ad

विचार

‘स्वागत छ तपाईंलाई, संसारकै सुन्दर सहर काठमाडौंमा’

मधुकर दाहाल

कार्यकालको पूरै ५ वर्षभित्र गर्ने १०१ कामको सूची तयार पार्न लरतरो मान्छेको मगजले भ्याउँदैन । तर विद्यासुन्दर शाक्यले अथाह मिहिनेत गरे । देशकै राजधानी, सबैभन्दा पुरानो र जनसंख्याका दृष्टिले ठूलो महानगर, सम्पदाको जीवन्त संग्राहलय, अन्तर्राष्ट्रिय जगतसँग सबैभन्दा नजिकको सम्पर्क आदिइत्यादि विशेषण जोडिएको सहरको ‘मेयर’ पद चानचुने होइन भन्ने बुझेरै सय दिनमै गरिसक्ने गरी ‘एकसेएक’ कामको फेहरिस्त तयार पारे । यसको पछाडि खास कारण पनि थियो । 

पुर्ख्यौली थातथलो अस्तव्यस्त बन्दै गएको देखेर बिरक्तिएका उनी काठमाडौंलाई सय दिनभित्रै संसारकै उत्कृष्ट सहर बनाइछाड्ने अठोटका साथ मेयरको चुनावी मैदानमा उत्रिनु परेको थियो । यसै पनि शान्त स्वभावका, त्यसमाथि २० वर्षअघि वडाध्यक्ष जिते यताका १५ वर्ष स्थानीय चुनाव नहुँदा काठमाडौं आँखैअगाडि दिनदिनै झन्झन् अव्यवस्थित बनेको टुलुटुलु हेरेर बस्न उनी बाध्य भए । नत्र उहिल्यै मेयर बनेर काठमाडौंको हुलिया बदलिसकेका हुन्थे होलान् ।

तर जे होस्, अन्ततः दुई दशकको अन्तरालमा स्थानीय तहको चुनाव भइछाड्यो । उनलाई मेयर बन्न कसैले रोक्नसक्ने कुरै थिएन । मेयरका अरू प्रतिस्पर्धी काठमाडौंवासीलाई ‘जितेपछि के काम गर्छु भन्ने’ भन्नेमै अलमलिएर बसेका थिए । उनी भने ‘एकसेएक’ योजना र नारा बोकेर मतदाताको दैलोमा पुगे । काठमाडौंका मतदाताले उनको हँसिलो अनुहारमात्र होइन नारा र योजना पनि यति रुचाए कि त्यो नतिजाबाटै प्रष्ट हुन्छ । सबैभन्दा ‘नजिक’को प्रतिस्पर्धीलाई नै ‘बीस हज्जार’ मतअन्तरले पराजित गर्नु चानचुने कुरा हो र ? महानगरको कार्यकारी नेतृत्वमा पुगेर काठमाडौंलाई पुरानै अलकापुरी नगरीको मौलिक हैसियत दिलाउने उनको हुटहुटीलाई रोक्ने सामर्थ्य बिचरा कसैमा पुगेन ! 

मन्त्री प्रधानमन्त्रीसम्म कुर्सीमा बसेको पहिलो सय दिनलाई ‘हनिमुन पिरियड’ भन्दै जिम्मेवारीप्रति गैरजिम्मेवार हुने छुट पाउनुपर्छ भन्ने आशा राख्छन् । यसविपरीत काठमाडौंबासीका यी प्रिय मेयरले भने चुनाव जित्नुपहिले नै सय दिनको ‘मिसन’ तय गरिसकेका थिए । अहिले त्यसैको कार्यान्वयनमा लागेका छन् । परिणाम गुरिल्ला शैलीमा ‘सरप्राइज’ दिने सुरमा छन् सायद । उनको यो ‘शान्त कार्यशैली’लाई सम्मान गर्नुपर्छ हामीले ।

सामाजिक सञ्जालतिर भने एउटा जमात उनको मिसनविरुद्ध लागेको छ जो काठमाडौं संसारको उत्कृष्ट सहर बन्न यति दिन बाँकी भनेर औंला भाँचेर बसेको छ ।

सामाजिक सञ्जाल कस्ता मान्छेले चलाउँछन्, तिनको हैसियत के हो भन्ने हाम्रा अस्ति भर्खरैका प्रधानमन्त्रीले भनेको कुरा मैले यहाँ सम्झाउनु पर्ला र ? त्यस्ता व्यक्तिले धैर्यका साथ मेयरको कार्यशैली बुझ्न र उनले दिन खोजेको ‘सरप्राइज’लाई पर्खनुपर्छ । अर्को, उनले काठमाडौंको कस्तो दूरवस्थाको विरासत सम्हाल्नु परेको थियो र त्यसो हुँदाहुँदै पनि महानगरलाई कस्तो बनाएर दिन खोज्दैछन् भन्ने पनि बुझ्नुपर्छ । हतार गरेर हुँदैन ।

काठमाडौंको धुँवाधुलो, प्रदूषण, गुणस्तरहीन सार्वजनिक सवारी, कहालीलाग्दो ट्राफिक, साँघुरा र खाल्डाखुल्डी भएका सडक, असजिला सडकपेटी, खानेपानीको अभाव, सम्पदा सहरमाथि कंक्रिट जंगलको प्रभुत्व, प्रकोपमा दुर्घटनाको धरापजस्ता घरबस्ती  इत्यादि विद्यासुन्दरले मेयरमा जितेपछि सिर्जना गरेका समस्या होइनन् । ककसले मिलेर यो सहर बिगारे त्यसको लेखाजोखा छ कसैसँग ? अनि बिग्रेको सबै कुराको दोष जति अहिले ल्याएर उनको थाप्लोमा खन्याइदिनु कहाँको न्याय हो ? कुर्सीमा बसेको दुई महिना बितेको छैन समस्याको चाङ सबै सम्याई सक्नुपर्ने अपेक्षा गर्न मिल्छ ? जादूको छडी छैन मेयर सा’बसँग रातारात सबै हुने ।  
तैपनि अमानवीय आरोप र चमत्कारिक अपेक्षा दुवैबाट अविचलित मेयरले कति कुरा गर्ने ठानेका छन् भन्ने एकपल्ट चुनावताकाको उनको १०१ कामको सूची खोजेर हेरे छर्लङ्ग हुन्छ । 

‘ग्रीन एन्ड क्लिन काठमाडौं’, ‘क्लिन द सिटी’, ‘साइकल सिटी महानगर’, ‘घरघरमा अचम्मको सियो र गज्जबको चुलो’, ‘सही समय सही ठाम, नो ट्राफिक जाम’, ‘भोकरहित जनता शोकरहित महानगर’, ‘काठमाडौँ महानगर झिलिक्क: घरघर टिलिक्क’, ‘जञ्जालमुक्त सडक सञ्जाल’, ‘नो माक्स सिटी’, ‘कौसी खेती तथा गार्डेनः घरघरमा जैविक तरकारी खेती’, ‘काठमाडौँ स्मार्ट सिटिजन कार्ड’, ‘चौबिस घन्टे जीवन्त सहर’ इत्यादि कविताजस्ता छन्द मिलेका योजना कथ्न मेयर सा’बले टाउको दुखाएको तपाईं हाम्रै सुर्तामा हो भन्ने पनि बुझ्नुपर्छ ।

हो, यो मान्न सकिएला उनले सय दिनभित्र गर्ने कामको सूचीमा राखेका केही कामको सुरसार नहोला । जस्तै – सडकमा देखिएका खाल्डाखुल्डी पुरिएनन् । ‘विशेष प्रविधि’को प्रयोग गरेर धुलो र खाडलरहित सडक निर्माणको काम भएन । सवारीसाधन निषेधित क्षेत्र घोषणा भएन । पुरातात्विक मापदण्डअनुसार रानीपोखरीको पुनर्निर्माण तत्काल सुरु भएन । काठमाडौंलाई इन्टरनेसनल आर्ट र कल्चरल हब बनाउन सुरु भएन । ट्राफिक लाइट मर्मत जडान भएनन् । पाँचपाँच सय मिटरमा पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अघि बढेन । बाटामा थुपारिएका निर्माण सामग्री हटेनन् । नदी किनारका मठमन्दिरको संरक्षणसहित बागमती, विष्णुमती र रुद्रमती संग्रहालय निर्माणको प्रक्रिया थालिएन । घरघरबाट फोहोर र जैविक मल किन्न थालिएको छैन । ठाउँठाउँमा पार्क निर्माण सुरु भएन । 

यस्ता अझै थुप्रै भेटिएलान् । त्यत्रो सयौं काम गर्ने संकल्प लिएको व्यक्तिले ५–७ दर्जन काम थाल्न नभ्याउँदैमा रोइलो गर्नु पर्दैन । मेयरको जिम्मेवारी र व्यस्तता कम छैन । कति औपचारिक/अनौपचारिक कार्यक्रम सम्बोधन, उद्घाटन गर्न वा अनुहार देखाइदिनै भए पनि पुगिदिनुपर्छ । आँटेका कामसँग अन्तर्सम्बन्धित निकायसँग मिटिङ पनि बाक्लै हुन्छ । बाहिरबाट हेर्नेले मेयरको कुर्सीको चमकमाथि आरिस गरेर हुँदैन । महानगरपालिका आफैँ यति भद्रगोलमा गिजोलिएको छ कि भनी साध्य छैन । गर्ने कामको अन्तिम बुँदा ‘१०१’ मा त्यसै राखेका होइनन् उनले ‘महानगरमातहतका हरेक कार्यालयलाई आधुनिक, चुस्त, जनमैत्री, प्रविधिमैत्री कार्यालयको रूपमा स्थापित गर्दै परामर्श तथा उजुरी डेस्कलाई प्रभावकारी बनाउने’ भनेर । त्यस्तो अस्तव्यस्तताको नेतृत्व गर्नुपर्ने कुर्सीमा बस्ने व्यक्तिको टाउको कति चड्किँदो हो, अनुमान गरौं त ! 
यो सब हुँदाहुँदै पनि उनले इमानदारी साथ भनिसकेका छन् - अदालत र मन्त्रालयले कामै गर्न दिएन भनेर । छिमेकी ललितपुरका मेयरले २-४ वटा काम फटाफट गरेको देखेर तुलना गर्न मिल्दैन । तर, कतैकतै यस्ता चियागफ तुलना पनि सुनिन्छन् । त्यता अदालत र मन्त्रालयको आँखा नपुगेरमात्र हो नत्र महर्जन मेयर सा'बले पनि थाहा पाउँथे काम गर्ने मान्छेले कस्ताकस्ता तगारो भेट्छन् भनेर । 

मै हुँ भन्ने प्राविधिक र विज्ञले समेत यति चाँडै सोच्ने ह्याऊ नदेखाएको मोनो रेल, मेट्रो रेलमा काठमाडौंबासीलाई २–३ वर्षभित्रै चढाउन खोज्ने मेयरलाई अहिलैबाट हतास बनाउन खोज्ने मूर्ख हुन् । मलाई त मेयर सा’बले योजना बनाएको भक्तपुरको हनुमन्तेदेखि कटवाल दहसम्म वागमती किनार हुँदै केबल बसमा हुँइकिएको कल्पना गर्दा अहिले नै ख्याल मजा आएको छैन । चौबीसै घण्टा जागा हुने सफा र हरित काठमाडौंमा कहिलेकाहीँ परिवार, साथीभाइसँग यसो सम्पदा पदमार्ग हुँदै वसन्तपुर, ठमेल घुमेर आधा रातमा सार्वजनिक बसमा चढेर घर फर्किने रहर पूरा हुने दिन पनि त धेरै टाढा छैन नि !

यसैले मेयर सा’बसँग कुनै गुनासो, आग्रह पूर्वाग्रह नराखी एउटैमात्र इच्छा पूरो होस् भन्ने छ – राजधानी सहर छिर्ने सबै भुइँ नाकाको फ्याट्ट देखिने ठाउँमा ठूलो अक्षरमा ‘स्वागत छ तपाईंलाई, संसारकै सुन्दर सहर काठमाडौंमा’ लेखेको बोर्ड राखिएको हेर्न पाइयोस्, सय होइन १८ सय दिनभित्र भए पनि पुग्छ !

तपाईंको मत