site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्काभेटरले पन्छाउँदै जीवनका पहरा
Ghorahi CementGhorahi Cement

– अक्षर काका


पछिल्लो समय महिला समावेशिता, आत्मनिर्भरता र समतामूलक समाजको नारा पेचिलो बन्दै गएको छ । नारी–पुरुष बराबरीको आवाज पनि बाक्लिँदै नगएको होइन । तर, समाजका हरेक तह र तप्कामा महिला उपस्थिति आज पनि नगन्यमात्रामा छ ।

नेपालमा झन्डै १८ हजार हेबी इक्युपमेन्ट छन् । तिनलाई चलाउने अपरेटरहरू १५ हजारको संख्यामा छन् । हलुका सवारी चलाउन त महिला भेट्न मुस्किल हुन्छ । भीमकाय मेसिन चलाउने महिला कहाँ भेट्नु ? आम महिलाहरूको कल्पनाभन्दा बाहिरको कुरा हो त्यो । 

Agni Group

तर, मुना घिमिरे २० वर्षदेखि स्काभेटर र जेसीबीलाई भीर पहरामा दौडाइरहेकी छन् । मानौँ उनले त्यहाँ बाटो होइन, आफ्नौ जीवनको राजमार्ग बनाइहेकी छन् र सफलताको मार्ग प्रसस्त गरिरहेकी छन् ।

मुलुकभरमा चारपाँच जनाको संख्यामा महिला अपरेटरहरू छन, तीमध्ये पनि उनी पहिलो महिला अपरेटर हुन् ।

Global Ime bank

मुना हाल नयाँ बानेश्वरस्थित हेबी इक्विपमेन्ट डिभिजनमा सिनियर अपरेटर पदमा कार्यरत छिन् । तिनै मुनाले चुनौतीको पहरो पन्छाएर जीवनको बाटो बनाउँदाको फेहरिस्त सुनाइन् ।

जन्म गोरखाको हर्मीमा भए पनि उनको बाल्यकाल तनहुँको आँबुखैरेनीमा बित्यो । हक्की, निडर, आफ्नो विचारप्रति नीर्भिक र कामप्रतिको तीक्ष्ण लगाव र विद्रोही स्वभावलाई उनले बाल्यकालदेखि नै पछ्याइरहिन् ।

उनको अक्षरारम्भ आँबुखैरेनीकै राम शाह माविमा भयो । तर, पढाइ भने बीचमै अधुरो छाडिन् । कक्षा ९ मा पढ्दापढ्दै ‘ड्रप आउट’ भइन् उनी ।

उनीमाथि चार दिदीबहिनीहरू थिए । गोरखामै छँदा बिहे भयो कतिपयको । आर्थिक अवस्था निम्छरो भएकैले थातथलो छाडेर आँबुखैरेनी झरेको थियो परिवार । आँबुखैरेनी आएपछि पनि दुःख पन्छिएनन् । चारै दिदीबहिनीको घरजम भइसकेको भए पनि उनीभन्दा मुनी पनि बहिनी थिइन् । पढाइलाई निरन्तरता दिँदा आमाबाबुको काँधको जिम्मेवारीको भारी अझै गह्रुँगो हुन्छ भन्ने ठानिन् उनले र पढाइलाई बीचमै अलपत्र पारिन् ।

“घर नजिकै ठूलो पाटो थियो । हामी उठ्दा नउठ्दै उहाँहरूले त्यो पाटो आधा खनजोत, गोडमेल गरिसकेको हुनुहुन्थ्यो । त्यो दृश्यले मेरो मन भक्कानिन्थ्यो । उहाँहरूलाई कसरी सुख दिने भन्ने उपाय पहिल्याउँदा पहिल्याउँदै मेरो पढाइ अलपत्र पर्‍यो,” उनी अहिले सम्झिन्छिन् ।

परिवारमा छोरीमात्रै थिए । छोरा नभएकैले मानिसहरूले होच्याउने, खिस्याउने गरेको उनलाई आभास हुन थाल्यो उनलाई । ‘छोरा नभए, पिण्डपानी कसले दिन्छ ? छोरा नभए त मुक्ति पाइँदैन । स्वर्ग पुगिँदैन’ भन्ने आसयका अभिव्यक्तिहरू गाउँका बुज्रुकहरूबाटै सुन्दा उनको मन खिन्न हुन्थ्यो  ।

“के छोरी भएर जन्मनु अभिशाप, पूर्वजन्मको श्राप या त्यस्तै केही हो त ? के छोरीले चाहिँ आमाबाबुको सपना पूरा गर्न सक्दिनँ त ?” उनको मनमा बारम्बार प्रश्न उठिरहन्थ्यो । छोराले मृत्युपश्चात् तार्छ भनेर बाँचुन्जेल अनेक दुःख, कष्ट, यातना, प्रताडना सहेर पनि छोरालाई सेकिरहने समाजलाई छोरीले पनि केही गर्न सक्छन् भनेर देखाउने इच्छाले पो मनमा डेरा जमाएर बस्यो ।

उनी पाँच वर्षकी हुँदी हुन् । मध्यमस्र्याङ्दी परियोजना सुरू भयो । घर नजिकै पथ्र्यो दरौँदी । रोडावालुवा निकाल्न स्काभेटर, डोजरहरू आउँथे । डरलाग्दा, भीमकाय, घरजत्रा मेसिन देख्दा उनको मन कल्पन्थ्यो– मैले पनि यिनै मेसिनहरू चलाउन पाए पनि हुन्थ्यो । 

क्रमशः उनको मनमा त्यस्तै मेसिन चलाउने आमाबुबाको सपना पूरा गर्न चाहना झ्यांगिन थाल्यो ।

० ० ०

ढल्कँदो बाबुआमाको उमेर । जीर्ण आर्थिक अवस्था । बढ्दो उमेर । चढ्दो इच्छा चाहना । मन रहरको डुँगामा सयर गथ्र्यो तर घरायसी निम्न आर्थिक अवस्थाका कारण उनी खुम्चन बाध्य थिइन् । तर कक्षा ९ मा पढ्दापढ्दै उनले एकाएक घर छाडिन् ।

“लहैलहैमा होइन, या आफूखुसी केही गर्छु भनेर पनि होइन, पारिवारिक कर्तव्य निभाउन उठाएको जोखिम थियो त्यो,” घर छोड्दाको क्षण सम्झिइन उनले ।

१५–१६ वर्षकै उमेरमा घर छाडिन् र काम खोज्दै नेपालगन्ज पुगिन् । १५ वर्षको केटौले उमेर । वास्तवमा त्यो गन्तव्यविहीन यात्रा थियो त्यो । यहाँ जान्छु, यसो गर्छु भन्ने नै थिएन । तर, गन्तव्यबिनाको यात्रा पनि कहिलेकाँही फलदायी हुँदो रहेछ, उनको जीवनमा पनि भइदियो त्यस्तै ।

कोहलपुरको हात्तीसार चिसापानीको लामा स्वदेश निर्माण सेवामा रिसेप्सनिस्टको काम पाइन् उनले । भर्खरकी किशोरी ठानेर उनलाई फोन उठाउने काम दिइएको थियो । तर, उनको आँखा सोधपुछ कक्षमा होइन, मेसिन, यन्त्र उपकरणमा पो जान थाल्यो ।

बारम्बार मेसिनतिर आँखा पुर्‍याइरहेको देखेर एकदिन कम्पनीका सञ्चालकले मुख फोरे रे, “नानी तँ स्काभेटरमात्रै हेरेर बस्छेस्, कि चलाउने रहर छ ?”

वास्तवमा त्यो प्रश्न त्यही स्काभेटरले बनाउने फराकिलो राजमार्ग भएझैँ भयो उनलाई, जहाँ उनी आफ्नो इच्छाको गतिमा गुड्न पाउँथिन् । तीन दिनसम्म लगातार एउटै प्रश्न दोहोर्‍याएपछि जवाफ फर्काइन् मुनाले । भनिन्, “मौका पाए त चलाउन सिक्थेँ नि !”

भन्नेबित्तिकै स्काभेटरको क्याबिनमा कहाँ बस्न पाइन्थ्यो र ! लामाले सुरूमा बिहान–बिहान मेसिन, धुने, पखाल्ने, ग्रिज भर्ने कादी काम गर्न अह्राए । उनले त्यसै गरिन् । र, सुरू स्काभेटरसँगको सहयात्रा । यो ०५५/५६ सालतिरको कुरा हो ।

तरुनी युवती । स्काभेटर छुनेमात्र होइन, धुने पखाल्ने र बेलाबखत चलाउने पनि गर्न थालेपछि मानिसहरूले अनेक ढंगले कुरा काट्न थाले । र, पनि उनले मतलबै गरिनन् । आफ्नो काममा लागी नै रहिन् । त्यस्तै ६ महिना समय व्यतीत भयो होला । विविध कारणले मेसिनको क्याबिनमा बस्न त पाएकी थिइनन् तर मेसिन चलाउने भोक भने जागिसकेको थियो ।

एकदिन अचानक मेसिन चलाउने अपरेटरले कम्पनी छाडे, खाली भयो मेसिन । उनी अफिसमै बसेकी थिइन्, कम्पनीका मालिकले उनलाई भने, “नानी तिमी ट्रिपरमा माटो लोड गर्न सक्छौ ?”

प्रश्न सुनेर सुरूमा त उनी अत्ताल्लिइन् । सम्हालिँदै केही बेरपछि जवाफ फर्काइन्, “म कोसिस गर्छु ।”

सक्छु भनेर कोमात्सु–१२० मेसिनमा त बसिन् तर हात पो थररर्र काँप्छ । त्यसअघि उनले कहिल्यै माटो लोड गरेकी थिइनन् र पनि कोसिस गरिन् । माटो लोड गरिसकेपछि आत्मविश्वास शिखरित भयो ।

“तीन महिना काम गरेपछि त्यो कम्पनी छाडेँ तर तलब सुविधा लिइनँ । हेभी इक्विपमेन्ट चलाउने रहर पूरा भएको थियो मेरो,” पुलकित देखिइन् उनी ।

० ० ०

बाँकेकै मानखोलामा काम गर्दा कालिका कन्स्ट्रक्सनका प्रबन्धकसँग भेट भएको थियो उनको । पछि कालिकासँगै जोडिइन् र चितवन पुगिन् । तर, कन्स्ट्रक्सनका उपल्ला तहका कर्मचारीको रुखो व्यवहारले उनको मन कुँडियो ।

कालिकामै काम गर्दा उनले बसन्ती गुरुङलाई पनि सिकाइन् र आफू्सँग बर्दियाको राजापुर लगिन् । भन्छिन्, “उहाँ चितवनमा बाढी आएको बेला काम खोज्दै आउन भएको थियो । स्काभेटर चलाउन रुचि देखाएको पाएपछि आफूजस्तै महिलालाई काम किन नसिकाउने भनेर सिकाएकी थिएँ ।” पछि उनले काममा त्यति निरन्तरता दिइनन् ।

पाँच महिना राजापुरमा बिताएपछि उनी काम खोज्दै सपनाको सहर काठमाडौँ पसिन् । काठमाडौँमा कहाँ सजिलो थियो र ! एक त उनीसँग अपरेटर अनुमति पत्र (लाइसेन्स) थिएन । हलुका सवारीको लाइसेन्स लिएर दुई वर्ष चलाएको अनुभव हुनुपथ्र्यो लाइसेन्स लिन । त्यसैले धेरै हन्डरगोता बेहोरिन् उनले ।

यहाँसम्म कि सवारी चालक अनुमतिपत्र बनाउन जाँदा एकजना प्रहरी अधिकृतले छुद्र मुख चलाए, “मोटरसाइकलको ब्याक गिअर लाउन आउँछ ?”

उनले जवाफ दिइन्, “खै अहिलेसम्म त त्यस्तो मोटरसाइकल आएको छैन, आए चलाउन सिकौँला ।”

तर, मन अझै शान्त भएन– महिलालाई हेप्न पाए भने केसम्म भन्न पछि पर्दैनन् ?

केही सीप नचलेपछि उनी ड्राइभिङ इन्स्टिच्युट भर्ना भइन् र हलुका सवारीको लाइसेन्स लिइन् । ०६२ सालमा हेभी इक्विपमेन्ट चलाउने अनुमति प्राप्त गरिन् ।

काठमाडौं आएपछि जहाँ ‘अपरेटरको खाँचो छ ?’ भनेर सोध्दा प्रतिप्रश्न आउँथ्यो, “महिलाले पनि यत्रा हेभी मेसिन चलाउँछन् ? डोजर त बलिया हात पाखुरा भएका पुरुषले मात्रै चलाउँछन् ।”

महिलालाई मान्छे नै गन्दैनथे उनीहरू !

जसोतसो उनले तेज कन्स्ट्रक्सनमा काम गर्न थालिन् । “काठमाडौंमा विभिन्न ठाउँ चहारेपछि म तेज कन्स्ट्रक्सन पुगेकी थिएँ । सुरुमा त काम छैन भनेर फर्काइएको थियो । पछि कम्पनीका मालिक बद्रीकुमार श्रेष्ठ भेट भएपछि उहाँले महिला वा पुरुषसँग होइन, कामसँग मतलब छ भनेर ट्रायल हेर्नुभयो र राम्रो लागेपछि काम दिनुभयो । मलाई सुरुमा काम दिने मानबहादुर लामा र मलाई स्थापित तुल्याउने बद्रीकुमार हुनुहुन्छ,” ती दुईप्रति ऋणी देखिइन् उनी ।

कामकै सिलसिलामा उनी स्याङ्जाको वालिङ पुगिन् । त्यहाँ पुगेपछि उनको जीवनको अर्को अध्याय सुरु भयो । 

स्याङ्जाको सप्तगण्डकी निर्माण सामग्री सेवाका प्रबन्धक थिए सुरेश श्रेष्ठ । सप्तगण्डकीले तेज कन्स्ट्रक्सनसँग उपकरण भाडामा लिन्थ्यो र काममा लगाउँथ्यो । त्यसैक्रममा भेट भएको थियो सुरेशसँग । सरल र सरस व्यक्तित्व । हाँसिरहने स्वभावका कारण सुरेशसँग उनको थाहै नपाई मन जोडिन पुग्यो र त्यो सम्बन्ध विवाहमै परिणत भयो ।

त्यसो त अन्तरजातीय विवाह गर्दा घर परिवारले के भन्ने हुन् कि भन्ने भयले नगाँजेको होइन तर छोरी आफ्नो खुट्टामा उभिइसकेकाले आमाबाबु तगारो बनेनन् । “मेरो खुसीलाई नै उहाँले सर्वस्व ठान्नुभयो, मेरो रोजाइ मान्नुभयो,” मच्चिएरै हाँसिन् उनी ।


श्रीमानको गुरु

विवाह गरेर काठमाडौं आएपछि उनका श्रीमान् संकटमा परे । श्रीमतीसँग हातमा सीप थियो, जहाँ पनि काम फेला पर्ने । श्रीमानका शैक्षिक प्रमाणपत्र निस्काम बने । “तपाईं पनि मेसिन चलाउन सिक्नूस्,” उनले एकदिन श्रीमानलाई सुझाइन् । 

“यस्तो मेसिन चलाउन पनि सिक्नु र ?” सुरूमा आनाकानी गरे पनि पछि तयार भए सुरेश ।

सुरुमा काममा राख्न नमान्ने ड्रिमल्यान्ड कन्स्ट्रक्सनले पुनः अपरेटर खोजी गरेको रहेछ । उनले श्रीमानलाई नै सहयोगी राख्न पाउने सर्तमा काम गरिन् । केही समय फर्पिङमा काम गरेर उनीहरू गोरखा गए । गोरखामा काम गर्दागर्दै मेसिन जलाइयो ।

बनाउन भनेर काठमाडौं ल्याइएको मेसिन मर्मत गरेर सिन्धुपाल्चोकको सुनकोसी हाइड्रोको काममा पठाइएछ । तर, अपरेटरले राम्रोसँग चलाउन नजान्दा दुर्घटना परेछ । पछि कम्पनीले आफूहरूलाई नै खोजी गरेको थाहा पाए । त्यतिबेला कम्पनीले केही महिनाको तलबसमेत दिन बाँकी थियो । सुनकोसी जानुपूर्व तलब पाउनुपर्ने माग तेस्र्याइन् उनले । कम्पनी राजी भयो । उनीहरू सिन्धुपाल्चोक गए । सिन्धुपाल्चोकमा सुनकोसी हाइड्रो मात्रै बनेन, उनका श्रीमान् सुरेश पनि अपरेटिङमा दक्ष बने ।

“उखरमाउलो गर्मीले पसिना चुहाउँदै पहरो फुटाएको देखेर श्रीमान् अताल्लिनुभयो र उहाँमा भित्रैदेखि सिकेर श्रीमतीलाई पालो दिन्छु भन्ने भित्री अठोट जाग्यो र मेसिन चलाउन सिक्नुभयो,” सुनकोसी हाइड्रोमा दुई वर्ष बस्दाको अनुभव साटिन् उनले । श्रीमतीको सहयोगीको रूपमा काम गर्दा श्रीमानलाई कुनै हिच्किचाहट पैदा नभएको बरु गर्व लागेको उनको अनुभव छ ।


गुजरातका तीन वर्ष

अन्तर्राष्ट्रिय निर्माण क्षेत्रमा काम गर्ने तेज कन्स्ट्रक्सनमा काम गर्ने सिलसिलामा उनी भारतको गुजरात पुगिन् । र, उनले त्यहाँ तीन वर्ष काम गरिन् । तर, गुजरातमा उनले नसोचेको सम्मान पाइन् । त्यहाँ सञ्चारमाध्यमले पनि निरन्तर पछ्याइरहे । उस्तै आतिथ्यता पनि पाए उनीहरूले । गान्धीको जन्मोत्सवमा उनलाई दिइएको सम्मान, प्रमाणपत्रले कोठा भरिएका छन् ।

तेज कन्स्ट्रक्सनले आफूले ठेक्का पाथ्र्यो र काम गर्न चिनियाँ कम्पनीलाई दिन्थ्यो । त्यसैले उनीहरूले चिनियाँ कम्पनीमार्फतै काम गरे । २ सय किलोमिटर सडक र ११३ वटा पुल बनाइयो त्यहाँ । ०६५ सालको अन्तिमतिर नेपाल फर्किएका हुन् उनीहरू ।

काठमाडौँ आएपछि उनीहरू पुनः काभ्रेको कोसीपारी गए र तीन वर्ष भीर पहरासँग जुधेँ । ट्र्याक खोले । झन्डै १० वर्ष भीमकाय पहरासँग पौँठेजोरी खेले पनि उनलाई आफ्नो जीवनको बाटो बनिसकेको आभास भएको थिएन । र, ०६८ सालमा सरकारी जागिरे खाने रहरले विभिन्न अड्डातिर धकेल्यो ।

सरकारी जागिर त खाने तर पढाइ ९ कक्षामै अलपत्र थियो । एसएसलसीसमेत उत्तीर्ण नगरेकालाई कसले जागिर दिनू ? पढाइको महत्त्व बुझेपछि उनी त्यही वर्ष प्राइभेट एलएलसीमा भर्ना भइन् । बिहान ५ देखि १० बजेसम्म पढ्ने, दिउँसो हेभी डिभिजनमा ज्यालदारीमा मेसिन चलाउने । त्यतिमात्रै होइन, साँझपख ट्युसनसमेत पढ्थिन् उनी । काम भएको दिन फिल्डमा जान्थिन्, नभएको दिन घुँडा धसेर पढ्थिन् । चार–पाँच महिना काम गरेपछि हेभी डिभिजनको ज्यालादारी काम पनि रोकियो ।

पढ्न छाडेको १५ वर्षपछि पनि उनले ५६.८८ प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण गरिन् ।


सरकारी सेवा प्रवेश

ज्यालादारीमा काम गर्दा पनि उनले अनेक सास्ती सहनुपर्‍यो । माथिल्लो दर्जाका कर्मचारीहरूले गरेको व्यवहारबाट उनी आजित भइन् । अनेक ताकेता गरेपछि हेभी डिभिजनले लोकसेवा खुलायो र जुनियर अपरेटरको आवेदन आह्वान गर्‍यो । ०७२ फागुन ४ गते उनी जुनियर अपरेटरका रूपमा सरकारी सेवा प्रवेश गरिन् । आठ जना मागिएकोमध्ये नौ जनाले जाँच दिएका थिए । तर, दुई जनाको मात्रै नाम निस्कियो । त्यसमा उनी पनि परिन् ।

त्यसमा पनि अर्को किस्सा रहेछ–

हेभी डिभिजनले ०७१ सालमा पनि लोकसेवा खुलाएको थियो । तर, असावधानीवश मेकानिकलसम्बन्धी मात्रै प्रश्न सोधिएकाले कसैको नाम निस्किएन । दोस्रो पटक दिएको परीक्षामा नाम निस्किएको हो उनको ।

जुनियर अपरेटर भएको एक वर्षपछि सिनियरका लागि लोकसेवा खुल्यो । उनी त्यहाँ पनि भिडिन् र खुला प्रतिस्पर्धाबाट नाम निकालिन् । हाल उनी हेभी इक्विपमेन्ट डिभिजनमा सिनियर अपरेटर छिन् । यो उनको सुब्बासरहको पद हो । अहिले उनी क्याम्ब्रिज कलेजमा स्नातक तह पढ्दैछिन् । भन्छिन्, “स्काभेटरले खनेर जीवनको ट्र्याक तय मात्रै भएको छ, गुड्न धेरै बाँकी छ ।”

शायद उनको अधिकृत बन्ने रहर छ ।

डोजर चलाउँदा राजमार्ग ठप्प !

तेज कन्स्ट्रक्सनमार्फत काम गर्ने क्रममा उनी पूर्वपश्चिम राजमार्गको इटहरी थिइन् । ट्यांरा खोला डाइभर्सनमा काम गर्दा बाटै ठप्प भयो ।

राजमार्गमा सवारी चलाउने चालकले रोकीरोकी महिलाले डोजर चलाएको हेर्दा जाम भएको गुनासो बढेपछि उनी फिर्ता हुनुपर्‍यो ।

“गाडी चलाउनेहरूले रोकेरै हेर्न थालेपछि जसले मेसिन लगेको थियो, उसले नै तपाईंको अपरेटरलाई फिर्ता लानूस् भनेपछि म फर्किएँ,” अनुभव सुनाइन् उनले ।

० ० ०

गोमती कन्स्ट्रक्सनको मेसिन लिएर केही वर्षअघि उनी काम गर्न काठमाडौंको तीनकुने पुगेकी थिइन् । तर, अचानक मेसिन बिग्रियो । मेकानिकले मेसिन बनाउँदै थिए । उनी मेसिनमाथि चढ्दै थिइन् । एकजना वयोवृद्ध कुद्दै आएर चिच्याए, “आइमाई भएर मेसिनमाथि चढ्ने हो ? मेसिन बिग्रिहाल्छ नि !”

मान्छे छउन्जेल उनी हाँसिन् । मान्छे हिँडेपछि शब्दले चिथोर्‍यो । आइमाईले मेसिन छोए बिग्रिन्छ भन्छन्, कहिले परिर्वतन होला हाम्रो मानसिकता ?

गत वर्ष उनी मुस्ताङको सोली घोप्टेभीर पुगेकी थिइन् । केही समयअघि विमान दुर्घटनासमेत भएको ठाउँ हो त्यो । भौगोलिक हिसाबले अति विकट । कतिबेला माथिबाट ढुंगा पल्टिएर जीवनलीला समाप्त पारिदिने हो, कुनै टुंगो हुँदैन । 

त्यहाँ पर्यटनमन्त्री, उच्चपदस्थ सरकारी कर्मचारीसमेत पुगेका थिए । महिलाले हेभी इक्विपमेन्ट चलाएकोमा आश्चर्य मान्दै पर्यटनमन्त्री क्याबिनमै आएर खुसी व्यक्त गरे ।

त्यस्तै, मुस्ताङ नै पुगेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेले पनि आश्चर्य मान्दै फोटो खिचाएका थिए । “सबैका छोरी यस्तै साहसिली बनून्,” घिमिरेकी आमाले यसै भनेकी थिइन् । अत्यन्त हर्षित भएको थियो घिमिरे परिवार । विडम्बना ! फर्कंदा उनीहरू नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परे । शवसमेत भेटिएन घिमिरेको ।

० ० ०

केही समयअघि उनी गोरखाको आरुघाट पुगेकी थिइन् । मेसिन बजारको बाटो हुँदै हिँडाउँदै थिइन् । भित्रबाट एकजना महिला चिच्याउँदै आइन् र भनिन्, “हेर हाम्रो जुनी त भातै पकाएर, चुल्है पोतेर पो बितेछ । पुरुषले गर्ने काम महिलाले पनि गर्ने रहेछन् नि !”

“जीवनमा सम्पत्ति नकमाए पनि अरूलाई प्रेरणा त दिन पाएकी छु नि । धेरै महिलाले मेरै पदचाप पछ्याएर हेभी इक्विपमेन्ट चलाउन थाले भने म सफल भएको ठहरिनेछु,” उनको ओठबाट हाँसो उछिट्टयो र बाहिरी कोलाहलमा विलय भयो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC