काठमाडौं । नेपालमै पहिलो पटक युवा इन्जिनियरहरुको सक्रियतामा स्मार्ट इलेक्ट्रिक ह्विलचियर सार्वजनिक गरिएको छ । उक्त ह्विलचियर प्रयोगकर्तालाई प्रयोग गरिरहेको क्रममा दुर्घटनामा परे घरमा भएका परिवारको मोबाइलमा ‘एसएमएस’ जाने बताइएको छ । त्यसैले यो स्मार्ट ह्विलचियर भएको निर्माणमा संलग्न इन्जिनियरहरुको दावी छ ।
चार जना नेपाली युवा इन्जिनियरहरुको दुई वर्षको अथक प्रयासपछि उक्त ह्लिलचियर बनेको जनाइएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच अर्थराज्यमन्त्री उदयशम्सेर राणा, मह जोडी अर्थात मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतले संयुक्त रुपमा ह्विलचियरको सार्वजनिक गरेका थिए ।
अहिलेसम्म नेपालमा विदेशबाट मात्रै ह्विलचियर आयात गरिरहेको अवस्थामा सो आयातलाई विस्थापित गर्र्न टोलीले ह्विलचियर बनाएको बताइएको छ ।
देशमा रहेको इन्जिनियरसँग सम्बन्धीत समस्या समाधान गर्न स्थापित इन्फिनिटी ल्याब नामक अनुसन्धान मुलक संस्थाका युवा इन्जिनियरहरुको अगुवाईमा ह्विचियर बनाउन सफल भएको हो । निर्माण सामाग्रीे उत्पादन गर्दै आएको गोर्खा इको प्यानलले उपलव्ध गराएको वर्कसपको सहयागेबाट ह्विलचियर बनाइएको जानकारी दिइएको छ ।
इन्फिनिटी ल्याबका अध्यक्ष सुनिल परियारले हाललाई नमुनाको रुपमा एउटा मात्रै ह्वियचियर बनाएको बताएका छन् । यद्यपि ह्विलचियर बनाउन सहयोग पाए व्यवसायिक रुपमा बनाउन र विक्री गर्ने योजना समेत रहको उनको भनाइ छ ।
उनका अनुसार ह्विल चियर नेपाल तथा नेपालीलाई फोकस गरेर बनाइएको हो । कालोपत्रे बाटोमा मात्रै नभई खाल्डाखुल्डीयुक्त बाटोमा समेत सजिलै गुडाउन सकिने विशेषता रहेको छ । त्यस्तै स्वदेशमा नै मर्मत सम्भार गर्न सकिन्छ । मूल्यमा सस्तो रहेको सो ह्विलचियर अशक्त प्रयोगकर्तालाई आवश्यक परेको अवस्थामा पिशाब राख्ने व्यवस्था समेत चियरमा राखिएको अध्यक्ष परियारको भनाइ छ ।
कार्यक्रममा अर्थराज्य मन्त्री राणाले ह्विलचियर निर्माण युवाहरुको प्रशंसा गर्दै सरकारले यसको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले ह्विलचियरको लागि आवश्यक कच्चा पदार्थको भन्सार छुट गरिदिन पहल समेत गर्ने जनाइएको छ ।