्यान चुनाव जित्नेबित्तिकै लगानी उठाउन केन्द्रित हुनु अस्वाभाविक हैन । एउटा राष्ट्रिय पार्टीले त वीरगन्ज महानगरपालिकालाई नै करोडौं रुपियाँ कर तिर्न बाँकी रहेको व्यक्तिलाई उमेदवार बनाएको समेत समाचार सार्वजनिक भएको छ । विगतमा पैसा लगानी गरेर पद किनेका सांसदहरूले राज्यको स्रोतसाधनको दोहन गर्ने र निजी व्यावसायिक फाइदाका लागि पदको दुरुपयोग गर्नेबाहेक अरू कुनै सकारात्मक योगदान गरेको उदाहरण छैन । व्यावसायिक स्वार्थ भएका व्यक्तिलाई संसद्मा पुर्‍याउँदा राज्यले सहनुपर्ने नोक्सानीको उदाहरण बाफिया, शिक्षा ऐन, सहकारी ऐन, चिकित्सा शिक्षा विधेयकआदिमा भएको घीनलाग्दो चलखेल नै हो ।  

राजनीतिक दलहरूले कार्यकर्तालाई निबेक गर्न आएका खेतालासरह व्यवहार गरेका छन् । नेताहरूले अहिले आपूmले उमेदवार बनाएको व्यक्तिको छवि बिग्रँदा पार्टी नै कलंकित हुन्छ भन्ने बिर्सेको देखियो । मुहानमै धाँजा पाटेको खेतको बाली सप्रँदैन । चुनाव जित्न राजनीतिक निष्ठा वा समर्पण हैन पैसा महत्त्वपूर्ण हुन्छ भन्ने मानसिकताले नेपालको लोकतन्त्र पनि मुहानमै धाँजा फाटेको खेत हुने दुःखद संकेत हो । यथार्थमा नेताहरूको फोस्रो आडम्बर र स्थानीय तह कब्जा गर्ने मानसिकताले नेपालको लोकतन्त्र संस्थागत गर्ने समयमा असल आचरण गर्ने मौका गुम्यो । सबै दलले राजनीतिक कार्यकर्ताले निष्ठा र लगनबाट आर्जेको प्रभाव तथा जनाधार हेरेर उमेदवार बनाएका भए राजनीति शुद्धीकरण उन्मुख हुनेथियो । स्थानीय तहमा गरेकै गल्ती प्रदेश र संघीय निर्वाचनमा पनि दोहोर्‍याउने हो भने नेताहरूले पार्टी चलाउन कार्यकर्ता हैन खेताला खोज्नुपर्ने हुन्छ ।

राजनीति अहिले भ्रष्टाचार र अपराधीकरणबाट आक्रान्त छ भने अब तस्करी, कालोबजारी र नाफाखोरीको पर्याय बन्नेछ । नेताहरूबाट विवेकको अपेक्षा गर्नु सायद अब हास्यास्पद होला । लोकतन्त्र नेताहरूका लागि मात्र पनि त हैन । पार्टीमा बर्सौं बिताएका कार्यकर्ता र सामान्य जनताले विवेक प्रयोग गरेर राजनीतिलाई हरियो चरन ठानेर चर्न आएका जति उमेदवारलाई हराइदिए भनेमात्र प्रदेश र संघको संसद्मा राजनीतिक व्यक्तिहरूले उमेदवारी पाउनेछन् । नत्र, राजनीतिक सिद्धान्त र निष्ठा पैसाको रापमा पोलिएर खरानी हुने निश्चित छ ।  

 

 

तपाईंको मत