site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिसो ब्ल्यांकेट
Ghorahi CementGhorahi Cement

– वसन्त विवश आचार्य


मोबाइल फेरि भाइब्रेट भयो । एक–दुईपटक फोन गर्दा पनि नउठेपछि तारन्तार फोन गरिरहने मान्छे मलाई संसारको सबैभन्दा मूर्ख मान्छे लाग्छ । आपतकालीन भए टेक्स्ट गर्दा पनि हुने । फोन काटें र कम्पोज गरेको म्यासेज पठाएँ, “कल यु  लेटर ।”

हे दैव ! फोन आउन छाडेन । औंलो उठाएर विद्यार्थीसँग समय माग्दै कक्षाबाट बाहिरिएँ ।

Agni Group

“म तिम्रो पुरानो साथी, तुलसीपुर बजारमा आएको छु । एकछिन जसरी भएपनि भेट्नु पर्‍यो,” सम्बोधनबिनै कुराकानी चल्यो ।

“ल, कतै चिया लिएर बस्दै गर, एक पिरियड बाँकी छ,” मलाई साथीका बारेमा जिज्ञासा राख्ने समय नै थिएन ।

Global Ime bank

कक्षामा समयको भ्रष्टाचार गरे रिजल्टले पनि भ्रष्टाचार गर्छ । रिजल्टले भ्रष्टाचार गरे प्रिन्सिपलले भ्रष्टाचार गर्छन् । बिस्तारै जिन्दगी र खुसीले भ्रष्टाचार गरिरहन्छ । मलाई अख्तियारले नदेख्ने भए पनि कक्षामा भ्रष्टाचार गर्न मनै लाग्दैन । पहिले कहिल्यै नसुनेको आवाजले साथी भनेर भेट्न खोेजेपछि कक्षामा ध्यान पनि एकोहोरो भएन । मलाई धेरै हतार थियो तर घडीको लय एकनासले चल्यो ।

पत्रकारितासँगै साहित्यमा पनि जोडिएकाले नचिनेका मानिसहरूसँग भेटघाट भइरहन्छ । तर, कहिल्यै पनि अचानक भेट्नका लागि आपतकालीन फोन आउँदैनथ्यो । इतिहासै भंग गरेर फोन गर्ने गरी को साथी आएछ ? मनमा प्रश्न उठ्दा उठ्दै म बजार आइपुगें । आश्चर्य– मैले कल्पनै नगरेको मान्छेले चियाको चुस्कीसँगै मलाई कुरिरहेको थियो ।

विधान ! जोसँग भेट नभएको मात्रै पनि १० वर्ष भएको थियो । खोइ कसरी फेसबुकमा पनि जोडिएन ऊ मसँग । म शून्य थिएँ उसको वर्तमानसँग । स्कुल पढ्दा खुबै बदमास थियो । एउटी सपना भन्ने केटीलाई निकै मनपराउँथ्यो । एकदिन भागिछे खलासीसँग । धेरै बेर रोयो मसँग, “यार खलासी जति पनि हैसियत भएन मेरो ।”

मैले त्यतिबेलै भनेको थिएँ, “यार ! प्रेम हैसियतमा हुँदैन, मनमा हुन्छ । उसको मनलाई खलासी मनपर्‍यो, गई,” उसले मन बुझाएको थियो त्यतिबेला । 

अनुहारमा उदासीको चाँया टल्किएको थियो । साथी १० वर्षपछि भेटिँदा पनि कसेर अंकमाल गरेन । सामान्य औपचारिकतासँगै उसकै आग्रहमा हामी तातो चियाको पसलबाट चिसो चियाको पसलतिर बाहिरियौं र एक रेस्टुराँको अँध्यारो क्याबिनमा थन्कियौं ।

ओठमा चुरोट च्याँप्दै उसले भन्यो, “जीवनको सात वर्ष खेर गयो यार ।”

प्रारम्भ, विस्तार र अन्त्यको लय नमिलाएर ऊ आफ्नै लयमा बोल्दै थियो । 

“कुरा के हो प्रस्ट भन् न यार,” उसले बिर्सिसकेको ‘यार’ मैले सम्झाएँ । 

“जब तैंले यार भन्छस् नि, कस्सम सपनाको याद आउँछ यार,” हाँस्न–हाँस्न खोजेजस्तै ओठ अलिकता तन्काएर भन्यो ।

“संसारमा कतिपय कुराहरू हेर्नका लागि मात्रै मनपराउनुपर्छ यार, अनि कहिल्यै रुनुपर्दैन,” मैले बकें ।

“साला सात वर्ष विदेश बसेर मरुन्जेल दुःख गरें, आउँदा पैसा पनि छैन, मान्छे पनि छैन,” हामीले महेन्द्र स्कुलमा सँगै पढ्दा भागेर हेरेको ‘झझल्को’ फिल्मझैं उसले अन्त्यबाट कहानी सुरु गर्‍यो, “स्कुलमा तैंले जति सम्झाए पनि सपना आँखा र मनमा एक्कैपटक आउन छाडिन । तैंले स्कुल फेरिस्, मैले स्कुलै छाडें । बहकिएर हिँडेपछि बाले एउटी केटी खोजिदिए, मलाई पनि ठिकै लाग्यो, बिहे भयो । तर, मधुमासको समय पनि गतिलोसँग नबित्दै म मलेसिया हुइकिएँ । आफूले नपढे पनि बूढीलाई पढाउने धोको मनमा निकै थियो । म अभावमा पढेको, बूढीलाई त्यसको अनुभव हुन कहिल्यै दिइनँ । जे भन्यो, जस्तो भन्यो, पुर्‍याइरहें । कहिल्यै गुनासो गर्ने मौका दिइनँ । कहिल्यै ‘पैसा किन धेरै खर्च गरेको ?’ भनेर प्रश्न पनि गरिनँ । बीचमा एक–दुई पटक आउन पनि खोजें । उसले नै ‘पर्दैन, राम्रोसँग कमाएर एकैपटक आउने’ भनेर सुझाव दिई । मैले आँखा चिम्लिएर स्वीकार गरें ।”

वेटर ‘अर्डर’ वोकेर आयो । उसले बोलीलाई विश्राम दिएर एक टुक्रा आइस, कागती र पानी रुस्लानको प्याकमा मिसायो । चिसो मौसममा पनि आइस मिसाएको थियो उसले । शायद मनको घाउ सेक्नलाई होला ।

बोल्न क्रमले फेरि निरन्तरता पायो, “बीचमा एकपटक पत्थरी परेर अपरेसन गर्ने बेलामा आएँ तर मनभरि माया गर्न सकिनँ । ऊ रेस्टमा थिई । चार वर्षपछि घर आउँदा पनि मैले केवल आँखा र मनले मात्रै छामें उसलाई । बीचमा हतार–हतार आएकाले लामो समय बस्न सकिनँ । उसको बाटुलो निधारमा एक चुम्बन गरेर म परदेश फर्किएँ । म्यासेन्जरले टाढा हुनुको केही न्यास्रो मेटे पनि प्यास भने कहाँ मेट्न सक्थ्यो र ! फेरि पनि तीन वर्ष बिते ।”

उसले मोबाइल अनलक गर्‍यो अनि स्क्रिनसट गरेर राखेको गफ देखायो–

विधान : सानु, बाँच्नै गाह्रो भयो, अब उतै आएर केही गर्ने ।
वेदना : जे गरे नि हुन्छ, तपाईंकै हो क्यार ।
विधान : मन उडाउने कुरा नगर न, मलाई मन थाम्न गाह्रो हुन्छ ।
वेदना : सँगालेर राख्नुस् न, मैले पनि सँगालेकी छु ।
विधान : काली, जति सिरक खपाउँदा पनि तातो हुँदैन त ओछ्यान ।
वेदना : अब आगो यता भएपछि त्यता कसरी तातो हुन्छ त ?
विधान : आउँदा तातो लुगा केही नल्याएर आऊँ त ?
वेदना : आगोमात्रै ताप्दा जलिएला नि, एउटा मलेसियन ब्ल्यांकेट ल्याउनू न ।
विधान : अब तिम्रो सामु ब्ल्यान्केटले कहाँ न्यानो देला त ?
वेदना : सधैं आगो ताप्न थालियो भने पोल्छ क्या, त्यै भएर ।

मैले हेर्दै थिएँ, मोबाइल भाइब्रेट भयो । आमाको फोन रहेछ । भन्यो, “भैगो आमा, म आज आउन सकिनँ, गाडी पाइएन ।” 

“साला श्रीमतीको नम्बर हो यार यो, कति मीठो कुरा गर्थी यही नम्बरबाट फोन आउँदा,” उसले के सोच्यो– मोबाइल गोजामा थन्कायो ।

“आजभोलि यो मुटु धड्किन भन्दा पनि दुख्नका लागि अनि यी अाँँखा कसैलाई हेर्न भन्दा पनि रुनका लागि बनेका हुन् जस्तो लाग्छ । एकैपटक पाइने यो जिन्दगी रोएर जाने भो यार,” आँखामा भोड्काको भन्दा पनि पीडाको मादकता बढी टल्किएको थियो ।

“अब के गर्ने यार ? अब कता जाने बाटो देखेको छैन । तँजत्तिको बाटो देखाउने मान्छे पनि भेटेको छैन,” उसले सबै अभिभारा मेरो काँधमा ल्याएर थोपरिदियो ।

उसले केही समयअघिको च्याट स्क्रिनसट देखायो–

वेदना : जानु, तिमीलाई थाहा छ नि, मलाई तिम्रो हातभन्दा अरु कुराको सिरानी हाल्न मन लाग्दैन ।
विधान : थाहा छ, म पनि त सिरानी नहालेर सुत्छु नि ।
वेदना : तर कतिपय कुरा गर्दिनँ भनेर मन र तनले मान्दैन नि ।
विधान : के गरौं त ?
वेदना :अहिल्यै आइहाल न, चरीजस्तै उडेर ।
विधान : साह्रै गाह्रो भयो है बाँच्न ?
वेदना : हो, सास नफेरेर बाँचे जस्तो ।

मोबाइल लक भयो अचानक । अनि फेरि कुराको मेलो अगाडि बढायो, “शायद सोचेको जस्तो हुँदो हो त यतिबेला म संसारको सबैभन्दा बढ्ता आनन्दमा रमाइरहेको हुन्थें । जसलाई अनलाइनमा देख्दा मात्रै पनि दिनभरिको थकाइ हराउँथ्यो, सँगै पाए कस्तो हुन्थ्यो होला ?”

उसले भोड्का तिनिक्क पार्‍यो र फेरि गिलासमा खन्यायो । आँखामा उस्तै पीडा पोखिएको थियो ।

“अब तँलाई घटना सुनाउँछु,” उसले फेरि कुरा अघि बढायो, “म केही महिना बिदामा पनि आउन सक्थें नि, तर किन भिसा नै क्यान्सिल गरेर आएँ, तँलाई थाहा छ ?”

वेदनासँग फेसबुकमा अन्तिम पटक भएको कुराकानी देखायो उसले–

विधान : जानु, क्यालेन्डरका पाना रंगाउन थाल अब, आउन एक हप्ता बाँकी ।
वेदना : भैगो, आफूलाई सेकेन्ड काट्न गाह्रो छ ।
विधान : लाटी, भिडियो खोल त, हेरेर कुरा गरौं ।
वेदना : पर्दैन, यहाँ म देखिने अवस्थामा छैन ।
विधान : लौ, कति गज्जप, खोलिहाल न भिडियो ।
वेदना : मरुभूमिमा हिँडाएर पानी खान नदिएजस्तै बनाउने त होला नि, पर्दैन ।
विधान : लौ बाबा, पानी लिएरै आउँला त ।
वेदना : पानी मात्रै ? झरी पार्ने गरी आउनुपर्छ । 
विधान : काठमाडौं लिन आउनू नि मलाई ।
वेदना : अनि के म घर आउँदासम्म पर्खौंला त ?

काठमाडौं आएर पहिलो पाइला राख्नासाथ फोन गरें, आमाले उठाउनुभयो, “बुहारीले फोन भुलेर गइछ ।”

उसलाई मेरो काठमाडौंको नम्बर थाहा थिएन । दुई दिन केही उपाय निस्कन्छ कि भनेर कुरें । दिनभरि एयरपोर्टमा भेट हुन्छ कि भनेर हेरें, कतै देखिइन । निराश भएर आउँदै थिएँ, आमैले फोन गरेर भन्नुभयो, “बुहारी त पल्लो गाउँको मगर साइलासँग भागेकी छे रे ! साइँलाकी श्रीमतीले भनेकी ।”

“सात वर्ष बाहिर बसें, सेकेन्ड–सेकेन्डमा उसैसँग रमाउने सपना बोकेर । सबै व्यर्थ भयो । सोचेको थिएँ– यो तातो ब्ल्यांकेटमा सात वर्षको चिसो मेटिने गरी सुतौंला, हातको सिरानी लगाउँला, सबै आकाशको तारा टिप्न हिँडे जस्तो भयो । पैसा पनि छैन, साथ पनि छैन । पैसा त कमाउँला तर यो सात वर्षको प्रतीक्षा ?” उसले अन्तिम म्यासेज देखायो । हिजो मात्रै म्यासेन्जरमा आएको थियो–

विधान ! म कहाँ छु, नसोध । थाहा छ तिमी सोध्दा पनि सोध्दैनौ । मान्छेले जीवनमा सबैभन्दा घृणा त्यसलाई गर्छ, जसलाई सबैभन्दा बढी प्रेम गरेको हुन्छ । कुनै समय संसारमा तिमी मेरो मात्रै अनुहार देख्थ्यौ । म पनि तिम्रो मात्रै देख्थें । तर के गर्नु, म्यासेन्जरमा तिमीले लेखेका शब्दहरूले बिनास्पर्श मनमा काउकुती लगाउँथ्यो र स्पर्शको महसुस गराउँथ्यो । तिमी संसारको सबैभन्दा कामुक बन्दै जान्थ्यौ तर केवल अक्षरहरूमा । मलाई साँच्चिकै तिम्रो हातको स्पर्श चाहिएको थियो । त्यही हात खोज्दा खोज्दा म फरक बाटोमा पुगेछु । तिमीभन्दा अर्को अनुहार संसारमा देख्दै नदेख्ने मैले तिम्रो अनुहारको छायाँ पनि देख्न भुलेछु । म अर्कैकी भइसकें, नखोज मलाई । हराएको वस्तुमात्रै भेटिन्छ, अर्कैको भइसकेको वस्तु कहिल्यै भेटिँदैन ।”

विधानले नदेख्ने गरी, उसको बेहोसीपनको फाइदा उठाउँदै मैले म्यासेन्जरमा लेखें–

“वेदना ! जिन्दगीको कुनै पनि पलमा मैले नसोचेको उपहार दियौ । अझै धेरै छ जीवन बाँच्न, कति छिटै हतारियौ ? मैले पैसाले तिम्रो प्यास मेटिन्छ सोचें । होइन रहेछ । अहिले मसँग पैसा पनि छैन, तिमी पनि छैनौ । तर, मलाई पैसा होइन, तिम्रो अभाव खड्किएको छ । थाहा छ, अब हामी नदीका दुई किनारा भयौं । अनि एउटै बगैंचाका पनि फरक–फरक बोटमा फुलेका फूलजस्ता भयौं, जो झरेपछि मात्रै भेटिन्छन् । तिमी मलाई छाडेर गयौ, योभन्दा पनि पीडादायी कुरा तिमीले यो संसारमा मेरो पनि विकल्प देख्यौ । संसारमा जुन कुरा पाइँदैन जस्तो लाग्छ, त्यही कुराको मनमा बढी चाहना हुँदो रहेछ । मनलाई त जेनतेन मनाउँला, यो समाज अनि मेरो सात वर्ष मैले कहाँबाट ल्याउँला ? चाहे जतिसुकै काँडाले घेरिएको होस्, फूल सधैं आँखामा सजाउन मन लाग्छ । मेरो जीवनको मोड अब साँघुरो भएको छ । प्रयास गर्छु फराकिलो बनाउने । संसारमा एक प्रतिशत पनि अविश्वास नगरेको मान्छेबाट अविश्वास हुँदो रहेछ । आफैंलाई अविश्वास गरेर तिमीलाई विश्वास गर्दाको फल मैले पाइसकें । ”

उसले मोबाइलमा आँखा लगायो, मैले हतपत लेखेको म्यासेज सेन्ड गरेर डिलिट गरें । उसले थाहै पाएन ।

हामीले मेरो घरमा रात गुजार्‍यौं । बिहानै चिया पनि नकुरेर ऊ बाटो लाग्यो । कोठामा मलाई उपहारमा ब्ल्यांकेट छाडेको रहेछ, छामें । हिउँभन्दा पनि चिसो थियो ब्ल्यांकेट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  ०८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC