काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले संविधान र कानुन विपरितका निर्णयहरु लाद्ने काम गरेको आरोप लगाएका छन् ।
उनले कानुन बमोजिम आवश्यक ४० प्रतिशत संख्या नपुगेको निवेदनलाई मान्यता दिएको, निवेदन दिनेबित्तिकै माथिको आदेश भन्दै सोही दिन राति १० बजेसम्म आयोगका अधिकृतको रोहबरमा हस्ताक्षर सनाखत गरेको, सनाखत गर्दा नागरिकता या प्रमाणपत्र नहेरिएको, रित नपुगेको निवेदनलाई आधार मानी पुनः सनाखतका लागि बोलाइएको, पुनः सनाखतको म्याद थप्ने जस्ता विवादास्पद निर्णय निर्वाचन आयोगले गरेको बताएका छन् ।
“यस प्रकार आयोगले गरेको निर्णय संविधान र कानुन विपरित तथा पार्टी पद्दतिलाई कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित रहेको छ । जसरी भए पनि राप्रपालाई फुटाएरै छाड्ने वर्तमान सरकार र शक्तिकेन्द्रको मतियार र लाचार छायाँको रुपमा देखिनु दुर्भाग्यपूर्ण छ । यसरी निर्वाचन आयोगको विश्वसनीयतामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । निर्वाचन आयोगको पक्षपातपूर्ण भूमिकाप्रति राप्रपा दुःख प्रकट गर्दछ,” थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले पशुपति शमशेर राणा लगायतले दिएको निवेदन खारेज गर्नुपर्ने भए पनि आयोगले पूर्वाग्रही भएर काम गरेको आरो पनि लगाएका छन् ।