site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

 



वीरगञ्ज । राजश्व तिरेर भारतीय गुट्खा भित्रिएको कुनै अभिलेख वीरगञ्ज भन्सार कार्यालयमा छैन तर यहाँको बजारमा भने व्यापक मात्रामा भारत निर्मित गुट्खा बिक्री वितरण भइरहेको पाइन्छ । 

नेपाली बजारभन्दा भारतीय बजारमा रजनीगन्धा, तुलसी, राजनिवास, राजश्री जस्ता गुट्खा सस्तोमा पाइने भएकाले व्यापक मात्रामा तस्करी भई वीरगञ्ज बजारमा भित्रिने गरेको छ । सीमावर्ती भारतको रक्सौल बजारबाट रातको समयमा तस्करले त्यस्ता महँगो गुट्खा भन्सार नाका, छपकैया तथा ग्रामीण क्षेत्रका नाकाबाट दैनिक करिब २५ लाख मूल्य बराबरको भित्र्याउने गरेको बताइन्छ । 

सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिम्मेवार व्यक्तिलाई आफ्नो पक्षमा पारेर रातको समयमा व्यापक मात्रामा रजनीगन्धा, तुलसी, राजनिवास, राजश्री लगायतका गुट्खा भित्र्याउने गरेको यस कार्यमा संलग्न अग्रवाल थरका एक व्यापारीले बताए । 

घुमन्ते प्रहरीका रुपमा रहेको टाइगर प्रहरीलाई समेत प्रतिमहिना पाँच हजारदेखि १० हजार रुपैयाँसम्म दिने गरेको भेद उनले खोले । तर यी आरोपलाई मिथ्या भएको बताउँदै पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता चक्रराज जोशीले रासससँग भने “मलाई विश्वास लाग्दैन कि प्रहरीले पैसा खान्छ ।” 

उहाँले भन्नुभयो – भारतबाट रजनीगन्धा लगायतका गुट्खा आउन त आउँछन् तर कुन बाटोबाट आउँछन् थाहा हुँदैन । फेला पर्दा हामीले समातेका छौँ नै ।” आर्थिक अध्यादेश २०७४ ले पानपसला, गुट्खा, खैनी, सुर्ती तथा सुर्तीजन्य पदार्थमा ३० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ । सोही अध्यादेशले किलोग्रामको हिसाबमा सुर्तीजन्य पदार्थमा प्रतिकिलो रु ४२० भन्सारको व्यवस्था गरेको छ । भारतबाट आउने यस्ता सुर्तीजन्य पदार्थको भन्सार काटेको आजसम्म भन्सारमा कुनै अभिलेख नरहेको भन्दै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले अनुगमन गर्ने निकायको उदासीनताको कारण सरकारले वर्षेनी लाखौँ रुपैयाँ राजश्व गुमाउँदै आएको गुनासो गरे । 

अहिले बजारमा रजनीगन्धा तुलसीप्रति एक सेट रु ४५ सम्ममा नेपाली बजारमा पाइने तर भन्सार काट्यो भने त्यसको दाम दोब्बर हुने माईस्थानका एक थोक व्यापारीले बताए । उनले भने – “त्यसकारण हामीले तस्करी गर्ने कुरियरमार्फत सामान मगाउने गरेका छौं ।” यस्ता सामान बिक्री गर्ने वीरगञ्ज क्षेत्रमा करिब ५० भन्दा बढी पसल रहेका छन् । वार्षिक करिब २५ करोड रुपैयाँको अवैध व्यापार हुने यस्ता सुर्तीजन्य पर्दाथ खासगरी इनर्वा, छपकैया, सिर्सिया नाकाको बाटो तथा ग्रामीण नाकाको बाटो गरी आउने गरेका छन् । 

विशेषतः थोक व्यापारी भएको वीरगञ्जको पानमण्डी, माईस्थान, घोडाबजार, पुरानो पानमण्डी लगायतका ठाउँमा कुरियरवालाले भारतको रक्सौलबाट चोरी–पैठारी गरी ल्याई पुर्‍याउने गर्दछ । पानमसलासँगै विभिन्न किसिमका आकर्षक प्याकिङ भएका विभिन्न नामका गुट्खा तस्करीको बाटो भई अवैध रुपमा भित्रिनाले यसको सेवनकर्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको चिकित्सकहरु बताउँछन् । 

“अत्यधिक गुट्खा र सुर्तीजन्य पर्दाथको सेवनले शारीरिक तौल कम हुने, पेट, फोक्सो, घाँटी र मुखमा प्रत्यक्ष असर पर्ने विभिन्न परीक्षणबाट समेत प्रमाणित भइसकेकाले यसबाट टाढा नै बस्नुपर्दछ,” नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका निमित मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरञ्जन साहले भने ।  

अहिले स्थानीय बजारमा रजनीगन्धा, तुलसी, राजनिवास, भोला, राजश्री, शिखर, पराग, मधु लगायतका विभिन्न नाम गरेका गुट्खा प्रचलनमा रहेका छन् । सुर्तीजन्य पर्दाथ र जर्दाको मिश्रण गरी बनाइने हुँदा यसका सेवनकर्तालाई क्यान्सर हुने बढी सम्भवना रहन्छ । यसमा अति सुगन्धित र विषादी तत्वहरु हाइड्रोकार्बन नाइट्रोजेमिन र विभिन्न किसिमका नशालु रासायनिक पदार्थको सम्मिश्रण गरी यस्ता उत्पादनलाई उपभोक्तासम्म पुर्‍याइने हुँदा यसलाई प्राणघातक तत्व भने पनि हुने विज्ञहरु बताउँछन् । 

कुरियरवाला, ह्विलचियरमा आउने अपाङ्ग व्यक्तिले भारतबाट यस्ता गुट्खा ल्याउने गरेको र यहाँबाट त्यस्ता गुट्खा सरकारी नम्बर प्लेटको गाडीमा तथा अन्य माध्यमबाट तस्करी भई काठमाडौँसम्म जाने गरेको एक व्यापारीले बताए । तस्करी भई आउने यस्ता गुट्खा बेच्ने व्यापारीकहाँ आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग तथा सम्बन्धित निकायले छापा नमार्दा तस्कर र व्यापारीको मनोबल बढ्न गएको छ । यस्ता हानिकारक तत्वको प्रयोगलाई निरुत्साह गर्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रममा सञ्चालन गर्नुपर्ने र अन्ततः बिक्री–वितरणमा समेत प्रतिबन्ध लगाउनुपर्ने माग वीरगञ्जवासीको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC