site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्टार मञ्जु
Ghorahi CementGhorahi Cement

– निशान राई


त्यतिबेला मञ्जु गुरुङ ९ वर्षकी थिइन्, जतिबेला उनी ४ कक्षामा पढ्थिन् र उनको हातमा भलिबल पर्‍यो । स्कुल टिमबाट खेलेको त्यो पहिलो खेल नै जितेर उनले बटुका र थाल पुरस्कार पाइन् । तिनै थाल र बटुकाको खुसीले मञ्जुको मनमा एक किसिमको आँधी–तुफान ल्याइदियो । त्यो त्यही दिन थियो, जुन दिन उनको जीवनमा भलिबलको बीउ रोपियो । पुरस्कार पाउँदाको त्यही खुसीले मञ्जुलाई भलिबलमा टिकाइराख्न टेको दियो । र, सामान्य स्कुले बालिका मञ्जु अहिलेको भलिबलकी स्टार बनिन् ।

स्कुले प्रतियोगितापछि पनि मञ्जुले भलिबलमा धेरै पटक थाल, बटुका र गिलासजस्ता पुरस्कार पाइन् । अहिलेका सुनौला मेडलभन्दा उनलाई तिनै थाल र बटुकाको माया लाग्छ ।

Agni Group

९ वर्षको कलिलै उमेरबाट भलिबल खेल्न थालेकी स्पाइकर मञ्जुले भलिबलका थुप्रै उतारचढाव देखिन् । त्यो बेलाको र अहिलेको नेपाली भलिबलको अवस्था धेरै फरक लाग्छ उनलाई ।

नेपाली महिला भलिबल टोलीकी उपकप्तान मञ्जु पाको उमेरकी खेलाडी भने होइनन् । उनी अहिले २८ वर्षमा छिन् । तर, नेपाली भलिबलमा आएको उतारचढावकी प्रत्यक्षदर्शी भने हुन् उनी । रहरै रहरमा भलिबल खेल्न थालेकी मञ्जुले भलिबलमा १९ वर्ष बिताइसकेकी छन् र सम्भवतः अझै केही वर्ष जम्नेछिन् ।

Global Ime bank

मञ्जुलाई आफूले खेल्न सक्ने उमेरसम्म भलिबल खेल्ने इच्छा छ । त्यतिमात्र होइन, आगामी वर्ष इन्डोनेसियामा हुने एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने औधी रहर छ । तर, नेपाली महिला टोलीमा पर्न अहिले निकै गाह्रो हुने कुराको ख्याल पनि छ उनलाई ।

“जुन समयबाट खेल्न सुरु गरियो, त्यो समयमा भलिबल केही थिएन । अहिले भलिबलमा सबै छ, नाम र दाम । अहिले त राष्ट्रिय खेल नै भलिबल भएको छ,” मञ्जु भन्छिन्, “टोलीमा पर्न निकै मेहनत आवश्यक छ किनकि नेपाली खेलाडी व्यावसायिक बन्दै छन् । टक्कर कडा छ ।”

भलिबलमा मञ्जुको लगाव स्कुलबाटै बढेको हो, जतिबेला उनी पोखरास्थित ज्ञानबाबु बोर्डिङ स्कुलमा पढ्दै थिइन् । भलिबल खेल्न थाल्दा उनी ४ कक्षामा पढ्थिन् । १२ वर्षकी हुँदा उनी स्कुलमा राम्रो खेल्ने खेलाडी बनिसकेकी थिइन् ।

“स्कुलमा भलिबल खेललाई बढी प्राथमिकता थियो । दिदीहरूले खेलेको हेर्थें । मलाई पनि खेल्न बोलाए । त्यसपछि भलिबल खेल्न सुरु गरें । पहिलोपटक टिममा परेको बेला नै पदक जितेकी थिएँ । स्कुलको टिमबाट खेल्दा हाम्रो टिम तेस्रो भएको थियो तर मैले तेस्रो सेट खेल्न पाएँ । दिदीहरूसँग खेल्दा नर्भस भएकी थिएँ,” मञ्जुले सम्झिइन् ।

स्कुलको टिमबाट अन्तिम सेटमा कोर्टमा उत्रिँदै भलिबल करिअर सुरु गरेकी मञ्जुले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन । पश्चिमाञ्चल विकास क्षेत्रकी कप्तान तथा स्पाइकरसमेत रहेकी मञ्जुले दुई पटक देशका लागि मेडल दिलाउन सहयोग गरिन् । क्षेत्रीय टोलीलाई पनि धेरै पटक ट्रफी दिलाएकी मञ्जुले आफ्नो स्कुलका तर्फबाट पनि थुप्रै उपाधि जितेकी छन् ।

“भलिबललाई मैले जति दिएँ, त्योभन्दा बढी मलाई भलिबलले दिएको छ,” मञ्जु भन्छिन्, “देशका लागि खेल्न पाउँदा निकै गर्व लाग्छ ।”

सन् २००६ को दक्षिण एसियाली खेलकुद (साग) बाट मञ्जुले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरिन् । श्रीलंकाको कोलम्बोमा भएको उक्त सागमा नेपालको महिला भलिबल टिमले कांस्य पदक जित्यो । नेपाली महिला भलिबलको त्यो दोस्रो अन्तर्राष्ट्रिय मेडल थियो । उक्त टोलीकी महत्त्वपूर्ण सदस्य मञ्जुले भनिन्, “डेब्यु खेलमा पदक जित्दा को खुसी हुन्न ? म पनि धेरै खुसी भएकी थिएँ । मलाई त्यो क्षणको सम्झना अझै छ ।”

गत वर्ष भारतमा सम्पन्न १२ औं सागमा नेपाली टोलीले पुनः कांस्य पदक जित्यो । त्यो टोलीमा मञ्जु खेलाडीमात्र नभई उपकप्तानको जिम्मेवारी बोकेर कोर्टमा उत्रेकी थिइन् । त्यसअघि नेपालले दुई वर्षपहिले घरेलु मैदानमा सम्पन्न प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबलमा रजत पदक जित्दा पनि मञ्जु महत्त्वपूर्ण खेलाडी थिइन् ।

त्यसबाहेक मञ्जुले क्षेत्रीय टोली पश्चिमाञ्चलका लागि तीन पटक राष्ट्रिय खेलकुदमा स्वर्ण, एक–एक पटक रजत र कांस्य पदक दिलाएकी छन् । आफूले भलिबल करिअर सुरु गरेको स्कुल ज्ञानबाबुका लागि ढोरपाटन महिला भलिबलमा पाँच पटक उपाधि दिलाउन सफल भइन्, जसको खुसी उनी वर्णन गर्न सक्दिनन् । भन्छिन्, “देशका लागि र आफ्नो टिमका लागि पदक जित्दाको क्षण वर्णन गरेर साध्य छैन । देश र टिमले नै म यहाँ छु ।”

भलिबलकै कारण मञ्जुले आफ्नो खेल करिअरमा धेरै सम्मान र पुरस्कार पाएकी छन् । उनी पल्सर स्पोर्टस अवार्डमा ‘पपुलर प्लेयर अफ दि इयर अवार्ड’, ‘कास्की प्लेयर अफ दि इयर’ जस्ता अवार्डबाट सम्मानित भइसकेकी छन् । त्यति मात्र होइन, मञ्जुले नेपाली महिला भलिबलको ठूलो प्रतियोगिता ‘ढोरपाटन महिला भलिबल च्याम्पियनसिप’मा उत्कृष्ट खेलाडी बन्दै दुई पटक स्कुटर र धेरै पटक सुनको सिक्री पाइसकेकी छन् ।

मञ्जुलाई लाग्छ– खेलकुदमा लागेर गुजारा चलाउने दिन आएका छन् । तर, नेपाली भलिबल यो अवस्थामा आइपुग्दा पनि नयाँ खेलाडीहरू सोचेअनुरूप आउन नसकेको विषय उनलाई खड्किरहन्छ ।

“पहिलेको तुलनामा भलिबल संघ एक्टिभ छ तर खेलाडी उत्पादन अपेक्षाअनुसार हुन सकेका छैनन् । हाम्रो पालामा संघले त्यति राम्रो गर्न सकेको थिएन । वर्षमा एक–दुइटा प्रतियोगिता हुन्थे,” उनी भन्छिन्, “अहिले महिला भलिबल प्रतियोगिता धेरै हुन्छन् । खेलाडीले पुरस्कार पनि राम्रो पाउन थालेका छन्, तर खेलाडी उत्पादन भने कम छ ।”

खेलाडी कम हुन थालेकै कारण आफ्नो करिअरपछि पश्चिमाञ्चलको भलिबल हाँक्ने खेलाडी नपाइने हो कि भन्ने चिन्ता छ मञ्जुलाई । उनले भनिन्, “हाम्रो पश्चिमाञ्चल टिममा अहिले खेलाडी नै छैनन् । पहिले ढोरपाटनका लागि मात्र तीन टिम हुन्थे पश्चिमाञ्चलबाट । अहिले टिम बनाउन गाह्रो हुन थालेको छ । कतिलाई जबर्जस्ती खेल्न बोलाउनु पर्छ । स्कुल लेभलमा खेल्ने खेलाडीले स्कुल सकिएपछि भलिबल छाड्ने चलन धेरै छ । हामी केहीले भलिबल छाडेपछि यहाँ भलिबल हाँक्ने मान्छे हुन्न जस्तो लाग्छ ।”

तर, केही महिनाअघि सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि भने मञ्जुलाई भलिबलले फड्को मार्ने आशा लागेको छ । सरकारले अब भौतिक पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा ध्यान दिने हो भने भलिबलको विकास हुने उनी बताउँछिन् ।

भलिबल नखेलेको भए शायद मञ्जु एयर होस्टेस बन्ने थिइन् । उनले खेलसँगै एयर होस्टेसको तालिमसमेत लिएकी थिइन् । तर, उनलाई भलिबलले लोभ्यायो, एयर होस्टेसको सपना बीचैमा छाडिन् ।

०६६ मा खेलकुद पत्रकार मञ्चले आयोजना गरेको ‘पल्सर स्पोर्टस अवार्ड’मा ‘पपुलर प्लेयर अफ दि इयर अवार्ड’ जित्नु नै मञ्जुको खेल जीवनको महत्त्वपूर्ण पाटो बन्यो । “खेलसँगै एयर होस्टेस बन्ने तयारीका लागि ट्रेनिङ लिँदै थिएँ, तर अवार्डमा मनोनीत भएँ । त्यसका लागि पोखराबाट जाँदा  ट्रेनिङ छुट्यो । त्यहाँ पुरस्कार पाएँ, त्यसपछि झन् खेलमा बढी लागें, एयर होस्टेस बन्ने सपना सकियो,” उनले भनिन् ।

त्यसयता लगातार भलिबलमा जम्न उनले मेहनत गरिन् । यसैकारण उनी अहिलेसम्म राष्ट्रिय टोलीबाट बाहिरिनु परेको छैन । दक्षिण एसियाली राष्ट्रमा बलियो मानिने माल्दिभ्सको क्लबबाट उनले दुई पटक व्यावसायिक खेल खेलिसकेकी पनि छिन् ।

खेलाडी भएर र खेल खेलेर बाँच्ने आधार छैन भन्ने भनाइमा उनलाई खासै विश्वास छैन । प्रतिभा भए र मेहनत गरे खेलकुदबाट देशको झन्डा उँचो राख्न र जीवन सहजतापूर्वक जिउन सकिने तर्क छ मञ्जुको । पोखराको लुम्बिनी विकास बैंककी जागिरे मञ्जुले भनिन्, “पहिले खेलेर बाँच्ने आधार थिएन तर अहिले त्यो आधार बनेको छ । भलिबलले गर्दा नै मैले बैंकको जागिर गर्दैछु । मलाई लाग्छ– पार्टटाइम जागिर पाए नेपाली खेलाडीको भविष्य राम्रो छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  ०७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC