काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार बेलुका भएको सिजनको पहिलो खेलमा लिभरपुल वाट्फोर्डसँग ३ – ३ गोलको बराबरीमा रोकिएको हो ।
वाट्फोर्डको घरेलु मैदानमा भएको रोमान्चक खेलमा अन्तिम केहि मिनेट सम्हालिन नसक्दा लिभरपुल बराबरीमा रोकिन पुगेको हो । यो बराबरीसँगै लिभरपुल र वाट्फोर्डले एक एक अंक बाडेका छन् । लिगको दुई खेल सकिदा आर्सनलले ३ अंक जोडेको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलमा वाट्फोर्डले खेलको आठौं मिनेटमा नै स्टेफानो ओकाकाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको २९ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । खेलको ३२ औं मिनेटमा अब्दुल्लाए डाउकोरेले गोल गरेपछि पहिलो हाफमा वाट्फोर्डको अग्रता २ – १ को बन्यो ।
दोस्रो हाफको सुरुवातमै लिभरपुलले बराबरी गोल फर्कायो । खेलको ५५ औं मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिनोले गोल गर्दै खेल २ – २ को बराबरीमा पुराए । त्यसपछि खेलको ५७ औं मिनेटमा यसै सिजन क्लब आएको मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ३ – २ को अग्रता दिलाए । तर, खेलको अतिरिक्त समयमा वाट्फोर्डका मिगुल ब्रिस्टोसले गोल गरेपछि खेल ३ – ३ को बराबरीमा सकियो ।