ad

साहित्य र कला

लोकले बिर्सिएका योद्धा

– स्पन्दन राजा


करिब चार वर्षअघि सरोज बरालले फेसबुकमा लेखेका थिए, “हर्क चुम्मे भन्ने एकजना कलाकार हुनुहुन्थ्यो– जनसांस्कृतिक कलाकार, कता हराउनुभयो होला अचेल ? कतै पनि उहाँको नाम सुनिँदैन ।”

०००

लिम्बू तेजले करिब तीन वर्षअघि फेसबुकमै लेखे, “नेपाली कम्युनिस्ट आन्दोलनले आदिवासीहरूलाई हर्क चुम्मे मात्र बनाएकोमा दुःख लाग्छ । आगामी दिनमा अझ कति नव हर्क चुम्मे जन्माउने हुन्, सम्झँदा नि आकाश भैरवको मुहारको नक्कल गर्न मन लाग्छ । नाराङ स्याङलो...”

०००

दुई वर्षअघि तिहारको बेला पत्रकार भीमज्वाला राईले तस्बिरसहित फेसबुकको क्याप्सनमा नै लेखे, “भूमिगतकालदेखि नै पूर्वका जिल्लाहरूमा जनताको घरघर नाच्दै, गाउँदै र जनता जगाउँदै हिँड्ने जनकलाकार कमरेड हर्क चुम्मे (हर्क तुम्रोक लिम्बू) अहिले पनि जनताको घरमा उसैगरी नाच्दै र गाउँदै हिँड्न छाडेका छैनन् ।”

०००

एक वर्षअगाडि धरानको स्थानीय पत्रिका ‘पूर्णाङ्क साप्ताहिक’ले ‘छिन्ताङमा घन्कियो हिमायती’ शीर्षकको समाचार छाप्यो । 

०००

०३८ देखि ०५४ को समय धरानमा ‘हिमायती समूह’ बनाएर जनताको गीत गाउँदै पूर्वदेखि पश्चिमसम्म जनसन्देश फैलाएर हिँड्ने हर्क चुम्मेलाई उनका समकालीन मित्रहरूले फेसबुकमा मात्र खोजे र फेसबुक स्टाटसमात्र बनाए । तर, असलमा हर्क चुम्मे अहिले कहाँ के गर्दैछन् र कस्तो अवस्थामा छन् भन्ने कुरा थोरै मानिसलाई मात्र थाहा छ । साउनको पहिलो साता मेरो फेसबुक म्यासेन्जरमा एकजना मित्रले लेखे, “यी हर्क चुम्मे भन्ने मान्छे को हुन् ? अहिले कहाँ छन् ? के गर्दैछन् ? खोजी गर्नुपर्‍यो ।”


बाल कमरेड

हर्क चुम्मे पाँचथरको शिवा गाउँपञ्चायत–५ मा ०२२ सालमा जन्मिएका हुन् । उनी पिता मोतीबहादुर लिम्बू र माता हुमनरानी लिम्बूका तेस्रो सन्तान हुन् । पहाडको उकाली–ओराली र दुःख भोगेका मातापिता उनका दुई दाजुसहित ६ महिनाको काखे बालक हर्कलाई लिएर धरान झरे । मातापितालाई सहज शिक्षादीक्षा, स्वास्थ्य, खानेपानी, सडक र बिजुलीबत्ती जस्ता सुविधाले सहरको बसाइ सहज लागे पनि कान्छा छोराको कम्युनिस्टप्रतिको झुकाव र क्रियाकलापले पिरोल्न थालेको थियो । प्रारम्भिक शिक्षा धरानकै पञ्चायत विद्यालयबाट सुरु गरेका हर्कले ०४१ सालमा शिक्षासदन स्कुलबाट एसएलसी दिए । कम्युनिस्ट विचारधाराबाट प्रभावित उनले राजाको गुणगान गाउने र विद्यालयको कक्षाकोठामा मात्र सीमित शिक्षालाई ‘बुर्जुवा शिक्षा’ भन्दै एसएलसीभन्दा माथिको पढाइ नै गरेनन् । हर्क चुम्मे पञ्चायती व्यवस्थाविरुद्ध लागेका वामपन्थी विचारका नेताहरू डीपी आचार्य, पारस सुब्बा, तत्कालीन समयमा नीलकण्ठ भनेर चिनिने अहिलेको संघीय समाजवादी फोरमका नेता अशोककुमार राईजस्ता नेताहरूको सम्पर्कमा ०३६ मै आइसकेका थिए । त्यो बेलासम्म ‘बाल कम्रेड’का रूपमा धरानमा चर्चित भैसकेका थिए हर्क । १४ वर्षको बाल कम्रेडले पहिलो पटक धरान पब्लिक हाइस्कुलमा पञ्चायतविरोधी कार्यक्रममा जेबी टुहुरेको हौसलामा जनसांस्कृतिक यात्राको सुरुआत गर्दै जनवादी गीत गायो र वाहवाही लुट्यो । 

त्यो बेला हजार बाह्रसयको भीडमा गाउँदा कत्ति पनि नडराएको, नधकाएको हर्क आफैँ सम्झन्छन्, “लौ न कसरी हिम्मत आयो ?” 

अग्रज नेताहरूले माया गरेर गरेको ‘बाल कम्रेड’को सम्बोधनले उनमा कम्युनिस्ट विचार र जनताको आन्दोलनमा लाग्न थप ऊर्जा र उत्साह थपियो । 


हिमायतीको यात्रामा

धरानका जुझारु कम्युनिस्ट विचारधाराका युवाहरू मिलेर ०३८ सालमा ‘शुक्रपथ अध्ययन समूह’ गठन गरे । समूहमा कम्युनिस्ट विचारबारे छलफल, बहस र अध्ययन हुने गथ्र्यो । माक्र्स, लेनिन र माओ आदि कम्युनिस्ट नेताहरूका विचारका साथै कम्युनिस्टका पुराना परिभाषा र नवपरिभाषाबारे गम्भीर छलफल हुन्थे । ती सिद्धान्त र विचारलाई कसरी नेपाली जनतामाझ पु¥याउन सकिन्छ, नेपाली परिवेशमा कसरी प्रयोग गर्न सकिन्छ, पञ्चायत र निरङ्कुश राजतन्त्रविरुद्ध जनतालाई कसरी एकजुट गर्न सकिन्छ, शासक कति निर्दयी र हेपाहा प्रवृत्तिका छन् भन्ने कुरा जनतालाई कसरी सुसूचित गर्न सकिन्छ जस्ता विषयमा विभिन्न थरीका प्रस्ताव आउँथे र छलफल हुन्थे । प्रगतिशील विचारलाई मौखिक रूपमा र भाषणबाट मात्र जनतामाझ पु¥याउन सम्भव नहुने हर्क चुम्मेको बुझाइ थियो ।

तिनै छलफलबाट निष्कर्ष निस्कियो, गीत–सङ्गीतका माध्यमबाट जनतालाई जागृत गर्न सकिन्छ । त्यही साल कम्युनिस्ट नीतिलाई आत्मसात् गर्दै समूहको नाम फेरिएर ‘हिमायती जनसांस्कृतिक समूह’ बन्यो, जसको संस्थापक अध्यक्ष सूर्य दाहाल थिए । सोही वर्ष दाहाल जीविकोपार्जनका लागि संखुवासभाको चैनपुरमा शिक्षक भएर गए । त्यसपछि हिमायतीको नेतृत्व सम्हाल्न १६ वर्षे हर्क चुनिए, जसको नेतृत्व र अध्यक्षतामा पूर्वाञ्चलभरि ०५४ सम्म निरन्तर जनतालाई ब्युँझाउन जनसांस्कृतिक कार्यक्रम गर्दै हिँड्यो । सुरुआती समयमा स्वतन्त्र रूपमा हिमायतीले कम्युनिस्ट विचारलाई आत्मसात् गर्दै हिँडे पनि पछि विचार र सिद्धान्त मिलेकै कारण एमाले पार्टीसँग नजिक रह्यो । जसले तत्कालीन मालेको विचार, सिद्धान्तसँग नजिक रहेर गीत–सङ्गीतका माध्यमबाट जनतामाझ विचार पुर्‍याउने अभियान थालेको थियो ।

सुरुका दिनमा हिमायतीले रामेश, जेबी टुहुरेजस्ता जनगायकका गीत–सङ्गीतमा आफ्नो प्रस्तुति दिने गर्दथ्यो । पछि ०५२ सम्ममा ‘बाध्यताका सुसेली भाग–१’, ‘बाध्यताका सुसेली भाग–२’, ‘बाध्यताका सुसेली भाग–३’ गरी तीनवटा एल्बम निकाल्यो । यसमा किशोर थुलुङको स्वर, गणेश इजमको शब्द र जीवन भट्टराईको सङ्गीत रहेको ‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा....’ बोलको गीतसमेत थियो । यो गीतले निकै चर्चा पायो र जनताको मन जित्न सफल भयो । एल्बमका तीनवटा भागमा हिमायतीका आफ्नै २५ वटा गीत छन् । रेकर्ड नभएका गीत सङ्कलन गरेर पुस्तकसमेत प्रकाशन गरिएको छ । 

हिमायतीले सधैँ गरिब–दुःखी, पहिचान हराएका, हेपिएका र पिछडिएकाहरूको गीत गायो, बजायो र नाच्यो । रामेश, जेबी टुहुरे, राजन राई, साम्दे शेर्पाजस्ता कलाकारको सामीप्यमा डेढ दशक लामो यात्रामा पूर्वाञ्चलको जनसांस्कृतिक क्षेत्रमा खुब जम्यो हिमायती । पूर्वका मेची, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत काठमाडौं र पोखरामा समेत हिमायतीले ‘जनतामा जनताकै गीत’, ‘सङ्गीत र नृत्य जनताको घरदैलोमा’ आदि अभियान गर्दैै जनतालाई जगाउँदै हिँड्ने काम ग¥यो ।


थाहा छैन, कुन कम्युनिस्टले प्रभावित गर्‍यो

हर्क चुम्मेलाई पहिलोपटक कसको र कुन कम्युनिस्ट विचारको पुस्तक पढेर कम्युनिस्ट विचारबाट प्रभावित भएको भनेर याद छैन । त्यो समयमा म्याक्सिम गोर्की, ल्युलान, मोदनाथ प्रश्रित र सञ्जय थापा भनेर चिनिने प्रदीप नेपालजस्ता लेखकका पुस्तक भने उनले पढे ।

नाच्ने, गाउने, लेख्ने, बजाउनेजस्ता कलाकारिता भएका चुम्मेले पहिलो पटक ०४५ सालमा त्रिचन्द्र कलेज काठमाडौंमा हिमायतीमार्फत जनसांस्कृतिक कार्यक्रम लिएर गएको बेला ‘जनताको भाषामा जनतालाई नै सम्बोधन’ गरे । त्यसपछि वाक् कलामा उनको वाहवाही सुरु भयो, जो अहिलेसम्म कायम नै छ । देश र जनताको भावना बुझेर आफ्नो कुरा स्पष्ट राख्ने मृदुभाषी हर्क जनतालाई बुझाउन सक्ने खुबी भएका कलाकारका रूपमा प्रशंसित छन् । चुम्मे जब–जब स्टेजमा उत्रेर जनताको आवाज जनताकै भाषामा बोल्थे, नेताको भाषण सुनेर थकित भएका जनता चनाखो हुने गर्थे । कार्यक्रम सुरुआत गर्ने बेलामा जहिले पनि उनी एक पंक्ति कविता हात उठाउँदै जोस–जोसले भन्थे र कार्यक्रमको सुरुआत गर्थे । मलाई पनि उनले ती लाइन त्यसैगरी जोसका साथ सुनाए:

उठ्नु पर्छ कस्दै आफ्ना दरिला मुठ्ठी 
पिउँदै आँसु रोएर बसे 
पाइँदैन हामीले चाहेको मुक्ति

हर्कको वाक्कला र भाषणकलाबाट प्रभावित भएका ०५१–५४ का हिमायतीका सदस्य तथा पत्रकार, चलचित्रकर्मी जसकुमार राई भन्छन्, “हर्क चुम्मे बेजोड शब्दमा जनताको भाषामा जनतालाई पञ्चायती व्यवस्थाविरुद्ध बुझाउने र माहोल बनाउन सक्ने व्यक्ति हुन् ।”

राई थप्छन्, “हिमायतीको आफ्नो समयमा सुरेश गन्धर्वको ‘रिङ्केबुङको राँगालाई’ बोलको गीत पूर्वाञ्चलका हरेक कार्यक्रममा गाइन्थ्यो र नाचिन्थ्यो । यो गीतको प्रस्तुति हेरेर जागरुक नभएका मान्छेहरू हुँदैनथे । यसको श्रेय हर्कले पाए ।”

पत्रकार राईकै शब्दमा भन्ने हो भने, “हर्क चुम्मे हिमायतीको समूह हो । हिमायती र हर्क चुम्मेको विशेषता जनसांस्कृतिक विषयसँगै अनुशासन पनि हो । जहिले पनि सांस्कृतिक विचलनको विरोध गर्ने, सांस्कृतिक छाडापनको विरोध गर्ने र कम्युनिस्ट सिद्धान्तमा कुरीति र अन्धविश्वासको पर्दालाई हटाउन लागि पर्ने नाम हो, हर्क चुम्मे ।”

तर, विडम्बना ! हर्कलाई उनको योगदानअनुसार न पार्टी संगठनले, न कुनै पक्षले कदर गर्न सक्यो । ०५३/५४ मा हिमायतीका सदस्य समेत रहेका पत्रकार दिनेश गजमेरको बुझाइ पनि यस्तै छ । 


व्यवस्थाविरोधी, अराष्ट्रिय तत्त्व

नेकपा एमालेको विद्यार्थी संगठनमा समेत आबद्ध रहेका बेला अखिलको नवौं महाधिवेशनको समयमा वालपेन्टिङ गर्दागर्दै हर्कसहित १२ जना पक्राउ परे । यो ०४४ सालको कुरो हो । 

चैत ४ गते पक्राउ परेका हर्क र साथीहरूमाथि व्यवस्था विरोधी, अराष्ट्रिय तत्त्व, राजाविरोधी, देशद्रोहीजस्ता आरोप थिए । ४ दिनको छोरा भएका हर्कले आफ्नो लिम्बू संस्कृतिअनुसार न्वारन गर्नसमेत पाएनन् । उनले हिरासतका १२ दिनमा यातनाका थुप्रै नमुना अनुभव गरे । बुट र भाटाको अनगिन्ती प्रहार झेलेका हर्कले देब्रे खुट्टामा नौ टाँका लगाउनु पर्ने गरी यातना पाए ।

उनीसँगै त्यो बेला पक्राउ परेका खगेन्द्र राई अहिले राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष छन् । अविराम क्रान्ति भनेर तत्कालीन समयमा चिनिएका कवि, रङ्गकर्मी तथा पत्रकार गोपाल देवान, सुवास चोङवाङलगायतलाई उनले अहिले पनि सम्झिन्छन् । ०६२÷६३ को दोस्रो जनआन्दोलनमा दोस्रो पटक पक्राउ परेका उनी २४ घण्टामै छुटेका थिए ।


जनतासँग मिलेर राज्यविरुद्ध लडाइँ

हर्क भन्छन्, “जनतासँग सामीप्य थियो तर सबैले बुझेका थिएनन् । हामी बुझाउने क्रममै थियौँ । कहीँ माया पाउँथ्यौँ, कतै विभेद ।”

हिमायतीको जनसांस्कृतिक कार्यक्रम लिएर हिँडेका बेला भएका दुइटा घटना हर्क याद गरिरहन्छन् । मोरङको दुलारीमा कार्यक्रम लिएर गएका बेला पञ्चायती प्रहरीले वाद्यबाजा जफत ग¥यो । त्यसपछि स्थानीय जनतासँग मिलेर प्रहरी ज्यादतीविरुद्ध लडाइँ गरियो । 

संखुवासभाको कुलुङमा कार्यक्रमपछि खाने–बस्ने निधो गरियो । जुन घरमा बस्ने योजना थियो, त्यो घरमा आँगन पनि टेक्न पाइएन । यस्तो विभेद गर्ने ब्राह्मण परिवारसँग केही समय बिताए । हिमायती भनेको जनवादी कला र संस्कृतिको उद्घोष गर्ने, संरक्षण गर्ने, न्यायको हिमायती, प्रजातन्त्रको हिमायती र समानताको हिमायती हो भन्ने जनताले बुझेका थिए ।

हर्क भन्छन्, “हामी जेका लागि र जसका लागि चुनौतीको सामना गर्दै राज्यसँगको लडाइँमा थियौँ, उसैले हामीलाई गरेको व्यवहारले आजित पनि भयौँ ।”


हिमायती, फ्रस्टेसनको सिकार

०५४ सालपछि हिमायती पूरै निष्क्रिय रह्यो । त्यो समयमा चुम्मे र हिमायती न्याय, सुशासन र परिवर्तनका पक्षमा थिए । नेताहरू पनि त्यही पक्षमा थिए तर परिवर्तन नेतामा मात्र आयो । त्यो परिवर्तन न त कलाकारमा आयो, न जनतामा । कलाकार जहाँँ थिए, त्यहीँ रहे । जस्ता थिए, त्यस्तै रहे । आफूमा परिवर्तन ल्याउन सकेनन् । कलाकारहरू फ्रस्टेसनका सिकार भए । कोही विदेश पलायन भए । कोही देशमा नै अवसरको खोजीमा लागे । कोही व्यवसाय र सानातिना पेसामा लागे । कोही रक्सी खाएर हिँडे । कोही तासजुवा खेलेर समय बिताउन थाले ।

गायक उत्तर भुजेलको मृत्यु अत्यधिक रक्सी सेवनकै कारण भएको थियो । हिमायतीमा राम्रो गीत–सङ्गीत गर्न सक्ने कलाकार थिए भुजेल, जसले देशको प्रगतिशील गीत–सङ्गीतको प्रतिनिधित्व गर्थे । गणेश इजम जस्तो राम्रो गीत लेख्न सक्ने गीतकार, शिव सुब्बा र जीवन भट्टराई जस्तो राम्रो सङ्गीत गर्न सक्ने सङ्गीतकार, किशोर थुलुङ र उत्तर भुजेलजस्ता राम्रा गायकको समूह थियो, हिमायती । र, यही हिमायतीका एक सदस्य थिए हर्क ।

हिमायतीमा महिला सहभागिता पनि उत्तिकै थियो, जुन समयमा महिला घरदेखि बाहिर निस्किन पनि मुस्किल हुन्थ्यो । हिमायतीमा गायिका हर्षु राई, ड्रमवादक कुन्ता योञ्जन, उद्घोषक वर्षा सुब्बा, गिटारिस्ट विष्णा सुब्बा र झुमा सुब्बा, गणेशकुमारी राईलगायतका महिलाको एउटा ब्यान्ड नै थियो । त्यो समूहले हर्क चुम्मेको नेतृत्वमा ०४७ देखि ०४९ सम्म पूर्वाञ्चलमा जनताको गीत गाएको थियो । 


कहाँ छन् हिमायतीहरू ?

त्यसबेलाका हिमायतीहरूमध्ये संस्थापक अध्यक्ष अहिले चैनपुरमा शिक्षण पेसामा छन् । हङकङमा हङकङ हिमायतीका अध्यक्ष शिव सुब्बा छन् । किशोर श्रेष्ठ, सुजाता लिम्बू, विष्णा लिम्बू, जी. प्रकाश मेन्याङ्बो, अविनारायण राई, रोशन राई पनि हङकङमै छन् ।

चण्डी राई, गणेश इजम कोरियामा छन् । हुमा बोख्खिम नेपाल सरकारको जागिरे छिन् । उमा लिम्बू सिङ्गापुरमा छिन् । धरानमा हरिकुमार राई, डम्बर राई, सुस्मिता राई, लीला मेवाहाङ राई, कुन्ती योञ्जन, सुरेश श्रेष्ठ, जीवन भट्टराई, किशोर थुलुङ, हर्षु राई, जसकुमार राई, दिनेश गजमेर र नगेन राई छन् ।


नियतिमाथि विश्वास गर्नुपर्ने बाध्यता

सांस्कृतिक कार्यक्रम गर्ने, संगठन गर्ने र कम्युनिस्टको कार्यक्रममा मान्छे भेला पार्ने काम हिमायतीले गथ्र्यो । कार्यक्रम हुन्थ्यो, भाषण हुन्थ्यो । नेताले भाषण गरेर गए, कलाकारलाई पानीसमेत सोधिएन । पहिलो जनआन्दोलन सफल भयो, दोस्रो जनआन्दोलन सफल भयो, तर जनसांस्कृतिक कलाकारको जीवनमा सफलता भन्ने अनुभूति भएन ।

हिमायतीलाई बाटो बनाएर राजनीति गर्ने धेरै नेताहरू सांसद र मन्त्री भए । केन्द्रीय नेता भए । तर, हिमायती र हर्क चुम्मे जहाँको तहीँ रहे । प्रश्न उठ्छ, समयले त्यो आन्दोलन र इतिहासलाई बिर्सेकै हो त ? पञ्चायती व्यवस्था परिवर्तन गर्न, जनताको अधिकारका लागि, अन्याय, अत्याचार र छुवाछुतजस्ता कार्यको विरोधमा हर्कले गरेको उद्घोष र योगदानको लेखाजोखा हुन नसकेकै हो त ? नेपालमा जनतालाई ब्युँझाउन, जनतालाई शासकको दमनविरुद्ध उठाउन कम्युनिस्टको महत्त्वपूर्ण भूमिका रह्यो । कम्युनिस्टभित्रै रहेर सांस्कृतिक आन्दोलनमा लाग्दै सांस्कृतिक र सामाजिक परिवर्तनका लागि सरिक हुने सांस्कृतिक अभियानकर्ता हर्क चुम्मेलाई कम्युनिस्टहरूले बिर्सिएकै हुन् त ?

दुई सन्तानका पिता हर्क परिवार चलाउन श्रीमतीलाई कोदोमा मर्चा मल्न सघाउँछन् । कसैको एक पैसो सित्तैमा नखाएका हर्कलाई आजकाल छिमेकीले कोदोको रक्सी व्यापारीका रूपमा चिन्छन् ।

धन्न यहाँ कसैले सोधिदिँदैनन्, “खै तिम्रो सांस्कृतिक अनुशासन ? अनि केलाई भन्छौ सांस्कृतिक विचलन ?”

समय टक्क अडिन्थ्यो, वातावरण मौन हुन्थ्यो । तर, पनि हर्कले हाँसीहाँसी उत्तर दिनुपर्ने हुन्थ्यो, “जीविकोपार्जन ।”

उनका समकालीनले जनसांस्कृतिक कलाकारका नेतृत्वकर्ता भन्लान् । कसैले पार्टी सदस्य पनि भन्लान् । तर, के छिमेकमा उनको परिचय रक्सी व्यापारीमा आएर टुङ्गिनु पथ्र्यो ? पार्टी–संगठन मौन, राज्य मौन र हर्क पनि । एउटा कम्युनिस्टले अन्तमा नियतिमाथि विश्वास गर्नुपर्ने कस्तो विडम्बना ?


र, भर्ती लागेनन् हर्क चुम्मे 

संगठन, रचनाकर्म र हिमायतीलाई सबैभन्दा धेरै ऊर्जावान् समय खर्चेका हर्कले आफ्नो समयमा गोर्खाभर्ती हुन सक्ने राम्रो अवसर पाएका थिए । तर, भर्ती लाग्न उनको रुचि थिएन ।
 
बरु भर्ती नहुन, मुग्लान नजान र विदेशीको गुलाम नहुन आग्रह गर्दै गीत गाउँदै गाउँका कुनाकन्दरा पसे । उनको परिवारमा दुई दाजुहरू र पिता पनि गोर्खा भर्तीमा थिए । गोर्खा भर्ती हुनु भनेको आफ्नो ऊर्जावान् समय र पसिना विदेशमा बगाएर आफ्नो देश बाँझो बनाउनु हो भन्ने ठान्थे ।

एक समय नेपाली विषयको शिक्षक, त्यसपछि ठेकेदार र हिमायतीका अध्यक्ष रहेका हर्क चुम्मे अहिले साधारण जीवन बिताइरहेका छन् । धरान–१० सैनिक भवननजिकै टिनले छाएको अनि टिनले नै बारेको घरमा बस्दै आएका हर्क देशबाट लिनुभन्दा पनि देश र जनताका लागि आफ्नो ऊर्जाशील समय दिन पाएकोमा निकै खुसी छन् । अब पनि आवश्यकतामा मात्र नभएर सधैँ देश र जनताको सांस्कृतिक परिवर्तनका लागि, सामाजिक परिवर्तनका लागि लागिपरिरहने उनी बताउँछन् । जनताका लागि बोल्न सक्ने, जनताको दुःखमा सामेल हुन सक्ने हर्क चुम्मेले कहिल्यै पनि आफ्ना लागि केही मागेनन् । पावरलाई पोजिसनमा नबदलेका उनलाई व्यक्तिगत स्वार्थका लागि न त स्वाभिमानले दियो, न त आस्थाले दियो, न त जीवनको मार्गदर्शनले दियो, न त जीवनप्रतिको बुझाइले दियो । खासमा उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हेर्ने आफ्नै बुझाइलाई सलाम गरिरहे ।

चुम्मे भन्छन्, “नेताहरूको मिलिजुली खाने प्रवृत्तिविरुद्ध हामी पहिले पनि थियौँ र अहिले पनि छौँ । हिजो हामी बोल्न पाउँदैन थियौँ, आज बोल्न पाउँछौँ । स्वतन्त्र रूपमा लेख्न पाउँदैन थियौँ, आवाज उठाउन पाउँदैन थियौँ, नैसर्गिक अधिकारसमेत कुण्ठित गरिएको थियो ।”

अहिले नेपाली जनताले केही राहत पाए पनि आफूले गरेको योगदानअनुसार परिवर्तन नहुँदा राजनीतिक परिवर्तनबाट चुम्मे त्यति धेरै खुसी देखिँदैनन् । अब हिमायतीलाई नयाँ ढंगले, नयाँ ऊर्जासहित सबै हिमायती अट्ने गरी कुनै पार्टीको सांस्कृतिक कलाकार नभई जनताको जनसांस्कृतिक कलाकार भएर अगाडि बढाउने सोचसहित अगाडि बढ्न चाहन्छन् उनी । पूर्वाञ्चलको कम्युनिस्ट आन्दोलनमा सांस्कृतिक क्षेत्र सम्हालेर प्रभावकारी रूपमा नेपाली कम्युनिस्ट आन्दोलनलाई हर्कले उचाइमा पुर्‍याएकै हुन् ।

उनी राज्यको शोषण, निरङ्कुशता, विभेद, अन्याय र अत्याचारका विरुद्ध सांस्कृतिक अभियान चलाउने पूर्वाञ्चलका एक मुख्य अभियन्ता हुन् । माक्र्सवादी साहित्य चिन्तनअनुकूलका गीत, सङ्गीतद्वारा जनतालाई पञ्चायत र राजतन्त्रविरुद्ध एकजुट बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने हर्कलाई त्यसबेलाका पूर्वाञ्चलवासी जनताले स्टेजमा भाषण गर्दागर्दै र नाच्दानाच्दै चिनेका थिए ।

तस्बिर सौजन्य: जसकुमार राई

 

तपाईंको मत