ad

साहित्य र कला

सधैं किशोर

– नरेश फुयाँल


उमेरले डाँडो काट्दै गए पनि किशोर नेपालका हात झन्–झन् किशोर हुँदै गएका छन् । मंगलबार बत्तीसपुतलीस्थित कार्यालय पुग्दा उनका औंला किबोर्डमै दगुरिरहेका थिए । उनी आफ्नो अनुभव लेखिरहेका थिए । उनैले हात समाएर पत्रकारिताको ‘कखरा’ सिकाएकाहरू कति गुमनाम भएर गइसके– उनको यात्रा अहिले पनि उत्तिकै ऊर्जावान् छ । ११ वर्षको उमेरमा हकर हुँदा पत्रिकाको कार्यालय छिर्दा देखेको सपना उनले पूरा गरेरै छाडे । पत्रकारिताले काम, नाम र दाम दियो, देश–विदेश घुमे । पत्रिकामा विभिन्न नयाँ प्रयोग गरे । उनले जहाँ हात हाले, एकाधबाहेक सबैमा सफलता पाए । उनीसँगै जेल बसेकाहरू प्रधानमन्त्री भए, उनी भने प्रधानसम्पादक भए । उमेरले ६६ वर्षको खुड्किलो पार गर्दा पनि उनी थालेका छैनन् । उनको अविराम यात्रा अझै जारी छ । हप्तामा एकदिन छाडेर लेख्ने उनको दैनिकी अझै टुटेको छैन ।

पत्रकारिताका यिनै तन्नेरी गुरुले हामीसँग जीवनका अनेकन् पाटा उधिनेः


राजनीति

पञ्चायतकाल थियो । दलहरू निषेधित थिए । दरबारले तोकेका र इच्छाएका व्यक्तिबाहेकलाई राजनीति गर्ने छुट थिएन । दरबारतिर ठाडो शीर पारेर पनि जनता हेर्न डराउँथे । पञ्चायत पक्षधर दलहरूको एकाधिकार थियो । कांग्रेस एमालेमाथि प्रतिबन्ध लगाइएको थियो । त्यही बेला केही विद्रोही विद्यार्थीहरू संगठित भए । विद्यार्थी युनियन खोले । काठमाडौं उपत्यकामा त्यसको अगुवाइ गर्नेमध्येका एक थिए– किशोर नेपाल । पुष्प थपलियालगायत धादिङ, नुवाकोट, मकवानपुर तथा काठमाडौं उपत्यकाभित्रका केही नेवार थरका साथीहरू मिलेर युनियनको सुरुआत गरे ।

उनी राज्यसत्ताको विरोध गरेको अभियोगमा पाँच पटक गिरफ्तारीमा परे । बढीमा नौ महिनासम्म जेल बसेको किशोरलाई सम्झना छ । भद्रगोल जेलमा उनीलगायतका थुप्रै बन्दीहरू हुन्थे । राजननीतिक बन्दी भएकाले प्रहरीले खासै नराम्रो व्यवहार गर्दैनथ्यो । उनीहरू राजनीतिक गफ गर्थे, बस्थे । जेलभित्र निर्दलीय पञ्चायती व्यवस्था कहिले ढल्छ, प्रजातन्त्र आउँछ अनि देशले विकासको गति समाउँछ भन्नेजस्ता आशावादी गफ हुन्थे ।

किशोर अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, दमननाथ ढुंगाना, ध्यानगोविन्द रञ्जितसँग जेलमा सँगै बसे । किशोरभन्दा जुनियर प्रकाशमान सिंह पनि सँगै जेलमा थिए ।

कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधी, मनोमोहन अधिकारी, सम्भुनारायण श्रेष्ठ, मोहननविक्रम सिंह, निर्मल लामा सिनियर नेता थिए किशोरसँगै जेल बस्ने । प्रदीप गिरी र किशोर भने सँगै जेल परेका थिए ।

उनीहरू आफैं खाना पकाउँथे, खान्थे । जेलमा धेरैजसो समय गफमा बित्थ्यो । जेलमा रहँदा स्वतन्त्र वातावरणमा व्यवस्थाविरोधी दैनिक गतिविधिमा प्रत्यक्ष संलग्न हुन नपाए पनि दलका शीर्षस्थ र सक्रिय नेता जेल पर्दा जेलबाहिर रहेकालाई त्यो नै ऊर्जा थियो । बाहिर रहेकाले आन्दोलन चर्काउँथे ।

“जेलमा बस्दा प्रजातन्त्रका विषयमा छलफल हुन्थ्यो तर दिमाग खासै केन्द्रित हुँदैनथ्यो । पढ्न मन लाग्यो भने लाइब्रेरी थियो । नत्र हाऽऽ हुऽऽ गर्‍यो, बस्यो । त्यसैगरी बित्थ्यो समय,” किशोरले ०३० सालअघिको समय सम्झिए ।

विछोडको पीडा

किशोरलाई ५ वर्षको उमेरमा बुवाले छोडेर गए । दाजुभाइ थिएनन् । दिदीहरू विवाह गरेर घर गइसकेका थिए । आमा काममा बाहिरै बस्थिन् । फुपूहरूसँग बसेका किशोर फुक्का थिए । जहाँ जहिले जे गरे पनि स्वतन्त्र । रोकटोक गर्ने कोही नभएपछि उनी राजनीतिमा होमिएका थिए । प्रजातन्त्र पुनर्बहाली गर्ने र प्रजातान्त्रिक मुलुकको स्वतन्त्र नागरिक हुने उनको एकमात्र उत्कट चाहना थियो । 


राजनीतिबाट सन्यास

समय साह्रै बलवान छ । यसले सिकाउँछ पनि सिध्याउँछ पनि । त्योभन्दा पनि महत्वपूर्ण त यसले पहिला परीक्षा लिन्छ, अनि मात्रै सिकाउँछ । कक्षा कोठाको ठीक उल्टो । 

अहिलेका एकसे एक शीर्ष नेताहरूसँग काम गरेका समकालीन किशोर त्यतिबेला पढेलेखेका बाठा थिए । उनलाई पढ्नमा खुब दिलचस्पी थियो । पत्रपत्रिका नछुटाई पढ्थे । भारतबाट आउने पत्रिका पनि उनी पढ्थे ।

एकाएक उनलाई लाग्यो– म राजनीतिमा फिट छैन । राजनीतिक संगठनात्मक काम मबाट हुँदैन ।

त्यतिबेला राजनीतिको उद्देश्य विकासवादी थिएन । तत्कालीन राज्यसत्ताविरोधी आन्दोलनमा जनतालाई संगठित गर्नु नै राजनीतिको मर्म हुन्थ्यो । आत्मसमीक्षा गर्दा त्यसमा किशोरले आफूलाई अब्बल ठानेनन् । आफूलाई पत्रकारिता उत्तम होला जस्तो लाग्यो ।

किशोरले सल्लाह गरे– दमननाथ ढुंगाना र सरोजप्रसाद कोइरालासँग । उनीहरूले हुन्छ भने । सरोजप्रसाद कोइराला पछि शहीद भए । किशोरले राजनीति त्यागे र सुरु गरे पत्रकारिता । 

“मसँगै जेल बसेका धेरै साथीहरू अहिले छैनन्,” किशोर भन्छन्, “कति शहीद भए । कति मरिसके ।”

किशोर भने जिन्दगीको यात्रामा अविराम यात्रारत छन् । उकाली ओराली, भन्ज्याङ अनि चौतारीहरूको यात्रामा उनको यात्रा रोकिएको छैन । सैतै फुलेको कपाल र घोप्टे सेता जुंगाले अझै विश्राम लिएका छैनन् ।


पत्रकारिताको यात्रा

किशोरले साहित्यिक पत्रकारिताबाट आफ्नो करिअर सुरु गरे । विनोद रिमाल र किशोर मिलेर ०२६ सालमा ‘स्वतन्त्रता’ नामक मासिक पत्रिका निकाले । त्यही पत्रिका हो– उनको ‘जिरो किलोमिटर’, जहाँबाट उनले पत्रिका सुरु गरे, लेख्न थाले ।

‘स्वतन्त्रता’पछि उनले निकाले ‘विचार’ । यो पनि उनी आफैंले प्रकाशन तथा सम्पादन गरे । ०२८ मा प्रकाशन आरम्भ भएको यो राजनीतिक पत्रिकाको आयु पनि लामो हुन सकेन । १० अंक प्रकाशित भएपछि बन्द भयो । पत्रिकासँगै तत्कालीन व्यवस्थाविरोधी विचारलाई सतीशालझैं दह्रो र खह्रो बनाएर उभ्याउने र कलमबाटै निर्दलीय व्यवस्थालाई आच्छुआच्छु बनाउने बलियो हिम्मत त थियो तर बलियो प्रकाशक पाउन सजिलो थिएन । आफैं लगानी गर्नुपथ्र्यो । 

किशोर साथीहरूसँग २०, ५०, १०० रुपैयाँ उठाउँथे । पैसा जम्मा गर्थे र जहिले एक अंक निकाल्न पैसा पुग्थ्यो, पत्रिका निकाल्थे । पैसा नजुट्दा नियमित पत्रिका प्रकाशित हुँदैनथ्यो । आफैं विज्ञापन खोज्न हिँड्नु पथ्र्यो । प्रिन्टलाइनमा प्रकाशक तथा सम्पादकमा उनकै नाम लेखिए पनि किशोर आफैं विज्ञापन खोज्न हिँड्थे । सिनेमा घरहरूले बल्ल मासिक २ सय रुपैयाँको विज्ञापन दिन्थे किनकि उनको पत्रिका नितान्त राजनीतिक थियो ।

दलविहीन पञ्चायत थियो । राजतन्त्रविरोधी सामग्री छाप्न प्रतिबन्ध थियो । अञ्चलाधीशको कार्यालयले सेन्सर गथ्र्यो । कहिले कालो पोत्थ्यो, कहिले समाचार सरकारविरोधी भएको भन्दै पाना च्यातेर लैजान्थ्यो । कहिले प्रेसमा ताला नै लगाइदिन्थ्यो । योभन्दा पनि तीतो अनुभव छ किशोरसँग, “सेन्सरमा पुग्ने कुरा त पछि भयो । पत्रिका छाप्न नै प्रेस डराउँथे । पत्रिका नछाप्ने भन्थे । त्यसमा पनि व्यवस्थाविरोधी व्यक्तिले निकालेको पत्रिका भनेपछि प्रेस पाउन नै कठिन थियो । बल्लबल्ल मनाएर छाप्न तयार पारिन्थ्यो । मेहनतले घण्टौं लगाएर कम्पोज गर्दै ग्याली प्रुफ निकालेर तयार गरिएको समाचार अञ्चलाधीश कार्यालयमा लगेर पास गराउनु पथ्र्यो । अञ्लाधीशको कार्यालय रत्नपार्कमा (अहिले प्रहरी बसेको ठाउँमा) थियो । समय कति लगाउँथे, कुनै टुंगो हुँदैनथ्यो । मुड चल्यो भने एक घण्टामै सेन्सर गरिदिन्थे । मन लागेन भने हप्तौं दिनसम्म झुलाइदिन्थे । राजाको भजन गाउने दैनिक र साप्ताहिकलाई भने सजिलो थियो । एकैछिनमा सेन्सर गराएर लैजान्थे ।”

सय पेजको विचार निकाल्न डेढ सय रुपैयाँ खर्च लाग्थ्यो । उनले खर्च घटाउन त्यसलाई नियमित रूपमा पेज घटाउँदै लगे । बन्द हुने बेलासम्म उनले ‘विचार’लाई ३० पजेमा झारिसकेका थिए । 


दैनिक पत्रिका प्रवेश

‘विचार’पछि किशोर छिरे चन्द्रलाल झाको दैनिक पत्रिका ‘नेपाल टाइम्स’मा । यही पत्रिकाबाट हो उनले व्यावसायिक पत्रकारिता सुरु गरेको । त्यसैले चन्द्रलाललाई उनी पत्रकारिताको गुरु मान्छन् । सहायक सम्पादकका रूपमा काम गरेका किशोर त्यहाँ तीन वर्ष अडिए ।

त्यो समय तत्कालीन राजा महेन्द्रको शासनविरुद्ध निर्भीक रूपमा लेख्ने व्यक्ति चन्द्रलालमात्रै थिए । प्रतीकात्मक भाषामा चन्द्रलाल समाचार लेख्थे ।

तत्कालीन युवराज ज्ञानेन्द्र विदेश जाँदै थिए । चन्द्रलालले समाचार लेखे, “ज्ञानेन्द्र सरकार आफ्नो संस्कृतिको यति धेरै स्नेह गरिबक्सिन्छ कि नेपालको सांस्कृतिक वस्तुहरू उहाँ सँगै लिएर गइबक्सिन्छ ।”

त्यो समाचारको अर्थ थियो– ज्ञानेन्द्र मूर्ति लगेर विदेशमा बेच्छन् । तर, सीधा अर्थमा भने त्यसको अर्थ ज्ञानेन्द्र संस्कृतिप्रेमी नै हुन् भन्ने लाग्थ्यो । दुवै अर्थ लाग्ने भएकाले प्रशासन त्यसलाई नदेखेझैं गरी बस्न बाध्य हुन्थ्यो । प्रहरीले पक्रिन सक्दैनथ्यो । चन्द्रलालले राज्य प्रशासनलाई आच्छुआच्छु पार्थे समाचार लेखेर । सरकार हेरेको हेर्‍यै हुन्थ्यो । यो पत्रिकामा किशोरले दुई पटक काम गरे । 


‘गोरखापत्र’ र किशोर

०३३ को अन्तिमतिर किशोरको यात्रा तय भयो ‘गोरखापत्र’ दैनिकतर्फ । उनले ‘हाम्रा गाउँघर’ भन्ने कोलम लेख्न थाले । ०३६ सालको जेठसम्म अर्थात् जनमत संग्रहसम्म काम गरे । उपसम्पादक किशोर बहुदलीय व्यवस्थाका पक्षपाती तर त्यहाँ गाउनु पर्ने पञ्चायती व्यवस्थाको गुणगान । पञ्चायतविरोधी आन्दोलनमा होमिएर जेलनेलको अनुभवसमेत सँगालेका किशोरलाई नैतिकताले दिएन । सकेनन् ‘गोरखापत्र’मा काम गर्न, छोडे । फर्किए ‘नेपाल टाइम्स’ । त्यहाँ पनि उनको बसाइ लामो भएन । बहुदलको प्रचारमा लागे । काठमाडौं, भक्तपुर र ललितपुरका गह्रागह्रा पुगे । असन र इन्द्रचोक मात्रै शहर थिए, बाँकी सबै गाउँ । किशोर गाउँ गएर जनतामा राजनीतिक चेतनाको विगुल फुक्न थाले ।


फेरि आफ्नै पत्रिका 

फेरि मालिक पत्रकार भए किशोर । ०३७ मा ‘देशान्तर’ साप्ताहिक प्रकाशन आरम्भ गरे । छोटो समयमै मुख्य अखबारको रूपमा स्थापित भयो ‘देशान्तर’ ।

“त्यो बेला ‘विमर्श’ थियो । त्यो पञ्चायत लिबरल हुँदै गएको भन्ने लाइनबाट चलेको थियो । हामी भने हार्डलाइनर थियौं । पञ्चायत भनेको लिबरल होइन, निरंकुश हुन्छ । यसको विकल्प डेमोक्रेसी मात्रै हो भन्थ्यौं,” किशोर भन्छन्, “अरु वामपन्थी लाइनका पत्रिका पनि थिए । तर, कमान्ड हाम्रो पत्रिकाको थियो । त्यतिबेलासम्म पत्रिकाका लागि खुकुलो वातावरण बनाइसकेका थियौं । ०४६ सालको जस्तै वातावरण थियो । संस्थागत हुन मात्र सकिरहेको थिएन ।”


किशोरका रिपोर्टर

विष्णु निष्ठुरी, सुवास ढकाल, सुरेश आचार्य, श्रीभक्त आचार्य, हर्ष सुब्बा, केशव आचार्य, जयप्रकाश गुप्ता, बृजकुमार यादव, मधुकर यादवलगायत पत्रकार किशोरको ‘देशान्तर’मा काम गर्थे । किशोरले पत्रकारिताको बाह्रखरी सिकाएका कति पत्रकारहरू सम्पादक भइसके, कति अहिले मालिक पत्रकार भए । कति मन्त्री कति सांसद् भए । कति त बितिसके ।

जयप्रकाश गुप्ता ‘देशान्तर’बाट आएका पत्रकार हुन्, जो पछि पटक–पटक मन्त्री भए ।

“ऊ खुब राम्रो पत्रकार थियो । भाषामा कमान्ड भएको, निकै मेहनेती पत्रकार हो ऊ । जति मेहनत गथ्र्यो, त्यति नै राजनीति बुझेको मान्छे थियो । राजनीतिको भित्री चुरोसम्म पुगेर समाचार लेख्ने पत्रकार थियो ऊ,” किशोर सम्झिन्छन्, “निकै धेरै अध्ययन गर्ने, मान्छेलाई चिनिहाल्ने । त्यत्तिको राम्रो पत्रकार मधेसमा मैले देखेको छैन ।”

०४१ मा किशोर पढ्न अमेरिका गए । उनी गएपछि ‘देशान्तर’ बन्द भयो । ०४३ मा फर्किएर किशोरले फेरि प्रकाशन सुरु गरे । 


ब्रोडसिटको यात्रा 

किशोरको ब्रोडसिटको यात्रा ‘हिमालय टाइम्स’बाट सुरु भयो, जुन ‘गोरखापत्र’, ‘कान्तिपुर’ हुँदै ‘नागरिक’ दैनिकसम्म आइपुग्यो ।

‘गोरखापत्र’मा उनले ९ महिना सम्पादक भएर काम गरे । त्यहाँ हुँदा उनले गज्जबको काम गरे । ‘गोरखापत्र’ श्यामश्वेत थियो । उच्च अधिकारीहरू पटक–पटक रंगीन प्रेस अध्ययनका लागि भन्दै भारत, जर्मनी, चीन, स्विट्जरल्यान्ड गइसकेका थिए । तर, ‘गोरखापत्र’ भने रंगीन हुने सकेको थिएन ।

“गएर हेरेको, रंगीन प्रेस ल्याउने भनेर बोर्डले माइन्युट गरेको रहेछ । त्यसकै आधारमा मैले रंंगीन प्रेस किनेर ल्याएँ । म इन्डिया पनि गइसकेको थिएँ, जर्मनी घुमिसकेको थिएँ । मलाई घुम्नु थिएन । माइन्युटलाई आधार मानेर अडिटरलाई ‘कुन सस्तो छ ?’ भनेर सोधें । ‘इन्डिया टुडे’को सस्तो रहेछ । त्यही प्रेस किनेर ल्याएँ । सरकारी ‘गोरखापत्र’ रंगीन भएर निस्किन थाल्यो,” किशोरले सम्झिए, “गोरखापत्रमा हुँदा निजी पत्रिकाहरूसँग सहकार्य गर्ने संस्कृतिको पनि विकास गरें । ‘गोरखापत्र’को कागज नहुँदा ‘समाचारपत्र’ र ‘कान्तिपुर’सँग कागज सापटी मागेर पनि पत्रिका छापेको छु । तर यो सहकार्य म निस्किएसँगै टुट्यो ।”

त्यहाँ रहँदा उनले सरकारी कर्मचारीको नाडी छाम्ने अवसर पाए । ‘गोरखापत्र’ भोलिको अंक कति हजार प्रति निस्किँदै छ भन्ने खबर साँझको बैठक सकिएको छिनभरमै ‘कान्तिपुर’का साहुसम्म पुग्थ्यो । ‘गोरखापत्र’मा किशोर त्यो समय ९ महिना मात्रै बिताए । 

० ० ०

प्रजातन्त्रको पुनर्बहाली भयो । निजीस्तरबाट ठूलो लगानीमा ‘कान्तिपुर’ र ‘द काठमान्डू पोस्ट’ प्रकाशन सुरु भए । किशोरलाई ‘सेकेन्ड म्यान’का रूपमा ‘कान्तिपुर’ बोलाइयो । भर्खर सुरु भएको हुँदा ‘कान्तिपुर’ले ठूलो प्रभाव राख्न थालिसकेको थिएन । तर, पाठकमा ‘नोटिस’ भने हुन थालको थियो । उदाउँदो दैनिक अखबारका रूपमा प्रभाव भने छोड्न थालिसकेको थियो । 


‘साप्ताहिक’को सुरुआत

किशोर नेपाली परिवेशभित्र मात्र खुम्चिएर बस्ने सम्पादक होइनन् । उनी देश–विदेश बुझ्ने र बुझ्न खोज्ने जिज्ञासु सम्पादक पनि हुन् । लक्षित वर्गको नाडी समातेर समाचार तयार पार्न सक्ने पत्रकार पनि हुन् उनी ।

समाज खुला हुँदै गएको थियो । बन्द समाजमा बसेर छापिएका पत्रिकाका समाचार सामग्री पढ्न नेपाली युवा बाध्य थिए । इन्टरनेटको पहुँच शहर, त्यसमा पनि सीमित व्यक्तिमा मात्रै थियो । मनोरञ्जनको माध्यम टेलिभिजन, चलचित्र र पत्रपत्रिका नै थिए ।

किशोरलाई लाग्यो– अब युवा पुस्तालाई फरक खालका सामग्री दिनुपर्छ, जसको खोजी उनीहरूले गरिरहेका छन् र चासो छ । उनले निकाले ‘कान्तिपुर साप्ताहिक’को अवधारणा । यो त्यतिबेला निकै क्रान्तिकारी सोच थियो, बिल्कुलै नौलो पनि । प्रकाशकलाई उनले आफ्नो ‘कन्सेप्ट नोट’ सुनाए । सुरुमा त खासै इच्छुक नदेखिएका प्रकाशक अन्ततः राजी भए । नयाँ साजसज्जा, सामग्री र आकारमा ‘कान्तिपुर साप्ताहिक’ निस्कियो, जुन नेपाली पत्रकारितामा नयाँ प्रयोग थियो । 

“पढें, दुनियाँ देखें, बुझें– युवा पुस्ताले नयाँ कुरा खोजिरहेको छ । समाज नयाँ सोचबाट अघि बढिरहेको छ । एउटै सोचबाट अगाडि बढे कहीँ पनि पुगिँदैन भन्ने लाग्यो र सुरु गरें । पहिलो अंक नै ३५ हजार छापियो । त्यसपछि सुपरहिट नै भयो,” उनले सुनाए, “यस्तो खालको पत्रिकाको सामग्रीका लागि भित्रबाट भन्दा पनि ‘आउटसोर्सिङ’ धेरै गर्नुपर्छ, त्यो भने मेरा लागि चुनौती थियो । त्यो सामना गर्ने आँट गरेर प्रकाशकलाई विश्वस्त बनाएको थिएँ ।”

युवा पुस्तामा पठन संस्कृति थिएन । किशोर–किशोरीमा पनि पठन संस्कृतिको विकास होस् र मनोरञ्जनको साधन पनि पत्रिका बनोस् भनेर उनले ‘साप्ताहिक’ सुरु गरेका थिए । अहिलेको जस्तो हातमा संसार थिएन । इन्टरनेटको पहुँच थिएन । त्यो समयमा ‘साप्ताहिक’प्रति युवा पुस्ताको क्रेज ह्वात्तै बढ्यो । किशोर सफल भए ।

सधैं नयाँ–नयाँ प्रयोग गर्न रुचाउने किशोरले ‘पत्रमित्र’ भन्ने स्तम्भ सुरु गरे ‘साप्ताहिक’मा । यसमा सहभागी हुनेले ५ रुपैयाँ पठाउनुपर्‍थ्र्यो ।

“चिठी यति धेरै आउन थाले कि चिठी खोल्नकै लागि एकजना कर्मचारी नै राख्नुप¥यो,” किशोरको ओठमा हाँसो थामिएन ।


यात्रा ‘नागरिक’को

समयसँगै बाग्मतीमा पानी थुप्रै बग्यो । समयको वेगसँगै किशोरको पत्रकारिता यात्रामा नयाँ बसन्तहरू थपिँदै गए । अनुभवहरू चुलिँदै थिए । उनले पत्रकारिताको कखरा सिकाएका पत्रकारहरू उनैले सुरु गरेका नामी पत्रिकाका सम्पादक भइसकेका थिए । तर, पनि उनी थाकिसकेका थिएनन्/छैनन् ।

समयले किशोरलाई ‘नागरिक दैनिक’को प्रधानसम्पादकको जिम्मेवारी सुम्पिसकेको थियो । तर, उनले सुरु गरेको ‘कान्तिपुर साप्ताहिक’ बजारमा एक्लै थियो । न त्यसको जस्तो खुराक दिने अरु पत्रिका जन्मिए, न त्यसका सामग्री अपेक्षित परिमार्जन र परिस्कृत भए । ‘साप्ताहिक’ले बजारमा एक्लै राज गरिरहेको थियो ।

किशोरले ‘नागरिक’का प्रकाशकसँग भने, “अब साप्ताहिक पत्रिका सुरु गर्नुपर्छ ।”

त्यहाँ पनि साहुले आनाकानी नगरेका होइनन् । किशोरले थपे, “साप्ताहिक पनि ननिकाले कसरी बिग मिडिया हाउस हुन्छ ?” 

त्यसपछि किशोरले सुरु गरे ‘शुक्रबार’ । उस्तै आकार– ट्याब्लोइडमा, जुन प्रकाशनको सुरुआतमै लोकप्रिय बन्यो ।

‘शुक्रबार’मा नेपाली समाजलाई नै नपच्ने खालका ‘भल्गर’ तस्बिर प्रकाशन गरेको आरोप उनलाई लाग्यो । तर, त्यसलाई उनी अहिले पनि स्वीकार गर्न तयार छैनन् ।

“हातमा रहेको मोबाइलमा मजाले थरीथरीका सामग्री हेर्ने अनि विश्वभर पुग्ने इन्टरनेटमा राखिएका र समाचार एजेन्सीले छापेका तस्बिर हामीले पैसा तिरेर छाप्न के हुन्छ ?” उनी भन्छन्, “समाज धेरै उदार भइसकेको छ । बेलायतमा छाप्न हुने फोटो हाम्रोमा छाप्न नहुने भन्ने हुँदैन । आजका युवा मोबाइलमा ‘ब्लु फिल्म’ हेरिरहेको हुन्छन् तर एजेन्सीले पठाएको तस्बिर छाप्दा भल्गर अरे ! यसमा विरोध र टिप्पणी गर्नुको कुनै अर्थ छैन । अनलिमिटेड फ्रिडम आइसकेको छ, त्यसलाई उपभोग गर्न दिनुपर्छ ।”


शौखिन पत्रकार

किशोर नेपाललाई चिन्नेहरू उनलाई शौखिन पत्रकार भन्छन् । उनी भने यसलाई ठाडै इन्कार गर्छन् । “दिनहुँ नुहाएर चिटिक्क परेर हिँड्दैमा र लोकल ठर्रा नखाएर राम्रो ब्रान्डको ह्विस्की खाँदैमा शौखिन पत्रकार हो भने म हुँ,” उनी भन्छन्, “अरुले पनि राम्रो कुराको नक्कल गरे हुन्छ । मेरो खराबीको व्याख्या गरेर कोही इम्प्रेस हुँदैन । तर यहाँ त्यही गर्छन् । पत्रकारिता पनि व्यवसाय हो । विनोद चौधरी पनि व्यवसायी, म पनि व्यवसायी । फरक यत्ति हो कि व्यवसाय फरक–फरक छन् । यसका आफ्नै मूल्य र मान्यता छन् । आफ्नो पारिश्रमिकअनुसार कसैले आफूलाई मेन्टेन गर्छ भने त्यसलाई रिस गर्नु र समाचार बनाउँदै हिँड्नुको अर्थ छैन ।”


छिनमै जाने सम्पादकको जागिर

पत्रकारिता शक्तिको अभ्यास गर्ने साधन हो । शक्तिलाई दबाएर पत्रकारिता गर्छु भन्यो भने साहू पक्षमा हुँदैनन् । बैंकबाट करोडौं रुपैयाँ ऋण लिएर सुरु गरेको पत्रिकामा आफूले भनेको नमान्ने सम्पादक राख्न प्रकाशक चाहँदैनन् । किशोर यसलाई अविकसित समाजको लक्षण भन्छन् ।

कर्कलाको पानीको थोपा जस्तो हो नेपालमा सम्पादकको जागिर । प्रकाशकको एक शब्दमा राजीनामा लेखर हिँड्नु पर्ने । किशोर यसको उदाहरण हुन् । सम्पादकहरू यसमा खुल्दैनन्, त्यसैले यसबारे धेरै व्याख्या र विश्लेषण हुँदैन ।

“कान्तिपुरमा नियमित रूपमा जस्तै जागिर खान गएको थिएँ । प्रकाशकले दिउँसो आएर भोलिबाट हामी सँगै काम नगर्ने भने । त्यसै दिनबाट मेरो जागिर सकियो,” ‘कान्तिपुर’ छोड्दाको प्रसंग किशोरले सुनाए । यो प्रसंगमा किशोर यतिभन्दा अगाडि बढ्न भने चाहेनन् ।

प्रकाशकको कुरा काट्न नसक्ने गुण नै अहिलेको सम्पादकमा हुनुपर्ने मुख्य क्षमता रहेको उनको बुझाइ छ । उनी यसलाई तीतो यथार्थ भन्छन् । 


त्यो बालापन

किशोर विसं. २००८ सालमा नुवोकोटको झिल्टुङमा जन्मिएका हुन् । जन्म झिल्टुङमा हुनुको आफ्नै कथा छ । उनको परिवार काठमाडौंका बस्थ्यो । कान्छी दिदीको जन्म काठमाडौंमै भएको थियो तर बुवाले तीनवटी छोरीपछि के जन्मिन्छ भनेर ज्योतिषलाई देखाएका थिए । ज्योतिषले छोरो जन्मिन्छ भनेपछि उनले छोरो पुख्र्यौली भूमिमै जन्मियोस् भनेर गर्भवती श्रीमतीलाई उलीनकाठमा बोकाएर झिल्टुङ पुर्‍याएका थिए । त्यहीँ किशोरको जन्म भएको थियो ।

उनका बुवा बनारस बस्थे । ५ वर्षको हुँदा किशोर बिरामी परे । किशोरको सम्झनाअनुसार त्यो समय अबोध बालापनले बुवालाई खोजिरहन्थ्यो । उनी हरेक साँझ झ्यालमा बसेर बुवा आउने बाटो हेरेर बस्थे । एकदिन घुर्मैलो साँझमा टर्च लाइटले अँध्यारो चिर्दै उनका बुवा बत्तीसपुतलीस्थित घरको आँगनमा ‘के छ भुन्टे ?’ भन्दै आइपुगे । उनी बिरामी रहेछन् । बनारसबाट घर फर्किएको दुई दिनपछि सुतेको ओछ्यानबाट बुवा कहिल्यै उठेनन् । किशोरको मानसपटलमा आफ्नो बुवाबारेको धमिलो सम्झना यत्तिमात्रै रहेछ ।

बुवाको मृत्यु भयो । त्यसको दोष गाउँलेले किशोरलाई दिए । कारण थियो– उनी तेल्याह परेर जन्मिएका थिए । यस्ता सन्तानले परिवारलाई पिर्छन भन्ने अन्धविश्वास समाजमा थियो । त्यसको शिकार अवोध किशोर भए । 


अभिभावक नहुँदाको पीडा

बुवाको मृत्यु भयो । किशोर एक्लो छोरो थिए । आर्थिक अवस्था ओरोलो लागेपछि नाता सम्बन्धले पिठ्यूँ फर्काउन थालेको थियो । पढ्नसमेत उनलाई गाह्रो थियो । आमा रोजगारीका लागि भारत गएकी थिइन् । किशोरले काठमाडौंमा साथीसँगै पत्रिका बेच्न थाले । पत्रिका बेच्न पनि पैसा धरौटी राख्नुपथ्र्यो । दमन ढुंगाना जमानी बसेपछि उनले त्यो बेलाको प्रमुख दैनिक पत्रिका ‘स्वतन्त्र समाचार’ डुलाएर बेच्न थाले । प्रमुख दैनिक भए पनि यो पत्रिका खासै बिक्री हुँदैनथ्यो । तर गल्ली–गल्ली घुमेर ५० प्रतिबाट किशोरले त्यसको बिक्री २ सय प्रति पु¥याएका थिए । उनले निष्कर्ष निकाले– घरघरमा पत्रिका पुर्‍याउने हो भने पत्रिका धेरैले पढ्ने रहेछन् ।

त्यो बेला उनी ११ वर्षका थिए । पत्रिका बेच्दै पढ्थे । स्कुलमा हुने वादविवाद र कविता प्रतियोगिता उनी प्रथम भइरहन्थे । त्यसले उनलाई लामो खुसी भने दिँदैनथ्यो । केही समय खुसी भयो अनि पुरानै दैनिकीमा फर्किन्थे ।

त्यो समय रत्नपार्कको सडक पेटीमा स्टोभमा ममचा (मःमः) पकाएर बेच्नेको लामो लाइन हुन्थ्यो । उनी पत्रिका बेचेको पैसाले लुकीलुकी मःमः खान्थे । मःमः खाँदा किन लुक्नुपर्छ, उनलाई त्यसको कारण थाहा थिएन । सबै संगीहरू भन्थे, “मःमः त लुकेर खानुपर्छ ।”

पञ्चायत भर्खर सुरु भएको थियो । पत्रिकाहरूका विचार पृष्ठबाहेक सबै समाचार रासस (राष्ट्रिय समाचार समिति)का हुन्थे । उनी पत्रिका लिन कार्यालयमा पुग्थे । त्यहाँ सम्पादकको इज्जत र शान देख्दा उनी लोभिन्थे । समाचारको कल्पना गर्थे र ‘सम्पादक हुन पाए त हुन्थ्यो’ भन्ने सोच्थे । भविष्यमा पत्रिका निकाल्ने र त्यसको सम्पादक हुने कल्पना गर्थे । कालान्तरमा त्यो सपना पनि पूरा भयो ।


अहिलेको पत्रकारिता

पत्रकारिताले प्रविधिको प्रयोग गर्न थाल्यो । चिटिक्क परेका पेज र टलक्क टल्किने तस्बिर छाप्न थाले अनलाइन र पत्रिका दुवैले । किशोर भन्छन्, “तर सामग्री भने कसैले पनि राम्रो दिन सकेनन् । अहिलेका सबै ब्रोडसिटको समाचार उस्तै लाग्छ रे । सात वटा दैनिक पेपर टेबलमा राखेर फ्रन्ट पेज हेर्ने हो भने एउटै समाचार हुन्छ । कति दिन त भाषामात्रै होइन, शब्द पनि माथिदेखि तलसम्म एउटै हुन्छ । कसरी लेख्छन् ?” किशोरले व्यंग्य कसे ।

पत्रकारिता गर्नुभन्दा पनि जागिर खान आउने प्रवृत्तिले पत्रकारिताको स्तर उठ्न नसकेको उनको बुझाइ छ । “सम्पादक अल्छी भए, साहुजीलाई मतलब छैन, पत्रकारमा लगाव छैन भने कसरी हुन्छ राम्रो पत्रकारिता ?” उनको प्रश्न छ, “पत्रकारले आफ्नो पेशाको मर्यादा राख्न नसकेकैले पत्रकारितामाथि प्रश्न उठ्न थालेको हो ।” राजनीतिक दलको झोला बोकेर हिँड्ने र दलको भजन गाउने पत्रकारले पत्रकारितालाई बदनाम गरेको किशोर बताउँछन् ।


लेख्ने सम्पादक

सम्पादक भएपछि लेख्नु पर्दैन भन्ने परम्परा जस्तै बनिसकेको छ नेपाली पत्रकारितामा । तर, किशोर यो ‘क्याटेगोरी’मा कहिल्यै परेनन् । जति उमेर पाक्दै गयो, जति केश सेतो हुँदै गयो– पत्रकारितामा किशोरको सक्रियता त्यति नै तन्नेरी हुँदै गयो । उनी अहिले पनि केही न केही लेखिरहन्छन् ।

“तपाईं कति लेख्नुहुन्छ हप्तामा ?”

प्रश्न खस्न नपाउँदै उनले जोशिएर औंला भाँच्दै भने, “गनौं है ! ‘कान्तिपुर’मा १३ सय शब्द, ‘साप्ताहिक’मा ७०० सय शब्द, ‘जनकपुर टुडे’मा ११ सय शब्द, ‘पहिलोपोस्ट’मा २ हजार शब्द र बीचबीचमा अरुमा पनि केही सय शब्द लेख्छु । जोड्नुभयो कति भयो ?”

हिसाब निस्कियो– ५ हजार शब्दमाथि ।

अन्तिममा उनले सुनाए, “हप्तामा एकदिन चाहिँ लेख्दिनँ ।”
 

तपाईंको मत