site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिमाल चढ्ने तन्नेरी सपना
Ghorahi CementGhorahi Cement

– पूर्णिमा श्रेष्ठ


एक वर्षअघि म थाइल्यान्ड पुगेकी थिएँ, कार्यक्रमको लागि । भेट भए एकजना सिंगापुरका खेलाडी । नेपालबाट आएको आगन्तुक भन्ने थाहा पाउनासाथ ती खेलाडीको अनुहारमा आश्चर्य भाव झल्कियो– “वाउ ! तिमी त सगरमाथाको देशको मान्छे ! तिमीहरू कति भाग्यमानी छौ है ? तिम्रो देशमा त हिमालैहिमाल छन् । हामीजसरी हिमाल हेर्नकै लागि देश–विदेश भौतारिनु पर्दैन, तड्पिनु पर्दैन ।”

उनी त्यत्तिमै रोकिएनन् । खुसीले फुरुङ्ग हुँदै सोधे, “साँच्ची तिमीले अहिलेसम्म कतिवटा हिमाल चढ्यौ । सगरमाथा चढ्दा कस्तो अनभूति हुन्छ ? स्वर्ग बिर्सिन्छ होला है ?”

Agni Group

विदेशीको प्रश्न सुनेर मन कमलको पातझैं तैरिनुपथ्र्यो । तर, म क्रमशः लज्जावती झारझैँ खुम्चन थालें । कोष–कोष, तन्तु–तन्तुमा ग्लानि दगुर्न थाल्यो । अनुहारको घाम एकाएक गुमनाम भयो ।

विदेशीसामु मैले कसरी भन्न सक्थें कि मैले आजसम्म एउटा हिमाल पनि चढेकी छैन । त्यतिमात्र होइन, कुनै हिमालको आधारशिविरसम्म पनि पुगेकी छैन । बोल्दै नबोली विदेशीसँग बिदा भएर बाटो त लागें तर मन हिमाल चढ्ने हुटहुटीले अधीर भयो ।

Global Ime bank

थाइल्यान्डबाट नेपाल फर्किउन्जेल मनमा हिमाल चढ्ने रहरले सहर खडा गरिसकेको थियो । हिमाल चढ्न विदेशीलाई त्यत्रो रहर छ । हिमालकै फेदीमा जन्मिएका हामी हिमालको मुखै नदेखी देह विर्सजन गर्छौं । योभन्दा ठूलो विडम्बना के होला ? एकपछि अर्को प्रश्नले सिरुलेझैं घोच्न थाल्यो दिमागमा । देश फर्किएको पनि पत्तो पाइनँ ।

० ० ०

गणेश हिमालकै फेदीमा जन्मिएकी हुँ म । गोरखामा । ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्’ रामकृष्ण ढकालले मेरै लागि यो गीत गाइदिएझैँ लाग्थ्यो । घर नजिकबाट विदेशीहरू आफूभन्दा अग्ला र ठूला झोला बोकेर हिमाल हेर्न जान्थे । हामी बिहान उठ्दा नउठ्दै विदेशीहरूको लावालस्कर लागिसकेको हुन्थ्यो । तिनका साथमा नेपाली पनि हुन्थे, काँधमा अजंगको भारी हुन्थ्यो । निधारबाट तपतपी पसिना चुहिरहेको । कतिपयको त पिठ्युँबाट पनि पसिनाको धारा छुटिरहेको हुन्थ्यो । म सोच्थें– हिमाल हेर्न विदेशीमात्रै जान्छन्, नेपालीहरूचाहिँ ‘भरिया’ मात्रै हुन् ।

आफ्नै आँगनबाट हिमाल अवलोकन गर्ने र चढ्नेहरूको आवतजावत गरेको देखेकाले होला– मेरो दिमागमा पनि सानैदेखि हिमाल चढ्ने इच्छा सवार भइसकेको थियो । भरियाबाहेक हिमाल चढ्नेहरूको पंक्तिमा कोही पनि नेपाल नदेख्दा भित्रभित्रै कुँजिएकी थिएँ । लाग्थ्यो– शायद नेपालीसँग पर्याप्त पैसा नहुने भएकाले पो हिमाल चढ्न नसकेका हुन् कि ! भएभरको सम्पत्ति सिध्याएर त के हिमाल चढ्नु ?

गाउँका पाका आमाहरू हिमाललाई भगवानकै रूप मान्थे । बिहान सूर्योदय नहुँदै र गोधूली खस्नेबित्तिकै नमस्कार गर्थे । मलाई लाग्थ्यो– त्यहाँ पुग्नै नसक्ने र चुचुरोमा कहिल्यै टेक्न नसक्न भएकाले पो ती आमैहरू ढोग्थे कि ! यावत प्रश्नले मेरो बालसुलभ मस्तिष्कमा क्रिडा गर्न थाले । वेचैन बनाइदिए ।

० ० ०

समय फेरियो । एसएलसी पास गरेर म उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आएँ । हातमुख जोड्नका लागि काम गर्नुपर्ने भयो । फोटोग्राफीसँग जोडिएँ । तर, मलाई सभा, सम्मेलन, दैनन्दिन हुने औपचारिक कार्यक्रमका फोटा खिच्नुभन्दा प्राकृतिक सौन्दर्यछटा, मनोमोहक पाखापखेरा आदिको चित्ताकर्षक दृश्य कैद गर्न रूचि लाग्थ्यो । मुस्कुराएको हिमाल, गरिबी, अभाव र विपन्नताले थिचिएको प्रतिविम्ब तस्बिरमा उतार्न रहर लाग्थ्यो, जहाँ जीवन बोलोस् । फोटो हेरेर मानिस पुलकित होऊन् । बाँच्ने जीजिविषा जागोस् ।

रोजीरोटीका लागि यायावरी गरिरहेका, खोलाका किनारमा गिट्टी कुटिरहेका, नदी तटमा बालुवासँगै थिग्र्याइरहेका सीमान्त र किनाराकृत मानिसहरूको जीवनशैलीलाई जस्ताको तस्तै क्यामेरामा उतार्नु मेरो शोख थियो ।

यायावरीका लागि अनेक संघर्ष गरिरहेका मानिस खोज्दै म जति माथि पुग्थें, त्यति नै हिमालप्रतिको मोहले लोभ्याउन थाल्यो । पेसाले फोटोग्राफर । नयाँ ‘एंगल’ खोज्नु, जीवनशैली, घटना÷दुर्घटनालाई तस्बिरमा उतार्नु मेरो दैनिकी हो । त्यसमै संघर्षशील पनि थिएँ ।
तर, एकाएक सगरमाथा आरोहण गर्ने जङ चल्यो ।

हिमाल चढ्ने ‘भूत सवार’ भएपछि दैनिकी बदलियो मेरो । हिमाल चढ्ने तयारीकै लागि भनेर म केहीसमयअघि सगरमाथा बेसक्याम्प पुगें । हिमाली जीवनशैली, हिमाल चढ्नुपूर्व गर्नुपर्ने तयारी आदिबारे आधारभूत ज्ञान पाएँ ।

सगरमाथाको आधारशिविरसम्म पुगेपछि मलाई नयाँ कुरा थाहा भयो– हिमाल चढ्ने कि विदेशी हुँदा रहेछन्, कि शेर्पा समुदाय । शेर्पा समुदायबाहेककाहरू आधारशिविरसम्म पनि पुग्दा रहेनछन् ।

हिमाल नदेखेका मात्र होइन, कहिल्यै पाखा, पहरोसम्म नचढेका विदेशीहरू हिमाल चढ्नै भनेर लाखौँ रुपैयाँ खर्च गरेर नेपाल आउँछन्, हामी नेपालमै जन्मिएकालाई भने हिमालप्रति कुनै आकर्षणै छैन । पैसा हुनेबित्तिकै हामी थाइल्यान्ड, सिंगापुर, गोवा जान्छौं तर शिरमै रहेका हिमाल, पहाड, पर्वतले कहिल्यै लोभ्याएनन् हामीलाई । स्वदेशको माया सामाजिक सञ्जालमा मात्रै पोखिएझैं लाग्यो । मन कुँडियो । आँगनको हिमाल चढ्न मन किन कुँज्याउनुपर्ने ? कुनै हालतमा हिमाल चढेरै छाड्छु– सगरमाथाको आधारशिविरमै प्रण गरें ।

पिठ्युँमा ट्रेकिङ ब्याग, क्यामेराआदि लिएर हिँड्दा कतिपयले मलाई विदेशी नै भन्ठान्थे । हेलो, हाई, नमस्ते, अंग्रेजीमै उच्चारण गर्थे कतिपय । भरंग हुन्थ्यो मन– ट्रेकिङमा हिँड्न, पर्वत शृंखलामा पुग्न नेपाली असमर्थ छन् । या तिनीहरूलाई कुनै मोह छैन भनेर खिसिट्युरी गरेझैँ पो लाग्यो ।

स्वर्ग बिर्साउने सम्पदा, संस्कृति, पर्वत शृंखला, नदीनाला प्रकृति पर्यावरणप्रतिको युवापुस्ताको वितृष्णा र विकर्षणले मेरो चित्त काढियो र हिमाल चढेरै जवाफ दिन मन लाग्यो । ‘नजिकको तीर्थ हेलाँ’ भन्ने आहान सौन्दर्यको खोजी गर्न देशविदेश चहार्ने तर आँगनको हिमाल नहेर्नेहरूकै लागि बनाएझैँ प्रतीत भयो मलाई ।

० ० ०

हिमाल चढ्ने चाहना सगरमाथासरह अग्लो त भयो तर सुरूमै सगमाथा चढ्न सकिँदैन भनेर पर्वतारोहण व्यवसायी र आरोहीहरूले भनेपछि म झसंग भएँ । फेरि व्यवसायीहरूले नै सुझाए– सगरमाथा चढ्नुपूर्व ६ हजारभन्दा माथि उचाइका जुनै उचाइका हिमाल चढे हुन्छ ।

आँगनको मनास्लुसँग मेरोको गहिरो नाता थियो । मनास्लुकै सान्निध्यतामा बितेको थियो मेरो बालपन । दूधले नुहाएझैँ देखिने सेता हिमालले नै दूर गरिदिन्थे मेरा पीडा । त्यसैले म अहिले आफ्नै आँगनको मनास्लु हिमाल चढ्ने तरखरमा लागेकी छु ।

क्यामेरा बोकेर घटना, दुर्घटना पछ्याउँदै हिँड्ने मेरो दैनिकी फेरिएको छ । बिहानै प्रातः सयरमा स्वयम्भू जान्छु, जगिङ गर्छु, सिँढी चढ्छु ।  र, हिमाल चढ्न आफूलाई पारङ्गत तुल्याउँदै छु ।

सँगै मलाई अर्को समस्याले पनि पिरोलेको छ– मनास्लु चढ्न झन्डै १२ लाख रुपैयाँ लाग्छ । त्यसको व्यवस्थापना कसरी गर्ने ? रातको निद्रा न दिउँसोको भोक भएको छ मलाई !

“त्यो त किलर माउन्टेन हो । हाई अल्टिच्युटले तलमाथि भइस् भने ? तन्नेरी उमेरमा किन जोखिम उठाउनू ?” साथीसंगीहरू यसो पनि भन्छन् । वास्तै गरेकी छैन मैले ।

थोरै उकालो चढ्दा पनि स्वाँस्वाँ, फ्वाँफ्वाँ हुने विदेशीले कहाँबाट आएर हिमाल चढ्न सक्छन्, हिमालमै जन्मिएका हामीले हिमाल आरोहण गर्न नसक्ने भन्ने हुन्छ र !

आत्मविश्वासको उकालो पार गरिसकेपछि सगरमाथा पनि पुड्को लाग्छ । यही आत्मविश्वासले आउँदो सेप्टेम्बरमा मनास्लुको चुचुरोमा पाइला राख्ने लक्ष्य राखें, यसमा दृढ संकल्पित छु ।

उद्देश्यप्रति अविचलित रहने बाल्यकालदेखिकै स्वभावका कारण म मनास्लुको सफल आरोहण अभियानमा छु । मेरो सपना सानै अवरोधले टुक्रिने स्पात होइन । अनेक हण्डर ठक्करको रापमा सेकिएको फलाम हो । र, मनास्लुमात्रै होइन सगरमाथाकै चुचुरोमा पाइला टेक्छु, छिट्टै । त्यसका लागि रकम जुटाउन व्यस्त छु अहिले । सामाजिक सञ्जालमा रहेका साथीसंगीलाई हिमाल आरोहणको उद्देश्य बताएर रकमको जोहो गर्नेदेखि विभिन्न संघसंस्थाको ढोका चहारेर सहयोग बटुल्ने मेरो दैनिकी बनेको छ ।

हिमाल चढ्नु फगत मेरो रहर होइन, पर्यटनका अनन्त सम्भावना बोकेको आँगनकै हिमालको प्रवद्र्धन गर्नु र युवापुस्तामा आकर्षण जगाउनु मेरो अभिष्ट हो ।

प्रस्तुतिः अक्षर काका

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC