काठमाडौं । नयाँ शक्ति पार्टीले संघीय परिषद् सदस्य देवेन्द्र पौडेलसहित १५ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ मिति २०७४/४/२६ गते काठमाडौंको एउटा होटेलमा पार्टी संघीय परिषद सदस्य देवेन्द्र पौडेलसहित १५ जनाले पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्यदिशाका बारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक गरेको समाचार प्राप्त भएको छ । उहाँहरुले भरखरै सम्पन्न पार्टीको संघीय परिषद बैठकमा कुनै फरक धारणा दर्ज गराउनुभएको थिएन । बरु पार्टी संयोजकका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनप्रति पूर्ण सहमति जनाउनुभएको कुरा बैठकमा उपस्थित सबै सहभागीहरुलाई विदितै भएको विषय हो । तेस्रो संघीय परिषद बैठकको भावना र निर्णयको प्रकाशमा प्रतिवेदनलाई परिमार्जन गर्ने, पार्टी कार्यनीति र कार्यदिशालाई अझ प्रष्ट गर्ने, पार्टीको संगठनात्मक पुनर्गठन गर्ने आन्तरिक गृहकार्य भइरहेका वेला किन र कुन उद्देश्यले त्यस्तो पत्रकार सम्मेलन गर्नु परेको हो ? पार्टीभित्रै आफ्ना कुरा भन्ने पूर्ण लोकतान्त्रिक अधिकार हुँदाहुँदै किन त्यस्तो गर्नु पर्यो ? गम्भीर प्रश्न उठेको छ ।”
विज्ञप्तिमा उनीहरुले चाहेको के हो भन्ने बारेमा धारणा पेस गर्न २४ घण्टाभित्र स्पष्टीकरणपत्र पठाइएको उल्लेख छ ।
“उपरोक्त कारणले गर्दा उहाँहरुको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका उत्पन्न भएको छ । उहाँहरुले चाहेको के हो २४ घण्टाभित्र प्रष्ट गर्न स्पष्टीकरणपत्र समेत पठाइएको छ । पार्टी र उहाँहरुको बुझाइबीच कुनै जोडकोणको भिन्नता रहेछ भने छलफल गर्न सकिन्छ । अन्यथा पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टीहित विपरीत हुने कुनै क्यारियरिष्ट तथा अवसरवादी सोंचलाई पार्टीले सहन गर्न सक्ने छैन । सबैखाले व्यवधान र षड्यन्त्रपूर्ण हर्कतलाई परास्त गर्दै नयाँ शक्ति पार्टी आफ्नो घोषित उद्देश्यमा अविचलित रुपमा अघि बढिरहनेछ ।”
भट्टराई देशका पुराना पार्टीहरुको कारणले स्थानीय निर्वाचनमा परिणाम ल्याउन नसकेको पनि स्पष्ट पारेका छन् ।
“भरखरै सम्पन्न स्थानीय निर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउन नसकेको कुरा सही हो । त्यसो हुनुका खास कारणहरु थिए । देशका पुराना पार्टीहरुले निर्वाचन चिन्ह नदिनेदेखि लिएर अनेक प्रकारले षड्यन्त्र र घेरावन्दी गरेका थिए । त्यसका बाबजुद पार्टीले सम्पन्न दुबै चरणको निर्वाचनमा सहभागिता जनाई लोकतन्त्र र आवधिक निर्वाचनप्रतिको आफ्नो प्रतिबद्धता पुष्टि गरेको छ । राजनीति भनेको एक माघले जाडो जाने विषय हैन । एउटा चुनावले मात्र राजनीतिका सबै जटिलताहरुको उत्तर दिँदैन । विषम परिस्थितिमा सामना गर्नु परेको एउटा चुनावले मात्र पार्टीको भविष्य निर्धारण पनि गर्दैन । यो कुरा प्रष्ट हुँदा हुँदै अप्ठ्यारो परिस्थितिमा सत्तीसालझैं झनै दृढ भएर उभिनुपर्ने अवस्थामा पार्टी पंक्ति र जनसमुदायमा भ्रम पर्ने गरी उहाँहरुबाट भएका क्रियाकलापबाट पार्टी अत्यन्त गम्भीर बनेको छ ।उहाँहरुका यस्ता अवाञ्छित क्रियाकलापबाट प्रभावित नहुन र अविचलित रही पार्टी उद्देश्य, कार्यक्रम र भावनाको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्तिमा आव्हान गरिन्छ ।”